पोखरा : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टी र स्वतन्त्र उम्मेदवार (जनप्रतिनिधिहरु) ले आ– आफ्नो घोषणा पत्र अगाडी सारे । स्थानीय तहको निर्वाचनलाई दलविहिन बनाउने उद्धेश्यले देशको ठुलो महानगर पोखरा महानगरपालिकामा गनेस पौडेलले पहिलो उम्मेदवारीसँगै घोषणा पत्र सार्वजनिक गरे । सबैभन्दा चाँसोको रुपमा हेरिएको स्थानीय तह काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र पोखरा महानगरपालिकालाई स्थानीय तथा नेता कार्यकर्ताहरुले विशेष चाँसोका रुपमा हेरेका थिए । चुनावी नतिजा ठुला पार्टीले सोचे जस्तो आएन । काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवारीहरुले चुनाव जित्नुले दलको भूमिका माथि प्रश्न उठेको छ । चुनावी नतिजा सार्वजनिक भएपछि दलका नेताहरु जुलुुसमा निस्कदा दुई स्वतन्त्र उम्मेदवार स्थानीयको समस्या समाधान गर्न अगाडी बढे । ‘काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा उदायका बालेन्द्र साह ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्न लागे र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पानीको मुहान खोज्न । तर पाँच दलीय गठबन्धनबाट चुनाव जितेका पोखरा महानगरका मेयर धनराज आचार्यको कार्य शैली भने फरक छ । मेयर भएकै कारण पछिल्लो समय एउटै तुलोमा जोखिन थालेका छन् । चुनाव सकिएको दुई महिना बितेसँगै आम नागरिकको पक्षमा कुन मेयरले कति काम गरे । भन्दै गफिन नागरिकहरु थालेका छन् । मतपरिणाम सार्वजनिकपछि धरानका मेयर स्थानीयसँग खानेपानीको मुहान तिर लाग्दा पोखराका मेयर विजय जुलुस र कर्मचारीको जन्मोत्सवको केक काट्न व्यस्त देखिन्थे । तर उनको एजेण्डा भने पोखरालाई नयाँ परिचय दिने घोषणा गर्दै आए थिए । चुनावी मैदानमा आउँदै गर्दा धरानका मेयर हर्क साम्पाङ राईले धराने जनतालाई पानी खुवाउन नसकेसम्म आफुले चुनावमा विजय भएको अर्थ नहुने तर्क गरेका थिए । त्यसैले उनी यति खेर कार्यालय समयपछि लगातारको श्रमदानपछि धरानमा पानी ल्याउन सफल भएका छन् । यतिबेला उनको गिट्टी कुट््दै गरेको र ढुंगा काधमा बोकेको फोटो भाइरल छ । उनको उक्त कार्यलाई अहिले सामाजिक सञ्जालमा समर्थन र विरोधका टिप्पणीको ओइरो छ । कतिले मयेर हुन् त धरानको जस्तो भनेका छन् त कतिले सस्तो लोकप्रियताका लागि सो कार्य गरेको कहल्याएका छन् ।तर उनले भने कार्यलय विदाको दिन निरन्तर श्रमदानमा व्यस्त रहेको स्पष्ट पार्दै आएका छन् । उनले अन्ततः धरान उपमहानगरपालिकाको ११ र २० वडाको सिमाना खानेपानी ल्याइछाडेका छन् । यता पोखरा महानगरपालिकाका मेयर आचार्यले ११ नगरसभामा बजेट पास भएपछि पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ र धरानको मेयरसँग आफुलाई तुलना नगर्न आग्रह गरेका थिए । उनले पनि पछिल्लो समय धरानका मेयर राइको देखासिखी गर्न लागेका छन् । कृषकको समस्या बुझ्न भन्दै पाखोबारी सम्मै जान भ्याए । अहिले उनले हातमा खर्बुजा लिएको तस्बिर भाइरल छ । मंगलबार पोखराका संञ्चार माध्यममा ‘पोखरेली मेयर कृषकको पाखोबारीमा’ नामक समाचार प्रकाशित भयाे र स्थानीय मिडियामा राम्रै स्थान जमायाेकाे छ । पोखरा महानगरपालिका २१ मा कृषक सम्मान तथा अनुदान वितरण गर्ने कार्यक्रममा पुगेका मेयर र कर्मचारीहरुले कृषक ज्ञानबहादुर कार्कीले उत्पादन गरेको खर्बुजा लिएर फर्केका थिए । सोही तस्बिरलाई लिएर अहिले नागरिकले धरानका मेयर हर्क साम्पाङ राईले ढुंगा बोकेको तस्बिर र पोखरेली मेयरले खर्बुजा बोकेको तस्वीरलाई तुलना गरिरहेका छन् । यद्यपी दवै मेयरहरु आफ्नो नगरपालिका विकासको लागि भने फरक फरक शैलीबाट लागिरहेका छन् ।
पोखरा: यही सेप्टेम्बरदेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा।लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यस अघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु गरिएको थियो । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ । यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय युएसडि (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ । साथै प्रती व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ । बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ । २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न मिल्छ
पोखरा: गण्डकी प्रदेश सभा भवन गेटमा नेकपा एमालेका भातृ विद्यार्थी संगठन अनेरास्ववियुु र राष्ट्रिय युवा संघले सँयुक्त रुपमा विरोध प्रर्दशन गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत अन्य मन्त्रीहरुले पारिवारिक नाममा स्थापित कोषलाई बजेट विनियोजन गरेको विरोधमा विभिन्न नाराबाजी सहित प्रर्दशन गरेको हो । प्रर्दशनको क्रममा युवा तथा विद्यार्थीहरुले ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ भन्दै नारा लगाए । त्यातिमात्रै होइन, उनीहरुले मुख्यमन्त्रीको राजिनामा समेत मागे । उनीहरुले राष्ट्रिय जनमोर्चाको संसदीय दलकी नेतृपियारी थापालाई समेत व्यङ्ग्य प्रहार गरे । ‘कता गयौं पियारी १ करोड सिंगारी’ भन्दै नाराबाजी गरे । यसैगरि ‘मुख्यमन्त्री राजीनमा दे, ‘देश लुट्न पाइँदैन’, ‘वडामन्त्री मुर्दावाद’ ‘सागर कृष्णे बसन्ते गण्डकी प्रदेश मगन्ते’ ‘पिएन क्याम्पसमा होस्टेल निर्माण गर’ लगायतका नारा घन्काएका थिए । हेरौं, सुनगाभाकर्मी बिबि रोकामगरको लेन्सबाट विरोध प्रर्दशन:-
पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र घान्द्रुकमा प्रदर्शन भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र औपचारिक रुपमा बिहिबार घान्द्रुकबाट प्रदर्शन सुरु गरिएको हो । उक्त प्रर्दशनमा स्थानीय सयौंको सहभागिता रहेको थियो । लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्दु्रक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ । घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौँ लगायतका स्थानमा प्रर्दशन गर्ने तयारी रहेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले जानकारी दिए उनका अनुसार उक्त वृत्तचित्रलाई विदेशमा समेत प्रर्दशन गरिनेछ ।
पोखरा: पोखरा महानगरपालिका पूर्वमेयर मानबहादुर जिसीले गैरकानूनी रुपमा उपत्यका नगर विकासको स्वामित्वमा रहेको ६३ रोपनी जग्गा भाडामा दिएको खुलासा भएपछि छानबिन समिति गठन गरिएको छ । नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । काफ्ले संयोजक रहेको उक्त समितिको सदस्यमा पोखरा ३१ का वडाध्यक्ष देबेन्द्र रानाभाट, वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, अधिवक्ता शुकदेव गौतम र झपिन्द्रराज रेग्मी रहेका छन् । उक्त समितिले एक हप्ताभित्र महानगरलाई छानबिन प्रतिवेदन पेश गर्नेछ । कानूनी प्रक्रिया पुरा नगरी सम्झौता गरिएको खण्डमा वर्तमान मेयरले सम्झौता रद्द गर्न पाउँने कानूनी प्रावधान रहन्छ । महानगरलाई छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि कानूनी प्रक्रिया अनुसार सम्झौता भए नभएको ऐकिन गरि निर्णय गर्नेछ । पूर्वमेयर जिसीले गत जेठ ३ गते पर्यटन बसपार्क, गल्फ कोर्स र पोखरा ९ स्थित यातायात कार्यालय पछाडी रहेको जग्गा गरि कुल ६३ रोपनी जग्गा निजी क्षेत्रलाई सुटुक्क भाडामा लगाएका थिए । उक्त प्रकरण बाहिरिएसँगै पूर्वमेयर जिसीले पोखरा र पोखरेली जनताको हित विपरित कुनै पनि काम नगरेको स्पष्तोक्ती दिएका थिए । उक्त प्रकरणको गठित समितिले छानबिन थालेपछि विवादित जग्गामा सबै कार्य रोक्न पोखरा महानगरले जानकारी दिइसकेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २१ गते उपत्यका नगर विकास समितिलाई उक्त प्रकरणबारे सम्बन्धित सम्पूर्ण विवरत र काजगपत्र उपलब्ध गराउन भन्दै पत्र पठाएको थियो । http://sungabhanews.com/story/1465/2022/7/5/bisesh/samaj/
पोखरा : अनुपम म्युजिक, पोखराले उद्घोषण तथा भाषण कलासम्बन्धी एक महिने तालिम शनिबार समापन गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिका, वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बोल्ने कला मानिसको अभिन्न अङ्ग जस्तै भएको बताए । पराजुलीले अनुपमले सञ्चालन गरेको अभियानमा आफू सँगै रहेको भन्दै आफू निर्वाचित भएर आएपछि वडा नम्बर ४ का महिलाहरूका लागि आयोजना गरिएको उद्घोषण तथा भाषण कला तालिम अत्यन्त प्रभावकारी भएको पनि स्मरण गरे । कार्यव्रmममा प्रसिद्ध गायक रामभक्त जोजिजूले आफूले पनि अनुपम म्युजिकमै उद्घोषण तथा भाषण कला सिकेको स्मरण गरे । सुगम सङ्गीत बसेर सुन्ने खालका हुने भएकाले कार्यव्रmमहरूमा त्यस्ता साङ्गीतिक प्रस्तुति कार्यव्रmमको सुरुमै राख्नुपर्ने धारणा राख्दै उनले ‘उडेर जून छुन्छु भन्थेँ...’ बोलको गीत गाएका थिए । साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावीले आजको समयमा सम्पूर्ण जनप्रतिनिधिलाई समेत भाषण कलासम्बन्धी तालिम आवश्यक रहेको धारणा राखे । भाषण कला र भाषिक कलालाई जोडेर कुनै पनि प्रकारका नेतृत्व वर्गलाई ज्ञान र सिप दिनु आजको आवश्यकता भएकोमा जोड दिँदै उनले पिठो बिकाउने मात्रै नभई चामलै बिकाउन पनि सही ढङ्गले बोल्नु आवश्यक भएको भनाइ राखे । अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपममार्फत् २०६२ देखि हालसम्म राजनीतिक, सामाजिक, औद्योगिक, व्यावसायिक, साङ्गीतिक, साहित्यिक क्षेत्रका सयौँ जनालाई १९३ ओटा तालिम सञ्चालन गरिसकेको जानकारी दिए । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान र सिपमा आधारित भएर तालिम दिइने भएकाले पनि अनुपममा सिकारुहरूको आकर्षण बढेको धारणा राख्दै उनले अनुपममा एक पटक भर्ना भएपछि त्यसपछिका कुनै पनि प्याकेजमा निःशुल्क तालिम दिइने भनाइ राखे । प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको कार्यव्रmममा प्रशिक्षार्थीहरू आयुष्मा अधिकारी, आशा थापा मगर, शिवराज अधिकारी, सृष्टि थापा, राजु कार्की, जगनारायण छन्त्याल, हरिप्रसाद सिग्देललगायतले आफ्ना अनुभव सुनाएका थिए । संस्थाका संरक्षक तथा तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेको अध्यक्षता र प्रशिक्षार्थीद्वय विपना थापा र ग्रेसी ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा १ को कार्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तामाङ घेदुङ संघ कस्केरी इकाई समिति प्रथम भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट आयोजना गरिएको जनजाति भेषभुषा संरक्षण सम्बन्धि वक्तृत्वकला प्रतियोगितामा ७ समुहलाई पछि पार्दै कस्केरी तामाङ घेदुङ समिति प्रथम भएको हो । त्यसैगरि उक्त प्रतियोगिताबाट सिमपानी तमु समाज द्धितिय र तान्चोक तमु समाजले तृतिय स्थान हाँसिल गरेको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार ६ प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने टिमले क्रमश नगद ७ हजर, ५ हजार र ३ हजार प्राप्त गरे । त्यसैगरि प्रतियोगितामा सहभागिता जनाएका सबै टिमलाई सहभागिताको प्रमाणपत्र सहित नगद राशीको समेत प्रदान गरिएको थियो । सो प्रतियोगितामा कार्यक्रम निर्णायकका रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सुरेन्द्र गुरुङ, कवि कृष्ण बहादुर श्रेष्ठ र नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइबा तामाङ रहेका थिए । कार्यक्रममा पुरस्कार वितरण पश्चात बोल्दै प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधानले नेपाल प्राकृतिक र साँस्कृतिक रुपमा धनि रहेको बताउदै संरक्षणमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रम संयोजक रामध्वज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शोभा गुरुङले गरेकी थिइन् ।
पोखराः पोखरा महानगरपालिकाका ४ का राजेन्द्रनिधी कोइरालाको परिवार कानूनी उपचारकालागि माथिल्लो अदालत जाने तयारी थालेका छन् । पोखरा महानगरपालिकाको कार्यालय नजिकै रहेको ५ रोपनी बढि जमिनमा दाबी गरेका राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाविरुद्ध जिल्ला अदालतले फैसला गरेपछि उनीहरु अन्याय भएको भन्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् । जिल्ला अदालतको फैसलापछि पीडित भएको भन्दै राजेन्द्रनिधि कोइरालाले पैतृक सम्पत्तिमाथि दाबी गरेको बताए । उनले भने ‘हामीले सार्वजनिक, पाटीपौवाको जग्गा दाबी गरेका होइनौ ।’ केही वर्ष आफुहरुले जग्गाको तिरो समेत तिरेको भन्दै जग्गाको लालपुर्जा परिवारको नाममा हुँदाहुँदै जिल्ला अदालत कास्कीले सार्वजनिक हुने फैसला गर्नु अन्यायपूर्ण भएको उनको दाबी छ । ‘जग्गाको प्रमाणपत्र भनेको लालपुर्जा हो । त्यो हामीसँग छ र तिरो पनि तिरेको छौं भोगचलन हामीले नै गरेका छौं, उनले भने, ‘हामीलाई जिल्ला अदालतले जुन किसिमले हराएको भनिएको छ । त्यसमा हामी पूर्ण असन्तुष्ट छौं । हामीले न्याय खोज्ने क्रममा न्याय पाएनौ । त्यसैले गलत र त्रुटीपूर्ण फैसलाको विरुद्ध हामी कहाँ जानुपर्छ हामी शिलशिला अनुसार न्यायालय जान्छौं ।’ उनले कानूनको शिलशिला अनुसार न्याय खोज्न जाने बताए । ‘कानूनको शिलशिला अनुसार जान्छौं । हाम्रो जग्गा हो हामीले नै पाउँछौ हामी हार्छौ भन्नेमा एक रतिपनि विश्वास छैन । र कुनैपनि कानून व्यवसायीले हामीहरु कमजोर छ गल्ती छ भन्नै सक्दैनन् ।’ कोइरालाले थपे । आफुहरुले भोगचलन गर्दै आएको जग्गामाथि केही स्वार्थ भएका व्यक्तिहरुले मुदा हाली गलत गरेको उनको तर्क छ । ‘अहिले जे भएको छ हाम्रो रिस, डाहका कारणले हामीप्रति विरोधीहरु लागिराछन्, उनले भने, ‘हामीहरु देशमा प्रजातन्त्र ल्याउनुपर्छ । जनताको पक्षमा लाग्नुपर्छ भनेर लडाई लड्दै आएको परिवार हो । रिस र डाहले गर्दा अहिले हामीलाई कसरी तल झार्ने भनेर विरोधीहरु लागिराछन् ।’ कोईराला परिवारले उक्त जग्गाको अन्तिमपटक जरिवानासहित ८ लाख ५२ हजार ३ सय ५८ रुपैयाँ कर तिरिसकेका छन् । जिल्ला अदालत कास्कीले आफुहरुसँग भएको प्रमाण नहेरी एकोहोरो व्यक्तिको नाममा रहेको जग्गा सार्वजनिक हुने भन्दै गरेको फैसलाले अन्याय भएको शकुन्तला कोइरालाले बताइन् । ‘अहिले अदालतले जिल्लाको सर्वाेच्चको कागज नहेरिकन एकोहोरो फैसला गरेको छ । त्यो कसको दबाबमा गरेको हो थाहा भएन, उनले भनिन्, ‘त्यो जग्गा अहिलेसम्म हाम्रै भोगचलनमा छ । त्यसैले हामी स्टेप अनुसार न्यायालयमा जान्छौं ।’ फैसलामा के छ ? जिल्ला अदालत कास्कीले गएको सोमबार (१३ गते) पोखरा महानगरपालिका नजिकै रहेको ५ रोपनी जग्गा सार्वजनिक हुने फैसला गरेको थियो । चलनचल्तीमा रहेको जग्गाको मूल्य अनुसार अरबौं पर्ने सो जग्गामा ४ दशकदेखि पोखरा महानगरपालिका वडा नं. ४ का कोइराला परिवारको दाबी रहँदै आएकोमा जिल्ला अदालले पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको हो । राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले दाबी गर्दै आएको उक्त जग्गा सार्वजनिक ÷ सरकारी गरिपाऊ भनि नागरिक समाजका अगुवाहरु विष्णुप्रसाद बराल र परशुराम बराल तथा अधिवक्ता डिल्लीराम अधिकारीले कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए । नगर योजना कार्यान्वयन समितिको उत्तराधिकार संस्था पोखरा उपत्यका नगर विकास समितिले पनि जमिन आफ्नो हुनुपर्ने दाबीसहित मुद्धा हालेको थियो । न्यायधीश श्रीकृष्ण भट्टराईको इजलासले उक्त जग्ग पोखरा उपत्यका नगर विकास समितिको दाबी पुग्ने फैसला गरेको थियो । उक्त फैसलापछि नगर उपत्यका विकासले आफ्नो जग्गा संरक्षण गर्ने भन्दै डोजर चलाएको थियो । साथै उक्त ठाउँलाई पार्किङको लागि सम्म्याइएको महानगरपालिकाले जनाएको थियो ।
पोखरा: गायक स्रेजल विक्रम भण्डारीको ‘हराएको माया’ सार्वजनिक भएको छ । चङ्गा प्रोडक्सनको व्यानरमा बनेको उक्त गीतको म्युजिक भिडियो प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । विवेक गुरुङको निर्देशनमा बनेको उक्त भिडियोमा १६ वर्षिय गायक भण्डारी र श्रेया लामा महर्जन (युट्युब स्ट्रिमर) को मुख्य अभिनय रहेको छ । सो म्युजिक भिडियोमा नायक सोम गुरुङ, शीला गुरुङ, धिरज गुरुङ, सहदेव राई, लेख बहादुर गुरुङ र डिल्लीराम गुरुङको समेत अभिनय रहेको छ । भने म्युजिक भिडियोको छायांकन र सम्पादन निकोलस गुरुङले गरेका छन् । भिडियोमा किशोर किशोरीलाई कलिलै उमेरमा विवाह गरिदिन नहुने विषयवस्तुलाई समावेश गरिएको छ । भने बालविवाह विरुद्धको कथावस्तुलाई प्राथमिकता साथ दर्शाइएको छ । भिडियो:

