हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी

काठमाडाैं | कात्तिक २, २०८१

हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ ।

 

प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ ।

 

इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ ।

 

आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।”

 

मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ ।

 

इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो ।

 

तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ । हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।

 

टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ ।

 

सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।”

 

सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्