लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले आइतबार बताएको छ । इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको बताएको छ । हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी आएको छैन । साथै आक्रमण कहाँ भएको थियो भन्नेबारे पनि जानकारी भएको छैन । हालैका साताहरूमा इजरायली आक्रमणहरूमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यहरूलगायत धेरै वरिष्ठ कमान्डरहरू मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि थिए । हिजबुल्लाहलाई उसका पेजर र वाकी–टाकीहरूमा गरिएको परिष्कृत आक्रमणको लक्ष्य बनाइएको थियो । उक्त आक्रमणका लागि व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो । लेबनानाको स्वास्थ्य मन्त्रालयका अनुसार लेबनानका ठूला क्षेत्रहरूमा गरिएको इजरायली हवाई आक्रमणबाट दुई साताभन्दा कम सयममा एक सय ५६ महिला र ८७ बालबालिकासहित एक हजार ३० जनाको ज्यान गएको छ । पछिल्ला आक्रमणका कारण लेबनानमा लाखौँ मानिस आफ्नो घरबाट भाग्न बाध्य भएका छन् । वातावरणमन्त्री नासिर यासिनले करिब दुई लाख ५० हजार मानिस आश्रयस्थलहरूमा रहेको सरकारले अनुमान गरेको बताउनुभयो । त्यसको तीनदेखि चार गुणा मानिस साथीहरू वा आफन्तहरूकहाँ बसिरहेका छन् वा सडकमा शिविर बनाएर बसेका छन् । हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट र मिसाइलहरू प्रहार गरेको छ तर अधिकांशलाई रोकिएको छ वा खुला क्षेत्रहरूमा खसेका छन् । यसबाट उत्तरी इजरायलमा केही हताहत र सामान्य क्षति भएको छ । काउक सन् १९८० को दशकदेखि नै हिजबुल्लाहका अनुभवी सदस्य थिए । उनले सन् २००६ मा इजरायलसँगको युद्धमा दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य कमान्डरका रूपमा सेवा गरेका थिए । उनी प्राय स्थानीय सञ्चारमाध्यममा देखा पर्थे र राजनीति तथा सुरक्षा विकासमा टिप्पणी गर्थे । साथै वरिष्ठ लडाकूहरूको अन्त्येष्टिमा श्रद्धाञ्जलि दिन्थे । अमेरिकाले सन् २०२० मा उनीविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो । प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणले गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट, मिसाइल र ड्रोनहरू प्रहार गर्न थालेको थियो । हिजबुल्लाह र हमास दुवै इजरायलविरुद्ध इरान समर्थित ‘प्रतिरोधको धुरी’ का हिस्सा मान्ने सहयोगी हुन् । इजरायलले हवाई आक्रमणहरूमार्फत जवाफ दिएको छ र द्वन्द्व लगातार युद्धको सङ्घारमा पुग्दा क्षेत्रव्यापी द्वन्द्वको आशङ्का बढेको छ । इजरायलले उत्तरमा रहेका समुदायहरूबाट करिब एक वर्षअघि खाली गरिएका आफ्ना करिब ६० हजार नागरिकलाई फिर्ता ल्याउन प्रतिबद्ध रहेको बताएको छ । हिजबुल्लाहले भने गाजामा युद्धविराम भएको अवस्थामा मात्र आफ्नो रकेट प्रहार रोक्ने बताएको छ । अमेरिका, कतार र इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच महिनौँको अप्रत्यक्ष वार्ताका बाबजुद अझै पनि युद्धविराम सम्भव भएको छैन ।
काठमाडौं: सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्नुहुने आधिकारिक मतगणनाले देखाएको छ । सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहनुभएकी कट्टर राष्ट्रवादी सनाए ताकाइचीलाई एक सय ९४ विरुद्ध दुई सय १५ मत ल्याएर पराजित गर्नुभयो । टोक्योमा लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० को मुख्यालयमा आफ्नो विजय घोषणा भएपछि इशिबाले मुस्कुराउँदै आफ्नो चस्मा फुकालेर आँसुले भरिएका आँखा पुछ्नुभयो र आफ्ना सहयोगीहरूले बधाई दिँदा बारम्बार शिर झुकाउनुभयो । “म जनतामा विश्वास गर्न, साहस र इमान्दारीका साथ सत्य बोल्न र यस मुलुकलाई पुनः एकपटक सबैजना मुस्कानसहित बस्न सक्ने सुरक्षित स्थान बनाउन पूरा कोसिस गर्नेछु”, आफ्नो संक्षिप्त सम्बोधनमा उहाँले भन्नुभयो । इशिबा पहिले पनि शीर्ष पदको नजिक पुग्नुभएको थियो । सन् २०१२ मा उहाँ राष्ट्रवादी शिन्जो अबेसँग पराजित हुनुभएको थियो । अबे जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता हुनुहुन्थ्यो र पछि उहाँको हत्या गरिएको थियो । जापानमा एलडिपीले दशकौँदेखि करिब निरन्तर शासन गरेको छ र बहुमत कायम राखेको छ । यसको अर्थ इशिबालाई मङ्गलबारसम्म संसद्ले प्रधानमन्त्री चुन्नेछ । सन् १९७० को दशकमा पप आइडलहरूप्रति झुकाव राख्ने सैन्य मोडल निर्माता इशिबाले कृषि सुधारजस्ता कठिन मुद्दाहरू सम्हाल्ने आफ्नो अनुभवले आफूलाई यो पदका लागि योग्य बनाएको बताउनुभएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् । पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुनेगरेको छ । यहाँ वर्षौंदेखिको जातीय लडार्इंका कारण सयौँले ज्यान गुमाएका छन् । जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा (आदिवासी सङ्गठन) ले युद्धविरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो। कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ । उहाँले भन्नुभयो, “भूमि विवादको रूपमा सुरु भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ। उहाँका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए । पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक बर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेष गरी लामो र हिंस्रक हुने गर्छन् । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानुनलाई पालना गर्छन्। सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको छ ।
काठमाडौं: जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९।३ प्रतिशत वृद्धवृद्धा रहेका छन् । विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ । इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् । दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ । जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ। जापानको सरकारी तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ । आइतबारको तथ्याङ्कअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३।५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् । जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सञ्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन ।
काठमाडौं: युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनरगठन गर्ने घोषणा गर्नुभएपछि उहाँको राजीनामा आएको हो । कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसद्हरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले आफ्नो फेसबुक पेजमा बताउनुभएको छ । ल्भिभमा रातभर भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको सहरका मेयर एन्ड्री सदोवीले बुधबार बिहान बताउनुभयो । उहाँले मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मी रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जानकारी दिनुभयो । उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो । पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका थिए । युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन् । पोल्टावा मिलिट्री इन्स्टिच्युट अफ कम्युनिकेसनको मुख्य भवनमा क्षेप्यास्त्रहरू प्रहार हुँदा भवनका धेरै तला क्षतिग्रस्त भएका थिए । धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ । यो आक्रमण अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । युक्रेनी सेना रुसको कुर्स्क सीमा क्षेत्रमा आफ्नो पकड बनाउन कोसिस गरिरहेको छ र रुसी सेनाले पुर्वी युक्रेनमा गहिराइसम्म आफ्नो मार्ग बनाएको छ ।
काठमाडौं: बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उहाँको भविष्यको योजनालाई अन्योलमा पार्नसक्छ । सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोग गरिएको भन्दै यसको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलनमा सहभागिता बढ्दै जाँदा पूर्व प्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत् नयाँदिल्लीमा शरण लिन पुग्नुभएको थियो । आन्दोलनकारी ढाकास्थित उहाँको सरकारी निवासमा पुगी तोडफोडसमेत गरेका थिए । उहाँको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हसिनाको राहदानी र सरकारका पूर्वमन्त्री तथा पूर्वसांसदको राहदानी रद्द गर्नुपर्ने जनाएको छ । यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा खडा गरेको छ । भारतले हसिनालाई शरण दिएपनि प्रधानमन्त्री मोदीले बङ्गलादेशका नयाँ नेता नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई पनि समर्थन गर्नुभएको छ । बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्व मन्त्रीमण्डल र विघटित राष्ट्रिय सभाका सबै सदस्य आफ्नो ओहदाका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए ।” “यदि उनीहरूलाई पदबाट हटाइएको वा अवकाश दिइएको अवस्थामा उनीहरूको र उनीहरूका पति वा पत्नीको कूटनीतिक राहदानी रद्द गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ । ढाकाका नयाँ अधिकारीहरूले हसिना र उहाँको कार्यकालमा अन्य पूर्व उच्च अधिकारीहरूले विशेष राहदानीका लागि आवेदन दिन सक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहेको बताएका छन् । “माथि उल्लेखित व्यक्तिले सामान्य राहदानीका लागि नयाँ आवेदन दिँदा दुई वटा सुरक्षा निकायले राहदानी जारी गर्नका लागि आफ्नो आवेदन स्वीकृत गर्नुपर्नेहुन्छ,” मन्त्रालयले भनेको छ। हसिनाको सरकारमाथि विपक्षी नेता तथा कार्यकर्ता र सर्वसाधारणमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लागेको छ । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो । युनुसले आफ्नो प्रशासनले संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने बताउनुभएको छ । प्रर्वप्रधानमन्त्री हसिनाले गठन गरेको बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथिको ‘सामूहिक हत्या’ सम्बन्धमा तीनवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
काठमाडौं: इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए । “मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट सुरक्षा जाँच केन्द्रअगाडि पल्टिएपछि आगलागी भएको इरानको एक राष्ट्रिय टेलिभिजनले जनाएको छ । “बुधबार विहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” इरानी टेलीभिजनले समाचारमा उल्लेख गरेको छ। याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताउनुभएको छ । मालेक–जादेहले भन्नुभयो, “मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य सात जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ ।” गत वर्ष इराकको कर्बला शहरमा हुसेन र उहाँका भाइ अब्बासलाई गाडिएको स्थानमा करिब दुई करोड २० लाख तीर्थयात्रीले उक्त स्मृतिसभा सहभागीता जनाएका हुन् ।
काठमाडौं: जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन गरी प्रधानमन्त्रीका लागि सिफरिस गर्ने घोेषणा गरिएको हो । लिबरल डेमोक्र्याटिक पार्टीको अर्को अध्यक्ष बन्ने अभियान सेप्टेम्बर १२ मा मतदानसहित सुरु हुने आन्तरिक समितिले मङ्गलबार निर्णय गरेको पार्टी अधिकारीले बताएका छन् । सन् २०२१ को अक्टोबरदेखि सत्तासिन रहनुभएका किशिदाले बढ्दो मूल्यलगायतका काण्डपछि भएका समीक्षामा उहाँप्रतिको विश्वासमा गिरावट आएको देखिएको हो । यद्यपि किसिदाले सत्तामा रहँदा विदेशी सहयोगीको विश्वास जित्नुभएको थियो । रूसको आक्रमणपछि अमेरिकी प्रोत्साहनका साथ युक्रेनको पक्षमा निर्णायकरूपमा उभिनुभएको थियो भने जापानी रक्षा नीतिलाई अझ बलियो बनाउने र चीनको सामना गर्ने पक्षमा अघि बढ्नुभएको थियो । आगामी प्रतिस्पर्धामा पार्टीका दिग्गजदेखि उदीयमान युवासहित तीन महिला उम्मेदवारको सम्भावना रहेको र उनीहरू पार्टीभित्र समर्थन जुटाउन पहल गरिरहेको बताइएको छ ।
काठमाडौं: पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पु¥याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार जुलाई–१ देखि अगस्ट–१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् । पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताउनुभएको छ । बलुचिस्तानले जुलाई–१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ । बर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ । सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ । सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिनुभयो । बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्गहरू खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताउनुभयो । RSS