तनहुँ: तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । धेरैजसो डेङ्गु पोजेटिभका बिरामीे आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेङ्गु सङ्क्रमण भएको छ । कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेङ्गु सङ्क्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । “मलाई पनि डेङ्गु सङ्क्रमण भयो, शरीर निकै दुख्ने रहेछ, सङ्क्रमण भएप्छि १० दिन सुत्नुप¥यो तर अहिले निको भएको छ”, उहाँले भन्नुभयो । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ । डेङ्गुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताउनुभयो । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेङ्गु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी दिनुभयो ।
बलेवाः एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताउनुभयो । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उहाँको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिदै आएको थियो । एम्बुलेन्स खरिदका लागि अस्पतालले रु ५८ लाख खर्चेको हो । अष्टे«लियामा रहेका नेपालीले रु ४८ लाख र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै रु ३२ लाख सहयोग गरेका थिए । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तारा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्थालगायतका सुविधा रहेको न्यूरेले बताउनुभयो । “अझै केही उपकरण थप्नुपर्ने छ, त्यसका लागि अस्पतालले आफ्नो स्रोत प्रयोग गर्छ”, न्यूरेले भन्नुभयो, “हामीले तत्कालै सबै व्यवस्थापन गरेर सञ्चालनमा ल्याउँछौँ ।” यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गीकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो । बिरामीको चाप हुने अस्पतालले पोखरा–काठमाडौँलगायतका सहरमा रहेका अस्पतालमा बिरामी सिफारिस गरेर पठाउँदा एम्बुलेन्सको अभाव खेप्दै आएको थियो । “मार्सल जिपलाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिएको थियो, एउटा मात्रै एम्बुलेन्स हुँदा अस्पतालले बिरामीलाई सुविधा दिन सकेको थिएन”, न्यूरेले भन्नुभयो, “अब सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले पाएको छ, यो सबैका लागि खुसीको कुरा हो ।” एम्बुलेन्स खरिदका लागि गत वैशाख महिनामा नै बोलपत्र गरिएको थियो । असारमा सम्झौता भएको भए पनि फोटोन कम्पनीको वितरकले विभिन्न कारण देखाउँदै गत आवमा एम्बुलेन्स उपलब्ध गराएको थिएन । पछिल्लो समय धवलागिरि अस्पतालमा सघन उपचारकक्ष, सुविधासम्पन्न एम्बुलेन्स, अक्सिजन प्लान्टजस्ता बिरामीसँग प्रत्यक्ष जोडिने पूर्वाधार तयार भएका छन् ।
चितवन: जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताउनुभयो । उहाँका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो । यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।
नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताउनुभयो । उक्त वडामा पहिलो चरणमा सय विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमबारबाट सुरु भएको वडाध्यक्ष मल्लले जानकारी दिनुभयो । वडा कार्यालयले निःशुल्क रु एक लाख बराबरको स्वास्थ्य बीमा गरिदिने भएको हो । स्वास्थ्य बीमा कार्डबाट बिमितले तोकिएको स्वास्थ्य संस्थाबाट उपचारसँगै एक हजार एक सय प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताउनुभयो । स्वास्थ्य बीमाबाट बिरामीले समयसमयमा सम्पूर्ण शरीरको परीक्षण गर्न सक्ने बीमा सहजकर्ता नारायणीदेवी पौडेलले बताउनुभयो । सरकारले तोकेका स्वास्थ्य संस्थाबाट बीमाको लाभ लिन सकिने पौडेलको भनाइ छ । सो वडाले चालु आर्थिक वर्ष २०७९÷८० मा स्थानीयको स्वास्थ्य बीमाका लागि रु चार लाख विनियोजन गरेको वडाध्यक्ष मल्लले बताउनुभयो । आगामी दिनमा वडाका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने योजना रहेको वडाध्यक्ष मल्ल बताउनुहुन्छ । वडामा रहेका सम्पूर्ण घरपरिवारलाई आगामी पाँच वर्षभित्र बीमा कार्यक्रममा जोडेर निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको प्रत्याभूत गराउन पहल गर्ने मल्लले बताउनुभयो । वडाको विकासका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच नभएसम्म वडावासीको जीवनस्तरको सूचकाङ्क माथि उठाउन नसकिने मल्लको भनाइ छ । उक्त वडामा छ सय १६ घरधुरी रहेका छन् । यहाँका करिब दुई सय ५० परिवारले स्वास्थ्य बीमाको लाभ लिएका छन् । वडाले सुरु गरेको विपन्न परिवारलाई स्वास्थ्य बीमा गर्ने अभियानले थप एक सय परिवार स्वास्थ्य बीमा कार्यक्रमबाट लाभान्वित हुने वडाध्यक्ष मल्लले बताउनुभयो ।
तनहुँ । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो । जिल्लामा भदौको अन्तिम सातादेखि डेङ्गुको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा ढकालले बताउनुभयो । डेङ्गुको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उहाँको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाई लगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको अधिकारीले बताउनुभयो । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेङ्गुसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन कार्यालयले अनुरोध गरेको छ । “रोग नियन्त्रण, न्यूनिकरण र रोकथामका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजौं र नष्ट गरौं भन्ने नारा सहित अभियान सञ्चालन गरिएको छ,” अधिकारीले भन्नुभयो, “लामखुट्टेको बासस्थान नष्ट पार्नु नै सबैभन्दा प्रमुख रोकथामको उपाय हो ।” एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ ।
बलेवा : बागलुङमा आमा र शिशुको मृत्युदर घटाउन धेरै कार्यक्रम सञ्चालित छन् तर पनि अझै सुरक्षित मातृत्वको लक्ष्य पूरा भएको छैन । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पनि यो अवस्था देखिएको छ । मानव विकासका सूचाङ्क राम्रो देखिए पनि गण्डकी प्रदेशमै यो समस्या छ । आर्थिक वर्ष २०७६/०७७ मा राष्ट्रियरुपमा एक सय ३७ आमाको मृत्यु भएकोमा सोही वर्ष गण्डकी प्रदेशमा नौ जनाको मात्र मृत्यु भएको थियो । आव २०७७/०७८ मा पुग्दा देशभरको सङ्ख्या घटेर एक सय आठ मा झ¥यो । गण्डकीमा १३ पुग्यो । गत आव भने देशभरको सङ्ख्या घटेर ८४ मा पुग्दा गण्डकीको मात्रै २१ पुगेको हो । यो अवस्थालाई आमा सुरक्षाको दृष्टिले गम्भीररुपमा लिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । आमा र शिशु मृत्युदर घटाउन सचेतनाका कार्यक्रममा लगानी बढाउनुपर्ने जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको भनाइ छ । “हाम्रो समाजमा आमा र शिशुको सुरक्षाको अवस्था अझै पनि जटिल छ, लगातारको प्रयासले संस्थागत प्रसूति भने बढेको छ”, उहाँले भन्नुभयो, “समयमा अस्पताल लैजाने संयन्त्र विकास गर्दा न्यूनीकरण गर्न सकिन्छ ।” हेलिकप्टरको उद्धारलाई पनि संस्थागत गरेर लैजानुपर्ने उहाँले बताउनुभयो । नियमित गर्भ परीक्षण शतप्रतिशतमा लैजान सकेमा मृत्युदर घट्ने उहाँको तर्क छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार गण्डकीमा सुरक्षित मातृत्वका सूचकाङ्क कमजोर छ । उहाँले आकस्मिक हवाई उद्धार सेवालाई संस्थागत गर्न नसक्दा पनि मातृमृत्यु बढेको बताउनुभयो । “विस्तृत स्थलगत अनुगमन गर्न सकिएको छैन, कतिपय घटना पत्रपत्रिकामा आएपछि मात्रै थाहा भएका छन्”, उहाँले भन्नुभयो, “तत्काल प्रजनन स्वास्थ्य टोली गठन गरी परिचालन गरेर यस्ता समस्या व्यवस्थापनमा ध्यान दिन्छौँ ।” पालिकाले सही तथ्याङ्कमा साथ दिनुपर्ने र मन्त्रालयसम्म सबैको चासो बढाउनुपर्ने उहाँले सुझाउनुभयो । गर्भवती भएदेखि सुत्केरी भएको ४२ दिनसम्मको मृत्युलाई मातृ मृत्युदरमा सूचीकृत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार समुदायमा हुने प्रसूतिपछि आउने समस्याले पनि मातृ मृत्युदर बढी देखिन्छ । गत वर्ष मृत्यु भएका २१ आमामध्ये १३ जना समुदायमा सुत्केरी भएका थिए । आठ अस्पतालमा सुत्केरी भएका हुन् । समुदायमा सुत्केरी भएकामध्ये छ जनाले आत्महत्या गरेको देखिएको उहाँले बताउनुभयो । “स्वास्थ्यमा समस्या आएमा, घरपरिवारबाट मानसिक समस्या थपिएमा वा अन्य कारणले मृत्युवरण गर्छन्”, उहाँले भन्नुभयो, “संस्थागत सुत्केरी गराउने, सुत्केरीअघि सुरक्षितरुपमा स्वास्थ्य संस्था नजिकै बस्न पाउने र उचित स्याहार पाउने अवस्था भएमा मृत्युदर घटाउन सकिन्छ ।” असुरक्षित गर्भपतन घटाउन सकेमा आमाको मृत्युदर घट्ने उहाँले बताउनुभयो । जथाभावी औषधि सेवनपछि जटिल भएर अस्पतालमा बिरामी आउने पद्धतिले मृत्यु बढाएको हो । गर्भपतनपछि गर्भ निरोधमा ध्यान नदिनु, स्वास्थ्य सेवा प्रदायकको सुपरिवेक्षण बिना मेडिकल एवर्सन गर्न रोक्नु ठूलो चुनौती भएको उहाँले बताउनुभयो । आमा सुरक्षाका लागि सबै निजी अस्पतालको तथ्याङ्कसमेत अद्यावधिक गर्नुपर्ने उहाँले बताउनुभयो । “निजी अस्पताललाई डाटा रिपोर्टसम्बन्धी तालिम दिएर सही तथ्याङ्क उतार्न पहल गर्दा आमा सुरक्षाको सही तथ्याङ्क आउँछ”, उहाँले भन्नुभयोे, “अन्यत्र उपचारपछि केही नलागेर सरकारी अस्पताल आएर मृत्युवरण गर्ने क्रम पनि घटाउनुपर्ने बाध्यता छ ।” त्यसका लागि जनचेतना विकास गर्ने, स्थानीय तहका स्वास्थ्य शाखा जिम्मेवार बन्ने र एकद्वार प्रणाली बनाउनुपर्ने उहाँले सुझाउनुभयो ।
चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।
महोत्तरी । मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेङ्गुको जोखिम बढेको छ । महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना संक्रमित पुष्टि भएका छन् । साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिनुभयो । “साउनमा पहिलो पटक दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या १४० पुगेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। कृष्णा महर्जनले भन्नुभयो । यो बर्दिबास अस्पतालमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या मात्रै हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालले पनि डेङ्गु परीक्षण गर्दै आएका छन् । अस्पतालमा मात्रै गत साउनमा २६ जना, भदौमा १२४ जना, असोजमा २३९ जना र कात्तिकको सात गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई जना, भदौमा २४ जना, असोजमा ९४ जना र जारी कात्तिक७ गतेसम्म २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालको भनाइ छ । चाडपर्वमा भिडभाड बढ्ने र सरसफाइमा उचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नामक लामखुट्टेको संख्या बढेकाले सङ्क्रमण फैलिएको अस्पतालको भनाइ छ । बर्दिबास विगत पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहेको क्षेत्र हो । पछिल्ला चार वर्ष न्यून संख्यामा मात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा डेङ्गुको आतङ्क नै फैलिएको थियो । २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको नगर कार्यपालिका कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ । नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको संख्या बढ्दै गएपछि बर्दिबास नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । नगरभित्रका सबै १४ वटा वडामा वडाअध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाई गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनासक औषधी छर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले बताउनुभयो ।
पोखरा : अधिकारी समाज कास्की इकाई समिति पस्र्याङले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो । पोखरा–५ पस्र्याङमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अधिकारी समाज कास्कीका जिल्ला अध्यक्ष लिलाधर अधिकारीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुरु गरिएको थियो । कार्यक्रमको सभापतित्व इकाई अध्यक्ष एवं जिल्ला महासचिव हरिश्चन्द्र अधिकारी, स्वागत मन्तव्य कोषाध्यक्ष रुद्रप्रसाद अधिकारी, अधिकारी समाज कास्कीका जिल्ला वरिष्ठ उपाध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष पूर्णभद्र अधिकारी र क्षेत्रीय रक्तसञ्चारका प्रमुख अर्जुन ज्ञवाली लगायतले सामाजिक कार्यमा अधिकारी समाज कास्की इकाई समितिको भूमिकाको प्रशंसा गरेका थिए ।