बागलुङ ः बागलुङको निसीखोला गाउँपालिकाका सबै वडामा सामुदायिक स्वास्थ्य इकाइ तथा स्वास्थ्यचौकी छन् । जटिल प्रकारको उपचार गर्न यहाँका नागरिक बुर्तिबाङ झर्न बाध्य छन् । उनीहरुले अहिलेसम्म निसीखोलामा विशेषज्ञ डाक्टरबाट उपचार गराउन पाएका छैनन् । एक दशक अगाडिसम्म जिल्लाकै सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको निसीखोला मध्यपहाडी लोकमार्गले अहिले निकै सुगम बनेको छ । तर गुणस्तरीय स्वास्थ्य सेवाका हिसाबले अझै दुर्गम छ । वर्षौंदेखि स्थानीयले निसीखोलामा अस्पतालको माग गर्दै आएका थिए । तर त्यसको सुनुवाइ भने हुन सकेको थिएन । गत वर्षदेखि यहाँ अस्पताल बनाउने प्रक्रिया अगाडि बढे पनि अहिले बल्ल निर्माण सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ झिम्पामा पालिकास्तरीय १० शैयाको अस्पताल बन्न सुरु भएको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ । “अब बिरामी भए पनि हजारौँ पैसा खर्च गरेर टाढा जान नपर्ने भयो, गाउँमै ठूला अस्पताल बन्न थालेको छ, अहिलेसम्म यस क्षेत्रका मान्छे बिरामी पर्दाबित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौँ जाने गर्थे”, स्थानीय नरबहादुर घर्ती मगरले भन्नुभयो, “यहाँ अस्पताल बन्न लागेपछि त हाम्लाई निकै खुसी लागेको छ, यस ठाउँका जनतालाई अब केही दुःख हुने छैन, उपचारको हो दुःख भएको, अब अस्पताल बन्ने भयो ।” सङ्घीय सरकारको सहयोगमा निसीखोला आधारभूत अस्पताल बन्न लागेको हो । अस्पताल आगामी २०८० पुस महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमान गरेकामा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्नेगरी जिम्मा लिएको गौतमको भनाइ छ । अस्पताल १० शैयाको हुनेछ । “अघिल्लो वर्षदेखि नै काम गर्नेगरी अस्पतालको सम्झौताको काम पूरा भएको थियो, निर्माण कम्पनीले अहिले काम गरिरहेको छ”, गौतमले भन्नुभयो, “अहिले अस्पतालको भवन निर्माणका लागि पिलर उठाउने काम भएको छ, निर्माण कम्पनीले कामलाई तीव्रता दिएको छ ।” केन्द्र सरकारले कार्य प्रगतिका आधारमा बजेट दिने गौतमको भनाइ छ । अस्पताल भवन सुविधा सम्पन्न हुने र निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गरिने जनाइएको छ । भवन दुईतले हुने छ । भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यकपर्ने मापदण्डमा उल्लेख छ । स्थानीय दुर्गबहादुर सुनारलगायतका दाताले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो । अस्पताल गाउँपालिका– ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका नागरिकलाई स्वास्थ्योपचारमा सहज हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले वर्षौंदेखि यहाँका नागरिक सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिनसक्ने बताउनुहुन्छ । अध्यक्ष घर्ती मगरले भन्नुभयो, “माग गरेको लामो समयपछि अस्पताल बन्न थालेको छ, यसको निर्माण सम्पन्नपछि यहाँका नागरिकले विशेषज्ञ डाक्टरसहितको सेवा पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।” स्वास्थ्योपचारका लागि नजिकमा अस्पताल नहुँदा विगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै अब कुनै पनि नागरिकले स्वास्थ्योपचार पाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो । अध्यक्ष घर्तीमगरले अब सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुने बताउनुहुन्छ । अध्यक्ष घर्तीमगरले अहिलेसम्म पालिकामा एउटा पनि एम्बुलेन्स नभएको भन्दै त्यसका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । चालु आर्थिक वर्षमै एम्बुलेन्स सञ्चालनका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेको उहाँको भनाइ छ । “पालिकाले एम्बुलेन्स सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको छ भने आवश्यक प्रक्रिया पनि अगाडि बढाइसकेका छौँ, सम्भव त यसै वर्ष सञ्चालनमा आउला ।”
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय २७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार सात सय ५२ जनाको पिसीआर र दुई हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा एक सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार एक सय तीन पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार नौ सय ९९, संस्थागत आइसोलेशनमा ६३ र आइसियुमा २० सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालिकोट, बझाङ र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात सय ९३, ललितपुरमा तीन सय ३७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पिसिआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा एक सय ३७ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार नौ सय ७७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय २९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ । हाल होम आइसोलेशनमा दुई हजार ६२, संस्थागत आइसोलेशनमा ६७ र आइसियुमा १८ सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा आठ सय ३१, ललितपुरमा तीन सय ५७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका ११ जिल्लामध्ये यसहप्ता कास्कीमा सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख डा. नारायण श्रेष्ठका अनुसार गण्डकीको ११ जिल्ला भन्दा कास्कीमा बढी डेङ्गुका बिरामी भेटिएको जानकारी दिए । जनवरीदेखि सेम्टेम्बर (पुसदेखि भदौ)सम्म कास्कीमा ३२ जना डेङ्गुका बिरामी भेटिएका छन् । तर हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अहिलेसम्म डेङ्गु संक्रमित नभेटिएको महाशाखा प्रमख डा. श्रेष्ठले बताए । उनका अनुसार बागलुङमा २६, गोरखामा २६, पर्वतमा २१, लमजुङमा २०, नवलपुरमा ८ म्याग्दीमा ७, स्याङ्जामा ७, जनामा डेङ्गुको संक्रमण भेटिएको हो । महाशाखाका अनुसार गण्डकी प्रदेशमा अघिल्लो हप्ता ५६ जना र यो हप्तामा २९ जनामा डेङ्गु भेटिएको हो । गत वर्ष म्याग्दीमा मात्र २ हजार १ सय ५२ जनामा डेङ्गु संक्रमण भेटिएपनि यो वर्ष सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन हुँदा म्याग्दीमा अहिले संक्रमण दर निकै कम पाइएको महाशाखा प्रमुख डा. श्रेष्ठले बताए । वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ । उच्च ज्वरो आउनु ,आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखाला, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कालो दागजस्ता लक्षण देखिने गर्दछ । • डेँगुमा के हुन्छ? -डेंगुलाई Break Bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ । • परिचय -डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ। • मुख्य)लक्षणहरु:- - अचानक उच्च ज्वरो आउनु, - आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु, - सबै शरीर दुख्नु, - घांटी बस्नु, - साना बिमिरा आउनु, शरीर चिलाउनु, - वाकवाकी लाग्नु र वान्ता आउनु, - छटपटी हुनु, - रिंगटा लाग्नु, - निद्रा नलाग्नु, - हड्डी तथा मांशपेशी निकै दुख्नु, -आँखा तथा घांटी रातो हुनु, - छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ, - ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५/७ दिनमा पोजिटिभ देखिन्छ, -१५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ । • ( विशेष) सतर्कता -ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला । - आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ । - बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ । - जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल आदि।
महोत्तरी । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् । यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको जाँच गर्दा बर्दिबासका १३, जिल्लाकै छिमेकी नगरपालिका औरही र धनुषाको मिथिला नगरपालिका क्षेत्रका एक–एक गरी १५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णा महर्जनले जानकारी दिनुभयो । यो सङ्ख्या भदौ महिनाभरिको हालसम्मको हो । यसबाहेक गत साउनमा बर्दिबासकै दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको डा महर्जनको भनाइ छ । बर्दिबास नगर क्षेत्रमा वडा नं १, २, ३ र ८ का उपचार लिन अस्पताल पुगेका बिरामीमा डेङ्गु पुष्टि भएको हो । अस्पतालको जाँचबाट डेङ्गु पुष्टि भएमध्ये तीन जनाको अवस्था गम्भीर पाइएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बर्दिबास अस्पतालले जनाएको छ । बर्दिबास नगर क्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोजमध्येसम्म बर्दिबास नगर क्षेत्रमा नै आठ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाले जनाएको छ । यसयताका वर्षमा केही–केही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही दिनभित्रै सङ्क्रमितको सङ्ख्या १७ पुगेका शाखाका प्रमुख सुरेश पासवान बताउनुभयो । पछिल्लोपटक नगर क्षेत्रमा डेङगु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखेको छ । नगरका सबै वडामा वडाध्यक्षका संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्री बताउनुभयो । डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन पनि क्षत्रीको नगरवासीसँग अपिल छ ।
बलेवा : बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिनुभयो । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उहाँको भनाइ छ । “बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ । विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताउनुभयो । गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् ।
काठमाडौं । टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उहाँका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो । “पहिलो बच्चा हुर्काउँदा पनि कान पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो”, उहाँले भन्नुभयो, “दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । दोस्रो बच्चा पनि कान पाकेर दुःख पाएँ ।” उहाँका बच्चाको कान पाक्ने समस्या लामो उपचारपछि निको भएको उहाँ बताउनुहुन्छ । “अहिले बच्चा ठूला भए, उनीहरूमा समस्या छैन”, उहाँ भन्नुहुन्छ, “अहिले पनि नुहाउँदा कानमा रुइ हालेर नुहाउने, नदी खोलामा ननुहाउने, रुघाखोकी लागेमा तुरुन्तै उपचारमा जानेजस्ता कार्य गर्छौँ ।” टीकापुरकै सुधा विकको बच्चा अहिले एक वर्षको छ । उहाँको बच्चा छ महिनाको भएदेखि बच्चाको कान पाक्ने समस्या छ । बच्चालाई रुघा लागेको समयमा बच्चाको कान पाक्छ । उपचार गरे निको हुन्छ, फेरि पाक्ने समस्याले सताएको उहाँको भनाइ छ । “बच्चा बिरामी भएका बेला निकै दुःख हुन्छ, अझ कान पाकेका बेला बच्चा कान समातेर निकै रुन्छ”, उहाँले भन्नुभयो, “सरसफाइ र स्याहारमा ध्यान दिँदादिँदै पनि बच्चालाई कान पाक्ने समस्या भयो ।” उहाँ कतिपयले दूध चुसाउँदा सुतेर खुवाउन नहुने, कानमा दूध वा पानी पसेमा पाक्छ भनेकाले आफू सतर्कता अपनाउँदा–अपनाउँदै पनि समस्या भएको बताउनुहुन्छ । “रातिको समयमा पनि स्तनपान गर्दा सचेत रहन्थे, तर पनि कहाँनेर कमजोरी भयो”, उहाँ भन्नुहुन्छ, “अहिले चिकित्सकको सल्लाहअनुसार उपचार गरिरहेकी छु ।” उहाँकी निर्मला चौधरीको बच्चालाई कान पाक्ने समस्या बल्झिएपछि लामो समय उपचार गर्नुप¥यो । बच्चाको कान पाकेर समयमै उपचार नपाउँदा उहाँको बच्चाको कानबाट पिप बग्न थालेपछि उहाँ उपचारमा आउनुभयो । “श्रीमान् घरमा हुनुहुन्थेन, बाहिर गएर उपचार गर्ने रकम थिएन”, उहाँले भन्नुभयो, “पछि बच्चाको कानबाट पिप बग्न थालेपछि समूहबाट ऋण लिएर उपचारमा गए । लामो समयसम्म बच्चालाई औषधि खुवाउनु र कानमा राख्नुपर्यो, अहिले सञ्चो भएको छ ।” बालबालिकामा विभिन्न समस्या देखिन सक्छन् । साना बालबालिका ठूला बालबालिकाका तुलनामा बढी बिरामी हुन्छन् । पाँच वर्षमुनिका बालबालिकामा कान पाक्ने समस्या बढी हुनेहुँदा समयमै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । यसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ । बच्चामा रुघाखोकी लागेपछि त्यही पाइप हुँदै कानमा सङ्क्रमण हुने भएकाले कान पाक्छ र त्यसैले दुखाइ हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर बताउनुहुन्छ । “सानो उमेरका बालबालिकालाई बढी रुघा लाग्ने भएकाले उनीहरुमा कान पाक्ने समस्या देखिन्छ”, उहाँ भन्नुहुन्छ, “बालबालिकालाई रुघा लाग्नेबित्तिकै उपचार गर्नुपर्छ । कान पाक्ने समस्या बारम्बार भयो र राम्रोसँग उपचार गरिएन भने ती बालबालिकाको कानको जालीमा प्वाल पर्नसक्छ ।” सयमै उपचार नपाए कानको जालीमा प्वाल परेपछि हरेकपटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुनसक्ने भएकाले सतर्कता आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “साना बालबालिकाले आफ्नो सरसफाइ आफैँ गर्न सक्दैनन्, यस्तो बेलामा रुघाखोकी बढी लाग्नसक्छ । रुघाखोकी लाग्नेबित्तिकै उपचार गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, कान पाकेका बच्चाको समयमै उपचार नभएमा बालबालिकाको सुनाइमा समस्या हुनसक्छ ।”
काठमाडौं । देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३० पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् ।
धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो । बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिनुभयो । सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताउनुभयो । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउनुहुन्छ ।