४६ वर्षपछि पोखरा बसपार्क पुगे मन्त्री र मेयरः ७५ लाखमा नालीको शिलान्यास
सुकुम्बासी समस्या यथावत्
पाेखरा | जेठ २५, २०७९

पाेखराः पर्यटकीय सहर भनेर धाक लगाउने पोखरालाई गिज्याइरहने विषय हो बसपार्क । ०३२ सालबाट सुरु भएको बसपार्क न त पूर्णरुपमा निर्माण नै हुनसक्यो न त सरोकारवाला निकायले ठोस योजना नै बनाउनसक्यो । यसबीचमा बसपार्कको मुद्धाले चुनावमा र नयाँ सरकारको गठनपछि चर्चा चलाइरहे पनि यसले चर्चेको क्षेत्रफलमा कमी आउन भने छाडेन ।
सुरुवाति दिनमा २ सय ५ रोपनी क्षेत्रफल रहेको बसपार्क अहिले करिब ८० रोपनीमा सिमित भएको छ । अझ त्यसमा पनि अव्यवस्थित सुकुम्बासी बस्ती रहेकाले अनुमानित ४० रोपनिमामात्रै बसपार्क रहेको तथ्यांक छ ।
यसैबीच प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्का र हालै निर्वाचित महानगरका मेयर धनराज आचार्यले बसपार्क निर्माणलाई अघि बढाउने योजना अनुरुप आज संयुक्तरुपमा नाला निर्माणको शिलान्यास गरेका छन् ।
उक्त कामकालागि प्रदेश सरकारले पहिलो चरणमा ७५ लाख रुपैयाँ छुट्याएका छन् । न्यून बजेटबाट नाला निर्माणको काम थालिएपनि ०८१ सालसम्म आधुनिक बसपार्क निर्माणको काम सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।
अब आगामी बजेटमा बसपार्कलाई प्राथमिकता दिई रकम छुट्याइने प्रदेशले जनाएको छ । प्रत्येक चुनावमा ‘भोट बैंक’ र ‘आश्वासन’को पोका फुकाउने बसपार्क क्षेत्रमा सुकुम्बासीहरुको व्यवस्थापन मुख्य समस्या हो । यसलाई समाधान गर्न सर्वदलीय बैठक बसी राजनीतिक निर्णय गर्ने मन्त्री खड्काले बताएका छन् ।
बसपार्क क्षेत्रमा हाल ५ सयकाको हाराहारीमा घरधुरी रहेका छन् । ०३३ सालमा हालको विमानस्थलमा बसोबास गरेका परिवारलाई समेत बसपार्क क्षेत्रमा ल्याएर राखिएको छ । उनीहरुलाई जमिन उपलब्ध गराउने वा मुआब्जा दिने भन्ने विषयमा हालसम्म भएको छलफलले टुंगो लगाउन सकेको छैन ।
हालको नाला र ढल निर्मापणलाई प्रदेशले अल्पकालीन योजनामा समेटेको छ भने दीर्घकालीन योजनाअनुरुप ३ वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य राखेको छ । यद्यपि, केही सुकुम्बासीहरुले अहिले थालेको कामलाई पपुलर हुने ‘फन्डा’कोरुपमा लिएका छन् ।
०३३ पछि बसपार्कमा जबर्जस्ती सारिएका परिवारमध्येका एक शान्ति केसी भन्छिन् ‘मेरो हजुरबुवा, हजुरआमा र बुवा यही बित्नुभयो यसबीचमा भाषण धेरै सुनियो तर काम भएन ।’ तर ढिलै भएपनि काम सुरु हुने सुनेपछि केही खुशी लागेको उनको प्रतिक्रिया छ ।
त्यस्तै, स्थानीयवासी खिमलाल बाँस्तोलाले ‘पोखरा बसपार्कले समग्र पोखराको बेइज्जत गरेको छ’ भन्दै ‘नाला निर्माणमात्र हैन अतिक्रमित जग्गासमेत अधिग्रहण गरेर नयाँ बसपार्क निर्माण गर्नुपर्छ’ भन्ने सुझाव दिएका छन् ।
हाल भइरहेको बसपार्कलाई पूर्णता दिनुको सट्टा प्रदेश सरकारले लामेआहालमा नयाँ प्रादेशिक बसपार्क निर्माण गर्ने योजना अघि सारेको प्रति कतिपयले असन्तुष्टी व्यक्त गरेका छन् । विद्यमान अवस्थामा रहेको र उपयुक्तस्थलसमेत भएको पृथ्वीचोकस्थित बसपार्कलाई अलपत्र पारेर नयाँ योजनालाई अघि बढाउनुलाई उनीहरुले अस्वभाविक मानेका छन् ।
स्मरणीय छ, प्रदेश सरकारले लामेआहालमा बसपार्क बनाउन १ सय २० रोपनी जमिन र १ अर्ब ४२ करोड रुपैयाँको स्टिमेट तयार पारेको छ ।
गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कु...
पोखरा: कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् । देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्ज...