काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा बुझाएका छन् । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् । यसअघि आजै दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।
काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन् । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताएका हुन् । महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढङ्गले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे । उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे । महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे । ओली काँग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री शर्माले भने, ‘राष्ट्रपति पदमा नेपाली काँग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ । नेपाली काँग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरि त्यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ । म के सार्वजनिक रूपमा सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीलाई स्मरण गराउन चाहन्छु भने–विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत ग¥यो भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली काँग्रेसको उम्मेदवार बन्नु भएको थियो । त्यस बेला पनि यो देशका प्रधानमन्त्री कमरेड प्रचण्ड हुनुहुन्थ्यो । नेपाली काँग्रेस पार्टी विपक्षमा थियो । विपक्ष दल नेपाली काँग्रेसले अगाडि सारेको उम्मेदवार डा. रामवरण यादव देशको राष्ट्रपति बन्नु भयो । यसरी कमरेड केपी ओलीले चाहिँ सुनको बालाको कथा हाली राखेर पिँजडाको फलामे साङ्लो अझै बलियो बनाउने कर्म नगरिदिनु भए हुन्थ्यो । अथवा यो सांसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो । यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौँ भन्ने सोचिदिए हुन्थ्यो । अलिकति अनुरोध गर्दैगर्दा चाहिँ मेरो जिल्लावासी कमरेडलाई अर्को जिल्लावासी नयाँ नयाँ सांसदको के अपिल छ भने–काँग्रेस फोवियाबाट मुक्त भई दिनुस् ।’ महामन्त्री शर्माले सत्तारुढ दलहरूप्रति सङ्केत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे साङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरेर देखिएको समस्या तत्काल हल गर्ने बताउनुभयो। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता अप्ठ्यारालाई छलफल गरेर हल उल्लेख गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुराकानीमा सरकारलाई दिएको समर्थन फिर्ता चाहिँ होइन, मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो। फेरि हामी छलफल गर्छौं। यसलाई हल गर्नेतिर नै जान्छौं। मेरो कोशिस त थियो–राष्ट्रिय सहमति नै गरौं। हाम्रो सत्ता साझेदार बीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने हो। अदालतको निर्णयपछि उहाँहरुलाई केही असहजता भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’’ प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार (आज) बिहान भएको भेटमा मन्त्री फिर्ता बोलाए पनि सरकारलाईं दिएको समर्थन भने फिर्ता नगर्ने बताउनु भएको स्मरण गर्नुभयो।
काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते संघीय संसदनको दुवै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्ने भएकी छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ९५ बमोजिम शुक्रबार दिउँसो ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी रहेको औँल्याउनुभएको हो । “शान्ति प्रक्रियाका कतिपय काम सम्पन्न गर्नुपर्नेछ । यी काम सम्पन्न गर्न सबै दलबीच राष्ट्रिय सहमति हुनुपर्छ । जनताले निर्वाचनमार्फत मिलेर जान मत दिएका छन् । एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ”, नेता पौडेल भन्नुभयो । सबै राजनीतिक दलको सहमतिबाट मुलुकलाई आजको अवस्थामा ल्याइएको जनाउँदै उहाँले समृद्ध नेपालको जनआकाङ्क्षा पूरा गर्न दलहरुबीच एकता आवश्यक रहेको बताउनुभयो । “शान्ति सम्झौता, गणतन्त्र, धर्म निरपेक्षतालगायत सबै राजनीतिक उपलब्धि सहमतिमा गर्यौँ । देशका अगाडि आएका समस्या समाधान गर्न फेरि पनि राष्ट्रिय सहमतिको खाँचो छ”, नेता पौडेलले भन्नुभयो । देशको आर्थिक प्रणाली पूरै बिग्रिएको नभई अर्थतन्त्रको केही सूचक उल्टो बाटोमा रहेको जनाउँदै उहाँले विद्यमान समस्यमा समाधानका लागि पनि सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । “अझै पनि ५५ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । स्वदेशमा रोजगारी सिर्जना चुनौतीका रुपमा छ”, नेता पौडेलले भन्नुभयो । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत राजनीतिक उपलब्धि संस्थागत गर्न जनताले गरेको बलिदानीलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले सोही उपलब्धिका आधारमा आजका दिन जनताले प्रेस स्वतन्त्रता, विधिको शासन, बालिग मताधिकारलगायत अधिकारको प्रयोग गर्न पाएको बताउनुभयो । “आजको आवश्यकता प्राप्त उपलब्धिको रक्षा र जगेर्ना गर्नु हो”, नेता पौडेलले भन्नुभयो, “केही कमीकमजोरी छन् भने विधिपूर्वक समाधान खोज्नुपर्छ । अहिलेको प्रणालीमाथि प्रश्न उठाउने कामले जनताको भावनामा ठूलो असर गर्छ ।”
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर अध्यक्ष ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए। उनले ००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए। उनले भने, '००७ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन्। ०१५ सालको पहिलो निर्वाचित जनप्रतिनिधिसमेत दुई वर्ष पुग्न नपाउँदै अपदस्थ गरिए, थुनामा राखिए र लोकतन्त्र अपहरित गरियो।' नयाँ संविधान जारी भएपछि वर्षैपिच्छे प्रधानमन्त्री फेरिएको बताउँदै ओलीले भने, 'राजनीतिक स्थायित्व गरी जारी भएको संविधानपछि पनि सात वर्षभित्र सात जना प्रधानमन्त्री फेरिए। हामीले राजनीतिक स्थायीत्वका साथ नयाँ संविधान जारी गर्यौँ। तर स्थायीत्व कस्तो भने वर्षमा एउटा प्रधानमन्त्री फेरिने।' ओलीले आफूहरूले राजनीतिक स्थिरताको सँधै अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताए। उनले भने, 'हाम्रो चाहना प्रयास र खोजी स्थिरता र स्थायीत्वको रह्यो। तर, हाम्रो प्राप्ती भने सँधै अस्थिरता रह्यो।'
काठमाडौं: सांसद धनराज गुरुङले सरकारले जनतालाई सेवा दिन कन्जुस्याई गरेको बताएका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद गुरुङले नेताको आचरणकै कारण मुलुक बन्न नसकेको भन्दै नेता नै सच्चिनुपर्ने बताए। नेताको व्यवहार नसच्चिएसम्म नेपालमा भ्रष्टाचार नरोकिने बताए। उनले सरकारले जनतालाई सेवा दिन सरकारी निकाय गम्भीर नभएको भन्दै उनले सरकारी सुविधा पनि नेताका लागि मात्रै भएको बताए। उनले भने, 'गरिब जनताको स्वास्थ्य उपचार तथा अरु कुनै कामका लागि आर्थिक सहयोग दिनुपर्यो भने सरकारले पालिकाको सिफारिस ल्याउ भन्छ। सिफारिस ल्याए पनि निकासा हुँदैन। तर नेताका लागि कुनै सिफारिस चाहिँदैन सजिलै पाउँछ। यो अवस्था किन ? यसलाई सुधार गर्नुपर्छ।' गोरखापत्र अनलाइन
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ । यसअघि शनिबार साँझ बसेको निर्णयक भनिएको बैठक निष्कर्षविहीन भन्दै आज (आइतबार)का लागि तय भएको थियो । संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकलगत्तै सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । पार्टी कार्यालय बसुन्धारामा आइतबार दिउँसो साढे १ बजे सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाउनुभएको छ । पुनः नागरिकता लिनुभएपछि उहाँ गैरसांसद गृहमन्त्री बन्ने कसरतमा हुनुहुन्छ । आजै सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।
काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्। नेपाली कांग्रेसले राष्ट्रियसभामा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ। योसँगै राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध चयन हुने पक्का भएको छ। उपाध्यक्षको मनोनय आज हुँदैछ। राष्ट्रियसभामा हाल ५८ सांसद छन्। जसमा एमालेबाट १८ र माओवादीबाट १६ सांसद छन्। नेपाली कांग्रेसका ११, नेकपा एकीकृत समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका १ र जनमोर्चाको १ सिट गरी २० सिट रहेको छ। अध्यक्षले मतदान नगर्ने भएकाले बहुमतका लागि २९ सांसद आवश्यक हुन्छ।