कास्की: पोखरा महानगरपालिकाले पोखरा ६ लेकसाइडस्थित फेवाताल किनारमा मापडण्ड विपरित बनेको घरको ढलान गर्न लागेको रेडिमिक्स्चरलाई नियन्त्रणमा लिएको छ । ग १ क ४८२२ नम्बरको फेवा प्रालिको रेडिमिक्स्चरलाई लेकसाइडबाट आज (आइतबार) पोखरा महानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको हो । फेवातालको ६५ मिटर मापडण्डभित्र निर्माणाधिन दीपेन्द्र महर्जनको घरको ढलान गर्न उक्त रेडिमिक्स्चर पुगेको महानगर स्रोतले बतायो । ‘हिजो महानगरप्रमुखनै गएर दीपेन्द्रलाई तालदेखि ६५ मिटरभित्र भइरहेको घर निर्माणको काम रोक्न भनिसकेको अवस्था हो, स्रोतले भन्यो, ‘आज उसले अटेर गरेर ढलान गर्न त्यो रेडिमिक्स्चर लगेको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएका हौं ।’ हिजो (शनिबार) मात्रै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड पुगेर फेवातालको ६५ मिटरको मापडण्डभित्रको संरचना हटाउन र कुनै पनि नयाँ संरचना नबनाउन उर्दी जारी गरेका थिए । सोही क्षेत्रमा निर्माणाधिन घरको ढलान गर्न फेवाको रेडिमिक्स्चर पुगेको थियो । घरधनी महर्जनले अटेर गर्दै निर्माण रोक्नुको सट्टा ढलान प्रक्रिया अघि बढाएपछि नगर प्रहरीले रेडिमिक्सरलाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ । यसैबीच महानगरले पोखरा महानगरपालिकाभित्र निर्माण भएको संरचना मापडण्ड अनुसार भए नभएको यकिन गरेर मात्र सेवा प्रदान गर्न निर्माण व्यवसायीहरुलाई सुचित गरेको छ । महानगरले आज सुचना जारी गर्दै मापडण्ड विपरित निर्माण भइरहेको संरचनामा कुनैपनि निर्माण व्यवसायी कम्पनीले सेवा प्रदान गरेको भेटिएमा त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायतका समाग्रीहरु कानून बमोजिम नियन्त्रणमा लिइने सुचनामा उल्लेख छ ।
पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालदेखि ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना नबनाउन प्रमुख आचार्यले उक्त निर्देशन दिएका हुन् । ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले ती संरचनाहरू निर्माण कार्य तत्काल रोक्नका साथै निर्माण सामाग्रीहरू जफत गर्न नगर प्रहरीलाई निर्देशन दिए । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने मेयर आचार्यले बताए । सो क्रममा लेकसाइडको खहरेस्थित भेगन रेस्टुरेन्ट चलाइरहेका व्यवसायी माधव पौडेलले अवैध संरचना निर्माण कार्य रोक्नु भन्ने सूचना दिन पुगेका नगर प्रहरीलाई ज्यान लिने धम्की दिएका छन् । उनले आफूले कुनै संरचना नभत्काउने र महानगरलाई पनि भत्काउन नदिने चुनौती पनि दिए । उनले ताल किनारमा बनाएको घर र व्यवसाय दुवै मापदण्ड विपरीत रहेको र महानगरबाट कुनै स्वीकृति नलिएको महानगरको दावी छ । प्रमुख आचार्य सहितको टोली शनिबार फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसार पुगेर फर्किएको छ । फेवातालको माथिल्लो क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुङ्गा माटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फकाईने मेयर आचार्यको भनाई छ । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि मात्र उपयोग गर्न पाइने र महानगरभित्र भूमिको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको महानगरले बताएको छ।
पोखराः नेकपा एमाले कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङका आमा मनकुमारीको शुक्रबार राती निधन भएका छ । फेवासिटी अस्पतालमा उपचारकोक्रममा ८४ वर्षीया मनकुमारीको निधन भएको आफन्तजनले बताएका छन् । गुरुङको शुक्रबार राती ८४ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय मनकुमारीको४ छोरा र ४ छोरी छन् । विदेशमा रहेकी छोरी पोखरा आइपुगेपछि उनको अन्त्येष्टी गरिने परिवारजनले बताएका छन् ।
पोखरा : पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटक बढेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ भ्रमण गरेपछि विन्ध्यवासिनी मन्दिरमा भारतीय पर्यटकको संख्यामा वृद्धि भएको बताएका हुन् । पोखरामा शुक्रबार विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका कार्यवाहक अध्यक्ष सुवेदीले सो दावी गरेका हुन् । ‘सोह्र श्राद्ध सुरु भएपछि नेपाली पर्यटकहरु घटेका छन्, उनले भने, ‘अहिले दैनिक संकलन भएको भेटी (भारतीय पैसा) ले नै विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटकको संख्या वृद्धि भएको जनाउँछ ।’ यसैगरि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले कोरोना महामारीको समय अगाडी मासिक १ करोड (पैसा) भेटी संकलन हुने गरेको उल्लेख गरेको बताउदै पछिल्लो समय महामारीले प्रभाव पारेको बताए । ‘मन्दिरको मुख्य स्रोत नै भेटी संकलन हो, उनले भने, ‘कोरोना अगाडी दैनिक एकलाख देखि देढ लाख भेटी संकलन हुुन्थ्यो तर अहिले दैनिक ५०/६० हजारमा झरेको छ ।’ भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको अधिकारीले बताए । उनका अनुसार मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन । मन्दिर व्यवस्थापन समितिले कर्मचारी व्यवस्थापनमा मासिक १४ लाख खर्च हुदै आएको छ । असोज १० देखि नवदुर्गा महोत्सव विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म नवदुर्गा महोत्सव आयोजना गर्न लागिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने छ । भने युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नेछन् । सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुनेछ । पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ । महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ । विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खल्ुला गरिने समितिले जनाएको छ । धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको सचिव श्रेष्ठले जानकारी दिएका थिए । स्थायी प्रहरी पोस्टको माग समितिले मन्दिरको सुरक्षाका लागि विन्ध्यवासिनी स्थायी प्रहरी पोस्टको लागि माग गरेको छ । मन्दिरमा अस्थायी प्रहरी पोस्ट सञ्चालन हुँदा उनीहरुलाई कहिले मापसे कहिले कुन क्षेत्रमा खटाउँदा मन्दिरको सुरक्षामा प्रश्न उठेको भन्दै स्थायी प्रहरी पोस्ट स्थापना गर्न जिल्ला प्रशासन र प्रहरी कार्यालमा माग गरेको हो । मन्दिरको सुरक्षाका लागि विभिन्न क्षेत्रमा अहिले १६ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले अब मन्दिरमा आउँदा पर्यटकहरुले मिनिरल वाटर पानी बोकेर आउन नपर्ने दावी गरेको छ । समितिले बोतल र जारको पानी प्रयोग नगर्ने गरी पानी शद्धीकरण गरेर धाराको पानी नै पर्यटकले प्रयोग गर्ने योजना केही दिनमा सञ्चालन हुन लागेको धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
पोखरा : नेपालसहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरा र आसपासका क्षेत्रमा शनिबारदेखि बृहत् आर्ट क्याम्प हुन लागेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी असोज १ देखि ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ । नेपालका ९० सहित भारतका आठ, बङ्गलादेशका १७ र इरानका छ जना कलाकारको सहभागिता रहने कार्यक्रमको सबै तयारी पूरा भएको छ । आर्ट क्याम्पअन्तर्गत असोज १ गते भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी हुनेछन् । दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशाला सञ्चालन हुनेछ भने तेस्रो दिन विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी गरिनेछ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो । अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने प्रयास थालिएको कार्यक्रम संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो । ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ । गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमि र हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान हो । उक्त कार्यक्रमले आर्ट क्याम्पमार्फÞत गण्डकीको सुन्दरता विश्वभर पुग्ने विश्वास कलाकारको छ । ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ । पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्नै जनाइएको छ । कार्यक्रमको स्थानीय संयोजकमा मनोज तामाङ हुनुहुन्छ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मानसमेत गरिने छ । कार्यक्रममा सहभागी हुने विदेशी कलाकार नेपाल आइसकेका छन् । कार्यक्रमका लागि विदेशीसहित उपत्यकामा रहेका कलाकार आजै पोखरा जाँदै छन् ।
कास्की: पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको सक्रियता मात्रै होइन क्रेज पनि चुलिएको छ । युवाहरुको राजनीतिमा आक्रर्षण बढ्दै जादाँ पुराना पुस्ताहरु बिस्तारै उनीहरुलाई सल्लाह र सुझाव दिने मार्गमा छन् । त्यसोत उनीहरुमा अनुभवको ज्यादै खाँचो हुन्छ । त्यसैले अग्रजहरुले उनीहरुलाई सकरात्मक मार्गमा निर्देश गर्छन् । यतिबेला मनसुन सकिन लागेपनि चुनावी सरगर्मी तातिदै छ । आगामी मसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा प्रस्तुत गरिरहेका छन् । विभिन्न क्षेत्रबाट नाम सिफारिस भइरहेको छ । विशेषगरि यो पटकको चुनावमा नेकपा एमाले र गठबन्धनको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । विभिन्न पार्टीबाट विभिन्न क्षेत्रका लागि धमाधम नाम सिफारिस भइरहदा युवाहरुको ओइरो लागेको देखिएको छ । राजनीतिमा सक्रिय रहदैं आएका युवाहरु यतिबेला जनताको आवाज बोकेर प्रदेश वा संघीय सदनमा पुग्ने दाउमा छन् । र विभिन्न पार्टीबाट नाम सिफारिस भइरहेको छ । गठबन्धनसँगै नेकपा एमालेले पनि युवाहरुलाई प्राथमिकतामा राखेरै सिफारिस गरिरहेको छ । नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का लागि आफुपनि सिफारिस भएको युवा नेता विष्णु पुनले जनाए । युवाहरुको सारथी बनिरहेका उनी लोकप्रिय र आस लाग्दो नेताका रुपमा परिचय बनाउँदैछन् । प्रखर वक्तासमेत रहेका युवा नेता पुनले अबका युवाहरुको सारथी बन्ने बताउदै देशको विकास भएको खण्डमा युवाहरु विदेश पलायन हुन नपर्ने बताए । ‘अहिले वर्षेनी ४०-५० लाख युवाहरु वैदेशिक रोजगारीका लागि अमेरिका र कोरिया पुगेका छन्, उनले सुनगाभा न्यूजसँग भने, ‘अग्रजलाई सम्मान गर्दै युवाहरु हरेक क्षेत्रमा अगाडी बढ्न खाँचो छ त्यसैले अब यहीकै खोरियालाई कोरिया बनाउनुपर्छ ।’ उनले राजनीति आफैमा गलत नभएको बताउदै भने, ‘राजनीति आफैमा गलत छैन तर गलत व्यक्तिले गर्दा आज राजनीति गलत ढंगबाट अघि बढिरहेको छ । यसको फिल्टर हुनु जरुरी छ ।’ अब्बल नेता पुनको राजनैतिक यात्रा नेपाल कम्युनिष्ट पार्टी एमाले र त्यसका भातृसंगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ, युवा संघ नेपाल, नेपाल खेलकुद महासंघ र एमालेको वडा कमिटीदेखि नगर र जिल्ला कमिटीसम्म आवद्ध भएर पुनले काम गरिसकेका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर तहसम्म अध्ययन गरेका युवा नेता कलिलै उमेरदेखि नै राजनीतिमा समय लगानी गरिसकेका छन् । सानै उमेरदेखि नै राजनीतिमा होमिएका उनी अनेरास्ववियु प्राक अध्यक्ष, क्षेत्रीय सदस्य हुदैं जिल्ला कमिटी सदस्यसम्म बन्न भ्याएका छन् । उनले राजनीति मात्र नभई सामाजिक अभियन्ताका रुपमासमेत आफुलाई चिनाइसकेका छन् । युथ फोर्स लेखनाथ नगर कमिटीको सचिव र संयोजक हुदैं युवा राजनीतिको अनुभव बटुलेका उनी २०६९ सालमा युवा संघ नेपाल काकीको नवौं जिल्ला अधिबेशनबाट सचिवमा निर्वाचित भए । युवा संघ नेपाल कास्कीको २०७० सालमा कास्की जिल्ला संयोजक सम्हालेका पुनले २०७१ सालमा जिल्ला अध्यक्ष भएर काम गरि सकेका छन् । युवा संघ नेपालको २०७१ सालमा केन्द्रिय सदस्य समेत भएका थिए । पार्टीको विभिन्न भातृसंगठनमा रहेर काम गरेका पुन २०७८ सालमा नेकपा एमालेको दशौ कास्की जिल्ला अधिबेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएर अहिले राजनीतिमा सक्रिय छन् । खेलाडीहरुलाई एकताबद्ध गराउन उनलाई नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य र गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
पोखरा : पोखरा महानगर–७ प्रगति टोलकी भुजामती पुन बुधबार भावुक मुद्रामा देखिनुभयो । अनपढ उहाँलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा छैन तर सुकुम्बासी भएर सो स्थानमा बस्न थालेको १० वर्ष पुगेको भुजामतीले सुनाउनुभयो । काठमाडौँमा श्रीमान्सँगै ज्याला मजदुरी गरेर बस्ने उहाँको जीवनमा विसं २०६७ मा बज्रपात प¥यो । श्रीमानको मिर्गौला देखिएको खराबीका कारण मृत्यु भयो । त्यसपछि विसं २०६८ मा पोखरा आएर पोखरा–७ को सुकुम्बासी बस्तीमा भुजामती बस्न थाल्नुभयो । आफू बसेको जमिन आफ्नो होइन भन्ने उहाँलाई राम्रोसँग थाहा थियो । “थाहा पाएरै पनि यहाँ आएर बकेको हुँ मेरो जग्गा पनि होइन”, भुजामततीले भन्नुभयो, “चुनावका बेला नेताहरू आएर जग्गा तपाईँकै नाममा बनाइदिन्छौँ त भन्थे ।” आफ्नै नामको जग्गा हुने आशामा उहाँले २०७०, २०७४ र २०७९ को चुनावमा सक्रियता देखाउनुभयो । धेरै चुनावमा आश्वासनमात्र बाँडेपछि भुजामतीले अब यसबारेमा आशा मारिसक्नुभएको थियो । बुधबार राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिकाले संयुक्त कार्यक्रम गरी निस्सा (सेतो पुर्जा) वितरण गर्दा उहाँलाई पनि आमन्त्रण गरिएको थियो । निस्सा ग्रहणका लागि आफ्नो नाम कार्यक्रम सञ्चालकले लिनेबित्तिकै भुजामतीको गहभरि आँशु भयो । टिलपिल–टिलपिल भएका आँशु पुछ्दै स्टेजमा पुगेर लालपुर्जा प्राप्तिका लागि वितरण गरिएको सेतो निस्सा हातमा परेपछि उहाँले भन्नुभयो, “धन्यवाद छ सरकार, यो सेतो कागज पाइयो अब छिट्टै रातो लालपुर्जा पाएँ भने सिरानीमा राखेर सुत्छु ।” भुजामती मात्र होइन, उक्त कार्यक्रममा पोखराका सबै वडाका केही सङ्ख्यामा सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । पोखरा–२५ बाट सुरु गरिएको कार्यक्रम निर्वाचन आचारसंहितालाई ख्याल गर्दै छोट्याएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । बुधबार महानगरका १६ वटा वडाका एक सय ९९ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । वडा नं १, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ का सुकुम्बासीले प्रतिनिधिमूलकरूपमा निस्सा पाएका थिए । यसअघि महानगरको वडा नं २५, ६, ९, १४, ३२ र ३३ मा निस्सा वितरण गरिएको थियो । उक्त महानगरपालिकामा १९ हजार आठ सय ५६ भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी सूचीकृत भएका थिए । उनीहरूमध्ये सात हजारभन्दा बढीलाई निस्सा वितरणका लागि राष्ट्रिय भूमि आयोगको केन्द्रीय सर्भरमा सूचीकरण गराइसकिएको थियो भने बाँकी सूचीकरणको क्रममा रहेका छन् । उनीहरुको निवेदन भूमि आयोगमा सुचीकृत गरिएपछि निस्सा वितरण गर्दै जाने महानगर र आयोगको योजना छ । “कोही पनि भूमिहीन बन्नु हुँदैन, हुनु पनि हुँदैन भन्ने मान्यतामा पोखरा महानगरको छ । यसैअनुरुप अहिले निस्सा वितरण सुरु गरेका हौँ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “यो लालपुर्जा त होइन, तर ढिलोचाँडो सबैले लालपुर्जा पाउनुहुन्छ भन्ने सुरुआती चाँही हो ।” सूचीकृत गर्न समय लाग्ने जानकारी दिँदै उहाँले निस्सा प्राप्त गर्नु नै लालपुर्जा हात पर्नका लागि बलियो आधार बनेको बताउनुभयो । “तीनपुस्ते नाम दर्ता गर्नुप¥यो, त्यसका लागि कर्मचारी पनि व्यवस्थापन गर्नुप¥यो । एउटा व्यक्तिको डाटा भर्न कम्तीमा आधा घण्टा लाग्छ तर साथीहरू यसैमा लाग्नुभएको छ”, महानगरप्रमुख आचार्यले भन्नुभयो, “बाँकी डाटा पनि विस्तारै इन्ट्री गर्दै जान्छौँ । यसमा कुनै समस्या हुँदैन । अहिले निस्सा बाँडेकै ठाउँ असुरक्षित, सम्पदा वा मापदण्डभित्र पर्ने भए महानगरले नै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सक्छ ।” सुकुम्वासी बनेका नागरिकलाई जमिनको मालिक बनाउने काम कास्कीमा प्रारम्भ भइसकेको उक्त आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पौडेले बताउनुभयो । कास्कीका ३९ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले रातो लालपुर्जा प्राप्त गरिसकेका छन् । अहिले निस्सा प्राप्त गरेकाहरुले कुनै न कुनै दिन अवश्य लालपुर्जा प्राप्त गर्ने उहाँले विश्वास दिलाउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले प्राप्त निस्साका आधारमा जग्गा प्राप्तीको अधिकार कसैले पनि खोस्न नसक्ने अध्यक्ष पौडेलले बताउनुभयो । यसलाई चुनावी नारामा मात्र सीमित नगरी अब साँच्चै सरकारले हेर्छ भन्ने अनुभूति दिलाउन पनि आगामी कार्यक्रम चुस्त र दुरस्त बनाउनुपर्नेमा उहाँको जोड थियो ।आयोगका अनुसार जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको सङ्ख्या करिब २६ हजार छ ।
पाेखरा: भारतीय अभिनेता एवं पपस्टार लक्की अली पोखरा आइपुगेका छन् । काठमाडौंबाट पोखरा आइपुगेका उनले पोखराको सबैभन्दा ठुलो क्लब ‘क्याटवाक’मा भोलि शुक्रबार (१६ सेप्टेम्बर) पहिलो पटक सांगीतिक प्रस्तुति दिनेछन् । ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने क्याटवाकका संचालक गुप्त लामाले बताए । उनका अनुसार अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् । गत भदौ २ गतेदेिख खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न पहिलो चरणको टिकटदर १५ सयदेखि २ हजार रुपैयाँ निर्धारण गरिएको सञ्चालक लामाले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको प्रवेश शुल्क भने २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ । छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट विक्री भइरहेको बताइएको छ । हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट विक्री भइरहेको छ । उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवतः अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् । करिब ३० करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा ल्याइएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ । भने क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक समितिले दाबी गर्दै आएको छ ।
पोखराः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी यतिबेला पोखरामा आर्थिक सहयोग जुटाउन व्यस्त छ । पार्टीको जिल्ला कमिटी कास्कीले नवौं महाधिवेशन आयोजनार्थ सहयोगको नाममा पोखराका व्यापारी, व्यवसायीलाई पत्र काटेर चन्दा संकलन सुरु गरेको हो । पार्टीका कास्की सेक्रेटरीको हस्ताक्षर रहेको पत्रमा व्यवसायीसमक्ष अपील गरिएको छ । सुरुमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको पत्र थमाउने र पछि संकलनार्थ टोली परिचालन गरिएको छ । अनुरोधपत्रमा रकम खुलाइएको छैन तर लिने र दिनेबीच बार्गेनिङ् भने गरिएको छ । पत्र थमाएर गएको केही दिनमा ३–४ जनाको समूह रकम माग गर्न आउने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले जानकारी दिएका छन् । ‘यति नै भनेर पत्रमा उल्लेख गरिएको छैन’ उनले भने ‘तर उहाँहरुको माग व्यापारको हिसाबले बढी नै छ ।’ ‘तपाइले कति दिनुभयो ?’ भन्ने प्रश्नमा उनले यति नै भनेर नखुलाए पनि कडै बार्गेनिङ् भएको बताए । उनी भन्छन् ‘ठूला साहू महाजनलाई त चन्दा दिनुमा पनि केही स्वार्थ लुकेको हुनसक्ला तर हामी मर्कामा छौं ।’ पोखरामा नाम, दाम कमाएका एक चर्चित व्यापारीले भने विप्लव टोलीलाई चन्दा र कुनैपनि सहयोग नगरेको बताएका छन् । यद्यपि, सहयोग रकमको माग गरिएको चिट्ठी आएको भने उनले स्वीकार गरे । ‘चिट्ठी आएको छ, र कुराकानी पनि भएको छ तर मैले दिइहालेको भने छैन’ उनले भने ‘अरु सबै राजनीतिक दलले चन्दा उठाउँदा उनीहरुलाई पनि धेरथोर सहयोग त गर्नु नै पर्ला ।’ चन्दा उठाएको विषयमा प्रतिक्रिया लिँदा कास्की सेक्रेटरीले चन्दा उठाउने पार्टीको नीति नभएको भन्दै सहयोगकालागि अनुरोध गरेको प्रष्ट्याए । ‘हामीले असोज १ गतेदेखि काठमाण्डौंमा पार्टीको महाधिवेशन गर्दैछौं, त्यसैकालागि धेरथोर सहयोग मागेको सत्य हो’ सेक्रेटरीले भने ‘कसैलाई पनि जबर्जस्ती गरेका छैनौं तर थोरै भएपनि सहयोगको अपेक्षा गरेका छौं । पार्टीलाई प्राप्त हुने कुनैपनि सहयोगको दुरुस्त हिसाब किताब राखेको उनले दाबी गरे । ‘आउनुहोस्, हामी तपाइलाई आर्थिक वा अन्य सहयोगको पुरै विवरण देखाउँछौं’ सेक्रेटरीले भनेका छन् ‘हाम्रो पार्टी पारदर्शितामा विश्वास गर्छ ।’ सोहीक्रममा उनले पैसामात्रै माग्दै नहिँडेको उल्लेख गर्दै जनस्तरबाट नैतिक, भौतिक सहयोग र सल्लाह–सुझावकोसमेत अपेक्षा गरेको जनाए । ‘सबैलाई एउटै घानमा हाल्नु भएन’ भन्दै कास्की सेक्रेटरीले नेकपा माओवादी कम्युनिष्टमात्र नभएर देशभक्त पार्टी पनि भएको उल्लेख गरे ।

