काठमाडौं । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुदुपश्चिम समाज विजयी भएको थियो । सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैलाश भट्टले गर्नुभएको थियो । प्रथम हुने सुदूरपश्चिम टिमले आठ हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ ब्लड टिमले छ हजार पाँच सय डलर पुरस्कार पाएको छ । यसैगरी महिलातर्फ आठ टिम सहभागी भएकामा बी वाइएससी, मिनिसोटाले फाइनलमा जीत हात पारेको छ । सो टिमले फ्रेन्डसिप क्लब कोलम्बसलाई लगातार तीन सेटमा पराजित गरेको थियो । विजयी टिमले तनि हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ । दोस्रो हुने फ्रेन्डसिप क्लबले दुई हजार पाँच सय र तेस्रो हुने सर्भाभर क्लबले एक हजार डलर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदूरपश्चिमका भट्टले नै जितेको थियो भने महिलातर्फ कोलम्बसकी भीमा मैनालीले जित्नुभयो ।
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गर्नुभएको हो । भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । यसैगरी अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनको कम्प्याक्ट अपरेशन विभागका उपाध्यक्ष केमरुन अल्फोर्डसँग भेटघाट गर्नुभएको छ । उक्त भेटघाटमा नेपालमा एमसिसी परियोजना तोकिएको समयमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकाका लागि सहउपाध्यक्ष जोनाथन बु्रकलगायत एमसिसी केन्द्रीय कार्यालयका अधिकारीको सहभागिता थियो । यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उहाँका समकक्षी रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासबीच अमेरिकाको वाशिङ्टटन डिसीमा छलफल भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका गभर्नर अधिकारी र दासबीच भेटघाटको अवसरमा दुई देशको मौद्रिक विषय डिजिटाइजेशन, भुक्तानी, ट्रेड सेटलमेन्टस, सार्क फाइनान्स, रेमिटेन्सलगायतका विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाका उच्चपदस्थ अधिकारीको समेत सहभागिता थियो ।
एजेन्सीः भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच)को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् । भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रियस्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेले उक्त हेलिकोप्टरको भिडियो र फोटो फेसबुकमा सेयर गर्दै गरेका छन् । भारतीय मिडियाहरुका अनुसार यो हेलिकोप्टर बनाउने चर्चा पहिलो पटक सन् १९९९ को कारगिल युद्धपछि सुरु भएको थियो, जतिबेला भारतीय सेनाले उच्च क्षेत्रका दुर्गम क्षेत्रमा एक हलुका लडाकु हेलिकोप्टरको महसुस गरेको थियो । यस्ता छन् विशेषता यो हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड ९एचएएल०ले गरेको हो । यसमा हाल ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको छ । भविष्यमा ५५ प्रतिशत सामान स्वदेशकै प्रयोग गर्ने लक्ष्य छ । प्रचण्ड नामको यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिन्छ । यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटर (करिब १६ हजार ४०० फिट)को उचाइसम्म उडान भर्न सक्छ । यो हेलिकोप्टरलाई हरेक मौसममा २४ सै घण्टा उद्धार वा कारबाहीका लागि प्रयोग गर्न सकिन्छ । उच्च गर्मी, उच्च जाडो, उच्च स्थान, होचो भाग र अन्धकारमा पनि यो हेलिकोप्टरलाई उपयोग गर्न सकिन्छ । यस्ता थप ६ वटा हेलिकोप्टर आगामी सन् २०२३ को ३१ मार्चसम्म भारतीय वायु सेनालाई उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री श्रेष्ठले आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको उल्लेख गर्नुभयो । उहाँले उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो । नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको मन्त्री श्रेष्ठले उल्लेख गर्दै हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको उल्लखे गर्दै उहाँले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको बताउनुभएको थियो । आइकाओ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्यटनमन्त्री श्रेष्ठ यही असोज ९ गते क्यानडा जानुभएको होे । महासभामा एक सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारी सहभागी छन् । आगामी अक्टोबर ७ सम्म चल्ने महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । आइकाओको महासभामा सदस्य राष्ट्रको निर्वाचनका लागि मतदान हुनेछ । महाशाभामा एभिएशन क्षेत्रको सुधार, सुरक्षा रणनीतिलगायत विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । नेपाली प्रतिनिधिमण्डल अक्टोबर ५ मा नेपाल फकिर्ने कार्यक्रम छ ।
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ। इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करी विरुद्धको लडाइँको घोषणा गरेका छन् । बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करी विरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगको लागि आह्वान गर्दै "अन्तरराष्ट्रिय अपराधको लागि अन्तरराष्ट्रिय समाधान चाहिने" कुरा उल्लेख गरेका छन् । -एजेन्सी
काठमाडौं : ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चर्चित गीतमा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छिन् । ती बालिका मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थी भएको खुलेको छ । ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ’ मन्दानाले भनेकी छिन् । ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा ‘द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो भाइरल भइरहेको छ ।
काठमाडौं। क्यानडाको सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । जेम्स स्मिथ क्री नेसन र वेल्डनलगायत १३ वटा छुट्टाछुट्टै ठाउँमा छुरा प्रहार भएको सास्काचेवान प्रान्तका प्रहरीले जनाएको छ । चक्कु आक्रमणमा दुई जना संलग्न रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीलाई जनाएको छ । घटनामा संलग्न रहेका उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । त्यहाँका प्रहरीले उनीहरुको तस्बिर सार्वजनिक गर्दै कतै आश्रय नदिन र गाडीमा लिफ्ट पनि नदिन आग्रह गरेका छन् । आरोपित दुई जनालाई पक्राउ गर्न ठाउँठाउँमा चेकप्वाइन्ट बनाइएको छ । आक्रमणको फेरि पनि जोखिम रहेको भन्दै त्यहाँका सबै नागरिकका मोबाइलमा सावधानी अपनाउन म्यासेज गरिएको खबरमा उल्लेख छ ।
जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ । पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ । यस्तो खडेरी अमेरिकामा पनि देखिएको छ । खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ । खडेरीले टेक्सासमा डायनोसर भ्याली स्टेट पार्क भएर बग्ने एउटा नदी सुक्दा ११३ मिलियन वर्षअघि डायनोसर्सको पैतालाको छाप फेला परेको हो । उक्त छाप संसारको सबैभन्दा लामो डायनासोर ट्रयाण्कवेमध्ये एक भएको जनाइएको छ । सुक्खा मौसमले उक्त छाप देखिएको अधिकारीहरूले बताएका छन् । ‘गर्मीमा अत्यधिक खडेरीका कारण धेरै स्थानहरूमा नदी पूर्ण रूपमा सुक्दा पार्कमा ट्र्याक देखिन थालेको टेक्सास पार्क तथा बन्यजन्तु विभागकी स्ेटेफानी सालीनस बताउँछिन् । ‘सामान्य नदीको अवस्थामा यी नयाँ ट्रयाकहरू पानीभित्र देख्न सकिँदैन’, उनले भनिन् । एजेन्सी
कोलकाता: नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक स्थापनाका साथै भानुचोक घोषणाको गृहकार्य गरेको छ । कोलकातामा लामो समयदेखि बसोबास गर्ने नेपाली भाषा बोल्ने समुदायले आदिकविलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न गरेका प्रयासस्वरुप उक्त कार्य थालिएको हो । आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीको अवसरमा नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा हालै सम्पन्न कार्यक्रममा सहभागी हुनुभएका पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले आदिकवि नेपाली भाषाका अगुवा भएको बताउँदै कोलकातास्थित हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई उहाँको स्मृतिमा नामकरण गरिने घोषणा गर्नुभयो । आदिकविले रामायणको अनुवादका माध्यमबाट धार्मिक विषय, तत्कालीन नेपाली समाज चिनाउन भूमिका निर्वाह गरेको बताउँदै उहाँको पूर्णकदको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त सो अवसरमा व्यक्त गरियो । धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विसं १८७१ असार २९ गते भानुभक्तको जन्म भएको थियो । घाँसीको समाजसेवाको भावनाले कुवा बनाउने कार्ययोजनाबाट प्रभावित भानुलाई सो विषयले आदिकवि बन्न प्रेरित गरेको थियो । घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही नौलो कार्य गर्ने प्रेरणा पाएको भनाइ छ । राजा रामको आदर्शलाई जनमानसमा फैलाउने व्यक्ति पनि भाुन नै हुन् । भाषा, साहित्य, संस्कृति, धर्म, दर्शनको राम्रो अध्ययन भएकाले उनले अनुवाद गरेको रामायण अहिलेसम्म पनि नेपाली जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । उनलाई राष्ट्रिय विभूतिको सम्मानसमेत प्रदान गरिएको छ । नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको बताउँनुभयो । विगत २५ वर्षदेखि आदिकविको स्मरणमा यस क्षेत्रमा भानुको जन्मजयन्ती कार्यक्रम गर्ने गरिएको जानकारी उहाँले दिनुभयो । सो समितिले बिहानी नामक वार्षिक साहित्यिक पत्रिका २३ वर्षदेखि भानुमा समर्पित गरेर प्रकाशन गर्दै आएको छ । अयोध्याका राजा दशरथको ज्येष्ठ सन्तानका रुपमा रामको जीवनीका सबै आयामलाई लिपिबद्ध गरिएको रामायण हिन्दू धर्मावलम्बीको ठूलो कृति मानिएको छ । त्यसका संस्कृत श्लोकलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर आदिकविले सरल नेपाली भाषामा लेखेको श्लोक अहिले पनि नेपाली समाजमा लोकिप्रय छ । विभिन्न स्थानमा पढाइ हुने गुरुकुलमा यसका श्लोकको सस्वर वाचन गरिन्छ । उहाँको कविताबाट तत्कालीन सामाजिक परिवेश, सांस्कृतिक परम्परा, मूल्यमान्यतालाई अध्ययन तथा गहन विश्लेषण गर्न सकिन्छ । नोबल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको जन्म पनि कोलकाताको जोडासाँकु भन्ने ठाउँमा सन् १८६१ मे ७ मा भएको थियो । विश्वविख्यात कवि, साहित्यकार, दार्शनिकका रुपमा परिचित टैगोर एशियाकै पहिलो नोबेल पुरस्कार विजेता हुन् । उनले साहित्य, सङ्गीत र चित्रकलामा विशेष ज्ञान राख्थे । उनको काव्यरचना गीताञ्जलिका लागि सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । टैगोरको स्मरणमा पनि नेपालस्थित भारतीय दूतावासका साथै अन्य साहित्यकार र तीनका संस्थाले साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको पाइन्छ । साहित्यको प्रभावलाई कुनै पनि भूगोल तथा देशको सिमानाले खुम्चाउन सक्दैन । साहित्य, कला, सङ्गीतको शक्तिले मानवीय संवेदनालाई बुझ्ने, सिर्जनशीलता, ज्ञान, चेतना, विकास, समृद्धिका लागि प्रेरित गर्ने गर्दछ । विविधताले भरिएको नेपाली जाति समुदायको एकता, राष्ट्रिय पहिचान तथा नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेकोले नेपाली भाषा बोल्ने सबैले उहाँको सम्मान गर्नुपर्ने तिलकराम पौडेलको धारणा छ । ऊर्जा विज्ञ उहाँ नेपाली मूलको भारतीय नागरिक हुनुहुन्छ । भानुभक्तको योगदानलाई फैलाउन महत्वपूर्ण कार्य युवाकवि मोतीराम भट्टले गरेको इतिहास पाइन्छ । करिब तीन लाख नेपाली कामको सिलसिलामा कोलकातामा बसोबास गर्ने गरेको अनुमान छ । नेपाली कला, साहित्य र नृत्यको प्रवद्र्धन गर्न क्रियाशील दिलीप थापा करिब तीन दशकदेखि सोही क्षेत्रमा बसोबास गर्नुहुन्छ । नेपालीका साथै बङ्गालीलाई नृत्य सिकाउँदै आउनुभएका उहाँले नेपाली भाषीहरु विश्वका जुनसुकै स्थानमा भए पनि त्यहाँ भानुजयन्ती मनाउनुपर्नेमा जोड दिनुहुन्छ । नेपाली भाषा तथा समुदायको उन्नयनमा क्रियाशील करिब दुई दर्जन जति सङ्घ संस्था कोलकातामा छन् । भारतको आसाम, मणिपुरलगायतका नेपाली भाषाभाषीको बीचमा भानुभक्तको महिमा ठूलो रहेको पाइन्छ । दार्जिलिङमा भानुभक्तको शालिक छ । त्यहाँ भानुजयन्तीलाई पर्वकै रुपमा मनाइन्छ । बर्मा, भुटानलगायत देशमा पनि भानुजयन्ती मनाइन्छ । नेपाली, अङ्ग्रेजी, बङ्गाली र हिन्दी भाषाका ज्ञाता आशा बराल उपाध्यायले विभिन्न जाति, भाषा, साहित्य र संस्कृतिले सजिएको नेपाललाई पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको भए पनि आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत सबै नेपालीलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो । आदिकविले मानिस जन्मेपछि समग्र समाजका लागि कुनै योगदान गर्नुपर्छ, नाम कृति छाडनुपर्छ भन्ने सन्देश दिएको उहाँको भनाइ थियो ।