कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

कास्की  :   नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पार्टीमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मानार्थ रु ३० लाखसम्मको अक्षयकोष स्थापना गर्ने भएको छ ।      समितिको आज सम्पन्न बैठकले पार्टीमा योगदान गरेका व्यक्तिको सम्मानार्थ अक्षयकोष स्थापनासँगै विभिन्न निर्णय गरेको पार्टीका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु) ले जानकारी दिनुभयो ।      पार्टीले यही भदौ २४ गते बिपी जयन्तीका अवसरमा बिपी स्मृति पुस्तकालय र सूचना सञ्चार तथा प्रचारप्रसार विभागकोे कक्ष उद्घाटन गर्ने भएको उहाँले जानकारी दिनुभयो ।      बैठकमा पार्टी केन्द्रीय कार्यालयको परिपत्रअनुसार गण्डकी प्र्रदेशका ११ जिल्लाबाट रायसहित सिफारिस भई आएका प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकका आकाङ्क्षी उम्मेदवार सबैको नामका विषयमा छलफल गरिएको छ । आकाङ्क्षीको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।      बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको ममतामयी माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

कास्की  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् ।    नेपाली कांग्रेस,  नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो ।   कास्की निर्वाचन क्षेत्र नम्बर १  बाट १५ , क्षेत्र नम्बर २ बाट चार  र क्षेत्र नम्बर ३  बाट नौ  गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस हुनुभएको छ ।    यसैगरी प्रतिनिसिभा सदस्य विद्या भट्टराई अधिकारी क्षेत्र नं २ र पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस हुनुभएको एमालेले जनाएको छ ।    क्षेत्र नं १ बाट सांसद अधिकारीसहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालीदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिह काउछा मगर, पदमप्रसाद पौडेल, पुष्पज्योति ढुङ्गाना, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, शङ्करनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस हुनुभएको  छ ।   क्षेत्र नं २ बाट हालका प्रतिनिधिसभाका सांसद भट्टराईसहित प्रभा कोइराला, केशव आचार्य, भूपेन्द्र गिरीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट विश्वकर्मासहित देवी सुवेदी, गणेशमान गुरुङ, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ ।

पोखरा  :  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ । प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि रु ७२ लाखको ठेक्का आह्वान गरिएको छ ।    ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिनसक्ने र डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो सातादेखि सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । कम्तीमा पनि एक महिनाको अवधिमा उक्त डाँडा कटानको काम सकिने प्राधिकरणको अनुमान रहेको छ ।   यसैगरी रिट्ठेपानीको १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै पोखरामा क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाउने योजना रहेको महानिर्देशक अधिकारीले बताउनुभयो । प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पूरा गरिसकेको बताइएको छ । वन तथा वातावरण मन्त्रालयले उक्त डाँडा नजिक रहेका छ सय वटा रुख कटानका लागि स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो ।   वन तथा वातावरण मन्त्रालयले रुख कटानका लागि दिइएको स्वीकृतीमा काटिएका रुख वन विभागलाई हस्तान्तरण गर्ने सझौता भएबमोजिम काटिएका रुखहरू विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । रिट्ठेपानी डाँडाको तीन सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा रहेको छ । उक्त विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको छ । कूल रु २२ अर्बको लागत रहेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान सञ्चालन हुने भएको छ । क्षेत्रीयस्तरका वायुसेवाहरु यस विमानस्थलमा सेवा सञ्चालनका लागि जोडिने भएका छन् ।

कास्की  :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने बताउनुभएको छ ।   राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीले आज पोखरामा आयोजना गरेको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा उहाँले वर्तमान सरकार भूमिहीनका पक्षमा रहेको र संविधानको भावनाअनुसार सबै सुकुम्बासीलाई जग्गा दिलाई छाडिने स्पष्ट पार्नुभयो ।   उहाँले भन्नुभयो, “अबका दिनमा भूमिहीनलाई भोट बैंकका रुपमा प्रयोग गरेर पुर्जाको राजनीति गरेर हामी जग्गाधनी पुर्जा दिन्नौँ, हाम्रो दललाई भोट देऊ भन्ने दूषित राजनीतिलाई सदाका लागि अन्त्य गर्न चाहन्छौँ ।”   नेपाली जनताले संविधानप्रद्धत्त आफ्ना हकअधिकार उपयोग गर्ने जनताका नैसर्गिक मान अधिकारलाई राज्य वा सरकारले उपलब्ध गराउनु सरकारको दायित्व र कर्तव्य रहेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।   सुकुम्बासी समस्या समाधान गर्ने भनेर समिति वा आयोगका नाममा २२ वटा भूमिसँग जोडिएका समिति बन्दासमेत भूमिहीनको समस्या यथावत् रहे पनि वर्तमान सरकार गठनपछि जग्गाधनी पुर्जा वितरण सुरु भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।   संविधानमा लिपिबद्ध नागरिक हकअधिकारलाई नागरिकले वास्तविकरूपमा आफ्नो जीवनमा अधिकार प्राप्त गर्नसके मात्र परिर्वतनको अनुभूति हुने भएकाले वर्तमान गठबन्धन सरकार सोका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।   उहाँले भन्नुभयो, “जुन दल र दलका अध्यक्षले मलाई मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउनुभयो, सो दलका नेताका अनुसार हामीले दशकौँदेखिको उठाउँदै आएको भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका हकअधिकार उपयोग गर्नका लागि एकछिन पनि ढिलाइ गर्ने छुट मलाई छैन ।”   राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगले स्थानीय सरकारसँग मिलेर देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम गरिरहेको बताउनुभयो ।   आयोगका केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले आयोगले छिटोभन्दा छिटो लालपुर्जा प्र्राप्त गर्ने विधि तय गरेको र चुनावी आचारसंहिता लाग्नुअघिसम्म पुर्जा वितरण कार्यक्रम देशभर सञ्चालन गरिने बताउनुभयो ।    गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले भूमिहीनका समस्या समाधानका लागि प्रदेश सरकारसँगसमेत सहकार्य गरेर काम गर्दा प्रभावकारी हुने उल्लेख गर्नुभयो ।   कार्यक्रममा जिल्लाका ३९ जनालाई जग्गाधनी दर्ता पुर्जा वितरण गरिएको छ । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा एक जना अव्यवस्थित बसोबासी र बाँकी भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् । विगतमा कित्ताकाट भएर अन्य काम बाँकी रहेकालाई आयोगको जिल्ला कार्यालयले अधुरो अपूरोअन्तर्गत रातो पुर्जा दिएको र पुर्जा वितरण निरन्तर सञ्चालन हुने राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोखरेलले बताउनुभयो ।   उहाँका अनुसार आयोगमा पोखरा महानगरपालिकामा भूमिहीन दलित तीन हजार पाँच सय ५३, भूमिहीन सुकुम्बासी चार हजार एक सय ८३ र अव्यवस्थित बसोबासी ११ हजार आठ सय ९८ परिवारको लगत सङ्कलन भएको छ । जिल्लाका अन्य पालिकामा भने आगामी असोज ४ गतेसम्म निवेदन दिने समयसीमा रहेको बताइन्छ ।   

पोखरा  : लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सानबाबु तुलाधरलाई  सात दिनको म्याद थप गरि अनुुसन्धान अघि बढाएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध मुद्धामा प्रकाउ परेका  तुलाधरलाई थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको हो ।    धादिङ गल्छी गाउँपालिका वडा नं. २ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधरलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार्र लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०१५ ग्राम सहित चाउथेको कदममार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

  पोखरा  :  आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका छन् ।    एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी  निवेदन माग गरेको थियो ।    कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजनीतिक दलहरुमा समेत  एमालेका त्रिपाठी सवै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुन्  । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतिमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चामा आएका थिए ।    अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन्  । विद्यार्थी राजनीतिमा उमेर  हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजनीतिबाट राजीनामा दिएका थिए ।   जिल्लाको १० औँ जिल्ला अधिवेशनमा खुल्ला सदस्य तर्फ लोक प्रिय मतका साथ चुनाव जितेर उनी सवै भन्दा कान्छो जिल्ला सदस्यमा निवार्चित भएका थिए ।   उनले आफ्नो अध्ययन पुरा भए पछि विद्यार्थी राजनीतिको केन्द्रीय सदस्यबाट राजीनामा दिएर खुल्ला रुपमा मुल धारको राजनीतीमा  प्रवेश गर्ने स्वघोषणा गरेका थिए ।     एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी  आहवान गरेको क्षेत्रीय संयोजक कर्ण गुरुङले जानकारी दिनु भयो ।    उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न  एमालेबाट ९ जनाले आकांक्षा व्यक्त गरेका छन् ।  देवी सुवेदी जगत वि.क, गणेश गुरुङ , जगन्नाथ वास्तोला लगाएत रहेका छन् ।   

पोखरा  :  पोखराको चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । भोली (सोमबार) देखि आगामी २४ सम्म राष्ट्रिय कलाकारहरुको साथमा सांगीतिक माहौलसँग वार्षिकोत्सव मनाउने तुम कलाकार संघ गण्डकीका अध्यक्ष समेत रहेका गायक गायक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ ।  भोलिदेखि सुुरु हुने सांगीतिक साँझमा २० गते भागिरथ चलाउने, २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्ति मगर, २३ गते शिला आले मगर र २४ गते चन्द्र शर्मा लगायत सुरेन्द्र गुरुङ, असु गुरुङ लगायत रुपाहिल दोहोरी साँझका नियमित कलाकारहरुको बेजोड प्रस्तुती रहने दोहोरी साँझका सञ्चालकले अमृत गुरुङले जानकारी दिए ।  

पोखरा  : पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गर्ने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।   आगामी २२ देखि २५ गतेसम्म पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   कार्यक्रम संयोजक मनोज खड्काले सो प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।   यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।     सो प्रतियोगितामा टिम दर्ताका लागि पुरुषतर्फ ६ हजार र महिला तर्फ ४ हजार रुपैयाँ निर्धारण गरिएको पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल)ले बताए ।   उनले सो प्रतियोगितामा भलिबल संघले मान्यता दिएको राष्ट्रिय खेल तथा एनभिए लिग खेलेका दुई जना खेलाडीमात्र टिममा समावेश गर्न पाइने जानकारी दिए ।   पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा पुुरुष तर्फ ३० र महिला तर्फ १५ समुहको सहभागिता रहने आयोजकको अपेक्षा छ ।    २०७३ सालमा स्थापना भएपनि पोखरा भलिबल प्रशिक्षण केन्द्रको यो तेस्रो संकरणको भलिबल प्रतियोगिता हो । सो क्लबले प्रतियोगिता सञ्चालन गरि गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई १ लाख आर्थिक सहयोग प्रदान गरेको थियो ।  

पोखरा : आइतबार बिहान पोखराबाट मुुस्ताङको जोमसोमका लागि उडको समिट एयरको जहाजमा समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।    पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ७ बजेर ५९ मिनेटमा मुुस्ताङको जोमसोम उडेको जहाज पोखराका आकाशमा एक फन्को मारेर ७ मिनेटपछि आपतकालीन अवतरण भएको हो ।    उडेको केहीबेरमै पाइलटले इन्डिकेसनमा प्रोब्लम (खराबीको संकेत)को जनाउ पोखरा विमानस्थलको टावरलाई दिएका थिए । तत्कालै पाइलटले दाहिने इन्जिन अफ गरी पोखरा विमानस्थलमै जहाज अवतरण गराएका हुन् । ‘सामान्य खालकै अवतरण भएको हो, ग्राउन्डमा अरु त्यस्तो आपतकालीन तयारी पनि गर्नुपरेको होइन,’ सूचना अधिकारी सुवेदीले भने । उक्त जहाजमा १८ जना यात्रु थिए ।   जहाजमा ठूलै खराबी देखिँदा विमानस्थलमा दमकल लगायतको तयारीसहित आपतकालीन तैनाथी गरिन्छ । तर समिटका हकमा त्यसो गर्नुपरेको थिएन । पाइलटले त्यस्तो कुनै तैनाथी आवश्यक नपर्ने जनाउ पनि टावरलाई गराएका थिए ।