पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पाेखरा:  पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ ।   हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८/१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो ।   उहाँका अनुसार वर्षायाम सुरु हुन लागेको र बाटोहरुमा समस्या हुने, बेसिजन समय भएकाले पर्यटक घट्न थालेको हो । विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक यस अन्नपूर्ण पदमार्ग मानिन्छ । यहाँ विगतमा ५००÷६०० भन्दा बढी दैनिक पर्यटक आउने गरेको थियो ।   यही पर्यटकका कारण पर्यटन व्यवसायमा रमाउँदै आम्दानी गरेका पर्यटन व्यवसायी भने पर्यटक घट्न थालेसँगै आम्दानीमा कमी हुँदा चिन्तित हुन थालेका छन् ।   कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै विस्तारै चहलपहल हुन थालेको पनि पुनः कोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको थियो । सोपश्चात् उक्त जोखिम कम भएपछि बढ्दै गरेको पर्यटक केही हप्ताबाट घट्दै यतिबेला न्यून आउँदा पर्यटन व्यवसायी थप मर्कामा परेको उनीहरुको गुनासो छ ।   अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगतका पच्चबहादुर गुरुङले भन्नुभयो, “पर्यटकको चाप हुँदा दैनिक रु ५०/६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्यजस्तै भएको छ । घर खर्चदेखि अन्य खर्चमा पनि यस व्यवसायबाट आम्दानी रकमबाट उपयोग गर्दै आएपनि पर्यटक नआउँदा पैसाको मुख देख्न पनि रहरजस्तै हुन थालेकोले चिन्ता बढेको उहाँको भनाइ छ ।   अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङले पनि केही हप्ताअघिसम्म दैनिक रु ४०/५० हजार आम्दानी गर्नुभएको थियो तर यतिबेला यस पदमार्गमा पर्यटक ह्वात्तै घट्दा रु चार÷पाँच हजार पनि दिनमा हुन छाडेको उहाँले भन्नुभयो । उहाँहरुको मात्र होइन उहाँहरु जस्ता यस पदमार्ग आसपासका करिब तीन हजार ५०० भन्दा बढी पर्यटन व्यवसायीको समस्या पनि उस्तै छ । कोरोनाले थला पारेरमाथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, बर्खायाम सुरु हुन लागेसँगै पर्यटक घट्दा अझै केही महिनासम्म पदमार्ग सुनसान हुने देखिन्छ ।   यस पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक आउने गरेको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब बर्खायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् । यस पदमार्गमा सन् २०२२ को हालसम्म चार हजार ९०० हाराहारीमा पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक गुरुङले बताउनुभयो ।   पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारमा रहेको छ ।   अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन् ।

पोखरा: नेपाली मौलिक परिकार ८४ व्यञ्जनले राजधानीमा आयोजना गरेको हिमालयन हस्पिटालिटी अवार्ड २०२२ मा सेभेन स्टार फुड एण्ड मार्ट प्रालि तथा सेभेन स्टार रेष्टुरेन्ट एण्ड बार, पोखराका सञ्चालक तथा सेफ उमेश भुवाई हिमालयन सेफ अवार्ड २०२२ विजेता भएका छन् ।   नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रवद्र्वन गर्ने उद्देश्यले देशभरका सेफहरुबीच आयोजित प्रतियोगितामा प्रथम भएवापत सेफ भुवाईलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नगद १० हजार रुपियाँसहित अवार्ड प्रदान गरेका छन्।   प्रतियोगितामा सेफ पूर्ण, सुवास थापा, उमेश तामाङ र सुजन आले मगर क्रमशः द्धितीय, तृतिय, चतुर्थ र पञ्चम भए । बुढानिलकण्ठस्थ्ति होटल अमुप्रस्थमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले ८४ व्यञ्जन नेपालको मुख्य खाना भएको चर्चा गर्दै यससँग देशको पहिचान, संस्कृति र देशको गौरव जोडिने बताए । ‘   'परम्परागत रुपमा राजाका सेना, त्यसका कमाण्डर र युद्धमा होमिने योद्धाले ८४ व्यञ्जन भोजन लिने गर्दथे,  त्यसताका ८४ व्यञ्जनको परिकार बनाउने कला तत्कालिन राज्यले गोप्य राख्ने गर्दथ्यो । किनकी विरोधीहरुले त्यो ८४ व्यञ्जनको खाना खायो भने विरोधी सेना तगडा हुन्छ र आप्mनो सेना हार्ने सम्भावना हुन्छ भन्ने हुन्थ्यो । त्यसैले ८४ व्यञ्जनको सुत्र बाहिर ल्याईएको थिएन । विस्तारै ८४ व्यञ्जन शोखको रुपमा विकसित भएर आएको देखिन्छ’ उपराष्ट्रपति पूनले भने ।   त्यसैगरी कार्यक्रम आयोजक संस्था नेपाली ८४ व्यञ्जन प्रालिका अध्यक्ष सेफ प्रेमलाल घिसिङले ८४ व्यञ्जनको विश्वव्यापी प्रबद्र्धनमार्फत नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा ८४ व्यञ्जन परिकारको प्रदर्शन गरिएको थियो ।   राजधानीमा आयोजित प्रतियोगितामा प्रथम स्थान हात पारेको अवसरमा आज सेभेन स्टार फुडमार्ट परिवारले पोखरामा भुवाईलाई सम्मान समेत गरेको छ । 

पोखराः छिमेकी देश भारतका घुमन्तेलाई पोखरा आउन निम्तो दिँदै यहाँबाट निस्केको टोली ‘डुलुवा’ भारतको उत्तरी प्रान्त जम्मु–काश्मिर पुगेको छ । टोलीले त्यहाँका स्थानीय र टूर्स एण्ड ट्राभल एजेण्टलाई पोखराको आकर्षण र प्रकृतिबारे जानकारी दिन प्रेसमिटको समेत आयोजना गरेका छन् ।    टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्तरक्रिया पनि गर्दै अगाडी बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले आफुहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताए ।    टोलीले उनीहरुलाई पोखरामा रहका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यवसायीक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन् हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं–उनले भनेका छन्।   गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिए ।    १९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले, लद्दाख हुँदै मनाली पुग्ने छ । मनालीमा त्यहाँका व्यवसायीसंग अन्तरक्रियासंगै प्याराग्लाइडिङ्गको कार्यक्रम पनि हुने भट्टराईको भनाई छ ।

पोखरा:  पोखरामा ढल र नाला सफाई अभियान सुरु भएको छ । शुक्रबार बिहान पोखराको पृथ्वीचोकबाट सेती तर्फ लगिएको नाला सफा गरेर यो अभियानको सुरुवात गरिएको हो ।   महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बलाराम रिज्याल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, महानगरका विभिन्न वडाका अध्यक्ष एवं जनप्रतिनिधिहरुको सहभागीतामा सफाई अभियानमा सहभागिता थियोे ।   अभियानको आरम्भ गर्दै महानगरका मेयर आचार्यले सरसफाईको काम महानगरको आफ्नै नियमित काम भएपनि यसपाली सडक किनाराका नाला र ढलहरु सबै भित्रै पसेर सफा गर्न सुरु गरिएको जानकारी दिए । ‘सरसफाई महानगरको नियमित काम हो । यसपाली अबको तीन दिन पोखराको टुंडिखेल देखि बिरौटा हुँदै छोरेपानका साथै सबै नाला र ढल बग्ने स्थलमा भित्रै पसेर सफाई गर्दैछौं’ उनले भने ।    मेयर आचार्यले पोखराको पुरानो ढल निकासले थेग्ने अवस्था नरहेपनि अहिले वर्षादको सुरुवातमा सफा गर्दा केही सहज हुने अपेक्षा राखे । आगामी दिनमा थेग्ने खालको र व्यवस्थित ढल निकास गर्न महानगर लाग्ने उनले प्रतिवचता जाहेर गरे । पोखरामा फोहोरमैलाको दिगो रुपमा व्यवस्थापनका लागि नयाँ ल्याण्डफिलसाईड ३३ नम्बर वडामा बनाउने विहीबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी उनले दिए । उनले उक्त ल्याण्डफिलसाइडका लागि तत्काल काम थाल्ने प्रतिवद्धता समेत जनाएका छन् ।    महानगरको अभियानमा स्थानीयवासी, स्थानीय प्रशासन, प्रहरीसहित टोलविकास संस्था र अन्य सामाजिक संघसंस्थाहरुले समेत साथ दिने उनले बताए । ‘हाम्रो अभियान साच्चै सुन्दर, सफा र हरियाली पोखरा सहर, त्यो पोखरा जस्तै बनाउने हो । गफले नभई व्यवहारमै त्यसलाई परिणत गर्नेगरी हामी कामको सुरुवात गर्दै छौं । यसमा सबै टोलवासी आफै सक्रिय हुने वातावरण हामी बनाउँछौं । महानगरको वातावरण तथा सरसफाई शाखाले यस विषयमा सहकार्य र हातेमालो गर्छ । अब फोहोर स्रोत मै बर्गिकरण गरेर व्यवस्थापन गर्ने तर्फ हामी अगाडि बढ्नुपर्छ भनेर हामी लागेका छौं । यो सुरुवात हो । यसमा हामी सबैसंग हातेमालो गछौं’ उनले भने ।    उपमेयर मञ्जुदेवी गुरुङले हाम्रो पोखरालाई सफा र सुन्दर राख्न महानगरले चाल्ने हरेक अभियानमा सबै सहभागी बन्नुपर्ने बताइन् । उनले आफ्नो सहर सफा र सुन्दर राख्न नागरिक पनि आफै खटिने र महानगरलाई पनि रचनात्मक सुझाव दिँदै सहभागी हुनुपर्ने बताइन् ।    पोखरा महानगरपालिका सरसफाई शाखाका प्रमुख कल्पना बरालका अनुसार शुक्रबार १६ टन भन्दा बढी फोहोर संकलन भएको छ । नाला भित्रको सफाई सडक विभागले गर्नेछ भने त्यसको व्यवस्थापन महानगरले गर्ने उनले जानकारी दिइन् । 

पाेखराः पर्यटकीय सहर भनेर धाक लगाउने पोखरालाई गिज्याइरहने विषय हो बसपार्क । ०३२ सालबाट सुरु भएको बसपार्क न त पूर्णरुपमा निर्माण नै हुनसक्यो न त सरोकारवाला निकायले ठोस योजना नै बनाउनसक्यो । यसबीचमा बसपार्कको मुद्धाले चुनावमा र नयाँ सरकारको गठनपछि चर्चा चलाइरहे पनि यसले चर्चेको क्षेत्रफलमा कमी आउन भने छाडेन ।    सुरुवाति दिनमा २ सय ५ रोपनी क्षेत्रफल रहेको बसपार्क अहिले करिब ८० रोपनीमा सिमित भएको छ । अझ त्यसमा पनि अव्यवस्थित सुकुम्बासी बस्ती रहेकाले अनुमानित ४० रोपनिमामात्रै बसपार्क रहेको तथ्यांक छ ।    यसैबीच प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्का र हालै निर्वाचित महानगरका मेयर धनराज आचार्यले बसपार्क निर्माणलाई अघि बढाउने योजना अनुरुप आज संयुक्तरुपमा नाला निर्माणको शिलान्यास गरेका छन् ।    उक्त कामकालागि प्रदेश सरकारले पहिलो चरणमा ७५ लाख रुपैयाँ छुट्याएका छन् । न्यून बजेटबाट नाला निर्माणको काम थालिएपनि ०८१ सालसम्म आधुनिक बसपार्क निर्माणको काम सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।    अब आगामी बजेटमा बसपार्कलाई प्राथमिकता दिई रकम छुट्याइने प्रदेशले जनाएको छ । प्रत्येक चुनावमा ‘भोट बैंक’ र ‘आश्वासन’को पोका फुकाउने बसपार्क क्षेत्रमा सुकुम्बासीहरुको व्यवस्थापन मुख्य समस्या हो ।  यसलाई समाधान गर्न सर्वदलीय बैठक बसी राजनीतिक निर्णय गर्ने मन्त्री खड्काले बताएका छन् ।    बसपार्क क्षेत्रमा हाल ५ सयकाको हाराहारीमा घरधुरी रहेका छन् । ०३३ सालमा हालको विमानस्थलमा बसोबास गरेका परिवारलाई समेत बसपार्क क्षेत्रमा ल्याएर राखिएको छ । उनीहरुलाई जमिन उपलब्ध गराउने वा मुआब्जा दिने भन्ने विषयमा हालसम्म भएको छलफलले टुंगो लगाउन सकेको छैन ।  हालको नाला र ढल निर्मापणलाई प्रदेशले अल्पकालीन योजनामा समेटेको छ भने दीर्घकालीन योजनाअनुरुप ३ वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य राखेको छ । यद्यपि, केही सुकुम्बासीहरुले अहिले थालेको कामलाई पपुलर हुने ‘फन्डा’कोरुपमा लिएका छन् ।  ०३३ पछि बसपार्कमा जबर्जस्ती सारिएका परिवारमध्येका एक शान्ति केसी भन्छिन् ‘मेरो हजुरबुवा, हजुरआमा र बुवा यही बित्नुभयो यसबीचमा भाषण धेरै सुनियो तर काम भएन ।’ तर ढिलै भएपनि काम सुरु हुने सुनेपछि केही खुशी लागेको उनको प्रतिक्रिया छ ।    त्यस्तै, स्थानीयवासी खिमलाल बाँस्तोलाले ‘पोखरा बसपार्कले समग्र पोखराको बेइज्जत गरेको छ’ भन्दै ‘नाला निर्माणमात्र हैन अतिक्रमित जग्गासमेत अधिग्रहण गरेर नयाँ बसपार्क निर्माण गर्नुपर्छ’ भन्ने सुझाव दिएका छन् ।    हाल भइरहेको बसपार्कलाई पूर्णता दिनुको सट्टा प्रदेश सरकारले लामेआहालमा नयाँ प्रादेशिक बसपार्क निर्माण गर्ने योजना अघि सारेको प्रति कतिपयले असन्तुष्टी व्यक्त गरेका छन् । विद्यमान अवस्थामा रहेको र उपयुक्तस्थलसमेत भएको पृथ्वीचोकस्थित बसपार्कलाई अलपत्र पारेर नयाँ योजनालाई अघि बढाउनुलाई उनीहरुले अस्वभाविक मानेका छन् ।    स्मरणीय छ, प्रदेश सरकारले लामेआहालमा बसपार्क बनाउन १ सय २० रोपनी जमिन र १ अर्ब ४२ करोड रुपैयाँको स्टिमेट तयार पारेको छ ।   

पोखरा: पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले अत्यावश्यकबाहेकका कुनैपनि कार्यक्रममा नबोलाइदिन सर्वसाधारणसमक्ष अपील गरेका छन् ।    पदभारपछि अब काम गर्नुपर्ने बेला भएको भन्दै मेयर आचार्यले उद्घाटन, सभा, सेमिनारलगायतका कार्यक्रममा नबोलाउन आग्रह गरेका हुन् । ‘तपाइहरुको अमूल्य मतको कदर गर्दछु’ आचार्यले भनेका छन् ‘अब काम गर्न दिनुहोस् ।’    उनले नगरवासीसमक्ष अब योजना तथा कार्यक्रममा जुट्ने समय भएको भन्दै अनावश्यक काममा नअल्झाउन र सुझाव दिनसमेत अनुरोध गरेका छन् । 

पाेखराः वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत रहनुभएका आचार्यले भौगोलिक रुपमा देशकै ठूलो महानगरको नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएको छ ।   राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका आचार्यको काँधमा अब पाँच वर्ष गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको नेतृत्व रहनेछ । निर्वाचित भएपछिका उहाँका कार्ययोजनालगायतमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिले गरेको कुराकानी....   –​ पोखरा महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बन्नुभएकोमा यहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ, यहाँका प्रमुख योजना र प्राथमिकता के के छन् ? सर्वप्रथमत: राससलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो देशभर मुख्य समाचारको स्रोतका रुपमा रहेको छ । पोखरा महानगरपालिका नेपालको सबैभन्दा ठूलो महानगरपालिका हो । यसको प्रमुखका हिसाबले पाँच वर्षका लागि निर्वाचित भएर आइरहँदा यो स्थानीय निकाय होइन, स्थानीय तह हो । स्थानीय सरकार हो भन्ने कुरा हामीले मनन गर्नुपर्छ ।   कतिपय ठाउँमा हामी स्थानीय निकाय हौँ की भन्ने सोच हामीमा महानगरपालिकाको पूरा प्रणालीसँगै समाजले पनि त्यो बुझिराखेको देखिएको छ । यो त्यस्तो नभई आफैँमा एउटा स्वायत्त सरकार हो जसले आफूलाई चाहिने सबै कुरा व्यवस्थापन गर्न सक्छ र सहयोग सबैको लिन्छ भन्ने कुरा बुझेर अघि बढ्नुपर्दछ । महानगरपालिका सरकार हुने बित्तिकै यसले सर्वसाधारणको दैनिकी, सेवाग्राहीलाई महानगरपालिकाले दिने सेवालाई कसरी चुस्तदुरुस्त बनाउन सक्छौँ, झन्झटरहित बनाउन सक्छौँ, यसलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।   एक महिनाभित्रमा हामी कार्यालय व्यवस्थापनदेखि लिएर फ्रन्ट डेस्कबाटै सबै कुरा हुने, धेरै झन्झट बेहोर्नु नपर्ने, कार्यालयभित्र फाइल बोकेर हिँड्नु नपर्ने खालको व्यवस्थापन हामी गर्दैछौँ । कुन काम कति समयभित्र हुन्छ भन्ने कुराको हामी स्पष्ट रुपमा सबै सेवाग्राहीलाई जानकारी दिने गरी कार्यालय व्यवस्थापन गर्छौँ । चुस्त दुरुस्त कार्यालय होस् भन्ने कुरालाई हामीले ध्यान दिएका छौँ ।   – पोखरा गण्डकी प्रदेशको सदरमुकाम मात्र नभइ देशकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो, यहाँको पर्यटकीय विकासका लागि के कदम चाल्ने योजनामा हुनुहुन्छ ?   हामीले पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि जस्ता कुरालाई मुख्य प्राथमिकतामा राखेका छौँ । पहिलो प्राथमिकतामा पर्यटन नै हो । पोखरा आफैंमा पर्यटकीय सहर हो । हामीले यहाँ गर्ने सबै गतिविधि पर्यटनलाई प्रवद्र्धन गर्ने खालको हुनुपर्दछ । त्यसका लागि नेपाल सरकारले पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गरोस् भन्ने मैले पहिलो निर्णय गरेको छु । त्योसँगै औषत रुपमा दुई दिन/रात पोखरा बस्ने अहिलेसम्मको अवस्था रहेछ ।   त्यसलाई हामीले अबको पाँच वर्षभित्रमा कसरी पाँच दिन/रातसम्म पोखरा बस्ने बनाउन सक्छौँ भन्ने कुरालाई पर्यटन क्षेत्रका साथीसँग बसेर एउटा योजना बनाउँछौँ । त्यसका लागि पर्यटकीय गन्तव्य थपिनुपर्‍यो । अहिले भइरहेको चिजले त दुई दिन भन्दा हामीलाई रोक्न सक्दो रहेनछ । त्योभन्दा बढी बस्नका लागि हामीले फेवातालको ड्याम साइडदेखि तालको माथिको भागसम्म छ महिनाभित्र सम्भाव्यता अध्ययन गरेर पारी हर्बल गार्डेनभित्रको ट्रयाक सुरु नै गर्ने गरी सोच बनाएका छाँंै । त्यसले एक दिनको बसाइँ थप्दछ ।   हामीले सातवटै तालबीचको कनेक्सनको कुरा गरेका छौँ । बेगनासतालाई स्पोर्टस् टुरिजममा लाने किसिमको कुरा गरेका छौँ । तालले दिनसक्ने सभावित कुरा जे हुनसक्छ फेवाताल, बेगनास ताल, रुपा ताल अरु पनि ताल तथा पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा हामी पुर्‍याउँछौँ । त्यसलाई ब्राण्डिङ गर्छौँ । शाहसिक पर्यटन पोखराको अर्को कुरा हो । नयाँ विमानस्थल आइसकेपछि सराङकोटबाट उड्ने प्याराग्लाइडिङ त्यसलाई कसरी व्यवस्थापन गर्ने सम्बन्धमा क्यानसँग नजिक बसेर छलफल गरिरहेका छाैँ ।   विमानस्थल सञ्चालन भइसकेपछि दिउँसोको अफ आवरमा सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेका छौँ । त्यसबाहेक खेल पर्यटनका कुरा, पर्यटनसँग जोडिएका अन्य गतिविधिलाई लिएर पोखराको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सोचेका छौँ । हस्पिटालिटीलाई हामीले प्राथमिकतामा राखेका छौँ, हस्पिटालिटी स्कुल पनि बनाउँछौँ । होटेल रेष्टुरेन्टमा काम गरेका मानिस मात्र नभइ पोखरेली सबै हस्पिटालिटीको न्यूनतम कुरा जानेको हुनुपर्छ ।   कसरी पाहुनाको स्वागत गर्ने यो कुरामा घर–घरसम्म कुरा पुर्‍याउन टेलिभिजनमा कक्षा चलाउँछौँ । एक ठाउँबाट लाइभ गरेर हरेक ठाउँका दिदीबहिनीले घर–घरमा बसेर दाजुभाइहरूले के हो हस्पिटालिटी, हाम्रो दायित्व के हो भन्ने कुरा हामी कमसेकम भन्न सकौँ भन्ने खालको कुरालाई अलि फरक ढङ्गले जान्छौँ । पर्यटन पोखराको मुख्य कुरा हो । यसलाई कसरी सहयोग गर्न सकिन्छ, हाम्रा पाहुना आउँदा उहाँहरूलाई कुनै किसिमको हेपाइ नहोस् ।   विमानस्थलदेखि नै तानेर लैजाने, लेकसाइमा हिँड्दा मकहाँ आउनु भनेर झिनाझपटी गर्ने जस्ता कुरा नहोस् । पर्यटनसँगै हस्पिटालिटीलाई सँगै जोडेर लैजान्छौँ । यसलाई धेरै खर्च गर्नु पनि पर्दैन । लेकसाइडलाई कसरी सौन्दर्यीकरण गर्ने, त्यसको यातायातको व्यवस्था कसरी गर्ने सम्बन्धमा पनि योजना बनाउँछौँ । विसं २०२३ को जनवरीसम्म पुग्दासम्म पोखराले अलिकति कोल्टो फेरिसकेको हुने गरी योजनाका साथ लाग्छौं । पर्यटनमा हामी मुख्य रुपमा केन्द्रित छौँ ।   – निर्माण सम्पन्न भएर पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा आउन सक्ने अवस्था देखिएको छैन, यसको सञ्चालनका लागि के सोच्नुभएको छ ? विमानस्थल सञ्चालनमा ल्याउन सबैभन्दा पहिले ल्यान्डफिड साइडको व्यवस्थापन गर्नुपर्छ । फोहोर व्यवस्थापनलाई अहिले जे छ त्यसलाई क्रियाशील रुपमा तीन महिनासम्म गछौँ । तीन महिनापछि फोहरलाई मोहोरमा परिणत गर्ने गरी अघि बढाउँछौँ । ल्याण्डफिड साइडको व्यवस्थापन भएन भने एयरपोर्ट चल्दैन भन्ने कुरामा हामी सचेत छौँ ।   – महानगरमा शिक्षा, स्वास्थ्य जस्ता विषयलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?   हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयलाई धेरै प्राथमितामा राखेका छौँ । माध्यमिक तहसम्मको शिक्षा सर्वसुलभ र नि:शुल्क हुनुपर्छ भन्ने नेपाल सरकारको योजना छ । पोखराको शिक्षाका सन्दर्भमा यसभन्दा अघिको शिक्षा समितिले पनि एउटा प्रतिवेदन बुझाएको छ । त्यसलाई कार्यान्वयन गर्ने चरणमा हामी छौँ । नागरिकको पहिलो रोजाइँ सरकारी विद्यालय हुने गरी पाँच वर्षसम्म त्यो ठाउँमा पुर्‍याउने हाम्रो योजना छ ।   जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर घरघरमा, टोलटोलमा नै प्राथमिक स्वास्थ्य प्राप्त हुने ढङ्गले हामी व्यवस्थापन गर्दछौँ । सबै वडामा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य केन्द्र बनाउने भनेका छौँ त्यसमा हामीसँग कति दरबन्दी छ, अन्य संस्थासँग पनि हातेमालो गर्दै काम गर्ने कुरामा हामी सचेत छौँ । – महानगरमा भइरहेका सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाहीका गुनासा पनि सुन्ने गरिएको छ, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनका लागि के तयारी गर्नुभएको छ ? हामी फ्रन्ट डेस्कबाटै पहिलो फाइल आइसकेपछि काम सबै सम्पन्न गरेर यति बजे फलानो ढोकाबाट लिनोस् भन्ने खालकोसम्म पुर्‍याउने गरी कामलाई व्यवस्थापन गर्दैछौं । कर्मचारीको व्यवस्था पनि त्यही रुपमा गर्नेछौँ । जुनजुन महाशाखाबाट काम हुनुपर्ने हो त्यहाँबाट हुने गरी फाइल अघि बढेपछि कोठा कोठा चाहार्नु नपर्ने गरी व्यवस्थापन गछौँ । एक महिनाभित्रमा नै यहाँको सुशासनको प्रत्याभूति हुनेछ ।   – महानगरको सौन्दर्यीकरणसँगै यातायात व्यवस्थापनमा कस्तो योजना बनाउनुभएको छ ? यातायात र ट्राफिक व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन योजना बनाउँछौँ । दीर्घकालीन रुपमा पोखरा टर्मीनल बसपार्क लामेआहालमा बनाउने योजना छ । यो ठूलो बजेटको कुरा हो । हामीले केही विदेशी प्रोजेक्टसँग पनि यसबारेमा कुराकानी गरेका छौं । हिजोमात्रै कोइकासँग मेरो कुराकानी भयो । आज प्रदेश सरकारसँग भौतिक योजना मन्त्रालयसँग मेरो बैठक छ ।   ठूलो बसपार्क र अटो भिलेजका सम्बन्धमा विदेशी दातृ निकायसँग मिलेर यसलाई अघि बढाउँदैछौँ । पोखराको पुरानो बसपार्कलाई सिटी बसपार्क बनाउँछौं । पोखराको स्थानीय यातायातलाई व्यवस्थापन गर्न सक्दाको अवस्थामा यसले ठूलो सन्देश दिन्छ । कहाँबाट कुन बस कतिखेर कहाँ पुग्नेसँगै सबै वडामा बेलुकासम्म बस चल्ने गरी व्यवस्थापन गछौँ । यातायात व्यवसायीसँग उचित खालको परामर्श गछौँ ।   अहिले भइरहेको बसलाई कहाँ चलाउने, सिटीभित्र अलि ठूला बस सञ्चालन गर्ने योजना छ । सिटीमा सुन्दर बस चलाएर त्यसलाई व्यवस्थित गछौँ । सार्वजनिक सवारी साधनका सहयोगी हेल्पर, कन्डक्टर, ड्राइभर ड्रेसमा रहने गरी राम्रोसँग हस्पिटालिटीयुक्त बनाउने सोच राखेका छौँ । हस्पिटालिटीमा यातायात क्षेत्रका कर्मचारीलाई पनि सहभागी बनाइने छ । पर्यटकीय सहरमा सार्वजनिक बसमा हिँड्ने पनि पर्यटक हुन् भन्ने प्रशिक्षण गछौँ ।   – गठबन्धनबाट पोखराको प्रमुखमा निर्वाचित हुनुभयो ? साझेदार दलहरुलाई कसरी विश्वासमा लिएर अघि बढ्नुहुन्छ ? हिजोसम्म पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख बनेको हो । अब निर्वाचित भइसकेपछि सम्पूर्ण पोखरेली नागरिक साझा प्रतिनिधि हुन् । कसैप्रति पनि काखापाखा नगरिकन सबैलाई साथमा लिएर हिँड्ने हो । संलग्नताको कुरा जो जहाँबाट निर्वाचित भएको हो त्योसँग पाँच वर्षसम्म नै रहन्छ ।   – चुनावी घोषणापत्रमा पोखरामा फेवा बेगनास कनेक्टिभिटीको योजना थियो । त्यसको कार्यान्वयन कसरी गर्नुहुन्छ ? लेखनाथ र पोखरालाई एउटै महानगरमा मिसाए पनि मन अझै मिलेको छैन । फेवा बेगनास कनेक्टिभिटमार्फत लेखनाथ र पोखराको मनलाई पनि मिलाउन खोजेको हो । हामी मिसिएर गल्ती गर्‍यौँकी भन्ने अहिले पनि लेखनाथवासीको मनमा छ त्यो कुरालाई पनि हामी दूर गर्न चाहन्छौँ । आगामी दिनमा कसरी सबै महानगरवासी हौँ भन्ने भावनाको विकास गर्ने सोचमा छौँ ।   दुईटा ठूला ताललाई जोड्न हामी ट्राम चलाउने भनेका छौँ । त्यो थोरै मानिस हुँदा पनि चल्ने कुरा हो । पाँच वर्षभित्र बनाउँछौँ ।   – निर्वाचित भएको छोटो समयमै पहिलो बजेट तथा कार्यक्रमको तयारीमा हुनुहुन्छ ? प्राथमिकता के हुनेछन् ? बजेटमा पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र यातायात पहिलो प्राथमिकतामा पर्नेछन् । हाम्रो जनजीविकालाई र ‘कष्ट अफ लिभिङ’लाई कसरी सस्तो बनाउन सकिन्छ त्यसमा हाम्रो ध्यान जान्छ । बाँच्नका लागि भान्छालाई कसरी सस्तो बनाउन सकिन्छ, त्यसमा हाम्रो विशेष ध्यान दिएर कार्यक्रम बनाउने छौँ ।   – विगतमा कतिपय विषयमा सङ्घ र प्रदेश सरकारसँग राम्रोसँग महानगरको समन्वय नभएको देखिने गरेको थियो, तपाईँको कार्यकालमा कस्तो रहने छ ? हामी सङ्घ, प्रदेश र नजिकका पालिका सबैसँग राम्रोसँग सहकार्य गछौँ । हिजोको केन्द्रको बजेटमा पोखरालाई के सम्बोधन गरेको छ, त्यसलाई एक एक गरेर हेर्छौ । प्रदेशको अब बजेट आउँछ, प्रदेशमा पनि लबिङ गछौँ । तीनवटै सरकारबीच एकापसमा कोअर्डिनेस र कोअपरेशन गरेर अघि बढ्छौँ ।   हामीमात्र होइन वरपरका नगरपालिका र गाउँपालिकासँग पनि हामी राम्रो सहकार्य गर्छौ । पोखरा बनाउने सन्दर्शमा सबैलाई सकारात्मक ढङ्गबाट सहयोग गर्न अनुरोध गर्न चाहन्छु । पोखरा हामी सबैको हामी छिट्टै सार्वजनिक सूचना जारी गरेर बेरोजगारीको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई महानगरमा सूचीकरण गछौँ । उनीहरुको शैक्षिक योग्यता, रुचि, क्षमताअनुसार निवेदन दिनुहोस् भनेर सबैलाई आह्वान गछौँ र रोजगारी दिन्छौँ ।   बेरोजगारलाई महानगरको आफ्नै काममा र निजी क्षेत्रमा लगाउँछौँ । पोखरामा पनि धेरै रोजगार दाता हुनुहुन्छ । उहाँहरुलाई पनि हामी आह्वान गरेर विस्तारै बेरोजगारलाई रोजगारी दिने योजनामा छौँ ।   – पोखराको जीर्ण सडक अवस्थालाई देखाएर महानगरको आलोचना हुने गरेको छ । सडकको अवस्था सुधार्ने के योजना छन् ? पोखरा महानगरभित्रका सबै सडक महानगरका होइनन् । सडक विभागअन्तर्गतका पनि केही सडक छन् । पहिला कोअर्डिनेशन भएन र गुनासा आए । पोखराको सडक राम्रो बनाउन सबै पक्षसँग हामीले समन्वय गर्नुपर्ने हुन्छ । महानगरका मुख्य सडक मात्र नभइ भित्रका सडकलाई पनि अस्फाल्ट कङ्क्रिट पिच गर्नका लागि केन्द्र र प्रदेश सरकार सबैसँग लविङ गर्छौ ।   अस्फाल्ट नभएको ठाउँमा पनि खाल्डाखुल्डी तुरुन्त पुरियो भने पनि दुर्घटना कम हुन्छ । त्यसका लागि कहीँ खाल्डा भएको २४ घण्टाभित्र खाल्डा पुर्ने योजना बनाएका छौँ । यसैगरी सडकमा छाडा चौपाया छोडन् नपाउने र कुकुर पनि सडकमा छाडन नपाउने गरी व्यवस्था गर्छौ । धेरै दिदीबहिनी कुकुरकै कारण दुर्घटनामा परेको देखेका छौँ ।   पुरुषहरुले व्यवस्थापन गर्न सके पनि महिलालाई अप्ठ्यारो हुने गरेको देखिन्छ । सडकमा धेरै स्कुटर कुकुरका कारण दुर्घटनामा परेको देखिएको छ । छाडा छौपाया व्यवस्थापनका लागि काञ्जि हाउस बनाउँछौँ । नागरिकले या त छौपाया घरमै पाल्नुपर्यो, छाडा छोड्नुभएन ।   – अबका पाँच वर्षपछि पोखरेलीले पोखरालाई कस्तो अवस्थामा पाउनेछन् ? अबको पोखरा कस्तो बन्नुपर्दछ भनेर थ्रिडी भिडियो सार्वजनिक गर्नेछौँ । त्यसका लागि महानगरको सिङ्गो बोर्ड र कार्यपालिका पूरा भइसकेपछि कार्यपालिकाको सहमतिसहित ४३ जनाको महानगरको टोली र विशेषज्ञ बसेर पोखरा यस्तो बन्छ भन्ने तस्वीर बनाउँछौँ ।   पोखरा महानगर र वडा कार्यालय सिस्टममा चलिरहेको, आन्तरिक सेवाग्राहीले पाउनुपर्ने सेवा सुविधा सबै तोकिएका समयभित्रबिना झन्झट, बिना भनसुन काम भइरहेको एउटा कार्यालयका रुपमा पाउनु हुनेछ । बाहिर फिल्डमा हेर्दा पनि हाम्रो यायातात र ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त भएको हुनेछ । हेर्दा पनि सौन्दर्यकरण हिसाबले बाटा सफा र सुन्दर हुनेछन् । पर्यटकीय गन्तव्य थपिएका हुनेछन् ।   हाम्रो अर्थतन्त्र सबल बनाउन हाम्रा पोखरेली दाजुभाइ दिदीबहिनीलाई उत्पादनका विभिन्न चरणमा जोडेर लैजान्छौँ । जसका कारणले अर्थतन्त्र व्यवस्थित हुनेछ । हाम्रो समृद्ध पोखराका लागि सबल अर्थतन्त्रलाई प्राथमिकतामा राखेका छौँ । उत्पादनका काममा नागरिकलाई जोड्ने कुराले जे नतिजा दिन्छ, त्यसलाई व्यवस्थित कोसेली घर बनाउने, पोखरामा आयात प्रतिस्थापन गर्ने, महानगरका उत्पादनलाई ब्राण्डिङ र क्वालिटीको सुनिश्चितता गर्छौ ।   कतै केही समस्या पर्‍र्यो भने द्रूत प्रतिकार्य समूह बनाउँछौँ । र्‍यापिड एक्सन टिम(आरआइटी) बनाउँछौँ, द्रुत सेवा समूह बनाउँछौँ । दुर्घटना, दैविप्रकोप र कहीँ रेस्क्यु गर्नुपर्दा त्यो समूहले काम गर्छ । त्यसका लागि सम्बन्धित व्यक्ति राखेर महानगरमा थप एउटा महाशाखा बनाउँछौँ । अहिलेका नौ वटा महाशाखामा आरआइटी भन्ने महाशाखा थप्छौँ । त्यसले अप्ठ्यारो अवस्थामा काम गर्छ ।   दमकल, एम्बुलेन्स र छिटो उद्धार गर्नुपर्ने खालका सामग्रीसहितको महाशाखा हुनेछ । यसका लागि सशस्त्र प्रहरीसँग मिलेर काम गछौँ । केही दुर्घटना भइहालेमा सामान खोज्न हिँड्ने भन्दा पनि तयारी अवस्थामा रहेको समूह बनाउँछौँ । यदि नागरिकलाई हेलिकप्टर चाहियो भने पनि त्यही समूहले खोज्ने व्यवस्था गछौँ, त्यो महाशाखाले काम गर्नेछ ।

पोखरा:    पोखराबाट जोमसोम उडेको तारा एयर गन्तव्यमा नपुग्दै सम्पर्कविहीन भएपछि यात्रुका साथी एवं आफन्तहरु यतिबेला तथ्यको पर्खाइमा पोखरा विमानस्थल पुगेका छन् ।    करिब २ घण्टासम्म पनि जहाजबारे ठोस सूचना पाउन नसकेपछि विमानस्थल परिसरमा पुगेका आफन्तजन र अन्यको धैर्य टुट्दै गएको छ । प्रतिकुल मौसमका कारण खोजी र उद्धारकार्य हुन नसकेपछि विमानस्थलमा भेला भएकाहरुको आँखाबाट झरी बग्न थालेको छ ।     तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमानमा चार विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित २२ जना सवार छन् ।  तस्वीर : अर्जुन गाहा (सुशान्त)                          

पाेखरा:   गण्डकी प्रदेशको मन्त्रीपरिषद्ले भूतपूर्व पदाधिकारीलाई के – कस्तो सेवा, सुविधा दिन सकिन्छ भनेर तयारी थालेको छ ।    हालै बसेको बैठकले सोही सुविधा दिन तयारी कार्यदल गठन गरेको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव संयोजक, अर्थ र कानून मन्त्रालयका सचिव सदस्य रहने गरी ३ सदस्य रहेका छन् ।    कार्यदलले तयार गर्ने मस्यौदाअनुरुप सेवा सुविधा तय हुनेछ । हाल कार्यदल पूर्वमुख्यमन्त्रीदेखि प्रमुख सचेतकसम्मलाई सेवा उपलब्ध गराउन गृहकार्य थालेको छ ।   प्रदेश सरकारकाकारण आर्थिक भार बढ्दै गएको आलोचना भइरहेकाबेला भूतपूर्व पदाधिकारीलाई समेत सेवा, सुविधा छुट्याउने तयारी भएपछि पोखरेलीको अभिमत लिनेक्रममा उनीहरुको भनाई सुनगाभा न्यूजले जस्ताकोतस्तै समेटेको छ ।    कदापि उचित होइन ​​ आनन्दराज मुल्मी पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ   यहाँ कस्तो राजनीतिक सोंचको विकास भएको छ बुझ्नै गाह्रो भयो । पदमा रहँदा त सेवाको नाममा सुविधा लिए लिए, भूपू भएपछि पनि जनताको करमा तर् मार्ने प्रवृत्ति बढेर गयो । प्रदेश सरकारले केही गर्न नसकेको छर्लङ्ग छ, गरे त केवल आफ्नै लागि गरे भन्दा फरक पर्दैन ।    सिमित स्रोतबीच चलेको प्रदेश सरकारका पदाधिकारीले कार्यकाल सकिएपछि पनि सुविधा लिने सोंच कदापि उचित होइन । यदि, प्रदेश सरकारले यस्तो निर्णय गर्छ भने म त्यसलाई विवेकपूर्ण निर्णय मान्दिन । राजनीतिलाई ‘सेवा’को ठाउँमा ‘जागिर’ मान्ने प्रवृत्तिको म सदैव विरोध गर्छु ।    जनता र प्रदेशवासीलाई लाटोसोझो ठानेर यस्तो काम गर्ने प्रयास भइरहेको छ । यो अनुचित हो । मलाई लाग्छ, सम्बन्धित दलहरुले यस्तो निर्णय पक्कै नगर्लान् ।    ‘नो इज नो’ कपिल कोइराला अध्यक्ष, उपभोक्ता मञ्च, गण्डकी प्रदेश   पूर्वपदाधिकारीहरुलाई सुरक्षाको नाममा दिइने सेवा, सुविधाको कारण र तथ्य के हो ? विश्वमै आर्थिक मन्दी छ, कोरोना यथावत छ, युद्ध जारी छ । यस्तो बेलामा पूर्व भइसकेका पदाधिकारीलाई सेवा सुविधान दिने निर्णयप्रति मेरा धारणा मात्र ‘नो’ हो ।  एशियामा पनि श्रीलंका टाट पल्टिसकेको छ । पाकिस्तान केही दिनभित्र श्रीलंकाकै हाराहारीमा पुग्दैछ । नेपालको अवस्था त्यो भन्दा गतिलो छैन भन्ने नेताहरुलाई थाहा हुनु पर्ने हो । यस्तो प्रतिकुल अवस्थामा खाइपाइ आएको सेवा सुविधा कटौति गर्नुपर्ने बेला उल्टो खान खोज्ने प्रवृत्ति कदापि स्वीकार्य छैन ।  सुरक्षा र थ्रेटको नाममा छुट्याइने बजेटले उल्टो उनीहरुलाई नै गिज्याउँछ । मेरो प्रश्न छ ‘के काम गरे र, उनीहरु असुरक्षित छन् ?’ सबै भूपूलाई सुरक्षा दिँदै जाने हो भने देशको सिंगो प्रहरी फोर्स उनीहरुकै पछि लगाउने अवस्था आउँछ ।  सेवा सुविधा लिने हो भने उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । आफ्नो सम्पत्ति छोरा, नातीलाई छुट्याएर राज्यकोषको दोहन गर्न पाइँदैन । मैले यसमा गण्डकी प्रदेशको नियत खराब छ भन्ने ठानेको छु ।  गलत परम्परालाई निरन्तरता दिने काम भयो डा. उमानाथ बराल राजनीतिक विश्लेषक   मुलुकमा गणतन्त्रको आगमनपछि राष्ट्रपतिबाट जे–जस्तो परम्पराको सुरुवात गरियो त्यसैको देखासिकी प्रदेशले पनि सुरु ग¥यो । जनतामा सार्वभौमसत्ता केन्द्रित भएपछि उच्चपदस्थ व्यक्तिहरुले आफ्नौ दैनिकीलाई झनै लक्जरी बनाउने काम भयो, जसको निरन्तरता प्रदेशमा भेटिएको छ ।  मूलतः विश्वमै राजनीतिलाई सेवा भनेर लिने गरिएको छ । तर यहाँ पेशा भइदियो । यसले ‘कमाउने’ परिपाटीको विकास गर्दा भूपू भइसकेपछि पनि रवाफ देखाउन सुरक्षाको नाममा सेवा लिने अभ्यास भइरहेको छ । यसलाई ‘गुड’ भन्न सकिँदैन ।  यद्यपि, कुनै असल राजनीतिकर्मी छ र उसले निस्वार्थ काम गरेको छ भने उसलाई राज्यले सम्मान दिनु गलत भने होइन । तरैपनि शान, मानकोरुपमा राज्यले भूपूलाई खर्च गरिरहने हो भने त्यसले व्यवस्थाप्रति नै नकारात्मक सन्देश पुग्छ । विकास खर्च र बजेट नै विदेशी अनुदानमा निर्भर रहेको मुलुकमा फजुल खर्च बढाइरहने निर्णयले नेताहरु जनताप्रति अनुत्तरदायी छन् भन्ने ठहर्छ ।      जनतामारा निर्णय भयो भने सशक्त प्रतिकार हुन्छ रश्मी आचार्य उपसचिव, नेकपा एमाले, गण्डकी प्रदेश   भूतपूर्वलाई सुरक्षाको नाममा सेवा सुविधा दिने काम गर्नै नहुने विषय हो । यहाँ एमालेले पनि पाउँछ भन्ने कुरा भइरहेको छ । हाम्रो धारणा भनेको कहाँ, कसले पाउने होइन, यो त सरासर जनतामारा निर्र्णय हो । नेकपा एमाले यसको विपक्षमा छ ।    जनता महंगी र बेरोजगारले आहत भएकाबेला पूर्वप्रतिनिधिलाई झनै पाल्ने र पोस्ने काम गलत हो । एमालेले पनि पाउँछ भन्नेमा यो विषय किमार्थ जोडिदैन । राज्यकोषको दोहन गर्ने कुनैपनि निर्णयविरुद्ध हामी आन्दोलनमा उत्रन्छौं ।    आगामी २४ गते घोषणा हुने तयारी भइरहेको सुन्नमा आएको छ । घोषणामात्र होइन अहिले गठन गरिएको कार्यदल नै खारेज गर्नुपर्छ । कथंकदाचित् २४ गते सेवा सुविधा दिने निर्णय सदर भयो भने हामी सशक्त विरोध गर्छाैं ।    राज्यको ढुकुटीमा गिद्धे नजर सुशिला केसी अधिकारी केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी   अहिले गण्डकी प्रदेशका प्रतिनिधिहरु, जो छिट्टै भूतपूर्व हुँदैछन्, उनीहरुलाई राज्यकोषबाट सुरक्षा वा अन्य जुनसुकै नाममा सेवा सुविधा दिने प्रयास भइरहेको छ, त्यसप्रति मेरो र दलकोतर्फबाट घोर आपत्ति छ ।    जनता दुख, पीडामा छन् । यस्तो विषम परिस्थितिमा पनि आफ्नै लागि आफैले सेवा सुविधा खुवाउने काम गर्नु भनेको राज्यको ढुकुटीमा गिद्धे नजर लगाउनु हो । वास्तवमा जनप्रतिनिधिलाई तलब खुवाउनै गाह्रो छ । त्यसमाथि अझ पछिसम्म पाल्ने काम कुनैपनि हिसाबले ठिक छैन ।    अझ, हाम्रो कुरा त संघ र स्थानीय सरकालाई बलियो बनाएर प्रदेश सरकार नै खारेज गर्नुपर्छ भन्ने हो । देशलाई झनै अधोगतितर्फ धकेल्न संसदबाटै कानून बनाएर पास गर्ने तयारी भइरहकोमा मेरो विमति छ ।    अर्थतन्त्रले धाने ठिक, धानेन भने ... गणेशबहादुर भट्टराई पर्यटन व्यवसायी   नेपाली उखान ‘घाँटी हेरी हाँड निल्ने’ भने जस्तै हो । प्रदेशले आफै पैसाको जोहो गर्न सक्छ भने उहाँहरुलाई धेरथोर सुविधा दिनु नराम्रो हैन तर अर्थतन्त्रले धान्दैन वा संघबाट आएको बजेटमा सुरक्षाको नाममा सुविधान लिनु त पक्कै बेठिक हो ।    विकासका काममा समेत रिन लिने चलन छ अर्थात् हामी बाध्य छौं भने प्रदेश सरकारले सोच्नुपर्छ । त्यसैत विभिन्न सरकारी निकायमा कामको तुलनामा कर्मचारी बढी भएको हामीले महशुस गरेका छौं ।    सेवा सुविधा प्रदान गर्दा हामी कति उत्पादनमुखी छौं भन्नेमा प्रदेश सरकार स्पष्ट हुनुपर्छ । जनताकै करबाट लिने हो भने नागरिकस्तरबाटै त्यसको विरोध हुन्छ ।    ‘रिन मागेर घ्यू खाने’ काम भयो शंकर खराल, राप्रपा, कास्की   हामी स्पष्टरुपमा संघीयता विरोधी पार्टी हौं । प्रदेश सरकार खारेज हुनुपर्छ भन्ने त हाम्रै माग छ । त्यसकारण प्रदेशका पदाधिकारीले पाँच वर्षपछि पनि सुरक्षाको बहानामा सेवा र मेवा लिने परिपार्टी बनाइन्छ भने राप्रपा आन्दोलन गर्छ ।    आफ्नो देश असफल राष्ट्र भइसक्न लागेको हेक्का नराखि खानेमात्रै ध्याउन्न गर्दा भोली जनस्तरबाट विद्रोह हुनसक्नेतर्फ सचेत हुनुप¥यो । वर्षेनी ५ अबै रुपैयाँको बजेट घाटा भइरहँदा पनि फेरि सुविधा लिन खोज्नुलाई रिन मागेर घ्यू खाने काम भन्नु बुझिन्छ ।    यहाँका पदाधिकारीले सुविधा लिए त्यसलाई नजिरकारुपा लिई भोली अन्य प्रदेशले पनि सेवा सुविधा लिने निश्चित छ । यसर्थ, यस किसिमका नीति, नियम बने देशमा छोटे राजाको संख्या झनै बढ्छ । यहाँ राजा मोटाउने हैन, जनता मोटाउने निर्णय गर्नु प¥यो ।    नागरिक समाजको आपत्ति छ इन्द्रकमल मानन्धर संयोजक, नागरिक समाज कास्की   भूतपूर्व पदाधिकारीलाई पनि सेवा सुविधा उपलब्ध गराउने समाचार आएलगत्तै हाम्रो ध्यानाकर्षण भएको छ । नागरिक समाज यस विषयमा गम्भीर आपत्ति जनाउँछ । जनता दुखमा परेका बेला जनप्रतिनिधि भने सेवा सुविधा थप्न लाग्नु जत्तिको दुखद खबर अरु के हुनसक्छ ?   सरकारले जनतालाई विदेशबाट विभिन्न सरसामानको आयातमा रोक लगाइरहेकाबेला आफु भने देशको ढुकुटी सक्न उद्दत देखिनु जनताप्रतिको गैरजिम्मेवारीपना हो । बजारमा उपभोग्य वस्तुको भाउँ बढेको छ । सरकार केवल रमिते बनेको छ । अर्थतन्त्र धराशायी हुँदैछ, यस्तो बेला सेवा सुविधा कसरी लिन सकिन्छ भनेर कार्यदल गठन गर्नु लाजमर्दाे विषय हो ।