गण्डकी:   गण्डकी प्रदेश सरकार र यहाँका स्थानीय तहले नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान सुरूआत गरेका छन् । रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि समुदायस्तरमा ‘स्क्रि...

बागलुङ:  सामान्यतया ६ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १३ वर्षमा समेत निवारण भएको छैन । हात्तिपाइले रोगबाट बच्न लगातार छ पटक हात्तिपाइले रोगविरुद्धको औषधि खानुपर्छ । बागलुङमा पुनः‘यसै पटक र अन्तिम पटक’ भन्ने नाराका साथ हात्तिपाइले विरुद्धको १४औँ चरणको औषधि सेवन अभियान थालिने भएको छ ।    लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा १३ औँ पटकसम्म हात्तिपाइलेको औषधि खुवाउँदासमेत हात्तिपाइले निवारण हुन सकेको छैन । रोग निवारणका गर्न बागलुङमा पुन १४ औँ पटक अभियान थालिएको हो । यस पटकको अभियान भने अन्तिम हुनसक्ने तथ्याङ्कले देखाएको छ ।  तेह्रौँ पटकको अभियान सुरु गर्नुभन्दा पहिला हात्तिपाइले प्रभावित क्षेत्रमा पाँचौं पटक नमुना सङ्कलनको कार्य गर्दा हात्तिपाइले निवारण नभएपछि लगातार दुई वर्ष औषधि खुवाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए ।    शर्माका अनुसार १४औँ पटक औषधि सेवन गर्न गरिएको पूर्वनमुना परीक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तिपाइलेको जिवाणु भेटिएकाले यो पटकको औषधि अन्तिम पटकका लागि हुनसक्ने सम्भावना धेरै रहेको शर्माको भनाइ छ । हात्तिपाइले निवारण हुन १४औँ पटक आम औषधि सेवन अभियान सञ्चालनपछि तीन पटकसम्म गरिने नमुना परीक्षणसमेत सफल हुन आवश्यक रहेको छ । “पाँच वर्ष लगातार औषधि खुवाइसकेपछि नमुना परीक्षण हुन्छ, हामीले पाँचौँ चरणसम्मको नमुना परीक्षणमा दुई प्रतिशतभन्दा माथिको सङ्ख्यामा पोजेटिभ पाएका थियौँ, तर छैटौँ पटकको नमुना सङ्कलनमा हात्तिपाइले निवारणका लागि दुई प्रतिशतभन्दा थोरै पोजेटिभ भेट्टिएको छ”,  शर्माले भने ।   स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार बागलुङमा पाँच पटकसम्मको नमुना परीक्षण गर्दा हात्तिपाइले निवारण नभएको तर छैटौँ पटकको नमुना सङ्कलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशतभन्दा कम शून्य दशमलव ३३ प्रतिशत मात्रै हात्तिपाइलेको जिवाणु फेला परेकाले यस वर्षलाई अन्तिम पटक हात्तिपाइलेको आम औषधि सेवन अभियान सञ्चालन गरिएको छ ।    जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तिपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आइरहेकामा यसपटक सात सय जनामा गरिएको नमुना परीक्षणमा एक जनामा मात्रै जिवाणु फेला परेकाले १४ औँ पटकको अभियान नै अन्तिम हुन सक्ने भन्दै सबैले औषधि सेवन गर्न आवश्यक रहेको शर्माले बताए । सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाइ छ ।  

तनहुँ:   नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजनामा आइतबार दमौलीमा करिब तीन हजार विद्यार्थीको मुटु परीक्षण गरिएको छ। विज्ञ चिकित्सकहरू विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण गरिएको हो। बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले नेपाल हर्ट फाउन्डेसन केन्द्रीय कार्यालयको सहयोगमा मुटु परीक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो।  दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालयमा दुई हजार सात विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो। तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ। तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उहाँले जानकारी दिनुभयो।  बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नसा सानो हुने, मुटुको भल्ब सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने जस्ता समस्या पर्ने बेलैमा उपचार गर्न आवश्यक पर्ने भएको परीक्षण गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपाने बताउनुभयो ।  वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले नेतृत्वमा १४ जना चिकित्सकको टोलीले मुटु परीक्षण गरिएको थियो। मुटुको स्वास्थ्य स्थिति र आवश्यकता अनुसार १५२ जना विद्यार्थीको ईसीजी परीक्षण पनि गरिएको थियो। दस जना विद्यार्थीको थप परीक्षण र उपचार गर्नुपर्ने देखिएकाले उनीहरूलाई काठमाडौँ लैजान र निःशुल्क उपचार गर्न सिफारिस गरिने प्रतिष्ठानका उप–सभापति चुणामणि दाहालले जानकारी दिनुभयो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले चिकित्सहरूको टोलीको नेतृत्व गर्नुभएको थियो। शिविरको नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा।डा। कृष्णप्रसाद गौतमले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा गौतमले मुटु परीक्षण जस्तो महत्वपूर्ण कार्यक्रम जिल्लाव्यापी रूपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो।     

काठमाडौं:     देशभरका अस्पतालको अत्यावश्यक सेवा बन्द गरेर आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिधि र चिकित्सक सङ्घका प्रतिनिधिबीच वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चिकित्सक सङ्घले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । अस्ति शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मी घाइते भएका थिए । यही घटनाको विरोधमा चिकित्सक सङ्घले विरोध गर्दै आज आन्दोलन गरेको हो । आन्दोलनले बिरामी भने मर्कामा परेका छन् । अत्यावश्यक सेवा बाहेक अन्य उपचारका लागि अस्पताल पुगेका बिरामी त्यसै फर्किरहेका छन् । बिहान केहीबेर बिरामीले पनि उपचार पाउनु माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन गरेका थिए। स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता गरी बिरामीको उपचारमा फर्किन चिकित्सक सङ्घलाई आग्रह गरेको थियो । मन्त्रालयले सङ्घको माग र समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ । 

बाँके: बाँकेमा दादुरा महामारी फैलिएको करिब एक महिनाको अवधीमा एकजनाको मृत्यु भएको छ भने ३१३ जनामा दादुरा सङ्क्रमण देखिएको छ । दादुराको सबैभन्दा बढि सङ्क्रमित देखिएको नेपालगञ्जमा पछिल्ला केही दिनयता नयाँ विरामी फेला परेका छैनन् ।   नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोभिड महामारी विरुद्धको पूर्वा तयारीसँगै अन्य विपद र महामारी जन्य रोगको पूर्वतयारी गरिएकाले दादुरा–रुवेला रोग नियन्त्रण र रोकथामका लागि सहयोग पुगेको बताउनुभयो ।   “विपद पूर्व तयारी भएकाले महामारी फैलिनासाथ तत्काल रोकथाम र नियन्त्रणका लागि परिचालित हुन सक्यौ,” स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो, “ छिटोभन्दा छिटो लक्षित बालबालिकालाई दादुराविरुद्धको खोप दिन समेत पूर्व तयारीका कारण सहज भयो ।   नेपालगञ्जमा पछिल्ला केही दिनयता दादुराका नयाँ विरामी नभेटिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । नगरभित्र लक्षित उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाई सकिएको छ ।   स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले कोभिड सङ्क्रमण र अहिलेको दादुरा महामारी फरक विषय भए पनि कोभिडपछि सुरु भएको भ्याक्सिन लगाउने कार्यले अहिले बढिभन्दा बढि मानिस भ्याक्सिनमा सहभागी हुनु सकारात्मक भएको बताउनुभयो ।   “दादुराका बढि सङ्क्रमित फैलिएका नेपालगञ्ज र नरैनापुरमा पछिल्ला दिनमा नयाँ सङ्क्रमित फेला नपर्नु सकारात्मक छ,” श्रेष्ठले भन्नुभयो, “दादुरा पूर्णरुपमा नियन्त्रणमा नआएपनि नियन्त्रण नजिक पुगेको छ ।”   जिल्लाभर शुक्रबारसम्म १० जना मात्रै सङ्क्रमित रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा जिल्लाभर ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप अभियान चलिरहेको छ । बाँकेमा बैजनाथ र जानकीबाहेक अन्य ६ स्थानीय तहमा दादुरा सङ्क्रमण देखिएको छ ।   स्वास्थ्य कार्यालयका खोप अधिकृत श्रेष्ठका अनुसार महामारी फैलिएको स्थान वा क्षेत्रमा अन्तिम दादुराका विरामी देखिएको ४२ देखि ४६ दिनसम्म नयाँ विरामी देखा नपरेको अवस्थालाई दादुरा नियन्त्रण भएको मानिन्छ । अर्कोतर्फ खोपले पूर्णरुपमा काम गर्न समेत ३० देखि ४५ दिन समय लाग्ने भएकाले बाँकेमा दादुरा पूर्णरुपमा नियन्त्रण हुन भने अझै केही समय लाग्ने देखिएको छ ।

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिनुभएको छ।  मङ्गलबार औषधि व्यवस्था विभागको निरीक्षणमा पुग्नुभएका मन्त्री गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा अनुगमन बढाउन विभागलाई निर्देशन दिनुभएको हो।  उहाँले भन्नुभयो, “बजारमा अहिले पनि गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन्। तपाईँले  केही ठाउँमा मात्र अनुगमन गर्दा पनि सात प्रतिशत गुणस्तरहीन औषधि भेटिएको छ। यदि सबै ठाउँमा अनुगमनको दायरा बढाउने हो भने अझ गुणस्तरहीन औषधि भेटिन्छन्।” अनुगमन गर्ने जनशक्ति छैनन् भनेर जनताको स्वास्थ्यमा खेलबाड गर्ने छुट विभागलाई नभएको भन्दै उहाँले प्रभावकारी कार्ययोजना बनाएर जनताले अनुभूत गर्न सक्ने परिणाम मुखी काम गर्न निर्देशन दिनुभएको छ।  देशैभरका फार्मेसीको अनुगमन गर्न सातै प्रदेशमा औषधि विभागका कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जान ठोस योजनाका साथ विभाग छिटो भन्दा छिटो मन्त्रालय आउन आग्रह गर्दै मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।  उहाँले अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्नेमा जोड दिनुभयो। उहाँले आत्मनिर्भर बन्ने योजना र कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो।  उहाँले नवीकरण सम्बन्धी काम अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिनुभयो।  व्यापारीले फार्मेसी दर्ता गरेपछि नवीकरणका लागि हरेक वर्ष काठमाडौं जानुपर्छ भन्ने गुनासो सुनेको  भन्दै मन्त्री गिरीले गुणस्तरीय सेवा दिने कुरामा झन्झटिलो नियमन र अनुगमनको कुरामा निर्ममतापूर्वक कडाइ गर्न आग्रह गर्नुभयो।  उहाँले भन्नुभयो, “दर्ता गर्ने, नवीकरण गर्नेदेखि लिएर अन्य राज्यले दिने कुरामा सहज र खुकुलो वातावरण बनाइदिनुपर्छ। सकिन्छ भने अनलाइन सिस्टमबाट नै यो कुरा गर्नुपर्छ। अबको दुनियाँमा यो कुनै ठूलो कुरा होइन। अब अनलाइन प्रणालीमा जाँदा कार्यविधि बनाउनु पर्छ।”  मन्त्री गिरीले विभागलाई चाँडो भन्दा चाँडो कार्ययोजना बनाएर मन्त्रालयमा आफ्ना माग लिएर मन्त्रालयले आउन आग्रह गर्नुभयो।

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्नुभएको हो । मन्त्री गिरीले अनुगमन गर्दै स्वास्थ्यकमीसँग परामर्श गर्नुका साथै दादुरा नियन्त्रण गर्न सबै काम छोडेर दादुरा रुवेलाविरुद्धको खोपमा तीव्रता दिन आग्रह गर्नुभयो । दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने मन्त्री गिरीको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकामा तीव्र गतिमा फैलिरहेको दादुराबाट अहिलेसम्म २६० जना बालबालिका सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पुस १२ गते फैलिएको दादुरा माघ सात गतेसम्म नेपालगञ्जमा २०३, कोहोलपुरमा पाँच, खजुरामा १८, नरैनापुर २६, डुडुवा आठ गरी २६० जनामा दादुरा पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ महिनाभन्दा कम उमेरका १५, नौदेखि १५ महिनासम्मका १६, १५ देखि दुई वर्षसम्मका १८, दुईदेखि पाँच वर्षसम्मका ७२ र पाँच वर्ष वा सोभन्दा माथिका उमेरका १३९ जनाका बालबालिका सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।  सरकारले दादुरा रुवेला नियन्त्रण गर्ने उद्देश्यले ६ देखि १५ वर्ष उमेरका बालबालिका पुस २२ गतेबाट दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ । अहिलेसम्म ८९ हजार ४५८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ७२ हजार ९३१ जनाले दादुरा रुवेलाविरुद्धको खोप लगाइसकेका छन् ।

पोखराः   पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर रक्तदान तथा रक्त परिक्षण कार्यक्रमको आयोजना गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तरगत रक्तदान गर्दै आएको र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको संस्थाको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।  पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरि, कार्यक्रमको शुभारभ्भ गर्दै “रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने” बताए । उनले सहकारीले गरेको कामको प्रशंसा गरे । अध्यक्ष भट्टराईले “रक्त दान जिवन दान” भन्ने नारालाई सार्थक बनाउनका लागि ‘रक्तदान’को बारेमा स्थानिय स्तरमा प्रचारप्रसार  गरि महत्व बुझाउनु पर्नेमा जोड दिए ।   थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा. रमेश राज आर्चायले थाइराड तथा मधुमेह रोग मानिसको खानपिन र बानीब्यहोरा सुधार गरेमा बच्न सकिने जानकारी दिदै, सचेत रहन आग्रह गरे ।   संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने सुनाए । कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस का्रस्कीका अध्यक्ष डण्डराज पौडेल, यु आर यल पोखराका अध्यक्ष ठाकुर पन्त, माता तालबाराही आरतिका अध्यक्ष मंगल नेपाली, संस्थाका कोषाध्यक्ष बैकुण्ठ ढुगाना, शिशु स्याहार बैदामका अध्यक्ष संगिता बराल र कार्यक्रम संयोजक मादब थापा लगाएतले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष सुर्यनाथ पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा पहारीले स्वागत र सचिव सुन्दरराज पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।  पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा यु. आर. यल पोखराको प्राविधिक सहयोगमा करिब १ सय जनाको थाइराइड तथा मधुमेह रोगको निशुल्क रक्त परिक्षण गरिएको थियो ।  

काठमाडौँ:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अङ्गदान गर्ने घोषणा गर्नुभएको हो  ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण  केन्द्रले आयोजना गरेको एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिले मृत्युपश्चात् आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री दाहाललाई  केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले  डोनर कार्ड हस्तान्तरण  गर्नुभएको थियो। यस्तै स्वास्थ्यमन्त्री गिरिलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गर्नुभएको हो ।

पोखराः   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको को ५८औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरामा रक्तदान कार्यक्रम गरिएको छ । बैंकको प्रादेशिक कार्यालयद्वारा आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेको प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीले जानकारी दिनुभयो ।   उहाँका अनुसार बैंकले निक्षेपकर्ताहरुसँग अन्तरक्रिया तथा सम्मान, सरसफाइ सचेतना, अन्तरशाखा हाजिरीजवाफ, प्रभातफेरिलगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । आउँदो १० गते वार्षिकोत्सवको मूल समारोह आयोजना हुनेछ ।   राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा रहेको पुरानो र ठूलो वाणिज्य बैंक हो । यसले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । विसं २०२२ माघ १० गते बैंक स्थापना भएको थियो ।