धनुषा:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरुका कारण देश परिवर्तन भएको बताउनुभएको छ । आज यहाँको जनकपुरधाम उपमहानगरपा...

काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राख्नुभएको थियो । काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

दमौली:   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।  शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । “ राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो कि भन्ने लागेको छ तर त्यस्तो होइन ।”  गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवर्धनबाट त्यो सम्भव रहेको बताउनुभयो ।  कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखिएको बताउनुभयो । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता छ ।  प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.६१ हजार, द्वितीय हुनेलाई रु.५१ हजार, तृतीय हुनेलाई रु.३८ हजार र सान्त्वना हुने तीन जनालाई जनही रु. १२ हजार पाँच सय प्रदान गरिनेछ ।  म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैंचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ । 

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र भिक्टोरियाबिच भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले दिनुभयो ।  भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास प्रयासमा संयुक्त राज्य अमेरिकाले पुराएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।  त्यसपछि अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री प्रचण्डलाई हार्दिक बधाइ दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको विकासमा अमेरिकाले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन अमेरिका प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।  नुल्यान्ड दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउनु भएको हो । उहाँले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ।  साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नु हुनेछ। उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिनुभएको हो। त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो। उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसक्नुभएको छ। ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उहाँ अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत हुनुहुन्थ्यो।  उहाँ अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो। उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गर्नुभएको थियो।  उहाँले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रुस, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसक्नुभएको छ। उहाँले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गर्नुभएको छ।

काठमाडौं:  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताएका छन् । लैनचौरस्थित शहीद स्मृति पार्कमा  सोमबार शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने बताएका हुन् । शहीदहरुले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनको भनाइ छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने मेयर साहले बताए । ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौं । । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु ,’ उनले भने ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको  भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।

काठमाडौँ:   उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालेका छन् ।  गत शुक्रबार लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । सत्ता साझेदार दलबाट लामिछानेले गृह लिएपछि माओवादीले परराष्ट्र वा अर्थ मन्त्रालयमध्ये एक लिने तयारी गरेको थियो । प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्र मन्त्रालयमध्ये एक मन्त्रालय लिनुपर्ने व्यवस्था छ । तर, सत्ता साझेदार दलमा सबैलाई चित्त बुझाउनुपर्ने भएपछि माओवादी तीनमध्ये कुनै महत्वपूर्ण मन्त्रालय लिएन ।  गृह रास्वपाले लियो भने अर्थ र परराष्ट्र मन्त्रालय एमालेले लियो ।  अब गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिएपछि माओवादी लिने दाबी गरेको छ । प्रधानमन्त्रीलाई सफल बनाउनकै लागि पनि गृह माओवादीले लिनुपर्ने नेताहरुले बताएका छन् । तर, पार्टी सचिव एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले गृहमन्त्रीका विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर टुंगो लाग्ने बताए । ‘अहिले रविजीले राजीनामा दिएपछि गृृह मन्त्रालय प्रधानमन्त्रीज्यूले सम्हाल्नुभएको छ’ पौडेलले भने, ‘अब सत्ता साझेदार दलसँग छलफल गरेर टुंगो लगाउँछौं ।’ तर, रास्वपाले गृह मन्त्रालय आफ्नै पार्टीको हुने बताएको छ । गृहमन्त्रीमा को जाने भन्ने विषयमा पार्टीले निर्णय गर्ने सो पार्टीले जनाएको छ । अहिले प्रधानमन्त्रीले गृहसहित वन तथा वातावरण र खेलकुदमन्त्री आफैं राखेका छन् ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दावी रहने स्पष्ट पारेको छ । नागरिकता विवादमा मुछिएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आज पुनः नेपाली नागरिकता प्राप्त गरेका छन्। पार्टी प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो दावी यथावत रहेको बताए । गृह मन्त्रालयमा दावी रहेपनि कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको ढकालको भनाइ छ ।  सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपछि ३३ दिनमै राजीनामा दिनुपरेको थियो । सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता  विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा  लामिछाने चितवत(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ । समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ। रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको  धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताए। नागरिकता विवादमा आएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गृहमन्त्री जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता  विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा  लामिछाने चितवत–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।