पोखराः कास्की जिल्लाका अधिकांश स्थानमा शनिबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाकाकारण पोखरामा मानवीय क्षति भएको छ भने विभिन्न स्थान जलमग्न भएको छ । पोखराको डिहिकोपाटनमा रातको १ बजे पहिरोले घर पुरिँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ । त्यस्तै, कास्कीका ४ गाउँपालिकामध्ये अन्नपूर्णमा वर्षाले असर पारेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमा सबैभन्दा बढी क्षति पु¥याएको छ । गाउँपालिकाअन्तरगत घान्द्रुक, लान्द्रुक र दाङसिङमा अहिले यातायातसम्पर्क हुनसकेको छैन । विभिन्न स्थानमा पहिरो खसेकाले घान्द्रुकसँग यातायात सम्पर्क टुटेको अध्यक्ष केसीले जानकारी दिएका छन् । त्यस्तै, लान्द्रुक र दाङसिङ जाने सडकमा पनि पहिरो खसेकाले सवारी साधन चल्न सकेको छैन । मुस्किलले मोटरसाइकल चल्न सकेको केसीले बताएका छन् । यसैगरी, वडा नम्बर ९ का कतिपय स्थानमा पनि बाटोघाटो अवरुद्ध भएको छ । यसबाहेक कुनैपनि मानवीय क्षति नभएको र चौपाया एवं बालिनालीमा असर नपुगेको उनले उल्लेख गरे । हाल अवरुद्ध भएको सडक खुलाउन निकै मिहिनेत गनुपर्ने अवस्था रहेको केसीको भनाई छ । स्मरणीय छ, देशकै धेरै पानी पर्ने लुम्ले–काँडे यसै गाउँपालिकामा पर्दछ । त्यस्तै, रुपा गाउँपालिकाको अवस्था सामान्य छ । अध्यक्ष नवराज ओझाले पालिकाभित्र ग्रामीण कच्ची सडक धेरै नभएकाले यातायात सहज छ भने अन्य क्षति भएको विवरण छैन । ‘सबै ठिकठाक छ’ अध्यक्ष ओझाले भने ‘तपाइहरुलाई कुनैपनि अप्रिय घटना सुनाउन नपरोस् भनेर कामना गरिरहेको छु ।’ जिल्लाको अर्काे गाउँपालिका माछापुच्छ्रेमा पनि वर्षाले क्षति पु¥याएको छैन । अध्यक्ष मिनबहादुर गुरुङका अनुसार सिदिङ् जाने बाटो केही अघि क्षति भएपनि अहिले यातायात सुचारु भएको छ । असार बाढीबाट सजग हुन सबै वडामा खबर पु¥याइएको बताउँदै पालिकासमेत तयारी अवस्थामा रहेको उनले सुनाए । त्यस्तै, आइतबार अपरान्हसम्म मादी गाउँपालिकाको अवस्था पनि सामान्य रहेको छ । ‘कुनैपनि विपद्को घटना सुन्नमा आएको छैन’ पालिका अध्यक्ष देविजङ्ग गुरुङले भने ‘पानी त परेको छ तर त्यस्तो क्षति नै पु¥याउनेखालको ठूलो पानी परेको छैन ।’ गुरुङका अनुसार पुल–पुलेसा, बाटोघाटो, मानिस र चौपायालाई हालसम्म वर्षाले असर पु¥याएको छैन । उनले भने ‘यता खासै ठूलो पानी परेको छैन ।’
पोखराः पोखराका साहित्यकार दीपक पराजुलीको पहिलो उपन्यास ‘मिथ्या’ पद्यश्री पुरस्कारकालागि मनोनयनमा परेको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्ष ५ कृतिको सूचीमा मिथ्यालाई समावेश गरेको हो । सूचीमा परेका अन्य कृतिमा डा. नवराज लम्सालको महाकाव्य अग्नि, केशवराज ज्ञवालीको कथासङ्ग्रह अर्को भोर, उषा हमालको निबन्धसङ्ग्रह भिक्षुसँग प्रेम, दीपक पराजुलीको उपन्यास मिथ्या र केवल बिनाबीको कविता सङ्ग्रह यादहरूको सङ्ग्रहालय रहेका छन् । यसअघि नै प्रतिष्ठानले असार १५ मा पुरस्कारका लागि छनोट गरिएका पुस्तकहरूको लामो सूची जारी गरेको थियो । उक्त लामो सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट छोटो सूचीका लागि पाँचवटा कृतिहरूको नाम उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पुरस्कारको राशि सुरुमा एक लाख रुपैयाँ थियो भने दुई लाख रुपैयाँ हुँदै ०७६ सालबाट तीन लाख रुपैयाँ पुर्याइएको छ । यो पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ । रचनाको हिसाबले मिथ्या दोस्रो कृति रहेको पराजुलीले बताएका छन् । पद्यश्रीको छनौटमा परेपछि सुनगाभा न्यूजलाई छोटो प्र्रतिक्रिया दिँदै पराजुलीले साहित्यको उत्कृष्ट पुरस्कार पद्यश्रीमा मनोनयन हुनु खुशीको विषय भएको उल्लेख गरे । ‘सामान्य बिरामी छु, अहिले आरामको आवश्यकता छ’ पराजुलीले भने ‘मनोनयन सूचीमा परेकाे छु प्रतिष्ठानलाई धन्यवाद ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नागरिक विधेयकको विरोध गर्दैै पोखरामा सांकेतिक रुपमा चक्काजाम र विरोधसभा गरेको छ । राप्रपा कास्कीले सडकमा चक्काजाम गर्दैमा जनताले दुःख पाउने भएकाले नागरिकलाई कुनै दुःख दिन नचाहने भन्दै १५ मिनेटमात्र चक्काजाम गरेको जनाएको छ । पृथ्वीचोकमा आयोजित कोणसभामा बोल्दै राप्रपाका केन्द्रिय सदस्य जयबहादुर पुनले एमाले कांग्रेस माओवादीले देशको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाए । उनले भने, ‘आजबाट राप्रपा सडक आन्दोलनमा छ नेपालमा संघीयता खारेज नभएसम्म निरन्तर आन्दोलनमा रहन्छौ ।’ केन्द्रिय सदस्य पुनले देश श्रीलंका जस्तै हुन लागेकाले अव देश विकासका लागि एमाले कांगे्रस माओवादी होइन, आम नेपाली भएर अगाडी बढे मात्र देश विकास सम्भव हुने धारणा राखे । राप्रपाले देशमा एमसीसी, एसपीपी पास भए देश युक्र्रेन बन्ने भएकाले सरकारले तत्काल खारेज गर्नुुपर्ने माग राखेको छ । हालै प्रतिनिधि सभाबाट पास भएको नागरिक विद्येयकले देशका लागि भन्दा पनि विदेशीको लागि फाइदा पु¥याएको राप्रपाको आरोप छ । देशमा जन्मसिद्ध नागरिकता पाउने अधिकार भएको र विदेशीलाई स्वदेशमा व्यापार व्यवसाय गर्न अगिकृत नागरिकता दिने व्यवस्था भएको तर देश सञ्चालन गर्ने अधिकार नभएको राप्रपाका केन्द्रिय सदस्य पुनको धारणा छ । राप्रपा कास्कीले हालै प्रतिनिधि सभाबाट पारित भएको नागरिक विधेयक खारेज हुनपर्ने, एमसीसी, एसपीपी, र संघियता खारेजी लगायतका २२ बुदे माग राख्दै सडक आन्दोलनमा उत्रिएको हो । सडक आन्दोलनमा ‘गणतन्त्र मुर्दावाद’, ‘नागरिक विधेयक खारेज गर’लगायतका नारा लगाउँदै पृथ्वीचोकमा १५ मिनेट चक्काजाम गरेका थिए ।
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ । कोभिड-१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा रु १२ लाख ६२ हजार आठ सय २६ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट रु पाँच लाख एक हजार, सहारा युकेबाट रु तीन लाख र सहारा अष्ट्रेलियाबाट रु एक लाख थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले बताउनुभयो । प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट रु १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट रु पाँच लाख, राष्ट्रिय खेलकुद परिषद्बाट रु चार लाख ९२ हजारसहित विभिन्न सङ्घ संस्थाबाट सहयोग प्राप्त भएको थियो । यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा रु २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च रु १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च रु चार लाख २६ हजार आठ सय ८५, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ । गत माघ ६ देखी १५ गतेसम्म २० औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले जित्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो । सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट सङ्कलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।
पोखरा: महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकामा हवाई जहाज सहयोग गरिएको छ । मनोरञ्जनको लागि पर्यटकहरु उडाउन र पाइलट ट्रेनिङ्गमा प्रयोग गर्न सकिने साना प्रकारका जहाज दान गरिएको केन्द्रका अध्यक्ष पुनले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेका छन् । उनले १० वटा बक्सहरुमा सो जहाजको सामान अट्ने भन्दै नेपाल ल्याएर जोडेर उडाउन मिल्ने बताएका छन् । उनका अनुसार सानो जहाजमा २ जना र ठुलोमा ८ जनासम्म मान्छेहरु अटनेछन् । उक्त पार्ट्सहरु नेपाल पुगेपछि जोड्नलाई ईन्जिनियर र उडान सिकाउन पाइलटहरु अमेरिकाबाट निःशुल्क रुपमा सहयोग गर्न आउने समेत उनले बताए । अमेरिका रहेका उनी लस एन्जेलस नजिकैको एउटा नगरपालिकाको एअरपोर्टमा अध्ययन भ्रमण गरेको भिडियो फेसबुकमा सार्वजनिक समेत गरेका थिए । जुन एअरपोर्टमा नेपाली मुलका अनिश प्रधानको एयरक्राफ्ट वर्क कम्पनी सञ्चालनमा छ । नेपालको प्रयोगविहीन र थन्किएर रहेको कुनै एउटा एअरपोर्ट नेपाल सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएमा एयरक्राफ्ट ईन्जिनियरिङ र पाईलट ट्रेनिङ सम्बन्धी सेन्टर सञ्चालन गर्न सकिने ठूलो सम्भावना रहेको पुनले बताए । उनले सहयोग पाएका जहाज नेपाल भित्राउन र उडान अनुमतिमा सहजिकरण गर्न सरकारलाई आग्रह गरेका छन् ।
पोखराः पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई सरिता तुलाचनले १ लाख रुपैयाँ सहयोग गरेकी छिन् । क्याम्पसले हाल नयाँबजार शान्तिवनमा नयाँ शैक्षिक भवन निर्माण गरिरहेको छ । सोही भवनमा आवश्यक पूर्वाधार थप गर्न थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेको तुलाचानले बताएकी छिन् । तुलाचनले उक्त रकम स्वर्गीय ससुरा बुवा एवं पति वसन्तलाल हिराचनको स्मृतिमा प्रदान गरेकी हुन् । सहयोग रकम ग्रहण गर्दै क्याम्पस परिवार एवं सञ्चालक समितिले आभार व्यक्त गरेको छ । क्याम्पस परिवारले भनेको छ, ‘सहयोगी सरिता एवं परिवारलई सुस्वाथ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।’ क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ । ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् ।
पोखरा: पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा जोड दिनुभयो । स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पुर्ण सहदुपयोग गर्ने बताउनुभयो । उहाँका अनुसार गाडिको पछाडी पट्टी लिफ्ट समेत जडान गरि अति र पुर्ण अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ । महानगरपालिकाले १८ सिट क्षमताको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो ।
पोखरा: शुन्दरनगरी शहर पर्यटकीय शहर पोखरा । जहाँ होटल, रेष्टुरेन्ट तथा रिसोर्ट मनग्य छन् । त्यो पनि ताल आसपास र पोखरा शहर भित्र । पोखरा उपत्यका बाहिर भने छिटफुट मात्रै भेटिन्छन् । प्राय कोलाहलबाट टाढै रहन मन पर्नेहरुको लागि पोखरा नजिकै नयाँ गन्तव्य थपिएको छ । गर्मी छल्न मन पराउनेका लागि, शाहसिक एटिभीमा रम्नेहरुका लागि र स्वादिष्ट परिकारसँग पिरती गाँस्नको रिभर भ्याली रिसोर्ट उपयुक्त हुनसक्छ । पोखरा महानगरपालिका २५ सुइखेतस्थित रहेकोे रिभर भ्याली रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि तयार छ । यही महिनादेखि आफ्नो सेवा सुरु गरेको यस रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । साथै यस रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । विशेषगरि बजारको कोलाहलबाट एक रात शान्त वातावरणमा बस्न मन पराउने र आन्तरिक पर्यटकहरुको लागि नयाँ गन्तव्य बनेको छ । रिसोर्टमा राखिएको एटिभी बाईक राईड र स्विमिङ पुलसँगै देखिने प्राकृतिक मनोरम दृश्यले त्यहाँ पुग्ने पर्यटकहरुको मनमा हैकम जमाएको छ । पोखरादेखि नजिकै सुइखेत खोलाको छेउमा हरियाली वातावरणमा रमाउन चाहनेलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक जितेशमान गुभाजु बताए । उनका अनुसार १५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुइखेत रिभर भ्यालीबाट बिहानीको सूर्याेदय र बेलुकाको सूर्यास्तको समेत अवलोकन गर्न सकिन्छ । ‘स्विमिङ, एटिभी बाइक र डेलिसियस फुड’ रिसोर्टमा आउने पर्यटकलाई सुइखेतमामात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभी बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज बनाई सञ्चालन गरिरहेको उनले बताए । एटिभी बाईककोमाध्यमबाट अस्ताममा पुगेपछि त्यहाँबाट उत्तरमा रहेका हिमश्रृङखलासँगै हेम्जाफाँट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने बताए । त्यसैगरि छोटो दुरिमा एटिभी बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली हुँदै फेदीसम्मको यात्राको अनुभव गर्न सक्नेछन । रिसोर्टमा बस्ने पाहुनाले हाइकिङ गरि कास्कीकोट दरबार अस्तामसम्म पुग्न सक्नेछन । त्यसैगरि रिसोर्टमा स्विमिङ पुलको समेत व्यवस्था रहेको छ । जसका लागि पनि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल ६ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले जानकारी दिए । सो रिसोर्टभित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको बताउदै पर्यटकहरुलाई आकर्षित गरेको बताए । उनका अनुसार रिसोर्टमा पार्किङको पर्याप्त व्यवस्था र बाल उद्यान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि उचित गन्तव्य बनेको छ । शान्त वातावरण, प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्न सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण बढेको जानकारी दिदैं बारबिक्यूको समेत व्यवस्था रहेको जानकारी दिए । हाल सो रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।
पोखरा: पोल्याण्डका राजदुत आदम बुवास्कीले आज बिहिबार पोखरा अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका छन् । पर्यटकीय नगरी पोखरा आएको सन्दर्भमा राजदुत बुवास्कीले पोखरा १७ घारिपाटनस्थित अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका हुन् । उनलाई संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले स्वागत गरिन् । बुवास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बिहिबार बेलुकी औपचारिक भेटवार्ता गर्ने बताइएको छ ।

