पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

  पोखरा :    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका छन् ।    पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, ‘यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’     पोखराले बर्सेनि १२ देख १५ लाख व्यक्तिलाई कुनै न कुनै हिसावले सेवा दिनुपर्ने अवस्था रहेको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले अबको ग्रेटर पोखराले समग्र प्रदेशलाई समेट्नुपर्ने बताए । उनले भने, ‘पोखरा भनेको यो कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मादी र आँधिको बीच भन्दा पनि पनि पर मुगलिन र पश्चिममा राम्दीसम्मको भूभागको विकासका लागि पोखराले चासो देखाउनुपर्छ ।’   व्यवस्थित सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै उनले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव नरहेको बताए । पोखराले ५ वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरुको बसाई अवधि र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्ने भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको जनाए ।    उनले निर्माणको अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कत्ति पनि ढिलाइ गर्न नहुने भनाइ राखे । उनले भने, ‘यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको छ ।  ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सहजीकरण समिति प्रदेश सरकारले गठन गरेको छ । यसले सरोकारवालासँग नियमित रुपमा छलफल गर्दै आएको छ । अरु सकिए पनि महानगरको ढिलाइले विमानस्थल सञ्चालनमा ढिलाइ नहोस् भन्ने प्रदेश सरकारको चाहाना छ, ल्यान्डफिल साइट छिटो बनोस् ।’     पोखराबाट उडान भर्नका लागि जजिरा लगायतका विमान सञ्चालन कम्पनी तयार भइसकेको भन्दै उनले नेपालमा उडान गर्ने हवाई कम्पनीका प्रतिनिधिहरुलाई पोखरामै बोलाएर वृहत भेला गर्ने र यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी गराउने उल्लेख गरे । उनले भने, ‘यो एअरपोर्टको खर्च धान्न र गण्डकीको पर्यटनलाई अझै उचाइमा पु¥याउन भारतका मुख्य सहरहरुमा नियमित रुपमा सिधा उडान जरुरी छ । यसका लागि हामीले नेपाल सरकारलाई झकझकाइरहेकै छ ।’    ५ वर्षमा स्थानीय तहको बलियो आधार तयार भएको भन्दै मुख्यमन्त्री पोखरेलले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय जरुरी रहेको बताए । यसका लागि प्रदेशले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको ऐन ल्याएको जानकारी उनले गराए ।    पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले यसको औपचारिक घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले निर्णय गरेर नेपाल सरकारलाई पठाइसकेको मुख्यमन्त्री पोखरेलले उल्लेख गरे ।    पोखरा सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले भन्दै मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा आफैमा सुन्दर छ । यसको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने छ । चौडा सडक, फराकिलो फुटपाथ, हरियालीका साथमा रात्रिकालीन बत्तीहरु झिलीमिली हुन्, जसका कारण स्वदेश र विदेशी पर्यटकलाई थप आकर्षित बनाउन सकिन्छ ।    उक्त अवसरमा पोखरा महानगरका मेयर धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरे । उपमेयर मञ्जुकुमारी गुरुङले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस दलका नेता दिवशमान प्रधानांग, एमाले दलका नेता राधिका शाही योगी, महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बोलेका थिए । 

पोखरा । केहि दिनयता पोखराको पालिखेचोकस्थित फल्चा निर्माणमा स्थानीयबीच विवाद भएपछि हाललाई निर्माण कार्य रोकिएको छ ।    पोखरा महानरपालिका र वडा नम्बर ३ को संयुक्त लगानीमा निर्माण हुन लागेको फल्चाको निर्माणमा स्थानीयले सुरुदेखि नै त्यसको डिजाइन र मापदण्डविपरित भएको भन्दै विरोध गरेका हुन् । फल्चा निर्माणमा जुटेका अशोक पालिखेले स्थानीयहरुले नभई बाहिरका व्यक्तिहरुले अवरोध पु¥याएको बताएका छन् ।    पालिखे भन्छन्, फल्चा निर्माण गर्दा पोखराको सडकमा कुनै असर नपर्ने भएकाले पोखरा महानगरपालिकाले योजना निर्माण रातो किताबमा नै दर्ता गरेको हो । फल्चा निर्माण गरेपछि पालिखेचोकको आर्कषण बढ्ने भएकाले चोकको सौन्दर्यतालाई थप गर्न फल्चा निर्माणमा पालिखे चोकवासी लागी परेको उनको टिप्पणी छ ।    वडा नम्बर ३ को सिफारिशमा महानगरपालिकाले टेण्डर गरेर प्रक्रिया अघि बढेकाले यसलाई रोक्न नहुने पालिखे बताउँछन् ।    तर पालिखेको भनाइमा प्रतिवाद गर्दै स्थानीयवासी राजन श्रेष्ठले नेवारी सेन्टिमेन्टमाथि खेलेर फल्चा बनाउन लागेको उल्लेख गरे । भिन्तुना युवा क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन् ‘फल्चा भनेको विश्रामस्थल हो तर त्यो डिजाइनअनुसार बनाउन लागिएको छैन ।’   महानगरले मुआब्जा लिएर भत्काएको स्थानमा फल्चा बनाउनु अनुचित भएको श्रेष्ठको धारणा छ । ‘सुरुमा जुन उद्देश्यले लिइएको हो सोही अवधारणामा संरचना निर्माण गर्नुपर्छ’ श्रेष्ठले भने ‘उक्त क्षेत्रमा साँघुरो सडक छ, सवारी आवागमनलाई थप सहज हुने हिसाबले अघि बढ्नुपर्छ ।’   फल्चा निर्माण गर्न पोखरा महानगरपालिकालाई सौन्दर्यकरण योजना अन्र्तगत आर्थिक वर्ष २०७८/०७९ को रातो बुकको पेज नम्बर १७५ को कोड नं. १६ मा दर्ता गर्न निवर्तमान वडा अध्यक्ष रविन्द्रबहादुर प्रजुले निवदेन गरेका थिए । फल्चा निर्माण गर्न १९ लाख ९९ हजार ८ सय रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 

पोखराः केही वर्ष यता निरन्तर थलिँदै आएको पोखराको पर्यटनलाई महानगरमा नयाँ मेयर आएसँगै ‘केही’ हुने आशा पलाएको छ ।    यस्तै आशाकाबीच पोखरा पर्यटन परिषद्ले मेयर धनराज आचार्यसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा मेयर आचार्यलाई बधाई दिँदै परिषद्ले आवश्यक सुधार गर्नुपर्ने विषयको निक्यौल गरी विभिन्न सुझाव दिएको छ ।  मेयरसमक्ष  परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले आवश्यक पूर्वाधारसँगै लेकसाइड क्षेत्रमा देखिएका समस्याहरू औंल्याउँदै तत्काल सम्बोधन गर्न सुझाव  दिए ।    विश्वको ध्यान खिच्न सफल घुम्नै पर्ने सहरको परिचय बनाएको  सहर पनि हो यसलाई व्यवस्थित बनाउन डाइनामिक भिजनरी नेतृत्वको खोजी सधैं पोखराले गरिरहेको छ, अबको नेतृत्वले यसलाई साकार पार्नेमा विश्वस्त छौं”, अध्यक्ष भट्टराईले भने । पर्यटन उद्योग अन्य उद्योगभन्दा भिन्न प्रकृतिको भएको र सीधै पर्यटकहरूसँग हेलमेल भई व्यवसाय सञ्चालन गर्नुपर्ने  हँुदा यहाँ थुप्र्रै चुनौतीहरू रहेको जनाउँदै पर्यटन मैत्री नीति अवलम्बन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । परिषदका तर्फबाट व्यक्त सुझावहरूमा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी बनाउने कार्यान्वयनको पक्षमा जोड दिँदै महानगरपालिकामा पर्यटन महाशाखा स्थापना गरी पर्यटक सम्पदा सहयोग कक्षको व्यवस्था गर्नुपर्ने  ।   फेवातालको लगायत पोखरामा रहेको सम्पूर्णताल सफा सुन्दर, वातावरण मैत्री बनाउन ताल वरिपरि प्लास्टिक जन्य खाद्यपदार्थ बिक्री वितरणमा रोक लगाउनुपर्ने, फुट ट्रयाकमा राखिएका फोहोर मैला संकलन बक्सहरू नियमित रूपमा खाली गर्नुपर्ने, फेवातालमा मिसिने ढलहरूको उचित व्यवस्थापन गरिनुपर्ने सुझावमा समेटिएको छ ।    त्यसैगरी पोखरा महानगरपालिका–लेकसाइडस्थित हिमागृह र रत्न मन्दिरलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय सम्पदाका रूपमा विकास गर्न न्यूनतम पूर्वाधार निमार्ण गर्दै दृश्वालोकनका लागि पर्यटक तथा सर्वसाधरणका लागि यथाशीघ्र खुला गर्नुपर्ने, महानगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्य स्थलहरूमा लिइने शुल्क एकै ठाउँबाट तिर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने ।    पर्यटकीय क्षेत्रलगायत प्रमुख स्थानहरूमा सुरक्षाका दृष्टिकाणले पर्याप्त मात्रामा सीसी क्यामेरा, सडक बत्ती जडान र संरक्षणमा जोड दिन भनिएको छ ।  पोखराको सबै क्षेत्र समेट्ने गरी रिंगरोड ९चक्रपथ० को डीपीआर तयार गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयारी पछिको साँघुरा बाटोहरू समयमै बृहत् अध्ययन गरी संरचना निर्माणमा जोड दिँदै पुरानो बसपार्क यथासक्य छिटोछरितो सम्पन्न गरी व्यवस्थित गर्नुपर्छ ।     राष्ट्र बैंक चोकमा रहेको पर्यटन बसपार्क सञ्चालनार्थ महानगरले समिति गठन गरी त्यसको संरक्षण र सम्बर्धन व्यवस्थापनको जिम्माका लागि पोखरा पर्यटन परिषदलाई पनि राख्नुपर्ने ।    महानगरपालिकाले पर्यटनसम्बन्धी कार्यक्रमका लागि शीर्षक तोकी बजेट विनियोजन गर्नुपर्ने परिषदको माग छ । अव्यवस्थित अनुमति बिना सञ्चालनमा रहेका व्यवसायहरूलाई अनुगमन गरी दर्ताको दायरामा ल्याई दर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने विषयलाई पनि परिषदले सुझावमा समेटेको छ ।    यससँगै अव्यवस्थित टेलिफोन, केवल, टिभी, इन्टरनेट साथै विद्युतका तारहरूलाई अन्डर ग्राउड गरी व्यवस्थापन गर्नुपर्ने, पोखरामा यसअघि पहिचान गरिएका प्रमुख गन्तव्यहरूको संरक्षण, सम्बर्धन, प्रवर्धन गर्दै दिगो रुपमा विकासका कार्यक्रम ल्याउने साथै यहाको  प्रमुख पर्यटकीय आवास क्षेत्रमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन पुनरुत्थानका कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ ।   पोखरा र लेकसाइडस्थित पार्कहरू, खाली जग्गा उचित संरक्षण, सौन्दर्यकरण र सम्बर्धन गरी पर्यटन मैत्री वातावरण बनाउनका लागि धुवा फाल्ने सवारी साधनहरूको चेकजाँच गरी प्रदूषित भएमा महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रोक लगाउनुपर्ने साथै राजमार्ग र सडक छेउछाउमा रहेका अटो सर्भिस÷वर्कसपहरूलाई अन्य ठाउँमा स्थानान्तरण गरी व्यवस्थित गर्नुपर्ने ।     पोखरा महानगरपालिका भित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य स्थलहरूलाई सम्बर्धन र संरक्षण गर्दै कल्चर भिलेज ९सांस्कृतिक गाउँ० जहाँ पर्यटकले अवलोकन गरी विभिन्न जातजातिको संस्कृति अध्ययन गर्ने स्थलको रुपमा विकास गर्ने विषयलाई समेटन आग्रह गरिएको छ ।  अन्तर्राष्ट्रिय विमानस्थल निार्माणसँगै तत्काल आवश्यक देखिएकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि कुनै स्थान तोकी बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्नका लागि पनि ध्यानाकर्षण गराउँदै र व्यवसायहरू दर्ता गर्नको लागि अति आवश्यक कम्पनी रजिष्ट्रार्डको कार्यालय गण्डकी प्रदेशमा ल्याउन  प्रदेश सरकारसँग आवश्यक पहल गर्नका लागि भनिएको छ ।                                      यसैबीच अध्यक्ष भट्टराईले पोखरा क्षेत्रको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले पनि रणनीतिक योजनाहरू तय गरेको विषयलाई पनि कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरे ।    पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आफूले महानगर प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय प्राथमिकतमा रहेको  जनाउँदै पोखराको पर्यटन विकासका लागि अहिलेसम्म भएका अध्ययन प्रतिवेदन र सुझावहरूको अध्ययन गरेर समग्र पोखराको विकासका निजी क्षेत्रसँग हातेमालो गरेर आफू अघि बढ्ने बताए । 

गण्डकी प्रदेश सभाका सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पितृ शोक परेको छ । उहाँका पिता रामराज पहारीको ७६ वर्षको उमेरमा निधन भएको हो ।     पर्यटन व्यवसायमा लामो समयदेखि आबद्ध रहेका पहारी राजनीति र समाजसेवामा सकृय थिए । केहीअघि हृदयघात भएपछि विरामी परेका पहारीको अस्पतालले डिस्चार्ज गरेपछि घरमै उपचार भैरहेको थियो ।   उहाँको पोखराको लेकसाइडस्थित आफ्नै निबासमा आइतबार विहान निधन भएको हो ।   स्वर्गीय पहारीका २ श्रीमती, ३ छोरा र १ छोरी छन् । उनको पार्थिव शरिरलाई शान्तिघाटमा दाहसंस्कार गरिनेछ ।  

  पोखरा :     गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा संचालित १२ दिने कपडाको चप्पल बनाउने तालिम समापन भएको छ  ।   प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्ष देखी सिप परीक्षण नहुने चप्पल बनाउने, बाजा बजाउने लगाएतका तालिमहरु समेत संचालन गरेको हो  ।   पोखरा ५, बुलौदी बहुउद्धेश्यीय भवनमा भएको समापन कार्यक्रमको अध्यक्षता गण्डकी बहुप्राविधिक प्राबिधिक शिक्षालयका निर्देशक श्री लक्ष्मण तिमिल्सिनाले गरेका थिए  । भने कार्यक्रमको बिशेष आमन्त्रित व्यक्तित्व पोखरा महानगर पालिका वडा न ५, का नव( निर्वाचित वडा अध्यक्ष श्री बिष्णु बरालले सहभागीहरु लाई प्रमाणपत्र वितरण गर्दै सिपलाई स्वरोजगार संग जोड्न अनुरोध गर्दै वडा कार्यालयले रचनात्मक कार्यका लागि आवश्यक सहयोग गर्ने बताएका थिए ।    २०७९ ०२ २३ गते देखि सुरु गरिएको तालिममा २० जना सहभागी रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य स्वागत टोल आमा समुहका अध्यक्ष श्रीमति मधु थापाले गर्नुभएको थियो भने तालिम प्रशिक्षण प्रशिक्षक धनमाया श्रेष्ठले गर्नु भएको थियो ।    मापन कार्यक्रमको उद्घोषण श्री सन्तोष शर्माले गर्नु भएको थियो ।   

पोखरा :       पशु चिकित्सा र स्वास्थ्यका क्षेत्रमा भएका अनुसन्धान तथा खोजको प्रस्तुति  र नेपालको भेटेरिनरी क्षेत्रका विषयमा छलफलका लागि पोखरामा शुक्रबारदेखि १४ औँ संस्करणको राष्ट्रिय भेटेरिनरी सम्मेलन सुरु भएको छ ।    नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको सम्मेलनको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो । सम्मेलनमा पशु चिकित्सा र स्वास्थ्य, पशुपन्छी तथा मत्स्य उत्पादन र व्यवस्थापन, जलवायु परिर्वतन र पशुपालन क्षेत्रको आर्थिक तथा सामाजिक प्रभावमा छलफल हुनेछ ।     पशुपन्छी तथा मत्स्यपालनमा नीतिगत पैरवीलगायतका क्षेत्रहरुमा भएका अनुसन्धान तथा खोजको प्रस्तुति तथा छलफलका लागि सम्मेलनको आयोजना गरिएको नेपाल भेटेरिनरी एशोसिएशनका केन्द्रीय अध्यक्ष डा शीतलकाजी श्रेष्ठले बताउनुभयो ।     पशु चिकित्सा र स्वास्थ्यका क्षेत्रमा भेटेरियनको योगदानका कारण दूध, मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएको उहाँले बताउनुभयो । श्रेष्ठले हालै नेपाल सरकारले देशका विभिन्न ३०० स्थानीय तहमा पशु चिकित्सक भर्ना गरेर कृषकलाई भेटेरिनरी सेवा पु¥याउने निर्णय गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।      नेपाल सरकारले पशुपन्छीसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । सन् २०३० सम्ममा रेबिजका साथै खोरेत, पिपिआरलगायत रोग उन्मूलन गर्ने सरकारको प्रतिबद्धता छ । सम्मेलनमा यी प्रतिबद्धताको कार्यान्वयन अवस्थाको समीक्षा र सुधार गर्नुपर्ने विषयमा समेत छलफल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।      सम्मेलनमा ६९ वटा वैज्ञानिक कार्यपत्रहरुमा विशेष छलफल हुनेछ । सम्मेलनमा पशु विज्ञान र मत्स्य क्षेत्रमा क्रियाशील वैज्ञानिक, पशुचिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता र उद्यमी कृषक गरी ४०० को सहभागिता रहेको छ । असार ४ गतेसम्म सञ्चालन हुने सम्मेलनमा भारत, श्रीलङ्का, बङ्गलादेशलगायत सार्क राष्ट्रका भेटेरिनरी एशोसिएशनका प्रतिनिधिसमेत सहभागी छन् । सम्मेलनले नेपाल र नेपालको भेटेरिनरी क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सहयोग पुग्ने विश्वास आयोजकको छ ।

स्याङ्जा :     रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् ।      लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपोमार्फत सोमबारदेखि रासायनिक मल (डिएपी) वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की कृषक रन्नता बगालेले बताउनुभयो ।      “रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागेको थियो”, उहाँले भन्नुभयो, “सोमबारबाट मल पाइन्छ भन्ने सुनेकी छु, अब रोपाइँ गर्ने बेला भयो ।” धान रोपाइँ गर्ने तयारीमा रहनुभएका स्याङ्जाका कृषकलाई लक्षित गरी भैरहवामा करिब ९०० बोरा डिएपी आइसकेकोमा आइतबारसम्ममा उक्त मल वालिङ आइपुग्ने कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिनुभयो । डिपोले यहाँ आएको मल सूचिकृत भएका डिलरहरुलाई उपलब्ध गराउने छ । वालिङमा रहेको डिपोमा हालसम्म पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठवटा सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोहीमार्फत कृषकलाई मल उपलब्ध गराइने उहाँले बताउनुभयो ।      कृषक तथा डिलरबाट आएको मागको आधारमा र यसअघि खरिद बिक्री भएको अनुपातलगायतका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ । “धानका लागि करिब करिब पुग्ने गरी मल आएको छ”, उहाँले भन्नुभयो, “केही मात्रामा नपुगेको खण्डमा केही दिनमै युरियासहितको अन्य मल पनि आउने भएकाले आफूलाई चाहिनेभन्दा बढी भण्डारण नगर्न पनि कृषकलाई आग्रह गर्दछु ।” स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो र पुतलीबजारमा रहेको कृषि सामग्री केन्द्रमार्फत डिलरलाई रासायनिक मल वितरण हुँदै आएको छ ।

पोखराः गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट घोषणा गरेको छ ।    चालु बजेटको तुलनामा यसपटक ६ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको हो । प्रदेश सभामा अर्थमन्त्री रामजी बरालले बजेट भाषण गरिरहेका छन् । 

पोखरा महानगरपालिकामा दलीय गठबन्धनका उम्मेदवार भई विजय हात पारेका मेयर धनराज आचार्यलाई  अटेरी अभियानले आज चुनावी वाचा सम्झाएका छन् ।    निर्वाचनमा प्रतिद्वन्द्वी रहेको अटेरीले चुनावी वाचालाई बुँदागतरुपमै पेश गर्दै निर्धारित समयमै पुरा गर्न शुभकामनासमेत दिए । ‘यो सुझावमूलक मायाको चिनो हो’ अटेरीले भनेको छ ।     मेयर आचार्यले चुनावताका १ वर्षभित्र पुरा गर्ने कामलाई पौडेलले फेहरिस्त उतारेर दिएका हुन् । जसअनुसार पहिलो वाचा पुरा गर्ने डेटलाइन भदौ १२ गते हो । आचार्यले पदबहालीको १ महिनाभित्र महानगरमा ‘मुभलेस सेवा’ सुरु गर्ने बताएका थिए ।    यस सेवाअन्तरगत सेवाग्राहीलाई कोठा चाहर्न नपर्ने भन्दै एकद्वार प्रणालीबाट सेवा दिने उल्लेख छ । अटेरी अभियान आगामी प्रदेश र संघको निर्वाचन तयारीमा समेत जुटेको छ ।