पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित दुईदिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ ।     तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिने पुनः दोहोर्याए  ।    लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्चले प्रतियोगितालाई लक्षित गरेर पत्रकारिता तालिम आयोजना गरेकोमा उनले खुशी व्यक्त गरे । मञ्चले गर्ने विभिन्न कार्यक्रममा प्रदेश सरकारको सहयोग रहदै आएको तथा आगामी दिनमा समेत निरन्तर सहयोग रहने उनले बताए ।    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अञ्जन खड्का, प्रशिक्षार्थीहरु कमल पौडेल अथक, प्रतिक्षा काफ्ले र हरि खरेल, मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ तथा महासचिव राजाराम पौडेलले बोलेका थिए ।   गण्डकी प्रदेशका खेल क्षेत्रमा रुचि राख्ने पत्रकारको लागि आयोजना गरिएको तलिममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० भन्दा बढी पत्रकारको सहभागीता रहेको महासचिव राजाराम पौडेलले जनाए ।    तालिमको दोस्रो दिनमा दुर्गानाथ सुवेदी देवेन्द्र, सुवास खड्का, कृष्ण तिमिल्सिना, मेजर लक्ष्मीप्रसाद गुरुङ, राजन सुब्बा, राजेन्द्र तामाङ, राजन नेपाली, जगत धौली, रामबहादुर क्षेत्री, आनन्द कुँवर, भीम पराजुली, चित्रबहादुर थापा, गज बहादुर गुरुङ, चिन बहादुर थापा, जगन वि.क., आकाशचन्द्र घर्ती मगर, शिव पुन लगायतका प्रशिक्षकले प्रशिक्षण दिए ।   यसअघि तालिमको पहिलो दिनमा कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए । यसरी प्रशिक्षण प्रदान गर्नेमा योगेन्द्र शेरचन, पुनम गुरुङ, बिशाल कुँवर, सन्दिप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, निरज थापा, प्रियंका बर्मा र योगेश भट्टराई थिए ।   दुवै दिनको प्रशिक्षण प्रश्चात खेल क्षेत्रमा कलम चलाउन नयाँ जोश थपेको सहभागीको प्रतिक्रिया थियो । तालिममा सिकेका कुरालाई व्यवहारमा परिणत गर्ने प्रतिवद्धता उनीहरुले गरें ।     राष्ट्रिख खेलकुद परिषदको आयोजना भएको तालिमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको थियो । यसैगरी कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, मादि गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रेगाउँपालिका,  केटिएम सिटी, वरपिपल रिर्सोट लगायतको सहयोग तालिममा रहेको थियो ।   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ ।   ३९ वर्षपछि गण्डकी प्रदेशमा हुन लागेको सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना भएको तालिम संयोजक समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।   मञ्चले आगामी दिनमा पनि पत्रकारको दक्षता अभिवृद्धि गर्नको लागि तालिम आयोजना गर्ने बरालले जनाए ।  

पोखरा : पोखरा महानगरपालिका ३ नदीपुर स्थित फुलबारी पार्क अगाडी सवारी दुर्घटना भएको छ ।    बेलुका करिब सवाँ सात बजे ग १ ख ८५२२ नम्बरको टिप्परले पार्किङमा रहेको ग १० प ६६८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।    उक्त टिप्पर अनियन्त्रित हुँदा स्कुटरलाई ठक्कर दिएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए ।   उनका अनुसार टिप्परको ठक्करबाट स्कुटर पूर्णरुपमा क्षति भएको छ । दुर्घटनाबारे थप अनुसन्धान गर्न टिप्पर चालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा  :  पर्यटन व्यवस्थापन समिति घान्द्रुकले १५ वर्षपछि नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिका १०/११ रोधी क्लब घान्द्रुकको सामुदाय भवनमा आज (मंगलबार) भएको प्रथम अधिवेशनले विक्रम गुरुङलाई नयाँ नेतृत्वमा चयन गरेको हो ।   गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी अमृत लामा गुरुङले जानकारी दिए  ।  उनका अनुसार सो समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सह-सचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन भए । यसैगरि सदस्यहरुमा रामकुमारी दर्जी, मनोज गुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमल बहादुर गुरुङ र अक्षा रसाईली रहेकी छिन् ।     सो कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्षसमेत रहेका अग्रज पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको बताए । उनले आगामी दिनमासमेत घान्द्रुकको विकास र पर्यटन प्रवद्र्धनको पक्षमा लाग्ने धारणा राखे ।   ‘घान्द्रुक पर्यटकको रोजाईको केन्द्रबिन्दु हो, म लगायत समितिले गर्न सक्ने पूर्वाधार विकासमा केही काम गर्न सक्यौ, उनले भने, ‘अझै घान्द्रुकको थप विकासमा सबैको हातेमालोले आवश्यक छ ।’    कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।

पोखरा  : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चार दिने भ्रमणमा मलेसिया निस्किएका छन् ।    सेप्टेम्बर १९ देखि २४ तारिखसम्म मलेसियाको क्वालालाम्पुरमा एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरुको संगठन सिटीनेटको नवौं अन्र्तराष्ट्रिय महाधिवेशनमा efu लिन पोखराका मेयर आचार्य चारदिनका लागि मलेसिया प्रस्थान गरेका हुन् ।    आचार्य हाल क्वालालाम्पुरमा जारी सिटीनेटको नवौं अन्र्तराष्ट्रिय महाधिवेशनमा व्यस्त देखिएका छन् ।    एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरुको संगठन सिटिनेटको महाधिवेशनमा पुगेका मेयर आचार्यले खर्च आफैले व्यहोर्ने प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र भारतीले जानकारी दिए ।    ‘जहाजको टिकट खर्च महानगरले तिर्ने सामान्य कुराकानी भएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘बाँकी खर्च मेयरको आफैले व्यहोर्ने र जहाजको खर्च पनि आफै तिर्छु भने पाइन्छ ।’    मेयर आचार्य अहिले क्वालालाम्पुरको कार्यक्रममा सहभागी भएको तस्बिर सामाजिक सञ्जाममा सार्वजनिक गरेका छन् । मेयर आचार्यले फेसबुकमा गरेको पोस्टमा उनीसँग ललितपुर महानगरका मेयर जिरीबाबु महर्जनसमेत सामेल भएको देखिएको छ । 

पोखरा  ः  भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।   वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् ।   बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो  । करिब पाँच सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिनुभयो । सो माछालाई सोमबार नै सरोकारवालाको रोहबरमा राष्ट्रिय पक्षी रोग प्रयोगशालामा रहेको बायोलोजिकल पीटमा नष्ट गरिएको छ ।    अवैधरूपमा नेपाल भित्र्याइएका माछा नियन्त्रणमा लिएर नष्ट गर्ने अभियानमा राज्यका निकायलाई सहयोग गरिरहेको सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भारतका अवैध माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेको गुनासो गर्नुभयो । विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको सङ्घको दाबी छ ।   सङ्घले देशका विभिन्न नाकामा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको जनाएको छ । चितवनमा वार्षिक छ हजार पाँच सय टन माछा उत्पादन हुन्छ । यसको करिब ६५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ । बाँकी काठमाडौँ, पोखरालगायतका बजारमा बिक्री हुने गरेको सङ्घका जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले बताउनुभयो । पछिल्लो समय भारतीय माछाको अवैध आयात बढेकाले यहाँको उत्पादनले बजार पाउन नसकेको उहाँको भनाइ छ ।

पोखरा :  विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु ।   फेवामा तैरिरहेका डुङ्गा छालसँगै चलमलाइरहेका थिए । केही डुङ्गा पर्यटक बोकेर घरी तालबाराही मन्दिर त घरी फेवा किनार आवतजावतमा व्यस्त थिए । त्यही बीचमा देश–विदेशका एक सय १८ चित्रकारको हुल पनि मिसिएपछि सोमबारको जमघट बाक्लिएको थियो । पोखरामा पर्यटकहरू आउने क्रम सुरु हुनै लागेकाले  अझै सोचेअनुसार पर्यटक आइपुगिसकेका छैनन् ।   कलाकारको जमघटले त्यहाँको माहोल बाक्लिएको पाइन्थ्यो । फेवातालबाट देखिन दृश्यले कलाकारलाई चुप लागेर बस्न दिएन । आएका कलाकार दुरान्तर कायम गर्दै मस्तिष्कमा खिचिएका दृश्यलाई  टाइपोट र इजलका साथ जलरङमा कुची चोपेर क्यान्भास रङ्ग्याउन थालिहाले । कोही डुङ्गामा पुगे, कोही बाराही मन्दिर गए, कोही फेवा किनारमै बसे त कोही ‘वाकिङ प्लेस’का प्रतिक्षालयबाट नियाल्दै  चित्र कोर्न लागे ।   विभिन्न कोण समाएर कलाकारले फेवालाई टम्म घेरे । आ–आफ्नो कोणबाट दृश्य सिर्जना गरे । उनीहरूको तीन दिनदेखिको थकान फेवाले बिर्साइदियो । आगन्तुक आन्तरिक र बाह्य पर्यटक आफ्ना आँखाले नियालिरहेका दृश्यहरू क्यान्भासमा देख्न पाउँदा ट्वाल्ल परेका थिए । उनीहरूले कलाकारसँग तस्वीर र  सेल्फी लिन पनि भ्याए ।   यो अवसर जुटाइदिएको थियो नेपालको अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)ले । पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारका साथमा भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकार सहभागी थिए यहाँ । भारतका कलाकार विजय विस्वाल फेवाको सुन्दरताले मन छोएको र कलाकारका लागि यो अनुपम उपहार भएको बताउनुभयो ।   फेवालाई नेपालको दोस्रो सबैभन्दा ठूलो र गहिरो ताल मानिने स्थानीयवासीले सुनाए । यो तालमा माछापुच्छ«े र अन्नपूर्ण हिमालको मनोरम दृश्य तैरिन्छ । किनारबाट पनि आसपासका प्राकृतिक सुन्दरता नियाल्न सकिन्छ ।   तालको बीचमा पर्ने तालबाराही मन्दिर अर्को विशेषता हो । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यही शिलामा मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजा गर्न थालिएको भनाइ छ  । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको र तालको बीचमा रहेकाले नाम तालबाराही हुन गएको हो ।   प्रमुख शक्तिपीठमध्ये एक मानिने यहाँ दाम्पत्य जीवन सुखमय हुने विश्वासमा धेरै मानिस दर्शन गर्न आइपुग्छन् । सोमबार धेरै कलाकारले त्यही तालबाराहीमै बसेर वरपरका सौन्दर्य र मन्दिरका दृश्य समेटे । फेवाको किनारमा बसेर ताललाई क्यान्भासमा सजाएका भक्तपुरका कलाकार अञ्जन अधिकारीले यहाँ बसेर इजेलका साथ हातमा क्यान्भास र रङ लिएर जब कुची चोप्न थालिन्छ, त्यसपछि शरीरमा आफैँ नौलो ऊर्जा भरिने सुनाउनुभयो  ।   उहाँले भन्नुभयो, “यहाँबाट हेर्दा माछापुच्छ«ेको जुन प्रतिविम्ब फेवातालमा झल्किन्छ, त्यो हृदयस्पर्शी छ, जव ती पानीका छालहरु विस्तारै तरङ्गीत हुन्छ नी, एउटा कलाकारमा  भित्रैदेखि स्वच्छ रक्त सञ्चार हुन्छ, अनि उर्जा आइदिन्छ, काम गर्नका लागि शक्ति बढ्छ र उत्साह थपिन्छ ।”    कुनै पनि कलाकार फेवामा पुग्दा त्यहाँको गहिराइमा डुवेर प्राकतिक सुन्दरतालाई चित्रण गर्न आतुर हुन्छन् । पोखरालाई पहिलोचोटी स्पर्श गर्नुभएका इलामका कलाकार किरणकुमार शिगुलाई पनि त्यही अनुभूति भयो । “नौलो अनुभूतिको आनन्द प्राप्त हुने रहेछ”, शिगुले थप्नुभयो, “कला प्रकृतिबाटै सिकिन्छ, प्रकृतिकै नक्कल गरेर चित्र सिर्जना हुने हुँदा फेवा किनारबाट नियाल्दा भित्रैदेखि सन्तुष्टि प्राप्त भयो ।”   कलाकारहरुको बुझाइमा एउटा चित्रकारले जे कुरा खोजिरहेको हुन्छ ती चिजहरु एकै स्थानबाट प्राप्त गर्न सकिने स्थान हो फेवाताल । उक्त अबसर धेरै ठाउँमा पाइदैन । विविधतायुक्त प्रकृतिलाई खेलाउन फेवा किनार उत्कृष्ट गन्तव्य भएको उहाँहरुको भनाइ थियो । यहाँ बसेर रङ खेलाउन औधी मजा हुने कलाकारहरुले बताए  ।   यसपालीको आर्ट क्याम्पमा उत्कृष्ट १० मा पर्नुभएका चितवनका कलाकार बरुणबाबु घिमिरेले फेवाबाट दुरान्तर असाध्यै राम्रो हुने बताउनुभयो । “एक त सुन्दर ताल त्यसमाथि उभिएको माछापुच्छ«ेसहितका प्राकृतिक छटाले आर्ट गरेरै थाकिन्न जता फर्कियो त्यतै पेन्टिङ गरौँ गरौँ झैँ लाग्छ”, उहाँले भन्नुभयो । घिमिरेका अनुसार पोखरा नेपालीपन र नेपाली परिवेश बोकेको ठाउँ हो ।   भक्तपुरका कलाकार सुस्मा श्रेष्ठ र उहाँकी छोरी  श्रेया हाडा पनि आर्ट क्याम्पमा सहभागी हुनुहुन्थ्यो । दुवै जनाले फेवाको दृष्यलाई सोमबार जलरङले सजाउनुभयो । सुस्मालाई त्यो नजिकका हरियालीभित्रको मसिना कण बनाउन खुब ऊर्जा मिल्यो ।    प्रकाशको किरणसँगै छिनछिनमा बदलिने प्रकृतिका रङसँगै कलाकारले रङ खेलाउन सक्नुपर्छ । त्यसमाथि जलरङ खेलाउन त्यति सजिलो हुन्न । यहाँको हरियाली वातावरण, तरेली परिरहने एकनासको छाल, सिरिर।।र बहिरहने हावा र हिमालको स्पर्शले मुग्ध पारिदिन्छ ।   साँच्चैभन्दा फेवा किनारले मानिसको तनाव कम गरेर खुसी दिलाइदिन्छ । त्यही विषयलाई क्यान्भासमा उतार्दा आउने आनन्द छुट्टै हुने कलाकर श्रेष्ठले सुनाउनुभयो । नजिकै देखिने सराङकोटलाई क्यान्भासमा उतार्नुभएकी हाडाले भन्नुभयो, “फेवाको किनारबाट ‘प्योर’ प्रकृतिभन्दा अरु केही देखिएन ।” अर्का कलाकार बाबु साहिलाका अनूभूति पनि त्यस्तै थियो । उहाँले सोमबार त्यही प्राकृतिक खुराकलाई आर्ट पेपरमा सङ्गालेको बतउनुभयो ।   यहाँको प्राकृतिक सौन्दर्यको अथाह प्रेमले गर्दा नै  सिर्जनाका लागि विभिन्न जिल्लाका कलाकारलाई पटकपटक यहाँ  तानेर ल्याउने गरेको स्थानीय कलाकार मनोज तामाङले बताउनुभयो । 

पोखरा : जिल्ला कारागार कास्कीले सजाय भोगिरहेको २१ कैदीहरुलाई संविधान दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।    संविधान दिवसको अवसरमा कास्की कारागारबाट सजाय मिनाहामा हुनेमा  २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए । उनका अनुसारमा कैद मिनाहा हुनेमा बहुबिबाहमा २/२ जना महिला पुरुष, कर्तव्य ज्यानमा ८, सवारी ज्यानमा २, ज्यान मार्ने उद्योगमा ३, चोरीमा ३ र मुद्रामा १ जना रहेका छन् । कास्की कारागारमा हाल ३८ महिला, ८०१ पुरुष र २ नाबालक गरी ८ सय ४१ जनाले कैद भुक्तान गरिरहेका छन् ।   संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार  कास्कीबाट २१ जनाको सजाय मिनाहा गरेकी हुन् ।

पोखरा  :   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पृथ्वीराजमार्गमा भेटिएको नगद रकम प्रमाण सहित दावी गर्न अनुरोध गरेको छ ।    भदौ २८ गते पृथ्वीराजमार्गको विजयपुर सडकखण्डमा केही नगद रकम फेला परेको भन्दै ट्राफिक कार्यालय कास्कीले प्रमाण सहित कार्यालयमा आउन आग्रह गरेको हो ।    कार्यालय प्रमुख प्रकाश दाहका अनुसार पृथ्वीराजमार्गको विजयपुर खण्डमा मोटरसाइकलमा सवार एक युवकले सडकमा झरेको नगद टिप्दै गरेको ट्राफिक प्रहरीले देखेपछि सोधपुछ गर्ने क्रममा सम्बन्धित व्यक्तिको नभएको खुलेको हो ।    भदौ २८ गते पोखरादेखि कोत्रे सडकमा भेटिएको रकम कसैले पनि हराएको भन्दै कुनै उजुरी नदिएकाले सोमबार ट्राफिक कार्यालय कास्कीले सुचना प्रकाशित गर्दै प्रमाणसहित आउन अनुरोध गरेको हो ।   

पोखरा  :  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको जिल्ला अधिवेशन असोज २९ गते हुने भएको छ ।   प्रतिष्ठान कास्कीको शनिबार बसेको बैठकले ८ औँ जिल्ला अधिवेशन एवं २१ औँ वार्षिक साधारणसभा असोज २९ गते गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य रचित पौडेलले जानकारी दिए ।    प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीको अध्यक्षता एवम् केन्द्रीय सचिव जीवन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले असोज १० गते दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।   प्रमुख अतिथि दाहालले नेपाली गीत संगीतको इतिहासमै कलाकारहरुको सर्वोत्कृष्ष्ट छाता संगठन दोहोरी प्रतिष्ठान रहेको बताए ।   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको निर्देशन तथा प्रदेश कार्य समितिको निर्णयानुसार कार्तिक मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । यसैले कास्की जिल्लाले असोजमै अधिवेशन गर्ने तयारी गरेको हो ।