काठमाण्डौ: पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र एन्टिजेन गरि एक सय ९९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै तीन वर्षपछि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या शून्यमा झरेको हो । थप दुई जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ जनामा झरेको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट मात्रै १० लाख नौ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट एक लाख ५२ हजार दुई सय १५ मा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नौ लाख ८८ हजार नौ सय १६ जना कोरोना सङ्क्रमण भइ मुक्त भएका छन् ।
काठमाडौंः कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि सरकारले खोप आयात गरेको छैन । सङ्क्रमण घट्दै गएको र खोप मौज्दात नै रहेकाले सरकारले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको हो । सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा। सुरेन्द्र चौरसियाले बताउनुभयो । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउनेको सङ्ख्या कम हुनु र आवश्यक परेमा खोप मौज्दात नै रहेकाले थप खोप नल्याइएको उहाँको भनाई छ । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । अन्तिम पटक गएको भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको थियो । त्यसयता सरकारले खोप ल्याइएको छैन । अहिले प्रदेश र जिल्लाबाट पनि खोपको माग भएको छैन । ‘माग नभएपछि त्यतिकै राख्नुपर्छ भनेर हामीले खोप ल्याएका छैनौँ, उहाँले भन्नुभयो, तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।’ सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि थप मात्रा लगाउन खोप ल्याउने आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिनुभयो । नेपालमा पटक पटक गरी अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजरलगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । अझै पनि ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव ५ प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव ७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकिएको छ ।
गोरखा: गोरखाको अजिरकोट गाउँपालिकामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले पाँच शय्याको आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । “अहिले हामीकहाँ ल्याब, इसिजी, भिडियो एक्सरेलगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ”, उनले भने, “अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सुरु गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई गोरखा अस्पताल वा आँपपिपल अस्पताल पठाउनु पर्दैन, सिधै चितवन वा काठमाडौँ सिफारिस गर्ने गरिएको छ ।” गाउँमै स्वास्थ्योपचार सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको उनले जानकारी दिए। “दैनिक पाँच सयसम्म बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्”, अध्यक्ष देवकोटाले भने, “हाम्रो गाउँपालिकाबाहेक छिमेकी सिरानचोक गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिकाबाट समेत बिरामी उपचारका लागि हामीकहाँ आउन थालेका छन् ।” अध्यक्ष देवकोटाले राज्यले करोडौँ लगानी गरेका अस्पतालमा बिरामीको आकर्षण नहुने र निजी अस्पतालमा बिरामी थेगिनसक्नु हुने अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले स्वास्थ्यको बजेटमा प्राथामिकता राखेर आधारभूत स्वास्थ्य अस्पताल सञ्चालनमा ल्याएको बताए । अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्नका लागि चाप कम भएका बर्थिङ सेन्टर, आधारभूत स्वास्थ्य एकाइ, स्वास्थ्य केन्द्रलगायतबाट कर्मचारी अस्पतालमा केन्द्रित गरेको उनले जानकारी दिए । नपुग कर्मचारीका लागि गाउँपालिकाको थप स्रोतबाट समेत व्यवस्था गरेको उनको भनाइ छ । “चालू आर्थिक वर्षका लागि मात्र पालिकाले अस्पतालका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ”, अध्यक्ष देवकोटाले भने, “स्वास्थ्यलाई गुणस्तरीय र सर्वसुलभ बनाउनका लागि आवश्यक परे थप रकमको पनि व्यवस्था गर्न सकिन्छ ।” बिहान–बेलुकी बिरामी भए पीडा सहेर बस्नुपर्ने बाध्यता अब गाउँपालिकावासीमा नरहेको उनले बताए । “हेल्थपोष्ट, स्वास्थ्य एकाइ बिहान १० बजे खुल्ने ५ बजे बन्द हुन्छ”, अध्यक्ष देवकोटाले भने, “बिरामी त जतिखेर पनि हुन सकिन्छ, बिरामी भए उपचार दिने दायित्व स्थानीय सरकारको हो, त्यही जिम्मेवारीलाई बोध गरेर पालिकाभित्रै २४सै घण्टा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएका हौँ ।”
पोखरा: पोखरा महानगरपालिका वडा नं.५ को आयोजनामा भएको महिला लक्षित पाठेघरको मुख तथा स्तन क्यान्सर छनोट सम्बन्धि निशुल्क शिविरबाट ३ सय ७ जना महिलाहरु लाभान्वित भएका छन् । वडा कार्यालयको खर्चमा बुधबार भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा ५ ले सहजीकरण गरेको थियो । हरेक महिलाहरुको स्वास्थ्यमा वडाको ध्यान केन्द्रीत रहेको वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । ‘उपचारभन्दा पहिला आफ्नो स्वास्थ्यको बारेमा थाहा पाउन आवश्यक छ । रोग लाग्न भन्दा रोग लाग्न नदिनु नै हाम्रो उद्देश्य हो ।’ वडावासीलाई स्वास्थ्य सचेतना गराउन वडाले कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो । स्थानीय तह मार्फत यस्तो कार्यक्रम पोखरा महानगरमै पहिलो पटक भएको र वडा ५ बाटै शुरु गरिएको वडाध्यक्ष बरालले बताए । वडाकै बजेटबाट शिविर सञ्चालन भएको बरालले जानकारी दिए । निशुल्क स्वास्थ्य चेकजाँजबाट ३ जनाको भिआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदीले जानकारी दिए । वडावासीको हितमा हुने यस्ता कार्यक्रलाई निरन्तरता दिने प्रतिवद्धता शिविर संयोजक तथा वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले बताइन् । स्वस्थ वडाको रुपमा विकास गर्न वडा अगाडी बढिरहेको संयोजक क्षेत्रीले बताइन् । शिविरलाई स्वास्थ्य महाशाखा महानगर प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो ।
पोखरा: पोखराको गण्डकी मेडिकल कलेजमा क्याथ ल्याब स्थापना भएको छ । कलेजले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो । क्याथ ल्याव स्थापनासँगै गण्डकी मेडिकल कलेजमा हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । हृदय रोग उपचार केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार उद्घाटन गर्नुभयो । पोखरा र आसपासका मुटुका विरामीलाई पोखरामा नै उपचार सेवा दिने उद्देश्यले क्याथ ल्याव स्थापना गरेर हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याएको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार अब मुटु रोगसहित कुनैपनि उपचारका लागि काठमाडौं वा विदेश जान नपर्नेगरी जिएमसीले उपचार थालेको हो । क्याथ ल्याबबाट पोखरा र आसपासका विरामीले बेलैमा उपचार लिन सक्ने अस्पतालका ह्दय रोग उपचार केन्द्रका प्रमुख डा.मधु रोकाले बताउनुभयो ।उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई मेडिकल शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभयो । कलेजका प्राचार्य डा.रवीन्द्रप्रसाद श्रेष्ठले ३ सय बेड क्षमताबाट सुरुवातमा आएको कलेजमा हाल ५ सय ५० बेड, ८ सय कर्मचारी र ९ सय विद्यार्थी अध्यनरत रहेको जानकारी दिनुभयो । हाल अस्पतालबाट दैनिक ७ सय देखी ८ सय विरामीले सेवा लिदै आएको बताइन्छ । कलेजमा एमविविएस, विडिएस, विएसि नसिङ, विपिएस, एमएलटि, बि फार्मेसी लगाएतका शैक्षिक कार्यक्रममा पढाइ हुँदै आएको छ ।
पोखराः कास्कीको मादी गाउँपालिका २ ताङतिङमा स्थानीयलाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । पोखरा रानीपौवास्थित आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी गाउँपालिका २ को समन्वयमा हिमालय मिलनमा एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो । नागार्जुङ स्वास्थ्य चौकीका प्रमुख हरिबहादुर गुरुङले सो स्वास्थ्य शिविरमा १ सय ७३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको जानकारी दिए । उनका अनुसार शिविरमा ४७ जनाले सामान्य प्रयोगशाला परिक्षण, ६० जनाले भिडियो एक्सरे तथा इसिजी र बाँकी ४८ जनाले अन्य सेवा लिएका थिए । ‘आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी २ वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो, गुरुङले भने, ‘यसबाट स्थानीयहरु एकदमै लाभांवित हुनुभएको छ ।’ सो कार्यक्रममा बोल्दै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले शहरमुखी अस्पताल सेवालाई ग्रामीण भेगमा पुगेर शिविरको आयोजना गरेको भन्दै आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटललाई धन्यवाद व्यक्त गरे । उनले उक्त शिविरबाट स्थानीहरु लाभांवित भएको बताए । गुरुङले आगामी दिनमासमेत सामाजिक उत्तरदायित्व बहन गर्ने बताउदै विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताएका थिए । यसैगरि कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. अमृत केसीले ग्रामीण भेग तथा गाउँघरमा नियमित स्वास्थ्य जाँच नहुने भएकाले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गरेको धारणा राखेका थिए । निशुल्क स्वास्थ्य शिविरमा जटिल प्रकारको रोग कसैमा पनि नदिखिएको र शिविरमा सहभागीहरुलाई निशुल्क औषधी वितरण गरिएको मादी २ का वडा अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार उक्त शिविरमा मृगौला रोग विशेषज्ञ डा. अमृत केसी, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डा. भिम सिग्देल, पेट, छाटी तथा मुटु रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, सर्जन डा. परिवर्तन बराल र रेडियोलिष्ट डा. नवराज पौडेलले स्वास्थ्य जाँच गरेका थिए । कार्यक्रममा मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ तथा वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
पाल्पाः पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँको किटाणु भेटिएको छ । दूषित पानी, खाना वा सरसफाइ लगायतका कारण हुने आउँको समस्या बिरामीमा भेटिएको मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले जनाएका हुन् । बिहे भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी भएकाहरूको आज बुधवार पनि घरघरमै पुगेर उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ । बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ । मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्टअनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधाराको घोरबन्दाका बिहे भोजमा सहभागी झन्डै एक सय ५० जना बिरामी परेका हुन् । प्युठानबाट जन्ती आएका ४५ जनाभन्दा बढी जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालय पाल्पाले ुफुड पोइजनु को खास कारण पत्ता नलागेको र पानी जाँचको प्रक्रिया अघि बढेको जनाएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । १२ औँ तहका डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीले अवकाश पाएपछि दुई दरबन्दी रिक्त छ । स्रोतका अनुसार ती दुई दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् । मन्त्रालयको बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेकाहरुलाई १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको थियो । विवरण बुझाउनेमा प्रदेश अस्पताल भद्रपुरका डा.टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा र गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा.विनोदविन्दु शर्माले विवरण बुझाएका छन् । यसैगरी, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, नारायण ढकाल, डा. सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. मनिषा रावल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, परोपकार प्रसुति अस्पतालका डा. आमिरबाबु श्रेष्ठले पनि व्यक्तिगत विवरण बुझाएका छन् । भेरी अस्पतालका डा. राजन पाण्डे, राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्र मरासिनी, भेरी अस्पतालकी दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन् । निर्धारित समयमा विवरण बुझाउने २१ जनामध्ये बढुवा समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ । जसमध्ये दुई जना बढुवा हुने छन् । १२ औं तहको अक्तिरिक्त स्वास्थ्य सचिवमा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ । ११औं तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२ औं तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ । पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन र अन्य ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम तथा शैक्षिक योग्यता र तालिमबापत कर्मचारीले प्राप्त गरेको अंकका आधारमा योग्यताक्रममा अब्बल व्यक्तिलाई मन्त्रिपरिषद्ले १२ औं तहमा बढुवा गर्ने छ ।
काठमाडौंः नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटाले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताउनुभयो । उहाँले सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ सङ्क्रमित कम भएको जानकारी दिनुभयो । “हामीले सङ्क्रमितको पहिचान गरेर उपचार पद्दतिलाई राम्रो बनाएका छौँ”, उहाँले भन्नुभयो, “सबै सङ्क्रमित उपचारमा आउने भएका र सर्न पनि कम भइरहेकाले नयाँ सङ्क्रमित कम हुँदै गएका छन् ।” उहाँका अनुसार हरेक वर्ष नयाँ सङ्क्रमित कम हुने गरेका छन् । यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये शुन्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ । यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ सङ्क्रमितले एन्टिरेट्रो भाइरस ९एआरभी० उपचार लिइरहेका छन्, त्यो सङ्ख्या कूल एचआइभीको ७२ प्रतिशत मात्र हो । निर्देशक डा देवकोटाले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताउनुभयो । “अझै पनि करिब पाँच हजार सङक्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उहाँले भन्नुभयो, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।” उहाँले उपचार गरी भाइरल लोड ठिक भएका सङ्क्रमितको समाजमा घुलमिल हुनका लागि वातावरण बनाउने अभियानमा आफूहरु रहेको बताउनुभयो । “उपचारपछि ठिक भइरहेका सङ्क्रमितलाई जीविकोपार्जन गर्नेसम्बन्धी कार्यक्रम हामीले ल्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वस्थ भएका सङ्क्रमित आफै केही गर्न सकिन्छ कि भनेर स्वावलम्बन बनाउने तयारीमा हामी रहेका छौँ ।” उहाँले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो । सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ । सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको छ । सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कमि हो । केन्द्रका निर्देशक डा देवकोटाले सबैलाई उपचारमा ल्याइएको हुनाले मृत्यु दरमा कमि आएको बताउनुभयो । उच्च जोखिममा को ? नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशीने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७÷१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । प्रदेश नं १, लुम्बिनी तथा सूदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआइभी सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ । नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम एवं सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतको भाइरल लोड सप्रेसन हासिल गर्ने तथा नयाँ सङ्क्रमितलाई ९० प्रतिशतले कम गर्ने योजना सरकारको रहेको छ । अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । सङ्क्रमण रोक्ने चुनौती नयाँ एचआइभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पु¥याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ । यस्तै नयाँ एचआइभी सङ्क्रमितलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआइभी सङ्क्रमितलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमित र स्वस्थ सङ्क्रमित केन्द्रीत उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् । यस्तै एचआइभी सङ्क्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ । सन् १९८१ मा पहिलो पटक एचआइभी सङ्क्रमित फेला परेका थिए । अहिले विश्वमा आठ करोड ४२ लाख मानिस एचआइभी सङ्क्रमित रहेका छन् । अहिलेसम्म विश्वमा एड्सका कारणले चार करोड १० लाख मानिसको मृत्यु भएको तथ्याङ रहेको छ । सन् २०२१ को अन्त्यसम्म संसारमा तीन करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित भएका छन् । सन् १९९६ को तुलनामा सन् २०२१ मा ५४ प्रतिशतले नयाँ सङ्क्रमित घटेको पाइएको छ । सन् २०२१ मा १५ लाख नयाँ सङ्क्रमित फेला परेका थिए । सन् १९९० देखि २०२१ सम्म एचआइभीको अवस्था हेर्दा सन २०२५ मा नयाँ सङ्क्रमण घटाउने लक्ष्य देखाइएको छ । सन् २०२१ मा एक लाख ५० हजार बच्चामा नयाँ सङक्रमण देखिएको जनाइएको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले घटेको हो । सन् २०१० मा तीन लाख २० हजारमा नयाँ सङ्क्रमित रहेका थिए । सन् २०२१ मा छ लाख ५० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको तथ्याङ्क रहेको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले कम हो । सन् २०१० मा १४ लाख मानिसको विश्वमा एड्सका कारणले मृत्यु भएको थियो । विश्वमा कूल सङ्क्रमितमा तीन करोड ८४ लाखमध्ये दुई करोड ८७ लाखले मात्र एन्टिरेट्रोभाइरस ९एआरभी० उपचारमा रहेका छन् । विश्वमा हरेक दिन चार हजार जना र नेपालमा हरेक दिन दुई जना एचआइभी सङक्रमित हुने गरेका छन् । आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ मनाइँदै छ ।