काठमाडौं:  गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन नयाँ...

पोखरा:   त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति निजिकिदा गएरातिदेखि मौन अवधि सुरु हुने भएको छ ।    स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु हुनेभएपछि प्रचारप्रसारमा रोक हुनेछ । र कुनै पनि विद्यार्थी संगठनका उम्मेदवारहरुले भोट प्रचारप्रसारका गतिविधि गर्न पाउदैनन् ।   त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको छ ।   यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो ।    स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने त्रिवीले जनाएको छ । हालसम्म कतिपय क्याम्पसमा नतिजा घोषणा भइसकेको छ भने केही क्याम्पसमा चुनाव हुने नहुने बारे अनिश्चित छ ।   अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ ।   मतदान केन्द्रमा के–के लान मनाही छ ?   भयरहित बनाउनका लागि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरेको छ ।   स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ, मसी लैजान निषेध गरिएको छ ।   मोबाइलदेखि पानीका बोतल लैजान मनाही छ । साथै त्रिविले मोबाइल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो ।   यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।   

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।      बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अन्नपूर्णलाई जानकारी दिए। उनी सप्तरी निवासी हुन् ।   गत फागुन १३ गते जसापका सांसद सहनाज रहमानको निधन भएपछि एक सांसद पद रिक्त थियो।  सोही रिक्त स्थान पदपूर्तिका लागि अन्सारीलाई सिफारिस गरेको हो।

काठमाडौं: भोलि (शुक्रबार) हुने उपराष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।   निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग सम्बन्धित सबै पक्षमा आग्रह गर्दै मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आग्रह गरेको हो । उपराष्ट्रपतिका लागि शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।   बिहीबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उपराष्ट्रपतिको निर्वाचनका लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।   यसैगरी, आयोगले चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आयोगले ध्यानाकर्षण गराएको हो ।   सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।   विज्ञप्तिमा भनिएको छ, ‘‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न/गराउन सम्बन्धित उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’’  

हेटौँडा: बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिनुहुने भएको छ ।   उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।   केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।   गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री हुनुहुन्छ ।

पाेखरा:  स्ववियु निर्वाचनका उम्मेदवारहरुले आज (बिहीबार) मध्यरातिसम्म प्रचार प्रसार गर्न पाउने छन्। आगामी ५ गते हुने निर्वाचनका  लागि आज मध्यरातदेखि प्रचार प्रसारको समयावधि समाप्त हुने छ ।   मध्यराती १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन ।   आगामी ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ ।    हालसम्म कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।   अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

पोखरा:   पोखरा भिमकालिपाटनस्थित पृथ्वीनारायण क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन र केही विद्यार्थी समूह, संगठनले स्ववियु निर्वाचन रोक्न खोजेको आरोप लगाएका छन् ।  बुधबार प्रेस क्लब गण्डकीले पोखरामा स्ववियु निर्वाचनको औचित्य र आवश्यकता विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने केही विद्यार्थी संगठनहरुले यस्तो आरोप लगाएका हुन् ।   स्वतन्त्र विद्यार्थी समूहबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिवमा उम्मेदवार घोषणा गरेकी विप्लवी न्यौपानेले विभिन्न क्याम्पसहरुमा यही नामबाट चुनाव लड्ने पाउने तर पिएनमा किन नपाउने भनेर प्रश्न गरिन ?  ‘देशको विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी समूहबाट नै निर्वाचनमा भाग लिन पाएका छन्, न्यौपानेले भनिन्, ‘पिएनमा स्वतन्त्र विद्यार्थी समूह दर्ता गर्दा किन अरु समूहलाई अठ्यारौ प¥यो ?’ अनेरास्ववियू पिएनका अध्यक्ष सन्तोष न्यौपानेले क्याम्पसमा केही विद्यार्थी संगठन र समूहले वार्ता र सहमतिको बाटो नखोजी ताला र अदालतमा मुद्धा हालेर निर्वाचन रोक्न खोजेको आरोप लगाए ।  ‘१४ वर्षपछि स्ववियुको निर्वाचनमा होमिएका केही विद्यार्थी संगठन र समूहले ताला र नामको विषयमा अदालतको बाटो खोज्दा निर्वाचन रोक्न खोजियो, न्यौपानेले भने, ‘वार्ता सहमतिको बाटो नखोजी ताला र अदालतको बाटो रोज्दा निर्वाचन रोकिएको हो ।’ उनले क्याम्पस प्रशासनले स्ववियु निर्वाचन गर्न नखोजेको आरोप समेत लगाए ।  नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ पिएनका सभापति गौरव बरालले सक्षम नेतृत्व बनाउने जिम्मा स्ववियुको भएको भन्दै निर्वाचन आवश्यक भएको बताए ।  ‘सडकमा आएर नारा जुलुस गरेर हुँदैन रचनात्मक अभ्यासको सुरुवात गरौं, शिक्षा प्रणाली परिवर्तन गर्नु छ, बरालले भने, ‘सक्षम नेतृत्व बनाउने जिम्मा स्ववियुको भएकाले सबै समस्या समाधान गर्दै निर्वाचनमा जाऔं ।’ उनले अबको विद्यार्थीहरु आध्यामिक, अध्ययनशिल र उद्यमशिलतामा जोड्न पनि स्ववियुको निर्वाचन आवश्यक रहेको प्रष्टाए ।  अखिल क्रान्तिकारी ‘विप्लव’ निकट अनेरास्ववियूका नेता सचिन सीले क्याम्पस प्रशासनबाट विद्याथींहरुको व्यक्तिगत सूचना चुहावत गरेको भन्दै त्यसको छानबिन भए ताला खोल्ने बताए ।  ‘क्याम्पसबाट विद्यार्थीहरुको व्यक्तिगत सूचना लिक भएको छ, भोलि क्याम्पसको महत्वपूर्ण सूचनाहरु यसरी नै लिक होला, श्रीले भने, ‘प्रशासनले सूचना चुहावत गर्ने कर्मचारीलाई छानबिन गरेर कारवाही गर्न तयार भए ताला खोल्न संगठन तयार छ ।’ नेकपा एमाले निकट अनेरास्ववियु पिएनका अध्यक्ष विष्णु पोखरेलले केही क्याम्पसहरुमा पराजित हुने शंकामा विद्यार्थी संगठनहरुले ताला लगाउने गरेको आरोप लगाए ।  ‘त्रिविको कार्ययोजना अनुसार चैत ५ मा हुने केही क्याम्पसहरुमा निर्वाचन अनिश्चित बनेको छ, केही संगठन समूहहरुले निर्वाचनमा पराजित हुने शंकामा ताला लगाउने गरेका छन्, पोखरलले भने, ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीहरुको हक अधिकार प्रशासनले सम्बोधन गर्न सकेको छैन, त्यसैले सबै समस्या समाधान गरेर निर्वाचन आवश्यक छ ।’ पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले विद्यार्थी आन्दोलन सिथिल बनेको बताउदै निर्वाचन गरेर विद्यार्थीका माग र मुद्दामा केन्द्रीत हुन आग्रह गरिन  ।  कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष र सञ्चालन सचिव गौरब त्रिपाठीले गरेको थिए ।  

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको छ।    राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहन श्रेष्ठले बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिनुभयो।   यसैगरी, राप्रपा बैठकले किसानले रासायनिक मलमा पाउदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी एवम् अनुचित भएको औंल्याएको छ। यो निर्णय तत्काल फिर्ता लिइ सुलभ ढंगले समयमै मलको आपूर्ति व्यवस्थापन एवम् दीर्घकालीन समस्याको समाधान गर्न रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएको छ।    राप्रपाले बैंकमा ब्याज बढ्न थालेकाले यसको साना उद्योगी, व्यवसायी र किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकरात्मक असर परेको जनाएको छ। यस विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग पनि गरेको छ।     राप्रपाले पार्टीको सिद्धान्त राजसंस्था भएकोले फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि मतदानमा सहभागी भएको थिएन।  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ।    बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले  प्रधानमन्त्री प्रचण्डले चैत्र ६ या ७ गते विश्वासको मत लिने जानकारी दिए।  उनले त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए।   'सरकारमा जानेबारे छलफल भएको छैन। विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्‍छ,'उनले भने,'चैत्र ६ या ७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ।'   नेकपा एमाले र राप्रपाले कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्तासहित बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।   सरकारबाट बाहिरिए पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन भने कायमै राखेको छ।

काठमाडौं : नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपतिमा यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।    उनका अनुसार बैठकले संघीय सांसद र प्रदेशका एवं सांसदलाई पनि यादवको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको छ।   बैठकले बैशाख १० गते हुने चितवन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पुऱ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिने निर्णय गरेको छ।   बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा बधाई दिएको छ। छ दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रही राष्ट्रियता, लोकतन्त्र र जनहितका पक्षमा निरन्तर उनले पुऱ्याएको योगदानको उच्च सम्मान र कदर गर्दै, राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न  राष्ट्रपति पौडेल सफल हुने विश्वास व्यक्त गरेको छ।   बैठकले कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा रामबहादुर ठकुरी, चितवन क्षेत्र नम्बर- १ का महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।