काठमाडौं:   एयर इन्डियाको विमान दुर्घटनामा परेसँगै अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। एयरपोर्टका प्रवक्ताका अनुसार अहमाबादबाट लन्डनका लागि उडान भरेको एआई १७१ कलसाइन भएको जहाज दुर्घटनामा परेको ...

काठमाडौं:    बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय रहेको भवनमा आक्रमण गरेका छन् ।  ढाकामा आन्दोलनमा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिना आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर राख्दै यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको थियो । ढाकास्थित एएफपीका संवाददाताका अनुसार प्रधानमन्त्रीको भवनमा हजारौँ बङ्गलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् ।  उहाँ कहाँ जानुभएको हो भन्नेबारे प्रधानमन्त्री निकट स्रोतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उहाँ ढाकाबाट हेलिकप्टर चढेर ‘अन्यत्र’ जानुभएको छ । बङ्गलादेशको च्यानल २४ ले राजधानीमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुशीयाली मनाइरहेको तस्बिर प्रसारण गरेको छ ।  “म गणभवन दरबारभित्र छु,” बङ्गलादेशी पत्रकार येसिर अराफातले एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “दरबारभित्र एक हजार ५०० भन्दा बढी मानिस छन् । उनीहरूले फर्निचर भाँचिरहेका छन् भने शिशाहरू तोडफोड गरिरहेका छन् । हसिनानिकट एक स्रोतले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “छहत्तर वसन्त पार गरेकी हसिना आफ्नी बहिनीसँग ढाकाबाट ‘सुरक्षित स्थान’का लागि निस्कनुभएको छ । उहाँले ‘भाषण रेकर्ड गर्न चाहनुहुन्थ्यो तर त्यसो गर्ने अवसरसमेत पाउनुभएन ।”  स्रोतले भन्यो, “उहाँको सुरक्षा टोलीले उनलाई तत्काल कार्यालय छोड्न भन्यो, तयारीका लागि समय मिलेन । “उहाँ पहिले आफ्नो गन्तव्य नबताइकन मोटरबाट प्रधानमन्त्री कार्यालयबाहिर निस्कनुभएको थियो तर पछि उहाँलाई हेलिकप्टरबाट ‘अन्यत्र’ जाने व्यवस्था गरिएको थियो ।”

काठमाडौं:     रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् । हेलिकप्टर रूसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार संस्था ९तास० ले रक्षा मन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।    प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर प्राविधिक समस्याका कारण दुर्घटना भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ ।    युक्रेनको सीमाबाट करिब १५० किलोमिटर  टाढाको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय अधिकारीले बताएका छन् ।  हेलिकप्टरको दुर्घटना प्राविधिक कारणले भएको वा आक्रमणका कारण भएको भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । 

काठमाडौं:     ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ भने पहिरोसमेत गएको छ । आँधीले घर र पसलहरूमा क्षति पुगेको छ ।       आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । यसबाट फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ । साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी घाइते भएका छन् ।       ताइवानमा कार्यालय र विद्यालय बिहीबार लगातार दोस्रो दिन बन्द  भएका छन् र नागरिकहरूलाई घरमै बस्न र सामुद्रिक तटबाट टाढा रहन आग्रह गरिएको छ ।       ताइवान नियमित रूपमा आँधीहरूको चपेटामा पर्ने गर्छ । आँधीले उसको आफ्नो चेतावनी प्रणालीलाई बढाएको छ । यद्यपि ताइवानको स्थलाकृति, उच्च जनसङ्ख्या घनत्व र उच्च प्रविधिको अर्थतन्त्रका कारण यस्ता आँधी आउँदा हुने क्षतिबाट बच्न कठिन हुन्छ ।       राजधानी ताइपेई असामान्य रूपमा शान्त थियो, हल्का वर्षा भइरहेको थियो र कहिलेकाहीँ तीव्र हावा चलिरहेको थियो ।       फिलिपिन्समा डुबेर र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या बढेको छ । प्रहरीका अनुसार कम्तीमा तीन जना बेपत्ता भएका छन् ।       बिहीबार बिहानै बाटन प्रान्तको लिमेय सहरमा १४ लाख लिटर औद्योगिक इन्धन तेलले भरिएको ट्याङ्कर डुबेको र उद्धारकर्ताहरूले १६ मध्ये १५ जना चालक दलका सदस्यको उद्धार गरेको फिलिपिन तट रक्षकले बताएको छ ।       ट्याङ्कर डुब्नुको सम्बन्ध खराब मौसम र अशान्त समुद्र थियो वा थिएन भन्ने तत्काल स्पष्ट भएको छैन तर यातायात सचिव जेमी बाउटिस्टाले सामुद्रिक अवस्थाका कारण सम्भावित तेल चुहावटलाई रोक्न तट रक्षककर्मी तत्काल उक्त क्षेत्रमा पुग्न नसेकेको बताउनुभयो ।       आँधीका कारण ताइवानको पूर्वी तटमा वायु सेनाको अभ्यास रद्द गर्नुपरेको छ ।       फिलिपिन्समा क्यारिना भनिने गेमीले फिलिपिन्समा भूस्खलन निम्त्याएको छैन तर मौसमी मनसुनी वर्षालाई बढाएको छ ।       फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोस जुनियरले अधिकारीहरूलाई पृथक भएका गाउँहरूमा खाद्यान्न र अन्य सहायता पुर्याउने प्रयासलाई तीव्र बनाउन आदेश दिनुभएको छ । “त्यहाँका जनताले धेरै दिनसम्म खाना नखाएका हुनसक्छन्”, टेलिभिजनमा प्रसारित आपत्कालीन बैठकमा उहाँले भन्नुभयो ।       फिलिपिन्सको राजधानी वरपरका बाक्लो जनसङ्ख्या भएका क्षेत्रहरूमा वर्षाका कारण धेरै स्थानमा बाढी आएकाले सरकारी कामकाज र विद्यालयको पठनपाठन निलम्बन गरिएको छ ।       आँधी उत्तरपश्चिमी दिशामा मुख्य भूमि चीनतर्फ बढेकाले यसको प्रभाव शुक्रबारसम्म जारी रहने अपेक्षा गरिएको छ । चीनको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनको पूर्वी तटमा रहेको फुजियान प्रान्तमा बुधबार फेरी मार्गहरू बन्द गरिएको थियो र सबै रेल सेवा बिहीबारसम्म रोकिएको छ । 

काठमाडौं:     इजराइली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।      सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ ।      गाजा पट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकूहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।      डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो ।       दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो ।       किबुत्ज निर ओजले भन्नुभयो, “हिजो राति सेनाको उद्धार कार्यमा दिवङ्गत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो ।” उहाँले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताउनुभयो ।       पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताउनुभयो । “आज साँझ किबुत्ज आपत्कालीन टिमका सदस्य दिवङ्गत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकूहरूको आक्रमणमा मारिएका थिए ।”

काठमाडौं:    बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको  ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताउनुभयो । पक्राउ परेकामध्ये केही बङ्गलादेश नेशनल पार्टी (बीएनपी) नेताहरू रहेको उहाँले जनाउनुभएको छ ।  पक्राउ पर्नेमा बिएनपीका नेता अमिर खुसरो, महमुद चौधरी र प्रवक्ता रुहुल कबिर रिजवी अहमदसहित पूर्व राष्ट्रिय फुटबल कप्तान तथा नेता  अमिनुल हकलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभएको छ ।  इस्लामवादी पार्टी जमात–ए–इस्लामीकी महासचिव मिया गुलाम परवरलाई पनि पक्राउ गरिएको हुसेनले जानकारी दिनुभयो ।   उहाँले राजधानीमा अशान्तिका क्रममा कम्तीमा तीन जना प्रहरीले ज्यान गुमाएको बताउँदै करिब एक हजार घाइते भएको र घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको उल्लेख गर्नुभएको छ ।  बिएनपीका प्रवक्ता एके वाहिदुज्जमानले राष्ट्रव्यापी रूपमा ‘विगत केही दिनमा सयौं बिपिएनका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको बताउनुभएको छ ।  

काठमाडौं:     उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा १ सय १६ भन्दा बढीको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठूलो भीड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो । धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो । आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए । त्यहाँ मृतकहरूलाई राखिएको थियो । उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गर्नुभयो । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ । सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो । उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो । सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।

काठमाडौं:     भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका अधिकारीले बताएका छन् । विस्फोट तमिलनाडुको राजधानी चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको थियो । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।   कारखानामा १५ वटा कोठा रहेको अधिकारीहरूले बताएका छन् । यसमध्ये कम्तीमा तीन वटा आगोले पूर्णरूपमा जलेर नष्ट भएका छन् ।प्रहरीले विस्फोटको अनुसन्धान सुरू गरेको छ ।

काठमाडौं:   भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर) ले जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् । राउरकेला सरकारी अस्पताल ९आरजिएच० मा १० र सुन्दरगढ जिल्ला मुख्यालय अस्पतालमा चार जनाको मृत्यु भएको थियो । “आरजिएच पुग्दासम्म आठ जनाको मृत्यु भइसकेको थियो, बाँकीको त्यहाँ उपचारका क्रममा मृत्यु भयो । आरजिएचका अधिकारीहरूले शव परीक्षणपछि मृत्युको वास्तविक कारण आज पत्ता लगाउने छन्,” एआइआरले भनेको छ । उडिसाले तीव्र गर्मीको लहर अनुभव गरिरहेको छ । राज्यका प्रमुख भागहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । झारसुगुडा राज्यको सबैभन्दा तातो ठाउँ थियो । बिहीबार त्यहाँ अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस रहेको प्रतिवेदनले देखाएको छ । अधिकारीहरूले सर्वसाधारणलाई गर्मीसम्बन्धी रोगहरूको उपचारका लागि अस्पतालहरूमा भर्ना गरिएको बताएका छन् । भारतको मौसम विभागले सर्वसाधारणलाई गर्मीको जोखिमबाट बच्न, चिसो ठाउँमा बस्न र पर्याप्त पानी पिएर हाइड्रेटेड रहन सुझाव दिएको सिन्ह्वाले जनाएको छ । त्यसैगरी बिहारको औरङ्गाबाद जिल्लाको एक अस्पतालमा गर्मीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यसअघि १२ जना पुगेको बिहारको औरङ्गाबादमा तातो लहरका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म १७ जना पुगेको छ । राज्यका अन्य जिल्लाजस्तै औरङ्गाबाद सहर पनि रेकर्ड तोड तापक्रमका साथ अभूतपूर्व गर्मीको लहरसँग लडिरहेको छ । उत्तरपश्चिम र मध्य भारतका केही भागमा चरम तापक्रम जारी रहँदा गर्मीको लहरले मानिसहरूको दैनिक जीवनमा बाधा पुर्‍याइरहेको छ । बिहारमा २४ जनाले ज्यान गुमाएका छन् । राज्यले तीव्र गर्मीको लहरको अवस्था अनुभव गरेको छ । त्यहाँ तापक्रम ४४ डिग्री सेल्सियसभन्दा बढी छ । बिहीबार पनि कैमुर जिल्लामा चुनावी काममा खटिएका एक कर्मचारीसहित चार जनाको मृत्यु भएको बताइएको छ । बिहारको भोजपुर जिल्लाको आराहमा पनि अत्यधिक गर्मीका कारण तीन जनाको मृत्यु भएको एएनआईले उल्लेख गरेको छ । राज्य सरकारले सबै निजी र सरकारी विद्यालय, कोचिङ संस्थान र आँगनवाडी केन्द्रहरूलाई जुन ८ सम्म बन्द गर्न आदेश दिएको छ । गर्मीका कारण दर्जनौँ विद्यार्थी बेहोस भएपछि यस्तो निर्णय गरिएको हो ।

काठमाडौं:       हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उहाँको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित उहाँका विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो । उहाँको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्त्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो । इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ । अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि राईसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ । राजधानी तेहरानमा बुधबार दिवङ्गत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जलि दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् । बुधबार तेहरानमा भएको श्रद्धाञ्जलि सभामा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दुर्घटनामा ज्यान गुमाएका राष्ट्रपति रायसी र अन्य आठ जनाको कफिनअगाडि घुँडा टेकेर उनीहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए । रासस/एएफपी