काठमाडौं:   एयर इन्डियाको विमान दुर्घटनामा परेसँगै अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। एयरपोर्टका प्रवक्ताका अनुसार अहमाबादबाट लन्डनका लागि उडान भरेको एआई १७१ कलसाइन भएको जहाज दुर्घटनामा परेको ...

काठमाडौं:   पछिल्लो समय विश्यव्यापी रूपमा मङ्कीपक्सको सङक्रमणका घटना पुष्टि भइरहेका छन् ।       विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले प्रभावित देशहरूलाई मङ्कीपक्स प्रकोपको सामना गर्न मिलेर काम गर्न आग्रह गर्दै प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान गर्नुभएको छ       उहाँले सामाजिक सञ्जाल एक्समार्फत मङ्कीपक्स भाइरसको सङ्क्रमणसँग लड्नका लागि विश्वव्यापी निगरानी, डाटा साझेदारी र सहकार्य बढाउनुपर्ने कुरामा जोड दिनुभयो       अल जजिराले पछिल्लो समय स्विडेनमा पुष्टि भएको मङ्कीपक्सको पहिलो केसबाट यो नजिकको सम्पर्कबाट फैलिने अधिक खतरनाक संस्करण भएको बताएको छ । योसँगै स्विडेन सरकारले बिहीबार अफ्रिकाबाहिर यो भेरिएन्टको पहिलो केस पहिचान भएको जनाएको छ ।       स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री ज्याकब फोर्समेडले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “स्विडेनमा हामीसँग अधिक गम्भीर प्रकारको क्लेड १ नामको एमपक्स (मङ्कीपक्स) पुष्टि भएको छ ।”      डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।       हाल साउदी अरेबियाबाट फर्केका एक व्यक्तिमा भाइरसको पुष्टि भएपछि पाकिस्तानमा पनि पहिलो मङ्कीपक्सको घटना पुष्टि गरेको एआरवाई न्यूजले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।      एआरवाई न्यूजका अनुसार पेशावरको खैबर मेडिकल विश्वविद्यालयले सङक्रमणको पुष्टि गरेको हो ।

काठमाडौं:    जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् । जापानको राजधानी टोकियोबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको अम्पिल आँधीले उत्तरतर्फ २१६ किलोमिटर प्रतिघण्टाको गति लिएको जापानी मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ ।  आँधी उत्तरबाट पूर्वतर्फ होन्शु तटसम्म पुग्ने र करिब चार करोड मानिसको बसोबास रहेको टोकियो क्षेत्रलाई घुमेर शनिबारदेखि प्रशान्त महासागरमा फर्किने अनुमान गरिएको छ । जेएमएले आँधीको समयलाई ‘धेरै कडा’ मौसमको रूपमा मूल्याङ्कन गरेको छ । यसलाई ‘भयानक आँधी’ को उच्चतम श्रेणीभन्दा एक डिग्री तल अर्थात् अधिकतम हावाको गति १९५ किलोमिटर प्रति घण्टाको दर रहेको उल्लेख गरेको छ ।  जेएनएले सामाजिक सञ्जालमार्फत ‘आँधीबेहरी, उच्च छाल, पहिरो र बाढीका लागि उच्च सतर्कता अपनाउन’ चेतावनी दिएको छ । अमेरिकी सेनाको ज्वाइन्ट टाइफून वार्निङ सेन्टरले राजधानीको पूर्वमा रहेको तटीय चिबा क्षेत्रमा अपराह्न ३ बजेसम्म अत्यधिक हावाहुरी चल्ने अनुमान गरेको छ । आँधीका कारण टोकियोको छिमेकी प्रान्त चिबाका चार हजारभन्दा बढी घरधुरीमा शुक्रबार बिहानसम्म विद्युत् आपूर्ति बन्द भएको युटिलिटी अपरेटरले जनाएको छ । निप्पोन एयरले शुक्रबार सबै ३३५ वटा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ र यसका कारण ७२ हजार यात्रुहरू प्रभावित भएका छन् । जापान एयरलाइन्सले हालसम्म ३६१ उडान रद्द गरेको र यसका कारण ५७ हजार ग्राहक मारमा परेका जनाएको छ ।  टोकियो र नागोयाबीचको व्यस्त क्षेत्रसहित जापानको बुलेट ट्रेन सेवाको सञ्जालका प्रमुख भागहरू पनि शुक्रबार बन्द हुने छन् भने टोकियो डिज्निल्यान्डका सञ्चालकले पार्क दिउँसो ३ बजेदेखि बन्द हुने बताएका छन् ।

काठमाडौं:     थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।  गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ । फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो ।  पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यसपहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् ।  थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उहाँ सबैभन्दा कान्छो नेता हुनुहुन्छ ।  राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाईपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो ।  पेटोङ्टार्न थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री बन्नुभएको छ ।  सेना, राजावादी दलहरू र टेलिकम टाइकून तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री स्रेथाको बहिर्गमन भएको थियो ।  संसदको तेस्रो ठूलो दल भुमजैथाईले शुक्रबारको मतदानमा फेउ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको छ । सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि पाएटोङ्टार्नले होटेल क्षेत्रको व्यावसाय हेर्दै आउनुभएको थियो र गत वर्षको आम चुनावको दौडान उहाँ चुनावी अभियानमा लगभग निरन्तर उपस्थित रहनुभएको थियो । 

काठमाडौं:     सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउने बताएका छन् । उक्त क्रुर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रीत गरेको छ ।           पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया व्यक्तिको रगतले लतपतिएको र क्रुर शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।      नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले शुक्रबार भन्नुभयो, “हामीले हाम्रा सहकर्मीलाई न्यायको माग गर्न विरोध प्रदर्शनलाई तीव्रता दिइरहेका छौँ ।”      धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् ।       हत्याको निन्दा गर्नका लागि हजारौँले बुधबार रातभर कोलकाताको सडकहरूमा जुलुस निकाले र मध्यरातमा भारतको स्वतन्त्रता दिवसको सुरुआतका साथ मैनबत्तीको उज्यालोमा जुलुस निकाले ।      इन्डियन मेडिकल एसोसिएसनले निजी अस्पतालहरूमा सबै अनावश्यक र चिकित्सा प्रक्रियाहरू निलम्बन गर्दै शनिबार २४ घन्टाका लागि ‘देशव्यापी सेवाहरू बन्द गर्न’ आह्वान गरेको छ ।       शिक्षण अस्पतालको सेमिनार हलमा हत्या गरिएकी चिकित्सक फेला परेको र उनी लामो सिफ्टका क्रममा केही समयका लागि आराम गर्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।      भारतीय प्रसारक एनडिटिभीका अनुसार शव परीक्षणले यौन दुर्व्यवहार भएको पुष्टि गरेको छ । अदालतमा निवेदनमा पीडितका बुबाआमाले आफ्नी छोरीमाथि सामूहिक बलात्कार भएको आशङ्का गरेका छन् ।  प्रहरीले अस्पतालमा व्यस्त लाइनमा सहयोगीको काम गर्ने एक व्यक्तिलाई हिरासतमा लिएको छ । राज्य सरकारका अधिकारीहरूमाथि यो विषयलाई दुरुपयोग गरेको आरोप लगाइएको छ ।       भारतमा महिलाविरुद्ध यौन हिंसा व्यापक समस्या हो । एक अर्ब ४० करोड जनसङ्ख्या भएको मुलुकमा सन् २०२२ मा प्रतिदिन औसत करिब ९० बलात्कारको घटना रिपोर्ट गरिएको छ ।       धेरैका लागि आक्रमणको विभत्स प्रकृतिले सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको भयानक सामूहिक बलात्कार र हत्यासँग तुलना गरेको छ ।       ती महिला महिलाविरुद्ध यौन हिंसाको सामना गर्न सामाजिक रूपमा रूढिवादी मुलुकको असफलताको प्रतीक बनिन् । उनको मृत्युपछि दिल्ली र अन्य स्थानमा ठूलो मात्रामा कहिलेकाहीँ हिंसात्मक प्रदर्शनहरू भए ।       दबाबमा सरकारले बलात्कारीहरूका लागि कठोर सजाय र बारम्बार अपराध गर्नेहरूका लागि मृत्युदण्डको व्यवस्था गर्यो ।       धेरै नयाँ यौन अपराध पनि सुरु भए । यसमा पछ्याउने पनि सामेल छ । साथै बलात्कारको उजुरी दर्ता गर्न अस्वीकार गर्ने अधिकारीहरूलाई अब जेल सजाय हुनसक्छ ।        प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार महिलाविरुद्ध ‘राक्षसी’ कृत्य गर्नेहरूलाई तत्काल सजाय दिन माग गर्नुभयो । “हाम्रा आमा र दिदीबहिनीमाथि भएको अत्याचारप्रति आक्रोश छ”, उहाँले भन्नुभयो, “महिलाविरुद्धका अपराधको शीघ्र छानबिन हुनुपर्छ, महिलाविरुद्धको राक्षसी व्यवहारलाई कडा र तत्काल सजाय दिनुपर्छ ।”      चिकित्सकहरूले स्वास्थ्यकर्मीहरूलाई हिंसाबाट बचाउन केन्द्रीय संरक्षण ऐन, विधेयक लागु गर्न माग गरेका छन् । 

भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् ।   बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो ।   घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनु भएको छ ।   भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।   जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले “जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताउनुभएको छ ।   उहाँहरूका अनुसार शवहरू पोस्टमार्टमका लागि पठाइँदै छ ।   यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुख: व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखद: घटना घट्न पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

काठमाडौं:   पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ ।   दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।   पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदकतालिकामा चीनलाई पछि पारेको हो ।   रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रामन्सलाई ६७-६६ ले पराजित गरेको थियो ।   अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।   अमेरिकाले ४० स्वर्ण  ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो ।   यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो ।   अ​र्को एसियाली राष्ट्र जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो ।   अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो ।   पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।

बङ्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधान न्यायाधीशको राजिनामापछि नियुक्त भएका नवनियुक्त प्रधानन्याधीश सैयद रेफात अहमदले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।   विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेको अघिल्लो सत्तासँग जोडिएको ठानिएको पुरानो पहरेदारलाई प्रतिस्थापन गर्ने नयाँ नियुक्तिको यो पछिल्लो शृंखला हो ।   राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उच्च अदालतका वरिष्ठतम न्यायाधीश अहमदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपतिका प्रेस सचिव शिप्लु जमानले जानकारी दिनुभयो ।   जमानले भन्नुभयो, “उहाँ बङ्गलादेशको २५ औं प्रधान न्यायाधीश बन्नुभएको छ ।”   अहमदले ढाका विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको टफ्ट्स विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो ।   ढाकाको सडकमा प्रदर्शनकारीको सहभागिता बढेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकप्टरबाट छिमेकी मुलुक भारत तर्फ भाग्नुभएको थियो ।   हसिनाको सरकारमाथि १५ वर्षको शासनकालमा उहाँका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

काठमाडौं:     जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको क्युशु रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । यद्यपि भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन । यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो ।

काठमाडौं:     बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराउनुभएको छ ।  प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उहाँले भन्नुभयो । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नुहुनेछ वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उहाँले केही बताउनुभएको छैन ।  बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ ।  आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।