कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

पोखराः गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात्रमन्त्री कुमार खड्काले आज पृथ्वीचोकस्थित बसपार्क क्षेत्रको अवलोकन गरेका छन् । अवलोकनकाक्रममा मन्त्री खड्काले  बसपार्कको नाली र ढलान निर्माणमा ७५ लाख रुपैयाँ खर्चेको बताए ।    वडा कार्यालयका पदाधिकारी र स्थानीयसँग गफिँदै मन्त्री खड्काले बसपार्कमा नाली र ढलानको काम प्रदेश सरकारले नै गर्ने बताए । ‘पहिले ७५ लाख बाट नाली र ढलानको काम सुरु गरेको तपाइहरुलाई थाहै छ’ खड्काले भने ‘यसपटक मैले ५ करोड रुपैयाँ छुट्याएर निर्माणलाई निरन्तरता दिनेछु ।’   बसपार्क निर्माणको काममा महानगरपालिका पनि अघि सरेको बताउँदै उनले प्रदेश सरकारलाई नै काम गर्न दिनुपर्ने धारणा राखे । ‘गण्डकी प्रदेश सरकारलाई नै काम गर्न दिनुहोस् उनले भने ‘नगरपालिकाले ५–१० लाख रुपैयाँ हाल्दा डुप्लिकेसन भयो ।’ सोही क्रममा उनले मंसिरमा पद गएपनि बहुवर्षे ठेक्का रोक्न नमिल्ने भन्दै बसपार्क बनाएरै छाड्न अठोट गरे ।    बसपार्कमा नाली र ढलान बनेपछि महानगरले क्रेडिट लिन खोजेको भन्दै उनले प्रदेश सरकारले नै निर्माण गर्ने बताएका छन् । एउटै ठाउँमा वडाले, महानगरले, प्रदेशले र संघले पनि गर्दा भ्रष्टाचार हुन्छ भन्दै उनले महानगरले गर्ने हो भने अन्तै काम गरोस् भनि धारणा राखे ।   नाली र ढलानको काम गर्दा महानगर, वडा, अन्य संस्था आएर ५ लाख रुपैयाँ हाल्दै क्रेडिट लिन खोज्ने परिपाटी हावी हुनसक्नेतर्फ उनले चिन्ता व्यक्त गरे ।    यही साउन, भदौदेखि थप नाली निर्माण  ढलानको काम सुरु गर्ने बताउँदै उनले महानगर र संघले बसपार्क निर्माणको प्रक्रियालाई अघि बढाउनुपर्ने उल्लेख गरे । ‘महानगर ५–१० लाख रुपैयाँ छुट्याएर ढलानको काममा मिसिन आउने हैन’ व्यंग्यात्मक शैलीमा खड्काले भने ‘उहाँहरुले बसपार्कको टर्मिनल भवन, जग्गाको काम गर्नेतर्फ लाग्नुपर्छ ।’   बसपार्क निर्माणकालागि ४७ वर्ष पहिले जग्गा अधिग्रहण गरिएको हो । सुरुमा २ सय ५ रोपनी क्षेत्रफल रहेको जमिन अहिले अनुमानित ८१ रोपनीमा सिमित भएको छ । बसपार्क क्षेत्रमा करिब ५ सय सुकुम्बासीले जमिन ओगटेर बसेका छन् भने केही व्यापारीसमेत रहेका छन् ।    जेठको अन्तिम साता मन्त्री खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्तरुपमा नाली र ढल निर्माणको शिलान्यास गरेका थिए ।   

  पोखरा:   लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता आयोजना हुने भएको छ ।    कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आगामी साउन १२ देखि १४ गतेसम्म पोखरा सभागृहमा स्रष्टा सम्मान तथा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण बहादुुर गुरुङ ‘ह्योल्मो’ नेपालकै सर्वाधिक पुरस्कार राशीको दोहोरीगीत प्रतियोगिता आयोजना गर्न गइरहेको बताए । उनका अनुसार उक्त प्रतियोगिताको विजेता जोडीले नगद रु ६ लाख प्राप्त गर्नेछ । यसैगरि द्वित्तिय हुने युगल जोडीले ४ लाख, तृतीय हुनेले २ लाख र सान्तवना  स्थान हाँसिल गर्ने जोडीले १ लाखको हकदार बन्नेछ ।   उनले उत्कृष्ट गायक र गायिकाकालाई जनही ५० हजारले पुरस्कृत गर्ने जानकारी दिदै अनुशासित एक समुहलाई नगद रु ५० हजार प्रदान गरिने बताए । यसैगरी प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक जीवन दाहालले उक्त प्रतियोगितामा देशभरबाट करिब प्रतियोगितामा ४० देखि ४५ समुहको सहभागिता रहने बताए ।    उनले प्रत्येक समुहलाई प्रतियोगिताबाट नबाहिरिदासम्म दैनिक ३ हजार भत्ताको व्यवस्था गरेको समेत बताए । दाहालका अनुसार एउटा टोलीमा एक पुरुष र एक महिला रहनेछन् ।   उक्त प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी रहनेछन् ।   स्रष्टा सम्मान छनोट समितिका संयोजक खेम गुुरुङका अनुसार सोही कार्यक्रमकै अवसरमा यसवर्ष स्वर्गीय योगन्द्र बहादुर बस्नेत र कलाकार तथा संगितकार नारायण रायमाझीलाई नगद २५ हजारसहित सम्मान गरिने छ ।

पोखरा:  पोखराको फेवातालको मुहान भनिने पामे क्षेत्रमा भएको प्लटिङको विषयमा आज राष्ट्रियसभामा चर्चा चलेको छ ।    सभाका सदस्य खिमलाल देवकोटाले तालको सिरानमै धमाधाम प्लटिङ् भएकोमा चिन्ता व्यक्त गर्दै यसले फेवाको आयु घटाउँदै लगको बताएका छन् । सोही प्रसंगमा देवकोटाले भने, ‘ मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ । भूमाफिया र दलालहरुको चंगुलमा छ । फेवातालको पानीको स्रोत र मुहान हर्पनखोला माथिको मानवीय दमन र हिंसा झन् कहालीलाग्दो छ ।’   फेवासँग बाल्यकालीन सम्झनालाई उजागर गर्दै उनले पामेबजारसम्म फेवाताल फैलिएको सुनाए । ‘ढुंगा, गिट्टी, बालुवालगायतका नाममा यसको निरन्तर दोहन भइरहेको छ’ उनले भने ‘दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिँदैछ । पानीका स्रोतहरु मेटिँदैछन् ।’   ताल संरक्षणमा प्रमुख भूमिका खेल्नुपर्ने पोखरा महानगरपालिकाले नै फेवाको अस्मितामाथि खेलवाड गरेको देवकोटाको आरोप छ । फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि महानगरपालिकाले खुट्टा कमाएको उनले टिप्पणी गरे ।    त्यस्तै, जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पूण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेस गर्न गठित समितिको २०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्न समेत उनले माग गरेका छन् ।    सभामा भावुक शैलीमा प्रस्तुत भएका देवकोटाले सिमसार क्षेत्रमा कंक्रिटको जंगल बढ्दै गरेको, पानीको मुहान छेकेर प्लटिङ गरेको भन्दै यसलाई तत्काल नरोके फेवातालको आयु शताब्दी हाराहारीमा भएको उल्लेख गरे ।    ‘फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइरहँदा टुलुटुल हेरेर बसे’ देवकोटाको भनाई छ ।

पोखराः पोखरामा हालै एक साहित्यकारले प्राप्त गरेको दर्जन हाराहारीको पुरस्कार एवं सम्मानलाई लिएर गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्य खड्का बिखर्ची आलोचित भएका छन् ।    प्रसंग हो, गत शनिबार आयोजित देशभक्तसिंह कुँवरलाई गरिएको सम्मान कार्यक्रम । आफुलाई अलौकिक कवि भनेर चिनाउने कुँवरलाई एक दर्जन संस्थाले ५० हजारका दरले ६ लाख रुपैयाँको नगदसहित सम्मान गरे ।    उक्त सम्मान कार्यक्रममा १ दर्जन नै प्रमुख अतिथि रहेका थिए । जसमध्ये एक अतिथि हुन् प्रज्ञा प्रतिष्ठानका कूलपति बिखर्ची । सुन्दै विशेष र महान लाग्ने उपाधिबाट सुशोभित गराइएका कुँवर र उनकाबारे जिज्ञासा राख्दा कूलपति बिखर्चीले साहित्यकार केही भावुक हुने भन्दै कुँवरलाई साथ समर्थन गरे भोली देशकै ठूला साहित्यकार हुनसक्ने टिप्पणी गरे ।    ‘महाकवि देवकोटालाई पनि पहिले पागल भनिएको थियो’ बिखर्चीले भने ‘भोली उनी पनि त्यस्तै नहोलान् भन्न सकिन्न नी !’ यद्यपि, सामान्य सम्मान कार्यक्रम भनेर निम्तो गरिएपछि कार्यक्रममा पुगेको र त्यहाँ पुगेपछि अद्भूत–अद्भूत विभुषण दिइएको उनले सुनाए ।    ‘उनको (देशभक्त) बुवा मेरा साथी पनि हुन्, त्यही भएर पनि कार्यक्रममा गएको हुँ’ बिखर्ची भन्छन् ‘साहित्कायरले नै बोलाएको कार्यक्रममा प्रतिष्ठानकोतर्फबाट नजाने कुरा पनि भएन ।’ कुँवरले १ सय ८ कृति रचना गरिसकेकाले उनमा केही खुबी भएको उनको भनाई छ ।   तर हालसम्म कुँवरको कुनैपनि रचना नपढेको जनाउँदै बिखर्चीले झण्डै मरेर बाँचेका हुनाले उनलाइ ‘अलौकिक कवि’ भनिएको प्रष्ट्याए ।  प्रतिष्ठानले ‘दुर्लभ महामानव’ भन्ने विभुषणलाई कसरी व्याख्या गर्छ ?’ भन्ने प्रश्नमा बिखर्ची भन्छन् ‘अब धेरै सोधखोज नगर्नुस् न, आइन्दा यस्तो कार्यक्रममा म जान्न ।’   सोही कार्यक्रममा कूलपति बिखर्ची अतिथिको हैसियतमा उपस्थिति भएको विषयमा सदस्य–सचिव मनकुमार श्रेष्ठले भने खरो टिप्पणी गरेका छन् । ‘पोखरा साहित्य र संगीतको उर्वरभूमि हो तर कूलपति जुन कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सहभागी हुनुभयो त्यसले प्रतिष्ठानको गरिमामाथि आँच आउने काम भयो ।’   कुनैपनि कार्यक्रममा कतैबाट निम्तो आए त्यसउपर छलफल गरेरमात्रै सहभागी हुने परम्परा राख्न आवश्यक भएको उनको बुझाई छ । ‘शनिबारको कार्यक्रम त गाइजात्रा नै भयो’ श्रेष्ठ भन्छन् ‘अतिथिको पनि दोष छैन होला, यस्ता कार्यक्रममा स्वयं आयोजकले पनि ध्यान पु¥याउनुपर्ने हो ।’   त्यसो त उक्त कार्यक्रममा पोखराका चर्चित र स्वनामधन्य व्यक्तिलाई अतिथि बनाएर आयोजक र पुरस्कृत व्यक्तिले वाहवाही लुट्न खोजेको श्रेष्ठको अनुमान छ । श्रेष्ठ भन्छन् ‘आयोजकको स्वार्थमा प्रतिष्ठानलाई बेच्न खोजियो, आइन्दा कूलपतिज्यूले पनि सामान्य हेक्का राख्नुप¥यो ।’     इन्याल्क नेपाल नामक संस्थाद्वारा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा बिखर्चीसहित शिक्षावीद् जर्ज जोन, छन्दनायक माधव वियोगी, समीक्षक मदन भण्डारी, वरिष्ठ गायिका बाबा राणालगायत प्रमुख अतिथि रहेका थिए ।  सम्मान गर्ने संस्थाहरुमा इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौं र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपांकन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौं, काविन ग्राफिक्स डिजाइनिङ एण्ड सोलुसन र माछापुच्छे« नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार रहेका छन् ।    कार्यक्रममा कुँवरलाई साहित्य सम्राट, वाङ्मय सम्राट, शब्द सम्राट, सिर्जना सम्राट, लेखक सम्राट, रचना सम्राट, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग संचारमणि र दुर्लभ महामानव उपाधिबाट सम्मान गरिएको हो ।     जानकारहका अनुसार कुँवरलाई सम्मान गर्ने संस्था र पुरस्कारको राशीमा परिवारकै योगदान रहेको छ । कुँवर सम्मानित भएपछि सामाजिक सञ्जालमा विभिन्नखालको टिका–टिप्पणी गरिएका छन् ।   

पोखरा:   पोखरा महानगरपालिका ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगरको प्रस्तावलाई सर्वदलीय नेता तथा स्थानीय अगुवाहरुले अस्वीकार गरेका छन् ।   क्रियाशिल विभिन्न राजनीतिक दल र स्थानीयबीच आज (शनिबार) वडामा भएको सर्वदलीय भेलाले पोखरा ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगराको प्रस्तावको विरुद्धमा निर्णय गरेको हो ।   साथै सो भेलाले स्थानीय नागरिकसँग समन्यव नगरी गरेको प्रस्तावलाई सञ्चाउन माग गर्दै उक्त वडामा ल्याण्डफिल्ड साइट लान नदिने निर्णय गरेको छ । स्थानीय अगुवा तथा नेता किरण थापाले ३३ नम्बर वडामा क्रियाशिल विभिन्न राजनैतिक दलका अगुवाहरु ल्याण्डफिल्ड साइटलाई आफ्नो वडामा ल्याउँन नदिने पक्षमा रहेको बताए ।    उनका अनुसार सर्वदलीय बैठकपछि भएको निर्णयमा भनिएको छ, ‘पोखरा महानरपालिकाद्वारा समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो वडा नम्बर ३३ को टिमुरफाँटा भन्ने ठाउँमा महानगरले प्रस्ताव गरेकोले हामी पोखरा ३३ का क्रियाशिल राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ ।   आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ती र निर्माण प्रक्रिया सुरुवात गर्न रु १० करोड बजेट प्रस्ताव गरिएकोले आज (शनिबार) बसेको यस बैठकबाट हामी सम्पूर्ण राजनैतिक दलबाट उक्त कार्य रोक्न र निर्णय सच्याउन महानगरपालिका पोखरा ३३ वडा कार्यालयमार्फत पोखरा महानगरपालिका र प्रमुख धनराज आचार्यसँग जोडदार माग गर्ने सर्वसम्मत निर्णय गरियो ।   साथै वडास्तरमा कुनै सल्लाह र छलफल पनि नभई महानगरबाट हाम्रो जायज मागलाई सम्बोधन नहुने देखिएमा क्रमबद्ध तरिकाले जनस्तरबाट नै सँघर्षको सुरुवात गरि उक्त कार्य रोक्ने समेत निर्णय गरिन्छ । साथै उक्त कार्य रोक्न र अविलम्भ नगरसभाबाटै निर्णय सच्याउन सबै दलको तर्फबाट सँयुक्त ज्ञापन पत्र महानगर प्रमुखसमक्ष बुझाउने निर्णय गरियो ।’   उक्त बैठकमा नेपाली कांग्रैस ३३ का सभापति तिलक प्रसाद अधिकारी, सोही पार्टीकै टेक बहादुर महत, गोविन्द प्रसाद गौतम, नेकपा एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, यसैगरि प्रतिनिधी चन्द्रप्रसाद पौडेल, ऋषिराम आचार्य, नेकपा माओवादी केन्द्रका यज्ञप्रसाद अधिकारी, बाबुराम अधिकारी, नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, केशव आले यसैगरि जनता समाजवादी पार्टीका किरण थापा, शम्भु खाती परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो ।  

पोखरा:  ८ बुँदे सहमतिसहित पोखराको पालिखे चोकमा निर्माणधिन फल्चा विवाद टुङ्गिएको छ ।  शुक्रबार महानगरका मेयर धनराज आचार्य, भिन्तुना युवा क्लब र स्थानीयहरुबीच पोखरा ३ पालिखे चोकमा निर्माणाधिन फल्चाको विषयमा ८ बुँदे सहमति गर्दै विवाद समाधान भएको हो ।    यसअघि भिन्तुना युवा क्लबका अध्यक्ष राजन श्रेष्ठ नेतृत्वाको टोलीले पालिखे चोकमा फल्चा निर्माण रोक्न भन्दै विरोध गर्दै आएका थिए । ‘फल्चा भित्र हिटी (धारो) नराख्ने, फल्चाको आकार मिलेसम्म सानो बनाउने, हालको मेयरको कार्यकाल भित्र आवश्यक अधिग्रहण गरि पालिखेचोक चक्लाबन्दी गर्ने तथा सो चोकदेखि नालामुखसम्म ढल तथा सडकको स्तरोन्नती कार्यक्रम अगाडी बढाउने साथै भिन्तुना युवा क्लब र सरस्वती मन्दिर संरक्षण समिति र स्थानीयसँग सहकार्य गर्ने’ पत्रमा उल्लेख गरिएको छ ।    यसैगरि विकास गर्ने क्रममा आवश्यक परेको खण्डमा सो फल्चा हटाउन दुवै संस्थासँग सहकार्य गर्ने, वडामा आयोजना हुने हरेक कार्यक्रममा सहकार्य गर्दै अगाडी बढ्ने सहमति भएको छ ।      सकियो ५० प्रतिशत काम   पोखरा महानगरपालिका ३ पालिखे चोकमा निर्माणाधिन फल्चाको ५० प्रतिशत काम सम्पन्न भएको छ ।  अभियन्ता अशोक पालिखका अनुसार महानगरपालिकाले २० गते सम्मको समय दिएकाले फल्चा निर्माण तिन दिनभित्र सम्पन्न हुनेछ ।    सिता विल्डर्सले ठेक्का सम्झौता गरि १९ लाख २२ हजार ९ सय २५ रुपैयाँमा फल्चा निर्माणको काम गरिरहेको छ । 

पोखरा: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गर्दै महिना दिनभित्र समितिको स्वामित्वमा रहेको जग्गा खोजी गर्ने बताएका छन् ।    आफुले तोकेको समयसीमाभित्र नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर सार्वजनिक गर्ने मेयर आचार्यको प्रतिबद्धता छ ।    ‘पोखरामा पोखरा उपत्यका नगरविकास समितिसँग प्रसस्त जग्गा छ । तर, के कति छ भन्ने लेखाजोखा नै राखिएको छैन’ आचार्यले भने ‘संरक्षणमा समेत ध्यान दिइएको छैन भन्ने आम नगरवासीलाई परेको छ । आफ्नो सम्पत्ति संरक्षण गर्न सकेन भन्ने परेको छ ।’   यसैबीच जिल्ला अदालत कास्कीको फैसला अनुरुप उपत्यका नगरविकास समितिको ठहर्ने फैसलाबाट प्राप्त जमिन सार्वजनिक हितका लागि प्रयोग गर्न खाली गराउने बैठकले निर्णय गरेको छ ।    त्यसका लागि ३५ दिने सूचना निकाल्ने र सम्याउने निर्णय भएको हो । साथै उक्त जग्गा प्राप्त गर्न नगरविकास समितिको तर्फबाट मुद्धा दायर गर्ने र बहस गर्ने सबैप्रति बैठकले आभार प्रकट गरेको छ ।   

पोखरा:   पोखरा महानगरपालिका २५ हेमजा  माइस्थानस्थित झण्डै १० रोपनी फाँटको असारे हिलोमा बुधबार विद्यार्थी देखि विदेशी पाहुना रमाए ।    रोपाइ जात्रामा विभिन्न माहौल देखियो । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पर्यटक दौड, डोरी तान्ने प्रतियोगिता र हिलो दौड प्रतियोगिताकै कारण पोखराको असारे पन्ध्र विशेष बन्यो ।   यस्तो माहौल पोखरामा विगत १७ वर्षदेखि पोखरा पर्यटन परिषद्ले जुराउदै आएको छ । तर गत २ वर्ष भने कोरोना भाइरसको कारण रोपाई जात्राको माहौल जुरेन ।  यसपटक आन्तरिक र वाह्य पर्यटकले खुलेरै रोपाई महोत्सवकाे मजा लिए ।    ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ १७ औं असारे रोपाई महोत्सवमा स्थानीय तथा वाह्य पर्यटक गरेर झण्डै १० हजार बढीको सहभागिता रहेको थियो । १७ तस्बिरमा हेरौं असारे पन्ध्रको रौनक:-   तस्बिर: गिता रानामगर                                

पोखराः मणिपाल अस्पतालका कर्मचारीले प्रशासनसमक्ष विभिन्न माग राख्दै आन्दोलन सुरु गरेको आज २६ दिन भइसकेको छ । यसबीच अस्पतालको ओपिडीसमेत पूर्णरुपमा सुचारु हुन सकेको छैन ।    आन्दोलनका कारण अपरान्हपछि मात्रै ओपिडी सेवा दिइँदै आइएको छ । आन्दोलित कर्मचारी आबद्ध युनियन र अस्पताल प्रशासनबीच पटकपटक वार्ता भएपनि समस्या समाधान हुन सकेको छैन ।    कर्मचारीहरूलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सन् २०१० मा कर्मचारी सङ्गठनहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको, सञ्चित बिदा र अतिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेकोे उनीहरुले जनाएका छन् । यसको विपरित अस्पताल प्रशासनले नेपाल सरकारको श्रम ऐन अनुसार सबै सेवा सुविधा दिएको भन्दै अडिग रहेको छ ।    यही विषयमा साेमबार पनि आन्दोलनरत कर्मचारी र प्रशासनबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । वार्ताबाट समस्याको निकास नआउनुमा बतास समूहको संलग्नता भएको जनाइएको छ ।    ‘हामी सोमबार वार्ता बस्यौं’ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मनिपाल इकाई अध्यक्ष अमृत पौडेलले भने ‘तर प्रशासनले नयाँ मालिकसहित वार्ता गरेर पुनः छलफल गर्ने जानकारी दियो ।’ नयाँ मालिक को हो ? भन्ने प्रश्नमा अध्यक्ष पौडेल भन्छन् ‘बतास समूह ।’   मणिपाल अस्पताल खरि प्रक्रिया टुंग्याएको दाबी गर्ने बतास समूहकै अप्रत्यक्ष हस्तक्षेपका कारण कर्मचारी आन्दोलनको समस्या समाधान हुन नसकेको पौडेलको बुझाई छ । ‘हिजो अस्पताल प्रशासनले वार्ताकै दौरान नयाँ मालिक भन्दै बतास समूहसँगै बसेर छलफल गर्ने भनेपछि हामी बल्ल स्पष्ट भयौं’ पौडेलले भने ।    आज दिउँसो ३ बजे बतास समूहसहित त्रीपक्षीय वार्ताको तालिका रहेको बताउँदै पौडेलले कर्मचारीहरुको माग पुरा हुनेमा आशावादी रहेको जनाएका छन्  ।   मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेको बताइएको छ । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ ।    करिब सवा ३ अर्ब रुपैयाँमा यी दुई व्यवसायीले मणिपाल खरिद गर्ने प्रारम्भिक सम्झौता भएको थियो । अस्पताललाई ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा किनिएको सार्वजनिक भइसकेको छ।   भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल सञ्चालन गरेको थियो ।