हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाई

काठमाडाैं | असोज १३, २०८१

हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाई

लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले आइतबार बताएको छ ।

 

इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको बताएको छ ।

 

हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी आएको छैन ।

 

साथै आक्रमण कहाँ भएको थियो भन्नेबारे पनि जानकारी भएको छैन ।

 

हालैका साताहरूमा इजरायली आक्रमणहरूमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यहरूलगायत धेरै वरिष्ठ कमान्डरहरू मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि थिए ।

 

हिजबुल्लाहलाई उसका पेजर र वाकी–टाकीहरूमा गरिएको परिष्कृत आक्रमणको लक्ष्य बनाइएको थियो । उक्त आक्रमणका लागि व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो ।

 

लेबनानाको स्वास्थ्य मन्त्रालयका अनुसार लेबनानका ठूला क्षेत्रहरूमा गरिएको इजरायली हवाई आक्रमणबाट दुई साताभन्दा कम सयममा एक सय ५६ महिला र ८७ बालबालिकासहित एक हजार ३० जनाको ज्यान गएको छ । पछिल्ला आक्रमणका कारण लेबनानमा लाखौँ मानिस आफ्नो घरबाट भाग्न बाध्य भएका छन् ।

 

वातावरणमन्त्री नासिर यासिनले करिब दुई लाख ५० हजार मानिस आश्रयस्थलहरूमा रहेको सरकारले अनुमान गरेको बताउनुभयो । त्यसको तीनदेखि चार गुणा मानिस साथीहरू वा आफन्तहरूकहाँ बसिरहेका छन् वा सडकमा शिविर बनाएर बसेका छन् ।

 

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट र मिसाइलहरू प्रहार गरेको छ तर अधिकांशलाई रोकिएको छ वा खुला क्षेत्रहरूमा खसेका छन् । यसबाट उत्तरी इजरायलमा केही हताहत र सामान्य क्षति भएको छ । काउक सन् १९८० को दशकदेखि नै हिजबुल्लाहका अनुभवी सदस्य थिए ।

 

उनले सन् २००६ मा इजरायलसँगको युद्धमा दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य कमान्डरका रूपमा सेवा गरेका थिए । उनी प्राय स्थानीय सञ्चारमाध्यममा देखा पर्थे र राजनीति तथा सुरक्षा विकासमा टिप्पणी गर्थे ।

 

साथै वरिष्ठ लडाकूहरूको अन्त्येष्टिमा श्रद्धाञ्जलि दिन्थे । अमेरिकाले सन् २०२० मा उनीविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो ।

 

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणले गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट, मिसाइल र ड्रोनहरू प्रहार गर्न थालेको थियो ।

 

हिजबुल्लाह र हमास दुवै इजरायलविरुद्ध इरान समर्थित ‘प्रतिरोधको धुरी’ का हिस्सा मान्ने सहयोगी हुन् ।

 

इजरायलले हवाई आक्रमणहरूमार्फत जवाफ दिएको छ र द्वन्द्व लगातार युद्धको सङ्घारमा पुग्दा क्षेत्रव्यापी द्वन्द्वको आशङ्का बढेको छ ।

 

इजरायलले उत्तरमा रहेका समुदायहरूबाट करिब एक वर्षअघि खाली गरिएका आफ्ना करिब ६० हजार नागरिकलाई फिर्ता ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।

 

हिजबुल्लाहले भने गाजामा युद्धविराम भएको अवस्थामा मात्र आफ्नो रकेट प्रहार रोक्ने बताएको छ । अमेरिका, कतार र इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच महिनौँको अप्रत्यक्ष वार्ताका बाबजुद अझै पनि युद्धविराम सम्भव भएको छैन ।

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्