नयाँ दिल्ली: भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदीरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको बताउनुभएको छ । उहाँका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छभने आठ जनाविरुद्ध जायरी दर्ता गरिएको छ । मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उहाँका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन् । विरामीले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक विरामीका आफन्तले बताए । Rss
काठमाडौं: भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको अकाश एयरको विमानलाई ‘सुरक्षा सतर्कता’ प्राप्त भएको र ‘सावधानी’ का रूपमा विमानलाई दिल्ली फर्कन आदेश दिइएको थियो । विमानस्थलको आपतकालीन टोलीले विमानलाई निगरानी गरेको र क्याप्टेनले दिल्लीमा सुरक्षित अवतरणका लागि आवश्यक सबै आपतकालीन प्रक्रियाको पालना गरेको आकाश एयरले जनाएको छ । विमानमा तीन शिशुसहित १८४ जना सवार रहेको एयरलाइन्सले जनाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । स्थानीय सञ्चारमाध्यम र एयरलाइन्सले यस हप्ता कम्तीमा पनि छ वटा यस्ता चेतावनी आएको जनाएका छन् । मङ्गलबार पनि एयर इन्डिया एक्सप्रेसको विमानमा बम हुन सक्ने इमेलमार्फत चेतावनी दिएपछि सिङ्गापुरको लडाकु विमानले एयर इन्डिया एक्सप्रेसको विमानलाई सुरक्षा प्रदान गरेको थियो । मङ्गलबार राति चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गर्नुअघि दुई वटा एफ–१५ जेट विमानलाई ‘जनघनत्व भएको स्थानबाट टाढा’ सुरक्षा प्रदान गर्न तैनाथ गरिएको थियो । एयर इन्डियाले नयाँ दिल्लीबाट शिकागोका लागि उडेको आफ्नो एउटा विमानलाई क्यानडामा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । त्यो विमान पनि सकुशल अवतरण भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार साउदी अरबको जेद्दाह र ओमानको मस्कटका लागि उडान भर्ने दुई उडानका बारेमा भारतको कम लागतको अपरेटर इन्डिगोलाई पनि यसै साता यस्तै हल्ला प्राप्त भएको थियो ।
काठमाडौं: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरेको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ । इजरायली सैन्य आदेशको केही समयपछि लेवनानको राजधानीको हारेट ह्रीक क्षेत्रका भवनहरूको बीचबाट कालो धुवाँ उडिरहेको देखिएको थियो । बेरुतमा पछिल्लो समयमा भएको विष्फोटको आलोचना गर्दै र प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पुरÞ्याउन माग गर्दै लेबनान र गाजामा इजरायलको आचरणमाथि अमेरिकाले दबाब बढाएको समयमा नेतान्याहुको हेजबुल्लाहसँग लडाइँ जारी राख्ने प्रतिवद्धता सार्वजनिक भएको हो । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको कुराकानीमा नेतान्याहूले म्याक्रोँसँग ‘एकपक्षीय युद्धविरामको अर्थ नहुने बताउनुभएको छ । लेबनानको सुरक्षा स्थिति परिवर्तन नगरी पहिलेकै अवस्थामा फिर्ता हुन सम्भव नहुने उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । नेतान्याहु र इजरायली सेनाले लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र ९बफर जोन० हुनुपर्ने विषयमा जोड दिएका छन् । “प्रधानमन्त्री नेतान्याहूले हिजबुल्लाहलाई पुनः हतियार बोक्न र सङ्गठन गर्नबाट नरोक्ने कुनै पनि व्यवस्थापनमा इजरायल सहमत नहुने र लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) निर्माण गर्नुपर्ने अडान म्याक्रोँसँग राख्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ । एक टेलिभिजन सम्बोधनमा हिजबुल्लाहका उपनेता नईम कासिमले इजरायलमा आफ्नो क्षेप्यास्त्र आक्रमणको दायरा विस्तार गर्ने धम्की दिँदै युद्धविराम एकमात्र समाधान भएको बताउनुृभएको थियो । “इजरायली शत्रुले सम्पूर्ण लेबनानलाई निशाना बनाएकाले रक्षात्मक स्थितिबाट इजरायलको कुनै पनि स्थानलाई लक्षित गर्ने अधिकार लेवनानको रहेको उहाँले बताउनुभएको छ । बुधबार बिहान इजरायली सेनाले देशको उत्तरमा लेबनानबाट करिब ५० वटा क्षेप्यास्त्र प्रहार गरिएको तर कुनै हताहत नभएको जनाएको छ । इरान समर्थित हेजबुल्लाहले सफेड सहरमा “मिसाइलको प्रक्षेपण गरेको जनाएको छ । इजरायली सेनाले मङ्गलबार बेका उपत्यका लगायत दक्षिणी र पूर्वी लेबनानका धेरै क्षेत्रमा बम प्रहार गरेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । सेनाले दक्षिण लेबनानमा तिन हिजबुल्लाह लडाकुहरूलाई पक्राउ गरेको बताएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार भएको आक्रमणमा नौ जनाको मृत्यु भएको तथा पूर्वमा तीन बालबालिका सहित पाँच जनाको मृत्यु भएको जनाएको छ । गत अक्टोबर–१० मा लेबनानमा इजरायली हवाई आक्रमणको बारेमा सोधिएको प्रश्नमा अमेरिकी विदेश विभागले खुला आलोचना गरेको थियो । आइतबार इजरायली सरकारलाई पठाएको पत्रमा, सचिव एन्टोनी ब्लिन्केन र रक्षा सचिव लोयड अस्टिनले गाजामा प्यालेस्टिनीलाई थप मानवीय सहायता नदिई अमेरिकाले हतियार आपूर्ति रोक्न सक्ने चेतावनी दिएका छन् । भोकमरीले ग्रस्त गाजामा खाना, चिकित्सा आपूर्ति र आश्रयको आवश्यकताको बाबजुद, राष्ट्रसङ्घको बाल निकाय ९युनिसेफ०का प्रवक्ताले गत वर्षको अक्टोबरमा इजरायलको आक्रमण सुरु भएदेखि सहायताले सबैभन्दा कडा प्रतिबन्धको सामना गरिरहेको बताउनु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायली अभियानले अधिकांश नागरिकसहित ४२ हजार ३४४ जनाको ज्यान लिएको छ । इजरायलले सेप्टेम्बर २३ देखि लेबनानमा हिजबुल्लाहविरुद्ध आफ्नो हवाई अभियान बढाएपछि लडाँकु समुहलाई उत्तरी सीमाबाट पछाडि धकेल्ने उद्देश्यले एक हप्तापछि स्थल आक्रमण सुरु गरेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत महिना इजरायलले बम विस्फोट बढाएपछि लेबनानमा कम्तिमा एक हजार ३५६ जनाको मृत्यु भएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्अनुसार वर्षौँदेखि आर्थिक सङ्कट झेलिरहेको लेबनानमा युद्धले कम्तीमा छ लाख ९० हजार मानिसहरु विस्थापित भएका छन् । आगामी अक्टोबर १ मा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानलाई पनि जवाफ कसरी दिने भन्ने कुरामा पनि इजरायलले योजना बनाइरहेको छ। नेतान्याहुको कार्यालयले इरानविरूद्ध जवाफी कारबाही कसरी गर्ने जनाउदै अमेरिकाको राय सुन्ने तर आफ्नो राष्ट्रिय हितको आधारमा अन्तिम निर्णय गर्ने जनाएको छ । इजरायलको शीर्ष हतियार आपूर्तिकर्ता अमेरिकी सरकारले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न निर्देशन दिएको छ ।
इजरायली सेनाले गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आक्रमणमा गर्दा कम्तिमा १७ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार बताएको छ । “नागरिक सुरक्षा टोलीले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविरमा इजरायली सैन्य विमानबाट क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु भएका अब्दुल हादी परिवारको तीन तले घरबाट बालबालिकासहित १७ जनाको शव निकालेको छ भने अन्य घाइतेहरुको उद्धार गरेको छ“, विभागका प्रवक्ता महमुद बासलले एक विज्ञप्तिमा बताउनुभयो । बसालले मृतकको शव र अन्य घाइतेलाई नुसिरात शिविरको अल–अवदा अस्पताल र देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा लगिएको बताउनुभएको छ । गाजाको मध्य र उत्तरी भागमा मङ्गलबार बिहानदेखि थुप्रै हवाई आक्रमणहरू भएको बासलले बताउनुभएको थियो । प्रत्यक्षदर्शी एवं उद्धारकर्ताले जबलियामा इजरायली सैन्य कारबाही जारी रहेको बताएका छन् । पछिल्लो दिनमा इजरायली सेनाले जबलियामा गरेको हवाई आक्रमणमा लगभग २० जनाको मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको थियो । सेनाले यस क्षेत्रमा रहेको हतियार भण्डारण सुविधा पनि ध्वस्त पारेको छ ।
राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित एक अन्तरवार्तामा उहाँसँग ग्लक अर्ध–स्चालित पेस्तोल रहेको खुलासा गर्नुभएको छ । ‘निश्चय नै’ उहाँले यसलाई सुटिङ रेन्जमा चलाएको बताउनुभयो । अमेरिकी उपराष्ट्रपतिको हतियार रोजाइबारे अटकलबाजी चलिरहँदा उहाँले हालै टेलिभिजन स्टार ओप्रा विन्फ्रेलाई आफूसँग बन्दुक रहेको र आफ्नो घरमा कोही चोर पसेमा गोली हान्ने बताउनुभएको थियो । “मसँग एउटा ग्लक धेरै समयदेखि छ”, प्राइमटाइम सिबिएस सो ६० मिनेटमा अन्तरवार्ता दिने क्रममा कस्तो किसिमको बन्दुक छ भनेर सोधिएको प्रश्नमा पूर्वअभियोजक एवं क्यालिफोर्नियाकी पूर्वमहानायाधिवक्ता ह्यारिसले भन्नुभयो, “मेरो पृष्ठभूमि कानून प्रवर्तनमा छ र त्यसैले त्यहाँ तपाईँको जवाफ छ ।” अन्तरवार्ताकार बिल ह्विटाकरले त्यसपछि उहाँलाई कहिल्यै ग्लक चलाउनुभएको छ भनेर सोध्नुभयो । उहाँले हाँस्दै जवाफ दिनुभयो, “निश्चय नै मैले सुटिङ रेन्जमा चलाएको छु ।” अस्ट्रियाली निर्माता ग्लकले अमेरिकाको सबैभन्दा बढी बिक्री हुने ह्यान्डगनहरूमध्ये एक बनाउँछ । प्रहरीले व्यापक रूपमा प्रयोग गर्ने ग्लकले आफ्नो उपस्थितिका कारण चलचित्र र हिप–हप संस्कृतिमा लोकप्रियता पाएको छ । ह्यारिसको डेमोक्रेटिक पार्टीले नियमित रूपमा सशस्त्र अपराध र ठूलो मात्रामा गोलीकाण्डले प्रभावित अमेरिकामा बन्दुकको पहुँच कटौती गर्ने कुरामा जोड दिइरहेका बेला अहिलेसम्म ह्यारिसले आफूसँग बन्दुक रहेको कुरा बिरलै उल्लेख गर्नुभएको थियो । यद्यपि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको कडा निर्वाचनमा ५९ वर्षीया डेमोक्रेट ह्यारिसले आफ्नो बन्दुकधारकको योग्यता देखाउन थाल्नुभएको छ । ह्यारिसले अमेरिकी संविधानको दोस्रो संशोधनको उल्लङ्घन गर्दै अमेरिकीहरूको बन्दुक जफत गर्न चाहनुभएको ट्रम्पले बारम्बार दाबी गर्दै आउनुभएको छ । गत महिना भएको उहाँहरूबीचको एउटा मात्र टेलिभिजन बहसमा पनि ट्रम्पले यो कुरा दोहोर्याउनुभएको थियो । आफू र आफ्नो उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज दुवै बन्दुकधारक रहेको उल्लेख गर्दै ह्यारिसले उक्त आरोपलाई जोडदार रूपमा अस्वीकार गर्नुभयो । “म बन्दुक मालिक हूँ”, उहाँले सेप्टेम्बरमा विन्फ्रेसँग हाँस्दै भन्नुभयो, “यदि कोही मेरो घरमा प्रवेश गर्छ भने उसलाई गोली लाग्नेछ ।” आप्रवासन र अर्थतन्त्र जस्ता संवेदनशील विषयहरूमा सावधानीपूर्वक कठिन प्रश्नहरूको सामना गर्नुहुने ह्यारिसको अन्तरवार्तामा ग्लक खुलासा सबैभन्दा आकर्षक विषय थियो ।
काठमाडौं: राष्ट्रपति जो बाइडेनले शुक्रबार नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताउनुभएको छ । सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यो टिप्पणी गर्नुभएको हो । ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उहाँका समर्थकहरुले राजधानीमा तोडफोड गरेका थिए । “म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन “, बाइडेनले चुनावको बारेमा छलफल गर्दा सञ्चारकर्मीलाई बताउनुभयो । “ट्रम्पले अन्तिम पटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरु निकै खतरनाक थिए।“ रिपब्लिकनको पराजयपछि उहाँका सयौँ समर्थकहरुले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग लगाइएको थियो।
नयाँदिल्ली: पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६:४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताउनु भएको छ । उहाँले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गर्नु भएको छ । उहाँले दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताउनु भएको छ । हेलिकप्टर विपक्षी राष्ट्रवादी काङग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ । दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्देपी स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको रिर्पोट गरेका छन् ।
काठमाडौं: इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ । इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ । सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा हाइपरसोनिक गतिमा यात्रा गर्न सक्षम छ । तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताउनुभएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण “ठुलो गल्ती” भएको बताउनुभएको छ । रिभोलुसनरी गार्ड्सले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।
अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ । उद्धारकर्ताले शनिबार विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको खोजी प्रयास जारी राखेका छन् । चौथो श्रेणीको आँधीको रूपमा बिहीबार फ्लोरिडामा अवतरण गरेको हेलेन बिस्तारै निष्क्रिय हुँदै उत्तरतर्फ बढेको थियो । अलाबामा, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना र टेनेसी गरी छ वटा राज्यमा सङ्घीय आपतकालीन अवस्था घोषणा गरिएको छ र उद्धारका लागि सङ्घीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का ८०० भन्दा बढी कर्मचारीहरू तैनाथ गरिएको छ । हाल ‘उत्तर–उष्णकटिबन्धीय चक्रवात’ को रूपमा वर्गीकृत गरिएको आँधी ओहायो उपत्यका र मध्य एपलाचियनलाई आइतबारसम्म रहने अपेक्षा गरिएको नेशनल शुरिकेन सेन्टरले जनाएको छ । आँधीजन्य विपत्का कारण दक्षिण क्यारोलिनामा कम्तिमा २४, जर्जियामा १७, फ्लोरिडामा ११, उत्तरी क्यारोलिनामा १० र भर्जिनियामा एक जनाको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएको छ । मौसम पूर्वानुमानसम्बन्धी राष्ट्रिय निकायले ‘विगत दुई दिनदेखि आएको विनाशकारी बाढीपछि आज स्थितिमा सुधार हुने जानकारी गराएको छ । तर बिजुली कटौती लामो समयसम्म हुनसक्ने चेतावनी दिएको छ । आँधीको प्रभावले दक्षिणपूर्वी फ्लोरिडादेखि मिडवेस्ट इन्डियानासम्म १० राज्यमा २६ लाख मानिसहरू विद्युत्को अभावमा अध्यारोमा बसिरहेका छन् ।