पोखराः कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीको घरमा उम्मेदवार किशोरदत्त बराल र दीपक गुरुङका समर्थकले नारावाजी गरेका छन् । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार दीपक गुरुङ ( माइला) पराजित भएपछि उनीहरुका समर्थकले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नारावाजी गर्दै तोडफोड गरेका छन् । कृष्ण केसीका समूहले चुनाव हराउन खेल खेलेको भन्दै उम्मेदवारका समर्थकहरुले नारावाजी गर्दै केसीको घरमा तोडफोड गर्दा झ्यालको सिसा फुटेको केसीका छोरा सरोज केसीले जानकारी दिए । नारावाजी र होहल्ला भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले भिडलाई तितरबितर पारेको छ ।
काभ्रे: काभ्रे १ (१) को प्रदेशसभामा नेकपा माओवादी केन्द्रका रत्न ढकाल निर्वाचित भएका छन् । ढकालले २० हजार ७२० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दिलबहादुर ९दिलिप० तामाङले ११ हजार २७८ मत ल्याए । ढकालले ९ हजार ४४२ मतान्तरले चुनाव जितेका हुन् ।
पूर्वी नवलपरासी: पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दावी गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले यो पटक प्रधानमन्त्रीको दावी गर्ने धेरै देखिएको र आफ्नो पनि दाबी रहने सुनाए । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उनले भने ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ ।’ युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि उनले बताए । ‘देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएको छ’ उनले भने ‘त्यसलाई आत्मासाथ गर्नपर्ने अवस्था राम्ररी बुझेको छु ।’ जिल्लामा राष्ट्रिय लेबलको ट्रमा सेन्टर र अन्तराष्ट्रिय खेलमैदान बनाई छाड्ने उनले दावी गरे ।
सप्तरी: सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका हुन् । यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाए । यादव चौथो प्रयासमा जनताबाट अनुमोदित भएका हुन् । उनी २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आएका थिए । तर उनले दोस्रो स्थानमा चित्त बुझाउँदै आउनु परेको थियो ।
धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिना अघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए । ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि चौधरीको पार्टीले क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको थियो । कैलाली प्रदेशसभा (क) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित कैलाश चौधरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज विनाडी १० हजार ३७७ मत ल्याए । यस्तै प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा।रणबहादुर रावलले ८ हजार ५३ मत पाए भने नेकपा एमालेका द्धारिका न्यौपानेले ५ हजार ३२० मत मात्र ल्याए ।
काठमाडौं: झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो । २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए । लिङ्देनले २०३६ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालीन समयमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भई राजनीति सुरु गरेका थिए । ०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन गरेर त्यसको संस्थापक अध्यक्ष बने । उनको राप्रपाको राजनीति भने ०५१ सालको महाधिवेशन प्रतिनिधिबाट सुरु भएको थियो । पञ्चायत कालमै उनी गोलधाप गाउँपालिकामा वडाध्यक्ष बनेका थिए । २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए उनले कमल थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गर्दा थापालाई साथ दिएका थिए । उनी ०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बने । ०७८ को मंसिरमा राप्रपा अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापालाई पराजित गरेर अध्यक्ष चुनिए । लिङ्देनले एक हजार ८४४ मत ल्याई अध्यक्षमा निर्वाचित हुँदा थापाले एक हजार ६१७ प्राप्त गरेका थिए । राप्रपामा नेतृत्व रुपान्तरणको नारा लिएर उनले अध्यक्ष पद जितेका थिए । झापामा आफ्नो चुनाव क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका लिङ्देनले शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने मुद्धा उठाइरहेका हुन्छन् । झापामा दर्जनौं पुल र सडक निर्माण गरेको उनी दाबी गर्छन् । जंगली हात्ती नियन्त्रणमा ‘लिङ्देन मोडल’ भनी उनले प्रचार गर्दै आइरहेका छन् । उनले सौर्य उर्जाबाट हात्तीलाई करेन्ट लगाएर भगाउने उपाय निकालेका थिए ।
दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ(२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत तनहुँ–१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गर्नुभएको हो । यसका लागि पौडेलले नेकपा ९एमाले०का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गर्नुभयो । कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको छ । जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आउनुभएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताउनुभएको छ । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो । विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो । पौडेल २०४८ सालमा तनहुँ–१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि हुनुहुन्थ्यो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ । जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक÷एक प्रदेशसभामा विजयी हासिल गरेका छन् । नेपाली कांग्रेसले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा विजयी भएको छ । साथै, निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गर्नुभएको छ । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान विजयी हुनुभएको छ । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा ९एमाले० का पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित हुनुभएको छ । महतले १५ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गर्नुभयो । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभयो । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा ९एमाले० का किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभयो ।
पोखराः नेपाली कांग्रेसका ‘वागी’ महादेव गुरुङले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की २ बाट १ हजार ३४० मत प्राप्त गरेका छन् । समानुपातिकको बन्द सूचीमा परेपनि अन्तिममा नाम काटिएपछि गुरुङले स्वतन्त्र उम्मेदवारी थिए । गुरुङले प्राप्त गरेको मतानुसार उनी पाँचौ स्थानमा छन् । गुरुङले स्वतन्त्र उम्मेदवारी दिएपछि नाम फिर्ता लिन कांग्रेस र गठबन्धनका नेताहरुले फिर्ता लिन गरेको आग्रह उनले अस्वीकार गरेका थिए । त्यसपश्चात्, उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ ।
मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेकी गिता नाथले जम्मा ४ मत प्राप्त गरेकी छिन् । प्राप्त मतानुसार नाथ उम्मेदवार तालिकाको पुछारमा रहेकी छिन् । कूल १४ उम्मेदवारध्ये नाथले दुई अंकमा मत प्राप्त गर्न सकिन् । स्वतन्त्र उम्मेदवारी दिएकी ३५ वर्षीया नाथको चुनाव चिन्ह ‘खरायो’ रहेको थियो । नाथभन्दा माथिल्लो क्रममा जमुना शर्मा रहेकी छिन् । शर्माले १२ मत प्राप्त गरिन् ।