काठमाडौं: त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पसरकलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आज (आइतबार) हुँदै छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् । शुक्रबारसम्म दुईवटा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त सयौँ कलेज÷क्याम्पसमा युनियन निर्विरोध गठन भइसकेको अधिकारीले जानकारी दिनुभयो । समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैलाई जिम्मेवार भएर आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भोलि (आइतबार) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिनुभयो । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२/१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ । उहाँले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताउनुभयो । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन् । स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् । रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताउनुभयो । उहाँका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् । बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
काठमाडौं: विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ । त्रिविले ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियुको निर्वाचन गर्दै छ तर विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो । स्ववियुको निर्वाचन गराउने त्रिविअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, केन्द्रीय आयुर्वेद क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्यस्तै आङ्गिकअन्तर्गत नै उपत्यकाबाहिरका पोखरास्थित पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा पनि बिहीबार साँझसम्म निर्वाचन प्रक्रिया सुरु भएको छैन । अब ती क्याम्पसमा चैत ५ गते निर्वाचन गर्न मुस्किल हुने निर्देशनालयले जनाएको छ । यीमध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ । केहीमा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएपछि प्रक्रिया रोकिएको छ । प्रक्रिया रोकिएकामध्ये त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले चैत ९ गते मतदान गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जारी गर्नुभएको निर्वाचन तालिकामा उल्लेख छ ।
काठमाडौं: उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो । उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले संघमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गर्नुभयो । जनमत पार्टीर्की ममता झाले संघमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गर्नुभयो । यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं: उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले दिउँसो ३ बजेसम्म संघीय संसद्का तीन सय ११ सदस्य र प्रदेश सभाका पाँच सय १८ सदस्यले मतदान गर्नुभएको जानकारी दिनुभयो । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपति निर्वाचन सम्बन्धमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । संविधानको धारा ६९ मा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया र पदावधिसम्बन्धी व्यवस्था राष्ट्रपतिसरह हुने व्यवस्था छ ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिँदै छन् । सत्ता साझेदार दलका शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने निर्णय गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । कांग्रेस, माओवादी केन्द्रसहित आठ दलले विश्वासको मत दिने पक्का जस्तै छ । सत्ता साझेदार दलबाट मात्रै प्रधानमन्त्री प्रचण्डले १५१ मत पाउने छन् । सत्ता साझेदार दलबाट मात्रै प्रचण्डले सजिलै विश्वासको मत पाउने अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै निर्णय गरेको छैन । ‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेका छैनौँ’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने समय अझै बाँकी भएकाले बैठक बसेर निर्णय सार्वजनिक गर्ने छौँ ।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा बस्ने भएको छ । आफूहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा पुगेकाले प्रतिपक्षमै बस्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘हामीले सबैभन्दा पहिले सरकारबाट बाहिरिएका हौँ । हामी बाहिरिएकै कारण प्रधानमन्त्री ज्यूले विश्वासको मत लिने अवस्था भयो’ श्रेष्ठले भने, ‘त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा भएन । हामी प्रतिपक्षमै बस्छौँ ।’ नेकपा एमाले भने प्रमुख प्रतिपक्षमै बस्ने निर्णय गरी सकेको छ । सरकारबाट बाहिरिए लगतै एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । आगामी चैत दोस्रो साताभित्र मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने माओवादी निकट नेताहरूले बताएका छन् ।
काठमाडौं : उपराष्ट्रपति निर्वाचनमा शुक्रबार दिउँसो २ बजेसम्म ८०१ मत खसेको छ। संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपराष्ट्रपतिको निर्वाचन दिउँसो ३ बजेसम्म हुनेछ। मतदानलगत्तै मतगणना सुरू हुने र साँझ ६ बजेभित्र निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ। उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा छन्। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।
काठमाडौं: चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने जानकारी दिए । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्वार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् । २१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट प्रधानमन्त्री प्रचण्डले मतदान गर्नुभएको हो । यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म ६१० मत खसेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले संघतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको जानकारी दिनुभयो । उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता हुनुहुन्छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।