पोखरा: फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् । फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका हुन् । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ । गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । नकआउट चरणको सबै तीन खेलमा मेस्सीले गोल गरेका छन् । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन् । यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन् । नकआउट चरणको पछिल्लो दुई खेलमा उनी गोलविहिन नै छन् । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका उनले डेनमार्कविरुद्ध २ गोल गरे । पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेस्सी नै गोल्डेन बलको दावेदार रहेका छन् । मेस्सी सर्वाधिक असिस्टको सुचिमा पनि ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनसँगै पोर्चुगलका ब्रुनो फर्नान्डेस र इंग्ल्यान्डका ह्यारी केनले ३-३ असिस्ट दिएका छन् । केन र ब्रुनो प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
पोखराः कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार) क्वाटरफाइनलका अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने क्वाटरफाइनलको खेलमा मोरक्कोले पोर्चुगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि अल थुमामा स्टेडियममा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको मोरक्को अन्तिम आठमा पनि पोर्चुगललाई स्तब्ध पार्दै पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । यता, युवा र प्रतिभावान् र स्टार खेलाडीले भरिएको पोर्चुगल पनि अफ्रिकी टोली मोरक्कोलाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को विश्वकपको पछिल्लो पाँचै खेलमा अपराजित छ । सन् २०१८ को विश्वकपको समूह चरणमै पोर्चुगलसँग १-० ले पराजित भएयता मोरक्को विश्वकपमा अपराजित छ । जसमा ३ (पेनाल्टीमा स्पेनमाथि) को जित पनि समावेश रहँदा २ खेलमा बराबरीमा नतिजा छ । युरोपको बलिया राष्ट्र क्रोएसियालाई बराबरी र बेल्जियमलाई पराजित गरिसकेको मोरक्को पोर्चुगलसँग खेल्दा त्यही उच्च मनोवलका साथै मैदान उत्रनेछ । अन्तिम १६ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दा ६-१ को रवाफिलो जित निकाल्दै क्वाटरफाइनलमा पुगेको पोर्चुगल सोही जितको लयलाई मोरक्कोविरुद्धको खेलमा पनि दिन चहान्छ । अर्को खेलमा राति १२ः४५ बजे अल बायट स्टेडियममा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको नतिजासँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा हुनेछ । एजेन्सी
काठमाडौंः खेल पत्रकारितामा कलम चलाउँदै आएका एक प्रतिष्ठित अमेरिकी फुटबल पत्रकार ग्रान्ट वाहलको शुक्रबार कतारमा निधन भएको छ । पत्रकार वाहल दोहामा जारी विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका थिए । न्यूयोर्क टाइम्सका अनुसार खेलको अन्तिम मिनेटमा वाहल प्रेस बक्समा थिए । सोही बेला अचानक उनको स्वास्थ्य अवस्था गम्भीर बन्यो । खेल चल्दाचल्दै नै एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । यूए सकरले शनिबार बिहान एक वक्तव्य जारी गर्दै ग्रान्टको लुसेल रंगशालामा खेल हेर्ने क्रममा शुक्रबार हृदयघातका कारण निधन भएको जनाएको छ । फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुस्खी भएको यूएस सकरले विज्ञप्तिमा जनाएको छ । फक्स स्पोर्ट्स र अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टका सामग्री पछिल्लो समय डिजिटल माध्यम ‘सबस्ट्याक’ मा पढ्न पाइन्थ्यो । उनका ‘द बेकह्याम एक्सपेरिमेन्ट’, ‘मास्टर्स अफ मोडर्न सकर’ र ‘फुटबल २।०’ पुस्तक प्रकाशित छन् ।
काठमाडौं: पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् । यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ । यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो । त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ । ६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताइन् । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो । शपथ ग्रहण गरेपछि बोलुआर्तेले अहिलेको संकट निवारणका लागि राजनीतिक शान्ति सम्झौता आवश्यक रहेको बताएकी छन् । उनले भनिन्, ‘यो देशलाई बचाउन मलाई थोरै समय चाहिन्छ ।’
काठमाडौंः फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । विश्वकपको उपाधि दाबेदार मानिएको इङग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो । इङग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल थपे । यता इरानका लागि भने मेहदी तारेमीले दुई गोल फर्काए । खेलको ३५औँ मिनेटमा वेलिङघमले गोल गर्दै इङ्ग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । खेलको ४४औँ मिनेटमा साकाले गोल गर्दै इङग्ल्यान्डको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा स्ट्रर्लिङले गोल गरेपछि इङग्ल्यान्ड खेलको पहिलो हाफमा ३–० ले अघि रह्यो । यसैगरी खेलको ६२औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई ४–० को अग्रता दिलाए । खेलको ६५औँ मिनेटमा इरानका खेलाडी तारेमीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । खेलको ७१औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले गोल गर्दै इङ्ग्ल्यान्डलाई ५–१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको एक मिनेट पनि बित्दै नपाउँदै उनले गोल गरे । खेलको ९०औँ मिनेटमा अर्का सब्सिच्युड खेलाडी ग्रेलिसले गोल गर्दै इङग्ल्यान्डलाई ६–१ को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा इरानका खेलाडी तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गदै खेललाई ६–२ को स्थितिमा ल्याए । इङग्ल्यान्डका खेलाडीले पेनाल्टी क्षेत्रमा इरानी खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीमा तारेमीले गोल गरेका थिए । यस जितसँगै इङग्ल्यान्डले पहिलो खेलमै शीर्ष ३ अङ्क जोडेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । आजै राति १२स्४५ बजे समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि समूह ए मा रहेको सेनेगल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । उक्त खेल अहिले ९ः४५ बजे सुरुआत हुनेछ ।
पोखराः निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो । “नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ”, कम्पनीले भनेको छ, “त्यहाँबाट हुने पहिलो उडानका रुपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।” पोखरा–बनारस–पोखराको उडान सातामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार हुने कम्पनीको भनाइ छ । एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा–दिल्ली–पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ । कम्पनीले पोखरा–देहरादुन–पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ ।
काठमाडौं । क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पार्नुभएको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ । मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको सो वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो । क्यानाडाको अल्बेटामा जारी फिल्म फेस्टिबलमा महत्वपूर्ण अवार्ड जित्न सफल भएको सञ्चारकर्मी एवं छायाँकार कल्पितले जानकारी दिनुभयो । उक्त फेस्टिबल अक्टोबर २९ देखि आजसम्म जारी छ । यसअघि सो वृत्तचित्रले सिपोन्टम आर्टहाउस इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिबलमा छनोटमा परेको यो डकुमेन्ट्रीले काठमाडौँ माउण्टेन फिल्म फेस्टिबल (किम्फ)मा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यस्तै, इसीमोड माउन्टेन फिल्ममा उत्कृष्ट वृत्तचित्रको उपाधि प्राप्त गरेको थियो । इण्डियन फिल्म फेस्टिबल अफ मेलबर्नको छनोटमा परेको सो वृत्तचित्रले द भिजन फिस्ट फिल्म फेस्टिबलमा समेत त्यसले महत्वपूर्ण स्थान हासिल गरेको थियो । कूल १४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल एनिमल फ्याबुला, वनअर्थ अवार्ड, कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिबलमा छनोटमा परेको थियो । निर्देशक कल्पितका अनुसार २०७७ असारमा मेलम्चीमा रिपोर्टिङमा जाने क्रममा जाँदा यो वृत्तचित्र खिच्नुभएको थियो । “बाढीबाट आहत भएका स्थानीयवासीको समाचार सङ्कलन गर्न मेलम्ची पुग्दा त्यहाँ स्थानीयवासीले प्रेसको गाडीलाई रोकेका थिए । बुझ्दा खेरी बाढीमा बगाएर आएको भैँसीलाई बचाउनेले रु एक लाख मागेको देखेँ”, उहाँले भन्नुभयो, “त्यही भैँसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै हुनुहुन्थ्यो । त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालेँ । त्यतिबेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ ।” वृत्तचित्र नै बनाउने नसोचेको भए पनि हाल देश विदेशमा उक्त वृत्तचित्रले राम्रै चर्चा परिचर्चा पाएको र नेपालको नाम समेत राखेको कल्पितको भनाइ छ । भैँसी जोगाउनका लागि स्थानीयवासी भीमसेन माझीले रु एक लाख मागिरहेका थिए । होमानसिंहसँग त्यत्रो पैसा थिएन । यही विषयलाई वृत्तचित्रमा समावेश गरिएको छ । छयालिस वर्षदेखि विभिन्न फिल्म फेस्टिबल आयोजना गर्दै आएको बान्फ फिल्म फेस्टिबलमा उक्त वृत्तचित्र चयन हुनु नै नेपाल र नेपाली चलचित्र उद्योगका लागि खुसीको कुरा भएको कल्पितको भनाइ छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि यसले महत्वपूर्ण योगदान दिने उहाँको भनाइ छ ।
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ। पाकिस्तानमा आयोजित र्यालीमा गोली चल्दा खानसमेत घाइते भएको बीबीसीले जनाएको छ। अन्य ९ जना घाइते भएका छन्। पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा गोली प्रहार भएको थियो। प्रहरीका अनुसार इमरान खानलाई लाहौर अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ। डाक्टरको विशेष टोलीले इमरान खानको उपचार गरिरहेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरुले उल्लेख गरेका छन्। खानको खुट्टामा गोली लागेको बताइएको छ। उनी सहभागी रहेको आजादीका मार्चुमा बिहीबार एक्कासि गोली चलेको थियो। सरकारविरुद्ध भइरहेको उक्त प्रदर्शनमा इमरान खानको हत्या प्रयास भएको विश्लेषकहरुले दाबी गरेका छन्। इमरान खानसँगै सांसद फैसल जावेद र पूर्व गर्भनर इमरान इस्मेलसमेत घाइते भएका छन्।
काठमाडौं । बेलायतको भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी हुनुहुन्थ्यो । यस्तै सोमबार बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा पनि तिमिल्सिना सहभागी हुनुभयो ।