कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

पोखरा  :  पोखरा महानगर–७ प्रगति टोलकी भुजामती पुन बुधबार भावुक मुद्रामा देखिनुभयो । अनपढ उहाँलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा छैन तर सुकुम्बासी भएर सो स्थानमा बस्न थालेको १० वर्ष पुगेको भुजामतीले सुनाउनुभयो । काठमाडौँमा श्रीमान्सँगै ज्याला मजदुरी गरेर बस्ने उहाँको जीवनमा विसं २०६७ मा बज्रपात प¥यो । श्रीमानको मिर्गौला देखिएको खराबीका कारण मृत्यु भयो । त्यसपछि विसं २०६८ मा पोखरा आएर पोखरा–७ को सुकुम्बासी बस्तीमा भुजामती बस्न थाल्नुभयो ।   आफू बसेको जमिन आफ्नो होइन भन्ने उहाँलाई राम्रोसँग थाहा थियो । “थाहा पाएरै पनि यहाँ आएर बकेको हुँ मेरो जग्गा पनि होइन”, भुजामततीले भन्नुभयो, “चुनावका बेला नेताहरू आएर जग्गा तपाईँकै नाममा बनाइदिन्छौँ त भन्थे ।” आफ्नै नामको जग्गा हुने आशामा उहाँले २०७०, २०७४ र २०७९ को चुनावमा सक्रियता देखाउनुभयो । धेरै चुनावमा आश्वासनमात्र बाँडेपछि भुजामतीले अब यसबारेमा आशा मारिसक्नुभएको थियो ।    बुधबार राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिकाले संयुक्त कार्यक्रम गरी निस्सा (सेतो पुर्जा) वितरण गर्दा उहाँलाई पनि आमन्त्रण गरिएको थियो । निस्सा ग्रहणका लागि आफ्नो नाम कार्यक्रम सञ्चालकले लिनेबित्तिकै भुजामतीको गहभरि आँशु भयो । टिलपिल–टिलपिल भएका आँशु पुछ्दै स्टेजमा पुगेर लालपुर्जा प्राप्तिका लागि वितरण गरिएको सेतो निस्सा  हातमा परेपछि उहाँले भन्नुभयो, “धन्यवाद छ सरकार, यो सेतो कागज पाइयो अब छिट्टै रातो लालपुर्जा पाएँ भने सिरानीमा राखेर सुत्छु ।”   भुजामती  मात्र होइन, उक्त कार्यक्रममा पोखराका सबै वडाका केही सङ्ख्यामा सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । पोखरा–२५ बाट सुरु गरिएको कार्यक्रम निर्वाचन आचारसंहितालाई ख्याल गर्दै छोट्याएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । बुधबार महानगरका १६ वटा वडाका एक सय ९९ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । वडा नं १, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ का सुकुम्बासीले प्रतिनिधिमूलकरूपमा निस्सा पाएका थिए  । यसअघि महानगरको वडा नं २५, ६, ९, १४, ३२ र ३३ मा निस्सा वितरण गरिएको थियो ।    उक्त महानगरपालिकामा १९ हजार आठ सय ५६ भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी सूचीकृत भएका थिए । उनीहरूमध्ये सात हजारभन्दा बढीलाई निस्सा वितरणका लागि राष्ट्रिय भूमि आयोगको केन्द्रीय सर्भरमा सूचीकरण गराइसकिएको थियो भने बाँकी सूचीकरणको क्रममा रहेका छन् । उनीहरुको निवेदन भूमि आयोगमा सुचीकृत गरिएपछि निस्सा वितरण गर्दै जाने महानगर र आयोगको योजना छ । “कोही पनि भूमिहीन बन्नु हुँदैन, हुनु पनि हुँदैन भन्ने मान्यतामा पोखरा महानगरको छ । यसैअनुरुप अहिले निस्सा वितरण सुरु गरेका हौँ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “यो लालपुर्जा त होइन, तर ढिलोचाँडो सबैले लालपुर्जा पाउनुहुन्छ भन्ने सुरुआती चाँही हो ।”   सूचीकृत गर्न समय लाग्ने जानकारी दिँदै उहाँले निस्सा प्राप्त गर्नु नै  लालपुर्जा हात पर्नका लागि बलियो आधार बनेको बताउनुभयो । “तीनपुस्ते नाम दर्ता गर्नुप¥यो, त्यसका लागि कर्मचारी पनि व्यवस्थापन गर्नुप¥यो । एउटा व्यक्तिको डाटा भर्न कम्तीमा आधा घण्टा लाग्छ  तर साथीहरू यसैमा लाग्नुभएको छ”, महानगरप्रमुख आचार्यले भन्नुभयो, “बाँकी डाटा पनि विस्तारै इन्ट्री गर्दै जान्छौँ । यसमा कुनै समस्या हुँदैन । अहिले निस्सा बाँडेकै ठाउँ असुरक्षित, सम्पदा वा मापदण्डभित्र पर्ने भए महानगरले नै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सक्छ ।”   सुकुम्वासी बनेका नागरिकलाई जमिनको मालिक बनाउने काम कास्कीमा प्रारम्भ भइसकेको उक्त आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पौडेले बताउनुभयो । कास्कीका ३९ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले रातो लालपुर्जा प्राप्त गरिसकेका छन् । अहिले निस्सा प्राप्त गरेकाहरुले कुनै न कुनै दिन अवश्य लालपुर्जा प्राप्त गर्ने उहाँले विश्वास दिलाउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले प्राप्त निस्साका आधारमा जग्गा प्राप्तीको अधिकार कसैले पनि खोस्न नसक्ने अध्यक्ष पौडेलले बताउनुभयो । यसलाई चुनावी नारामा मात्र सीमित नगरी अब साँच्चै सरकारले हेर्छ भन्ने अनुभूति दिलाउन पनि आगामी कार्यक्रम चुस्त र दुरस्त बनाउनुपर्नेमा उहाँको जोड थियो ।आयोगका अनुसार जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको सङ्ख्या करिब २६ हजार छ ।

पाेखरा:  भारतीय अभिनेता एवं पपस्टार लक्की अली पोखरा आइपुगेका छन् ।   काठमाडौंबाट पोखरा आइपुगेका उनले पोखराको सबैभन्दा ठुलो क्लब ‘क्याटवाक’मा भोलि शुक्रबार (१६ सेप्टेम्बर) पहिलो पटक सांगीतिक प्रस्तुति दिनेछन् ।   ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने क्याटवाकका संचालक गुप्त लामाले बताए । उनका अनुसार अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् ।    गत भदौ २ गतेदेिख खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न पहिलो चरणको टिकटदर १५ सयदेखि २ हजार रुपैयाँ निर्धारण गरिएको सञ्चालक लामाले जानकारी दिए  । उनका अनुसार दोस्रो चरणको प्रवेश शुल्क भने २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ ।  छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट विक्री भइरहेको बताइएको छ । हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट विक्री भइरहेको छ ।    उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवतः अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् ।    करिब ३० करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा ल्याइएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ । भने क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक समितिले दाबी गर्दै आएको छ ।

पोखराः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी यतिबेला पोखरामा आर्थिक सहयोग जुटाउन व्यस्त छ ।    पार्टीको जिल्ला कमिटी कास्कीले नवौं महाधिवेशन आयोजनार्थ सहयोगको नाममा पोखराका व्यापारी, व्यवसायीलाई पत्र काटेर चन्दा संकलन सुरु गरेको हो । पार्टीका कास्की सेक्रेटरीको हस्ताक्षर रहेको पत्रमा व्यवसायीसमक्ष अपील गरिएको छ ।    सुरुमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको पत्र थमाउने र पछि संकलनार्थ टोली परिचालन गरिएको छ । अनुरोधपत्रमा रकम खुलाइएको छैन तर लिने र दिनेबीच बार्गेनिङ् भने गरिएको छ ।    पत्र थमाएर गएको केही दिनमा ३–४ जनाको समूह रकम माग गर्न आउने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले जानकारी दिएका छन् । ‘यति नै भनेर पत्रमा उल्लेख गरिएको छैन’ उनले भने ‘तर उहाँहरुको माग व्यापारको हिसाबले बढी नै छ ।’   ‘तपाइले कति दिनुभयो ?’ भन्ने प्रश्नमा उनले यति नै भनेर नखुलाए पनि कडै बार्गेनिङ् भएको बताए । उनी भन्छन् ‘ठूला साहू महाजनलाई त चन्दा दिनुमा पनि केही स्वार्थ लुकेको हुनसक्ला तर हामी मर्कामा छौं ।’   पोखरामा नाम, दाम कमाएका एक चर्चित व्यापारीले भने विप्लव टोलीलाई चन्दा र कुनैपनि सहयोग नगरेको बताएका छन् । यद्यपि, सहयोग रकमको माग गरिएको चिट्ठी आएको भने उनले स्वीकार गरे ।    ‘चिट्ठी आएको छ, र कुराकानी पनि भएको छ तर मैले दिइहालेको भने छैन’ उनले भने ‘अरु सबै राजनीतिक दलले चन्दा उठाउँदा उनीहरुलाई पनि धेरथोर सहयोग त गर्नु नै पर्ला ।’   चन्दा उठाएको विषयमा प्रतिक्रिया लिँदा कास्की सेक्रेटरीले चन्दा उठाउने पार्टीको नीति नभएको भन्दै सहयोगकालागि अनुरोध गरेको प्रष्ट्याए ।    ‘हामीले असोज १ गतेदेखि काठमाण्डौंमा पार्टीको महाधिवेशन गर्दैछौं, त्यसैकालागि धेरथोर सहयोग मागेको सत्य हो’ सेक्रेटरीले भने ‘कसैलाई पनि जबर्जस्ती गरेका छैनौं तर थोरै भएपनि सहयोगको अपेक्षा गरेका छौं ।   पार्टीलाई प्राप्त हुने कुनैपनि सहयोगको दुरुस्त हिसाब किताब राखेको उनले दाबी गरे । ‘आउनुहोस्, हामी तपाइलाई आर्थिक वा अन्य सहयोगको पुरै विवरण देखाउँछौं’ सेक्रेटरीले भनेका छन् ‘हाम्रो पार्टी पारदर्शितामा विश्वास गर्छ ।’   सोहीक्रममा उनले पैसामात्रै माग्दै नहिँडेको उल्लेख गर्दै जनस्तरबाट नैतिक, भौतिक सहयोग र सल्लाह–सुझावकोसमेत अपेक्षा गरेको जनाए ।    ‘सबैलाई एउटै घानमा हाल्नु भएन’ भन्दै कास्की सेक्रेटरीले नेकपा माओवादी कम्युनिष्टमात्र नभएर देशभक्त पार्टी पनि भएको उल्लेख गरे ।   

पोखरा :  पर्यटकीय नगर पोखरा सहरका बासिन्दाले शुद्ध खानेपानीको उपयोग गर्न पाउने भएका छन् ।    बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्फत  पोखरेली उपभोक्ताको घरघरमा शुद्ध खानेपानीको सुविधा पुग्ने भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित सो आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो । हाज्मा एण्ड कर्पोरेशन जापानले आयोजना निर्माणको जिम्मा लिएको हो ।   मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधै पिउन सकिने पानी पु¥याउने आयोजनाको लक्ष्य छ । पानी शुद्धीकरणका लागि पाइपलाइन विस्तारसँगै मर्दी मुहानमा ग्रिड च्याम्बर, सेडिभेन्टेशन ट्याङ्की र स्लोस्यान्ड फिल्टर निर्माण गरिएको छ । सोको काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले जानकारी दिनुभयो । “राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ल्याइएको पानी पुरन्चौरमा निर्माण गरिएको ट्रिटमेण्ट प्लान्टमा शुद्धीकरण गरिनेछ”, उहाँले भन्नुभयो, “उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिएको छ ।   इन्जिनियर दासका अनुसार मुहान निकटमा ग्रिट च्याम्बर र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेशन ट्याङ्कीमा जडान गरिने पानीलाई नदीजन्य वस्तु ९बालुवा, ढुङ्गा, लेदो, काठका टुक्रा, झारपात० लगायतका फोहर हटाएर शुद्धीकरण गरिएको पानी पुरुन्चौरमा निर्माण गरिएको फिल्टरमा लगिने छ ।  मुहानको पानी सिधै धारामा आउँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर गर्ने र नदीजन्य वस्तु पाइपमा भरिनुका साथै फ्रेवलमा बुझिन जाँदा सडक खन्ने र खानेपानी संस्थानको गाडीमार्फत पाइप सफा गर्ने झन्झटबाट उपभोक्ताले मुक्ति पाउने छन् ।    उक्त स्थानमा थप पानी छान्ने फिल्टर, दुईवटा सफा पानी सङ्कलन ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ । पानीको मुहान मर्दीबाँधदेखि विन्दवासिनी सङ्कलन ट्याङ्कीसम्म साढे एघार किमीको दूरीमा छ । जुन मदी मुहानबाट २० इञ्चीको पाइप ल्याइएको छ भने अर्को १६ इञ्चीको पाइप साढे पाँच किलोमिटरको दूरीमा अमला बिसौनीको ट्याङ्कीमा सङ्कलन गरिएको छ ।   शुद्धीकरण गरिएको पानी जम्मा गर्न पोखरा–११ फूलबारी, वडा नं ५ पस्र्याङ र वडा नं १५ कोलपाटनमा २०/२० लाख लिटर क्षमताका तीन वटा रिजर्भवायर ट्याङ््की निर्माण गरिएको छ । फूलबारी र पस्र्याङको रिजर्भवायर ट्याङ्की निर्माण सम्पन्न भइसकेका छन् भने प्राविधिक कारणले कोलपाटनको ट्याङ्की रोकिएको इन्जिनियर दासको भनाइ छ । हालसम्म आयोजनाको ८८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । वर्षाका कारण केही समय निर्माण कार्य रोकिए पनि हाल निर्माणले गति लिएको छ । सन् २०२२ डिसेम्बरसम्ममा आयोजना सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।    आयोजनाको सम्झौताअनुसार बजार क्षेत्रको सय किलोमिटर पाइप लाइन विस्तार कार्यमध्ये ८५ किमीभन्दा बढी विस्तार भइरहेको छ भने बाँकी १५ किमी सडक कार्यालय र महानगरअन्तर्गतको सडक खन्ने अनुमतिको पर्खाइमा रहेको उहाँको भनाइ छ । प्राविधिक समस्याले रोकिएका बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “शुद्ध पानी उपभोक्ताका घरघरमा पुग्नेछ, पाइप विस्तारका लागि सडक खन्ने समस्या देखिएका स्थानमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अनुमति प्राप्त भएसँगै आयोजना सम्पन हुनेछ ।”    मर्दीखोला मुहानबाट २० र १६ इञ्चका छुट्टाछुट्टै दुईवटा पाइपमार्फत पोखरा बजारमा पानी ल्याएर वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताका घरमा मर्दीको पानी वितरण हुनेछ । आयोजनाबाट पोखराका चार लाखभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने विश्वास लिइएको छ । पोखरामा दैनिक सात करोड लिटर पानीको माग छ । हाल पाँच करोड लिटर मात्र आपूर्ति भइरहेको नेपाल खानेपानी संस्थान पोखरा शाखाका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थानले विभिन्न आठ स्थानमा बोरिङमार्फत  उत्पादन गरिएको पानी वितरणबाट पोखरेली उपभोक्तालाई थप सुविधा पुगेको छ ।    पोखरामा हालसम्म ४७ हजार संस्थानका ग्राहक छन् । उहाँले भन्नुभयो, “वार्षिक दुई हजारभन्दा बढी नयाँ धारा जडानको माग छ । खानेपानी आयोजनामा सङ्घ र प्रदेश सरकारको समन्वय हुने हो भने कम खर्चबाट अधिकतम उपभोक्तालाई पानीको सुविधा पु¥याउन सहयोग पुग्छ ।” आलोपालो वितरण प्रणाली र उचित मर्मतसम्भार हुनसक्दा ३० प्रतिशत चुहावट हुने गरेको संस्थानको तथ्याङ्क छ । पोखराको जनसङ्ख्या वृद्धिदर अत्यधिक छ । यहाँ आवश्यक खानेपानीका लागि वैकल्पिक स्रोतको उपयोग गर्न जरुरी हुने देखिएको छ । 

पोखरा :   कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका-२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् ।   गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई सय ४० शेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै राँगो खरिद गरिसकेको पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले जानकारी दिनुभयो । राँगो खरिदसँगै भैँसीका लागि राँगो खोज्न भौतारिनुपर्ने अवस्था अन्त्य भएको छ ।   शेयर सदस्यका लागि भैँसीको प्रतिप्रजनन रु एक हजार पाँच सय लिने गरिएको जानकारी दिँदै उहाँले शेयर सदस्यबाहेक अन्यत्र राँगो आवश्यक परेमा रागो पुर्‍याउनुपर्ने स्थानको भौगोलिक दूरीअनुसार शुल्क लिने गरिएको बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाबाट ५० प्रतिशत अनुदानवापत प्राप्त रु ५० हजार र सहकारीको रु ५०  हजारसहित रु एक लाखमा तीन वर्षअघि राँगो खरिद गरिएको हो ।   गाउँमा नै राँगो भएपछि गाउँमा क्रमशः भैँसीपालनतर्फ स्थानीयवासी आकर्षित हुँदै गएको स्थानीयवासी एवं कोदी शान्ति टोल विकास संस्थाका आशिषकुमार बरालले जानकारी दिनुभयो । “गाउँमा नै राँगो भएपछि भैँसीपालक कृषकलाई ठूलै सहयोग मिलेको छ”, उहाँले भन्नुभयो । गाउँबाट दैनिक दूध बिक्री गरी स्थानीयवासीले आयआर्जन बढाएका छन् ।   बाख्रापालनमा पनि जोड दिएको सहकारीले हालै सामूहिक बाख्रापालन सुरु गरेको छ । कुल ८० बाख्रापालन गर्ने लक्ष्य लिएको सहकारीले एक महिनाअघि ४० बाख्रा खरिद गरिसकेको छ । बाख्राका लागि खोरलगायतका पूर्वाधार निर्माणका लागि रु ५० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको र हालसम्म करिब रु ४० लाख खर्च भइसकेको छ । थप बाख्रा चाँडै खरिद गर्ने गरी तयारी गरिएको बरालले जानकारी दिनुभयो । बाख्रापालन गर्न १२ वर्षका लागि १५ रोपनी जग्गा भाडामा लिएर निहारो, टाँकी लिपिलिपिजस्ता घाँस लगाउन थालिसकिएको छ । बाख्रापालनका लागि स्थानीय दुई जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् ।   सहकारीमार्फत नै तरकारी खेतीका लागि टनेल निर्माणका लागि सहकारीमार्फत प्रोत्साहन एवं सहयोग गर्दै आइएकामा हाल गाउँमा करिब ३५–४० वटा टनेल निर्माण भइसकेका छन् । पोखरा बजारबाट नजिक रहेका कारण यहाँ उत्पादित तरकारीको बजारमा माग बढ्दो छ ।   कृषिप्रति आकर्षण बढिरहे पनि यस क्षेत्रमा बाँदरको भने समस्या रहेको जनप्रतिनिधि कृष्णकुमारी पौडेल (देवकोटा)ले बताउनुभयो । “बाँदरको व्यवस्थापन यस क्षेत्रका लागि गम्भीर समस्याका रूपमा देखिएको छ”, उहाँले भन्नुभयो, “बाँदरको दीर्घकालीन व्यवस्थापन यस क्षेत्रको गम्भीर चुनौती हो ।”   पोखरा बजारबाट नजिक रहेको पुम्दीमा कृषिका धेरै सम्भावना रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । सहकारीमार्फत सामूहिक कृषिमा जोडिएका यहाँका कृषकलाई कार्यालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोगका लागि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा : नेपाल तामाङ घेदुङ विद्यार्थी कास्कीको जिल्ला अधिवेशनमा तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीले हस्तक्षेप गरेको छ ।    नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष मानबहादुर तामाङले फेसबुकमा र  विद्यार्थी घेदुङ कास्कीका अध्यक्ष रेशम स्याङ्बो तामाङलाई फोनमार्फत अधिवेशन स्थगित गर्न दबाव दिदैं हस्तक्षेप गरिएको बताइएको छ । सो दबाबपछि विज्ञप्ति जारी गर्दै  नेपाल तामाङ विद्यार्थी घेदुङ अधिवेशन स्थगित गरेको छ ।    विज्ञप्तीमा नेपाल तामाङ घेदुङको भातृ संगठन तामाङ विद्यार्थी घेदुङ कास्कीको आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको तामाङ विद्यार्थी घेदुङका अध्यक्ष रेशम स्याङ्बो तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।   नेपाल तामाङ घेदुङ कास्कीको दबाबमा प्रकाशित विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल तामाङ विद्यार्थी घेदुङ कास्की जिल्ला समन्वय समितिको मिति २०७९ श्रावण ८ गते बसेको बैठकले संघको विधान २०५० को परिच्छेद ७ दफा १९ (ग) अनुसार समन्वय समितिको जिल्ला अधिवेशन भाद्र २५ गते शनिबारका लागि निर्णय भएको र मिति २०७८ भदौ १८ गते नेपाल तामाङ घेदुङ पोखरा महानगरपालिका इकाई  समितिको बैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष श्री मानबहादुर तामाङसमेतको उपस्थितिमा उल्लेखित मितिमा गर्ने गराउने भनी निर्णय गरेको थियो ।’ सोही बमोजिम कार्यक्रमको तयारी भइसरको भएतापनि समन्वय समितिका अध्यक्षले भदौ २३ गते सामाजिक सञ्जालमार्फत अधिवेशन स्थगित भएको र विद्यार्थीका अध्यक्षलाई फोनमार्फत स्थगित गर्न दबाब दिइएको उल्लेख छ ।   प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार भाद्र २५ गतेको अधिवेशनको तयारी हुँदा हुंदै पनि नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष मानबहादुर तामाङले भाद्र २३ गते दिउँसो २ः१२ को समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमको तयारी नपुगेको हुँदा अर्काे सूचना नआएसम्मको लागि अधिवेशन स्थगित भएको भन्दै हस्तक्षेप गरेका थिए । तर उनी यसअघि बसेको बैठकमा भने उपस्थित भएको बताइएको छ ।    विद्यार्थी घेदुङ कास्कीका अनुसार जिल्ला समन्वय समितिका अध्यक्षले विद्यार्थी घेदुङलाई कुनै जानकारी नदिई अधिवेशन रोक्न हस्तक्षेप गरेको जनाएको छ । यतिमात्र नभएर जिल्ला समन्वय समितिका अध्यक्ष तामाङले विद्यार्थी घेदुङका अध्यक्षलाई अधिवेशन रोक्न फोन मार्फत दबावसमेत दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।   तयारी नपुगेकाले अधिवेशन रोकिएका हो : जिल्ला अध्यक्ष मानबहादुर   तामाङ घेदुङ कास्कीका अध्यक्ष मानबहादुर तामाङले आन्तरिक तयारी र जिल्लासँग कुनै छलफल नगरी अधिवेशनको मिति तोकिएकाले स्थगित भएको बताए ।    ‘तामाङ घेदुङ विद्यार्थी संघ भनेको हाम्रो भातृसंगठन हो तर हामीसँग कुनै छलफल नगरी आन्तरिक तयारी बिना नै जिल्ला अधिवेशनको मिति तोकिएकाले अधिवेशन  रोकिएको हो ।’ उनले सुनगाभा न्यूजसँग भने ।   तामाङ घेदुङ विद्याथी कास्कीका इन्जार्ज सुन्दर तामाङले संगठन बलियो र चलायनमा बनाउन अधिवेशन रोकिएको जानकारी दिए । ‘जिल्लाको भुगोल र संरचना हेर्दा अधिवेशनको तयारी अपुग नै हो, उनले भने ‘संगठनलाई चलायनमान र बलियो बनाउन अधिवेशन रोकिएको हो ।’    भदौ २५ गते तोकिएको जिल्ला अधिवेशन कहिले गर्ने भनेर मिति अझै तोकिएको छैन । 

पोखरा  :  पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्षले वडाका फुटपाथ पसल र अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेको छ ।   महानगर र वडाबाट स्वीकृति नलिइकन निर्माण भएका स्थायी, अस्थायी टहरा र अतिक्रमित जग्गामा एवं मापदण्ड विपरित निर्माण भएका संरचना हटाउने अभियान चलेको उल्लेख गर्दै वडा कार्यालयले ७ दिन भित्र संरचना हटाउन सुचना प्रकाशित गरेको हो ।  सुचनामा भनिएको छ, ‘वडा कार्यालयमा स्वीकृति नलिइकन निर्माण भएका स्थायी तथा अस्थायी टहरासमेतका अतिक्रमति जग्गामा एवम् मापडण्ड विपरित निर्मित संरचना हटाउने अभियान चलिरहेको हुँदा स्वीकृत नलिइकन निर्माण भएका संरचनाहरु ७ दिनभित्र हटाइदिनुहुन यो सुचना प्रकाशित गरिएको छ । सुचनामा ७ दिनभित्र पहिलो चरणमा जिरो किलोमिटर देखि उत्तरतर्फ र बागलुङ राजमार्गको दायाँबायाँको सडकमा महानगर र वडाको स्वीकृति नलिइकन निर्माण भएको संरचना हटाउन निर्देशनसमेत दिइएको छ ।     ७ दिन भित्र संरचनाहरु सम्बन्धित सरोकारवाला व्यक्तिबाट संरचना नहटाए प्रचलित कानुन बमोजिम हटाउँदाको खर्चसमेत असुल हुने सुचनामा बताइएको छ ।

पोखरा :  लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे ।   कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ । फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ । परम्परागतरूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन ।   यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो । पुम्दीभुम्दी कृषि सहकारी संस्था र कराङ्गे कृषि समूहद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई रैथाने बालीका परिकारको खाजा खुवाएर यसबारे जानकारी गराउँदै अभिभावकलाई यसतर्फ अभिप्रेरित गर्नु थियो ।   खेतबारीहरू बाँझिदै गएका अवस्थामा पोषकतत्वयुक्त रैथाने बालीतर्फ सचेतना जगाउने उद्देश्यका साथ विद्यालयका विद्यार्थीलाई रैथाने कोदोको सेल, कागुनाको खिरसहित केरा र आलुको अचारको खाजा खुवाइएको कराङ्गे कृषक समूहका अध्यक्ष श्यामलाल पोख्रेलले बताउनुभयो ।   “पछिल्ला वर्षमा गाउँघरतिर खेतबारी बाँझै छन्, कोदो, कागुनोजस्ता रैथाने बाली लोप हुने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “विद्यालयका विद्यार्थीमार्फत रैथाने बालीप्रति सचेतना जगाउने उद्देश्यका साथ यो अभियान थालेका हौँ ।”      पहिले–पहिले गरिब, विपन्न परिवारले खाने अन्नका रूपमा लिइने कोदो पछिल्ला वर्षमा भने सम्पन्न हुनेखानेको रोजाइमा पर्न थालेको छ । विभिन्न रोग प्रतिरोधात्मक कोदोको पछिल्ला वर्षमा खेती कम हुँदै गएको छ भने बजारमा माग बढ्दो रहेको पोखरा कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न रैथाने प्रजाति पनि लोप हुँदै जानु यतिखेर चुनौतीका रूपमा देखिएको छ । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजाति पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएका छन् ।   मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीलाई अघि बढाउन सकेमा यसले बाँझिएका जग्गामा खेती गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्न सकिने कडरियाको भनाइ छ । विद्यालय तहबाट सचेतनामूलक किसिमले रैथाने बालीका परिकारका खाजा खुवाउने अभियानलाई व्यापक गर्न सकेमा हराउँदै गएका बालीलाई पुनः लगाउने वातावरण तयार गर्न सकिने कडरियाले बताउनुभयो ।   कागुनो पुराना अन्न बालीमध्येमा पर्दछ । नेपाली समाजमा यसलाई काउनो पनि भन्ने गरिन्छ । नेपालका विभिन्न स्थानमा प्राचीनकालदेखि हुँदै आएको यो खेती अहिले भने लगभग लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालका कणाली क्षेत्रका साथै रामेछाप, काभ्रे, गोरखा, लमजुङ, कास्की, धादिङजस्ता जिल्लामा फाट्टफुट्ट यो खेती गर्ने गरिए पनि अहिले भने लगभग हराइसकेको कृषक बताउँछन् । पहाडी भेगमा त यसलाई अनिकाल टार्ने अन्नका रूपमा समेत लिने गरिन्थ्यो । असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन हुनसक्ने भएकाले यसलाई अनिकालको अन्न भन्ने गरिएको हो । कागुनोको भात, खिर, ढिँडो बनाएर खाने चलनका साथै कोदोसँग मिसाएर रक्सीसमेत बनाउन सकिने यो बाली बाँझिएका जग्गामा लगाउन सके स्थानीयको आयआर्जन बढाउन सकिन्छ ।   कृषिप्रतिको अनिच्छासँगै रैथाने बालीको महत्व बुझ्न बुझाउन नसक्दा कोदो, कागुनोजस्ता रैथाने बालीहरू सङ्कटमा परेको पुम्दीभुम्दी कृषक समूहका अध्यक्ष खेमराज बरालले बताउनुभयो । “हाम्रा बाँझिएका जग्गामा यी रैथाने बालीलाई अघि बढाउन सकेमा यसले उत्पादनसँगै आम्दानी बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।   कृषिलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताउनुहुने पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल स्थानीयको जागरुकता भएमा वडाका तर्फबाट हुनसक्ने सबै किसिमका सहयोगमा आफूहरू प्रतिबद्ध भएको बताउनुभयो ।   लीला आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले विद्यार्थीमार्फत रैथाने बालीको संरक्षणमा घर–घरमा सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  शिक्षक प्रितम देवकोटाले बाँझिएका जग्गामा खेती गर्न सकेमा परनिर्भरता हट्दै आत्मनिर्भरता बढ्ने धारणा राख्नुभयो ।

पोखरा :  यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ ।   मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बर्षेनी  प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो । पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ ।    काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनी करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् । जनसम्मत डटकमका सम्पादक उनी एभरेष्ट मिडिया हाउसमा समेत कार्यरत् छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यसमिति सदस्य पत्रकार शाहीको स्थायी घर तनहुँको भानु नगरपालिका वडा-५ हो ।   अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । सदस्यमा रामप्रसाद तिमिल्सिना, खेमबहादुर गुरुङ, दीपेन्द्र श्रेष्ठ, तोरणबहादुर बानियाँ, दीननाथ बराल, केशवबहादुर थापा, पदेन सदस्यमा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) र महासचिव रामजीप्रसाद अधिकारी थिए ।    सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानित भइसकेका छन् । सम्मानित हुनेमा कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबि आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार हुन् ।    कास्की जिल्लालाई कार्यक्षेत्र बनाई खेलकुद बिटलाई प्राथमिकता दिई कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुपर्ने लगायत पुरस्कारको मापदण्ड कायम गरिएको छ ।    यसैबीच, क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गर्ने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।    क्लबको वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमा पुरस्कार वितरण गरिनेछ ।