काठमाडौं: विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए)ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ। सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो । सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७।५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो । विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो
काठमाडौं: बङ्गलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन् । मालिकहरूले व्यवसाय उकालो लागेको बताइरहँदा निराश श्रमिकहरू भन्छन् कि कडा परिश्रमपछि प्राप्त गरेको छुटले उनीहरूको परिस्थितिमा परिवर्तन गर्न खासै केही गरेको छैन, र जीवन पहिलेजस्तै कठिन छ। आफ्नो पूरा नाम प्रयोग गर्दा आफ्नो जागिर नै धरापमा पर्ने बताउँदै गार्मेन्टमा काम गर्ने २४ वर्षीया खातुनले भन्नुभयो, “अहिले पनि पहिलेजस्तै शोषण छ । उल्लेख्य केही भएको छैन ।” विश्वकै दोस्रो ठूलो गार्मेन्ट उत्पादक मुलुकले महिनौँ लामो हिंसाका कारण कम्पनीको उत्पादन पटक–पटक रोकिएको थियो । केही महिना यता देशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । राम्रो सुविधा र बढी तलबको माग गर्दै गार्मेन्ट फ्याक्ट्रीमा प्रदर्शन जारी छ । बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)ले अक्टोबरमा ४० करोड अमेरिकी डलर घाटा व्यहोरेको जनाएको थियो । यस्तो कठिन अवस्थामा श्रमिकका सबै मागलाई सम्बोधन गर्न नसकिने भन्दै पाँच प्रतिशत ज्याला बढाउने सहमति सरकारसँग गरेको थियो । श्रमिक आन्दोलनका कारण सयौँ कारखानाहरू बन्द भएका छन् र दशौं हजारले रोजगारी गुमाएका छन् । गार्मेन्टलाई चाहिने दक्ष जनशक्ति आकर्षक आम्दानीको लोभमा खाडी मुलुक तथा अन्य विकशित मुलुकतर्फ पलायन हुने क्रम जारी छ । तर सेप्टेम्बरमा पाँच प्रतिशत तलब वृद्धि गर्ने सहमति भएपछि उद्योग पुनरुत्थानका लागि कतिपय श्रमिक संघ तथा संगठनले कामलाई सञ्चालन गर्न व्यवसायीलाई सहयोग गर्ने बताएपनि अझै कतिपय संगठन आन्दोलित नै छन् ।
काठमाडौं: अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् । डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार ५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफु मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले सक्दो प्रयास गरिरहेका छौं तर हामीसँग लस एन्जेलसका सबै विभागहरूमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रकहरू छैनन् ।”
नयाँ दिल्ली: भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन्। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेङ्कटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेश द्वारमा टोकन लिन ठूलो भीड जम्मा भएका समय एकाएक भागदौड मच्एिको थियो । “हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा छ जना भक्तजनको ज्यान गएको छ । दिवङ्गत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,” राज्यको सत्तारुढ तेलुगु देशम पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गर्नुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्रीकोे कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनिएको छ, “यस दुःखद् घडीमा घटनामा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जलि अपृण गर्दछु, साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आपन्तजनप्रति समवेदना व्यक्त गर्दछु ।ू भारतका प्रमुख धार्मिक चाडहरूमा भीडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलहरूमा घातक दुर्घटनाहरू हुने गरेका छन्। गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दू धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो ।
काठमाडौं: चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १ सय ३० जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।
काठमाडौं: चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् । चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पको केन्द्र २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री ई देशान्तरमा रहेको बताएको छ । हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ । यसैबीच, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले मङ्गलबार तिब्बत स्वायत्त क्षेत्रको सिजाङमा भूकम्पको धक्का महसुस गरेको जनाएको छ ।
काठमाडौं: युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले शनिबार जनाएको छ । डोनेट्स्क–गोर्लोभका राजमार्गमा रूसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रूसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको समाचारमा जनाइएको छ । “गोर्लोभकामा भएको गोलाबारीपछिको दृश्याङ्कन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ। राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,” आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भन्नुभयो । डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको बताउनुभएको छ । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रूसी पत्रकारमाथि हुने आक्रमणका लागि ‘उचित समयमा प्रतिक्रिया’ दिइने बताउनुभएको छ ।
काठमाडौं: आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई)को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् । लाहोर र कराची दुवैले गम्भीर वायु प्रदूषणसँग जुझिरहेका छन् । यसले जनस्वास्थ्यका लागि ठूलो खतरा खडा गरेको छ । विशेष गरी लाहोरलाई विश्वको सबैभन्दा प्रदूषित सहरको रूपमा स्थान दिइएको छ । लाहोरको एक्युआई ३५४ छ । यसलाई बासिन्दाहरूका लागि ‘खतरनाक’ मानिन्छ । एक्सप्रेस ट्रिब्युनका अनुसार एक करोड १० लाखभन्दा बढी जनसङ्ख्या भएको यो सहर सवारी साधनको उत्सर्जन, औद्योगिक गतिविधिहरू र बाली जलाउने कार्यका कारण लामो समयदेखि खराब वायु गुणस्तरसँग जुधिरहेको छ । नतिजाको रूपमा विशेष गरी जाडो महिनाहरूमा जब धुवाँ सबैभन्दा तीव्र हुँदा धेरै बासिन्दाले दम र अन्य फोक्सोका रोगसहित बढ्दो श्वासप्रश्वास समस्याहरूको सामना गर्नुपरेको छ । गत महिनामा धुवाँका कारण १८ लाख ८६ हजार ५८६ जना बिरामी परेका छन् । तीमध्ये एक लाख २९ हजार ,२२९ ले श्वासप्रश्वासको समस्याका लागि अस्पताल उपचार खोजिरहेका छन् । यसैबीच, ६१ लाख १५३ व्यक्तिमा कार्डियोथोरेसिक अवस्थाहरू अवस्था निदान गरिएको छ । त्यसैगरी दैनिक ६९ हजार ३९९ भन्दा बढी बिरामी श्वासप्रश्वासको समस्या, छाती दुख्ने वा धुवाँको कारणले स्ट्रोक भएको रिपोर्ट गरिएको छ । रिपोर्ट अनुसार पाकिस्तानको सबैभन्दा ठूलो सहर कराची १६४ को एक्यूआई सहित सूचीमा १३औँ स्थानमा छ । यसले यो सरहलाई ‘अस्वस्थ’ श्रेणीमा राखेको छ । सहरको व्यस्त बन्दरगाह, भारी ट्राफिक र औद्योगिक क्षेत्रहरूले उच्च प्रदूषणको स्तरमा योगदान पुर्याउँछ । यसले वातावरण र जनस्वास्थ्य दुवैलाई खतरामा पारेको छ । वायु प्रदूषणको सामना गर्न निरन्तर प्रयासहरू भए पनि कराचीको हावाको गुणस्तर बिग्रँदै जाँदा बासिन्दाहरू, विशेष गरी पहिले नै स्वास्थ्य अवस्थाहरू भएका मानिसहरूलाई गम्भीर खतरा उत्पन्न गरेको छ । गैरसरकारी वातावरणीय सङ्गठन क्लाइमेट एक्सन सेन्टर ९सिएसी० ले यसअघि लाहोर र पञ्जाबका अन्य सहरमा धुवाँका साथै कराचीमा हालैको धुवाँलाई सवारी उत्सर्जनसँग जोडेको छ । मङ्गलबार कराची प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सिएसी निर्देशक यासिर हुसेनले पेट्रोल र डिजेल सवारी साधनहरूबाट उत्सर्जन यी शहरहरूमा प्रदूषणमा प्रमुख योगदानकर्ता भएका बताउनुभयो । कराचीमा ६० प्रतिशत र लाहोरमा ८० प्रतिशत प्रदूषणका लागि जिम्मेवार छ । यसैबीच जाडो याममा दादुराको प्रकोपले स्वास्थ्य विशेषज्ञहरूबीच चिन्ता बढाएको छ । विशेष गरी कुपोषित, प्रतिरक्षाविहीन वा खोप नलगाएकाका लागि नाक बग्ने, ज्वरो, खोकी, रातो आँखा र छालाको चकत्ते जस्ता लक्षणहरूद्वारा चिह्नित दादुरा कमजोर बच्चाहरूका लागि घातक हुनसक्छ । चिकित्सकहरूले यो अत्यधिक सरुवा रोग एक बच्चाबाट अर्को बच्चामा छिटो फैलने चेतावनी दिएका छन् । उनीहरूले आमाबाबुले आफ्ना बच्चाहरूलाई यस सङ्क्रामक रोगबाट जोगाउन नौ महिनादेखि डेढ वर्ष उमेरका बीचमा दादुरा विरुद्धको खोप लगाउन सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
काठमाडौं: थाइल्याण्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । खाओ सान रोड नजिकैको एम्बर होटलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा अन्य पाँच विदेशी र दुई थाई नागरिक घाइते भएको बैङ्कक महानगर प्रशासनले सोमबार जनाएको छ । बैङ्ककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै छ तले होटल रहेकोे घटनास्थलमा पुगेका थिए र तीनवटा क्रेनसहित पुगेका उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेका थिए । आगलागीको कारण खुल्न सकेको छैन । अधिकारीहरूले घटनापछि होटल बन्द गर्न र चेतावनी प्रणालीको अनुसन्धान गर्न आदेश दिएका छन् ।