पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पोखराः कृष्ण थापा (कृष्णबहादुर थापा) जन्मेको सालसम्म मुलुकमा प्रजातान्त्रिक व्यवस्था विद्यमान थियो । त्यसको एक वर्षपछि हो देशमा निर्दलीय पञ्चायती व्यवस्थाको सुत्रपात भएको । अर्थात् थापाको जन्म २०१६ साल हो ।   कास्कीको बाटुलेचौरमा जन्मिएका थापाले ०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यसो त राजनीतितर्फको आकर्षण ०३६ सालको विद्यार्थी आन्दोलनबाटै सुरु भएको हो । त्यो त्यही आन्दोलन थियो, जसले मुलुकमा पहिलोपटक बहूदल र निर्दलको छनौट गर्न जनमत संग्रह नै गर्नुपरेको थियो ।    २०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उनी राजनीतितर्फ तानिएका थिए । २०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव भएका थिए ।    २०४०मा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सदस्य निर्वाचित भएका थिए । २०४१ साल २९ भदौमा तत्कालीन नेकपा (माले)बाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौं जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष चुनिए ।   २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा उनले सम्हालेका थिए । थापा २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताए । तत्कालीन पञ्चायत राजकाज मुद्धामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताएका थिए ।    उनी २०४६ सालको जन–आन्दोलनमा वाममोर्चा गण्डकीको सदस्य भए । २०४६ सालदेखि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने । २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि अर्थात् ०५४ सालमा भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए ।    २०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिती सदस्य भएका थिए । २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य भएका काम गरेका थिए ।   २०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए ।    शिक्षामा स्नातक गरेका थापा स्वास्थ्यका पनि विद्यार्थी हुन् । थापाले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सिएमए (कम्युनिटी मेडिकल असिस्टेन्ट) पढाइ पुरा गरेका छन् ।   महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएपछि थापाले सार्वजनिकरुपमा यसपटकको निर्वाचननै आफ्नो लागि अन्तिम भएको बताउँदै भोटको अपील गरेका छन् । 

पोखरा,२४ चैत । नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । पोखराको सक्रियमध्ये एक लायन्स क्लब अफ पोखरा लेकसिटीले बिहीबार उनलाई सम्मानित गरेको हो । साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको कदर तथा नयाँ जिम्मेवारी प्राप्त भएपछि पोखरेली श्रष्टाको नाताले उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष कैलाशभक्त पालिखेले जानकारी दिए । नेपाली वाङ्मयका हस्तीलाई सम्मानित गरिरहँदा लेकसिटी स्वयं सम्मानित भएको बताए । उनले कवि तीर्थको नेतृत्वमा लेखक संघको अध्यक्षको रुपमा सफलताको कामना पनि गरे । लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठ, लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुसहितले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका थिए । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले समुन्नत समाज निर्माण एवं कला र साहित्यको उत्थानको लागि लायन्सले खेलेको भूमिका सह्रानीय भएको बताए । विन्ध्यवासिनी धार्मिक विकास समितिका सचिवसमेत रहेका उनले त्यहाँ पु¥याएको योगदानको  पनि स्मरण गरे । हामी सेवा गर्छौं भन्ने भावनालाई लायन्सले व्यवहारमै देखाएको पनि उनले उल्लेख गरे । प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठले कला र साहित्य समाजको ऐना भएको बताउँदै त्यसको उत्थानले समग्र समाजलाई नयाँ दिशा दिने धारणा राखे । लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुले गभर्नरको रुपमा आफ्नो कार्यकाल सुरु भएको र समाज सेवाको लागि योजनासहित अगाडि बढ्ने बताए । लायन्स क्लब ३२५ ‘के’ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सुुचित्रा थापाले लायन्सको ध्यान सीमान्तकृत वर्गको उत्थानमा केन्द्रीत हुनुपर्ने बताइन् । लायन्स क्लब अफ पोखरा लेकसिटीका संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठले नेतृत्व निर्माणमा लायन्सले खेलेको भूमिकाबारे चर्चा गरे ।लायन्स क्लब अफ पोखरा गण्डकीकी अध्यक्ष सारदा पराजुलीले महिलाको क्षमता विकासको लागि लायन्सले खेलेको भूमिका प्रशंसनीय भएको जिकिर गरिन् । लायन्स लेकसिटीका सचिव विद्या मर्सानीका अनुसार सोही कार्यक्रममा लायन्स ३२५ के का गभर्नर,भाइस गभर्नर,सचिव र स्वरोजगार कार्यक्रमको संयोजक चयन भएकोमा क्रमशः राजेन्द्र बाटाजु,सुचित्रा थापा,मिनराज काफ्ले र टीकाराम सापकोटालाई सम्मानित गरिएको थियो ।

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोकसम्मको मुख्य सडकमा महोत्वसव सञ्चालन हुने आयोजक होटल सङ्घ पोखराले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि महोत्सव गर्न लागिएको होटल सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपनका साथ करिब तीन किलोमिटर खुला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो । नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको लक्ष्य रहेको छ । महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइटमा स्टेजमार्फत लाइभ म्युजिक, लोकदोहोरी गायन, हाँस्यव्यङ्ग्य प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवको अवसरमा सङ्घले सदस्य होटलहरूको प्रकाशित दररेटमा ३० प्रतिशत छुट दिनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवको प्रचारप्रसारका लागि सङ्घले हालै बुटवल, हेटाँैडा र वीरगञ्जमा ‘आउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो । महोत्सवको अन्नपूर्ण केबलकार प्रालि र गोर्खा ब्रुअरी प्रालिको टुबोर्ग वियर मुख्य प्रायोजक रहेको छ । पोखरा पर्यटन परिषद्लगायत अन्य छभन्दा बढी सङ्घसंस्थाले महोत्सवलाई सहयोग गर्नेछन् । महोत्सवको प्रमुख आकर्षणका रूपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी प्रस्तुति, ख्यातिप्राप्त कलाकार एवं स्थानीय कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, दोहोरी आदि प्रस्तुत गरिनेछ । कूल रु ३५ लाख खर्च हुने महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने आयोजकको दाबी छ । पत्रकार सम्मेलनमा होटल सङ्घ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाहले कोभिड त्रासको दुई वर्षपछि पर्यटन क्षेत्र विस्तारै जुर्मुराउँदै गएको र यस्ता मेला महोत्सवले पर्यटक आगमन बढ्ने बताउनुभयो । उहाँले महोत्सवको उद्देश्य महामारीपछि आन्तरिक र विदेशी पर्यटकलाई स्वागत गर्न पोखरालगायत पर्यटकीय क्षेत्र तयारी अवस्थामा छन् भनेर सन्देश दिनु पनि हो भन्नुभयो । कार्यवाहक अध्यक्ष शाहले आगामी सिजनका लागि आइरहेको इन्क्वायरी उत्साहवद्र्धक रहेको र यसले आउने दिनमा पर्यटनका लागि सुखद् रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । अध्यक्ष सुवेदीका अनुसार पोखरामा अहिले पर्यटकदेखि पाँचतारेसम्म गरी एक हजार २०० होटल छन् । ती होटलमा ४० हजार बेड रहेका छन् । निकट भविष्यमै सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने विदेशी पर्यटकको व्यवस्थानका लागि आवश्यक पूर्वाधार थपिँदै गरेको पनि व्यवसायीको भनाइ छ । होटल सङ्घका केन्द्रीय सदस्य एवं होटल व्यवसायी भरत पराजुलीले पोखराको प्राकृतिक सुन्दरतालाई उत्सवमय बनाएर पर्यटकलाई आकर्षण गर्न महोत्सव उपयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लाखौँ काठमाडौँवासीलाई पोखरा लगेर आर्थिक गतिविधि थप चलायमान बनाउन पनि मेला महोत्सव गरिँदै आएको बताउनुभयो ।