सुनसरी: नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार १९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले बुधबारसम्ममा १५४ बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामी बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिए । यही जेठ १ र २ गते देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका ९१९ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताए र विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. सुमित मिश्र र डा. प्रिति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गरेकी थिइन् । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल दुई आँखा अस्पताल र ३१ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरी एक लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो । त्यस्तै, सन् २०२२ मा १५४ निःशुल्क आँखा शिविर सञ्चालन गरी छ हजार १३० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको थियो । पूर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिक दृष्टिविहीन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई विस्तार गरिरहेको जानकारी दिए । नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य एवम् विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरीले नेपाल नेत्रज्योति सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरुप अहिले काम अगाडि बढिरहेको बताएका छन् ।
पोखरा: पोखरा महानगरपालिकामा कार्यरत ६५६ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित स्वास्थ्य सामाग्री वितरण तथा वृहद भेलामा प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ लगायतले उनीहरूलाई ती सामाग्रीहरू वितरण गरिएको हो । सो क्रममा प्रमुख आचार्यले नागरिकको स्वास्थ्य सुरक्षाको सवालमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको सेवा र खर्चिएको समय उत्तिकै महत्त्वपूर्ण रहेको बताए । “आफ्नो समय नागरिकको जनस्वास्थ्यमा लगाउने गरी विगत लामो समयदेखि यहाँहरू अहोरात्र खटिरहनु भएको छ, प्रमुख आचार्यले भने, निस्वार्थ सेवाको भाव सामाजिक रूपमा किट ब्याग बोकेर यहाँहरूले गौरवका साथ देखाउनु भएको छ, यहाँहरूको महानता, समर्पण र सेवा प्रति म नतमस्तक छु ।” सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक योगदान अतुलनीय रहेको प्रमुख आचार्यले बताएका छन् । महानगरको टोल टोलमा पुगेर स्वास्थ्य सचेतनाको जागरण ल्याउने र मानिसहरूलाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउने स्वास्थ्य स्वयम सेविकाहरूलाई खटाई अनुसारको सेवा सुविधा दिन नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षबाट यसलाई सम्बोधन गर्न विशेष पहल गरिने बताए । “स्वयंसेविकाहरूको सेवा सुविधाका विषयमा हामीले पनि महसुस गरेकै विषय हो, उनले भने, आगामी आव देखी यसमा थप केही व्यवस्था गर्ने सम्बन्धमा विशेष पहल गरिनेछ ।” स्वास्थ्यका हिसाबले मानवीय सेवामा उनीहरूले दिएको समय अतुलनीय रहेको उनी बताउँछन् । उप प्रमुख मन्जुदेवी गुरुङले आधारभूत सेवाको पहुँच नपुगेका दूर दराजमा पुगेर सरकारको उपस्थिति देखाउने स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताउँछिन् । महिला, बालबालिका र वृद्धावृद्धहरुलाई अप्ठ्यारो परेका बेला पहिलो सेवकको रूपमा उपस्थिति जनाउने महिला स्वास्थ्य स्वयंसेविकाहरू आफैमा अनुकरणीय भएको उल्लेख गरिन । पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वयंसेविकाहरूलाई आवश्यक सामाग्रीहरूको व्यवस्था गरिनु पर्ने बताएका छन् । उनीहरूलाई आवश्यक सम्पूर्ण प्रकारका सामाग्रीहरू सहित सेवा निवृत्त पश्चात् पाउने उपादानमा समेत वृद्धि गर्नु पर्नेमा जोड दिए । यस्तै वडा नं। १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले स्वास्थ्य स्वयंसेविकाहरुले टोल टोलमा पुगेर स्वास्थ्य शिक्षाको चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको बताउँछन्। महानगरको स्वास्थ्य समितिका उपाध्यक्ष पूर्ण लामाले महानगरद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र क्षमता अभिवृद्धि आवश्यक रहेको बताए । महानगरद्वारा सञ्चालित अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी लगायतको सेवा विस्तार गर्दै ती स्वास्थ्य संस्थाहरू विश्वासिला र भरपर्दा बनाउनु पर्ने समेत बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुले विभिन्न खोप अभियान तथा भिटामिन खुवाउने कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन तथा सम्पन्न गर्नमा लागि निकै ठुलो योगदान गर्ने गरेका छन् ।
काठमाडौं: आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिएको छ । तनावयुक्त जीवनशैली, अस्वस्थ खानपान, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ लगायतका कारण उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । उच्च रक्तचाप नसर्ने धेरै रोगमध्ये अकाल मृत्युको प्रमुख कारण बनेको छ । उच्च रक्तचापका कारण मुटु, मृगौला, मस्तिष्क र आँखामा जटिल समस्या आउन सक्ने मुटु रोग विशेषज्ञ डाक्टर शिवजी बिक्रम सिलवालले बताउनुभयो । केही वर्ष यता नेपालमा उच्च रक्तचापका बिरामीहरु बढिरहेका छन् । डाक्टर सिलवालका अनुसार जाँडरक्सी खाने, चुरोट–सुर्ती खाने, मोटोपन भएका र शारीरिक परिश्रम नगर्ने व्यक्तिहरुलाई उच्च रक्तचापको जोखिम हुन्छ । यस्तै, मधुमेह, मिगौलाको समस्या भएका र गर्भवतीहरुलाई पनि उच्च रक्तचापको जोखिम हुने मुटु रोग विशेषज्ञ डाक्टर शिवजीबिक्रम सिलवालले बताउनुभयो । यस्तै, धेरै नुन तथा बोसो र चिल्लो पदार्थ खाने, हरियो सागसब्जी तथा फलफूल कम खाने तथा मानसिक तनावका कारण पनि उच्च रक्तचापको जोखिम हुन्छ , बेलैमा उपचार गराएर रक्तचापलाई सन्तुलनमा नराखे मृगौला फेल हुने, हृदयघात, पक्षघात हुने, हातखुट्टा नचल्ने जस्ता समस्या देखिने डाक्टरले बताएका छन् । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाए उच्च रक्तचापको समस्या कम हुने डाक्टर बताउँछन् । रक्तचाप नियन्त्रणमा राख्न तनाव व्यवस्थापनसहित स्वस्थ जीवनशैली अपनाउन तथा योग र ध्यान गर्न डाक्टरको सुझाव छ ।
काठमाडौं: नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो । सङ्घले चिकित्सकको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपीडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो । महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क चार सय २० देखि नौ सय ४० रुपैयाँसम्म तोकिएको बताउनुभयो । नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस तथा बीडीएस तहका चिकित्सकको शुल्क चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको पाँच सय १५ रुपैयाँ परामर्श शुल्क तोकिएको छ । यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको पाँच सय ९० र त्योभन्दा बढी छ भने छ सय ७० रुपैयाँ तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकले सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले आठ सय रुपैयाँ परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ । डीएमरएमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि नौ सय ४० रुपैयाँ परामर्श शुल्क तोकिएको छ । साथै एमडीरएमएसरएमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले ७ सय ५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा नौ सय ४० रुपैयाँ शुल्क तोकिएको छ ।
पोखरा: आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया थमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको मालिका गाउँपालिका ३ पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्न पुग्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो । २६ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो । रोकामगरको दर्वाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि अप्रेसन नै गर्नुपर्ने भएकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा बेड खाली नभएपछि गण्डकी मेडिकल कलेज ल्याएको ओमकुमारीका श्रीमान विकलले बताए । उनले आफुले जोहो गरेर ल्याएको २५ हजारमध्ये १२ हजार एम्बुलेन्सलाई दिएको सुनाए । बाँकी रहेको पैसाले केही नहुने बताउदै विकलले भने, ‘हामी त आपतमा परेको देखेर अलिअलि यही बिरामी ल्याउनुभाकाहरुले दिनु भो अब त के गर्नी गर्नी भाछ ।’ छोरीको त्यो हालत देखेर थमकुमारीको आमा चन्द्रकली पुनमगरलाई चैन छैन । छोरीको उपचारका लागि कसरी पैसा जोहो गर्न भन्ने कुराले निकै पिरोलेको चन्द्रकलीले बताइन् । ‘यो अस्पतालमा ल्याएर आइसियुमा भर्ना ग¥यौं । एकदिनकै १४ हजार लाग्ने रहेछ, पैसा नभएपछि एकदिन भन्दा धेरै आइसियुमा राख्न सकेनौं,’ उनले भनिन् । गत २७ गते अस्पतालमा भर्ना गरेको बिरामीको उपचारमा आर्थिक अभाव भएपछि एकदिन भन्दा धेरै आइसियुमा राखेर उपचार गर्न नसकेपछि सर्जरी वार्डमा झार्न बाध्य भएको चन्द्रकुमारीले सुनाईन् । ‘आईसियुको बेडको ६ हजार रहेछ, औषधीको ८ हजार लाग्ने रहेछ, साथमा भएको पैसाले एकदिन पुग्यो त्यसपछि अर्को दिनलाई नपुगेपछि सर्जरी वार्डमा राखेको छु, अहिले अस्पतालमा नै भएका बिरामीका आफन्तको सहयोगमा सामान्य उपचार भइरहेको छ,’ उनले भनिन् । बिरामी रोका मगरको ८ महिनाको छोरी छ । उनको श्रीमान ज्यालामजदुरी गर्छन् । कतैबाट उपचार खर्च जोहो नभएपछि छोरीको अप्रेसन नहुने चिन्ता छ । ‘ज्वाईको कमाई नै छैन, छोरीको हालत यस्तो छ, पुन मगरले भनिन्, ‘पैसा खोज्न नसकेपछि छोरीको अप्रेसन हुन्नकी भन्ने चिन्ता बढेको छ ।’ आर्थिक सहयोग गर्न अपिल उपचार गर्न आर्थिक अभाव भएपछि बिरामीकी आमा चन्द्रकलीले सहयोगको अपिल गरेकी छिन् । बिरामी छोरीको टाउकोको अप्रेसन गर्नका लागि रकम अभाव भएपछि आर्थिक सहयोग गर्न आग्रह गरेकी हुन् । उनले थमकुमारीको उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले ९८६४३७६१६१ मा सम्पर्क गर्न आग्रह गरेकी छिन् ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिएका छन् । उनको अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ । मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालेको हो । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । रासस
पोखरा: पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होममा पोखरामै निजी हस्पिटलमा पहिलो पटक पेटमा रहेको क्यान्सरको शल्यक्रिया सफल भएको छ । अन्य अप्रेसन भन्दा पेटमा रहेको क्यान्सरको अप्रेसनमा ग्रन्थि सहित क्यान्सर फाल्नुपर्ने र उक्त कार्य निकै जटिल हुने भएकाले त्यहांका शल्य चिकित्सकले ८ घण्टा लामो समय लगाएर ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल शल्यक्रिया गरेका हुन् । पद्म नर्सिङ होमका पेट कलेजो, आन्द्रा तथा प्याङक्रियाज रोग शल्यचिकित्सक GI and HPB surgeon डाक्टर सुजन गौतमको टीमले ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल पुर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ । सामान्य अप्रेसन र क्यान्सर सम्बन्धी अप्रेसनमा भिन्नता हुने बताउदै डाक्टर सुजन गौतमले कुनै पनि क्यान्सरको शल्यक्रिया गर्दा ग्रन्थि lymphnode सहित निकाल्नुपर्ने हुदा क्यान्सर भएको ठांउको ग्रन्थिहरुलाई पनि शल्यक्रियाको माध्यामबाट रगत बहने नसाको छेउछाउमा रहेर शल्यक्रिया गर्नु पर्ने भएकोले निकै जटिल हुने र कौशलता पूर्वक क्यान्सर निकाल्नुपर्ने भएकाले आफ्नो टीमलाई ८ घण्टा समय लागेको वताउदै पोखरामा नै पहिलो पटक निजी हस्पिटलबाट उक्त सेवा प्रदान गर्न पाउदा निकै खुसी लागेको बताए । ८ घण्टा लामो समय लगाएर sub total gastrectomy + D2 lymphnode dissection + Roux- en- Y gastro jejunostomy मार्फत विरामीलाई शल्यक्रिया गराइ ७ दिनमा नै डिस्चार्ज गर्न पाउदा खुसी लागेको वताउदै डाक्टर गौतमले खाना खान नसक्ने अवस्थामा हस्पिटल भर्ना भएको बिरामीलाई ७ दिनमै घर पठाउन पाउदा आफ्नो टीम निकै हौसिएको बताए । उनले पोखरामा नै यस्ता जटिल प्रकारका क्यान्सरका बिरामीले समेत उपचार पाउने भएकाले अव काठमाण्डौ चितवन जान पर्ने समस्या नरहने बताए । डाक्टर सुजनको टीममा डाक्टर सुशील सुवदी, एनेस्थेसिया डाक्टर अनिल न्यौपाने र डाक्टर बसन्त कोइराला संगै ओटि नर्स लक्ष्मीदेवी शर्मा लगायतको टीम ८ घण्टा सम्म उक्त विरामीको शल्यक्रियामा खटिएको जनाईएको छ । सो अवसरमा वोल्दै पद्य नर्सिङ होमका अध्यक्ष इन्दीरा शर्मा सुवेदीले विगत २८ वर्षदेखी पोखरामा विरामीहरुको सेवा प्रदान गर्दै आइरहेको पद्य नर्सिङ होमले पोखराको नदीपुरबाट सञ्चालनमा आएसंगै पोखरामा पहिलोपटक क्यान्सर जस्तो रोगको सफल शल्यक्रिया गरी विरामीहरुलाई हौसला प्रदान गरेको वताइन । बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा।लि। गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको छ । हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु , एक्सरे ,भिडियो एक्सरे, इण्डोस्कोपी,कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगयतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।
काठमाडौं, वैशाख २१ गते । सरकारले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने, दैनिक खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने जस्ता डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको हो । पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । डेंगु एडिस इजिष्टी एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रमण रोग हो । यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न, सरकारले घरवरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
पोखरा: विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा आज आयोजना गरिएको दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् । महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पत्रकारहरुका लागि संयुक्त शिविर आयोजना गरेका हुन् । शिविरमा एक सय ३० जनाको दाँतको परीक्षण गरिएकामा १४ जनाको दाँतको एक्सरे, २७ जनाको दाँत सफा,४३ जनाले दाँत भर्ने, तीन जनाको दाँतको जरैदेखी उपचार र एक जनाले दाँत निकाल्ने सेवा लिएका छन् । पहिलो दिन नाम दर्ता गरेर परीक्षण गरेकाहरुलाई बिहीबार पनि अन्य उपचार सेवा प्रदान गरिने महासङ्घले जनाएको छ । दन्त शिविर उद्घाटन कार्यक्रममा अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले दन्त उपचार सेवाबाट सञ्चारकर्मीहरुले प्रत्यक्ष लाभ लिने बताउनुभयो । उहाँले पत्रकारहरु जहिलेपनि व्यस्ततामा रहेपनि आफ्नो स्वास्थ्यका बारेमा समेत सदैव चनाखो र सचेत बन्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारले प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न पौडेलले आग्रह गर्नुभयो । सञ्चारकर्मीहरुको दाँत र मुख स्वास्थ्यलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको महासङ्घका अध्यक्ष विमला भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,“दाँत र मुखको स्वास्थ्य धेरै महत्वपूर्ण छ । स्वयमं सञ्चारकर्मी समेत यसतर्फ ध्यान नदिएका हुन सक्छौँ । यसबाट आम जनतालाई मुख स्वास्थ्यप्रति सचेत हुन सन्देश दिन र पत्रकारहरुलाई उपचारमा सहजताका लागि नेलम्बोसँगको सहकार्यमा आयोजना गरेको शिविर प्रभावकारी भयो ।” अध्यक्ष भण्डारीले आगामी दिनमा समेत विभिन्न रचनात्मक कार्यक्रम अघि बढाइने प्रतिवद्धता जनाउनुभयो । नेलम्बो नेपालका कार्यकारी अध्यक्ष एकदेव देवकोटाले पत्रकार महासङ्घसँग मिलेर काम गर्दा खुशी लागेको बताउनुभयो । मुख स्वास्थ्यका बारेमा दुरदराजका नागरिकहरुलाई सही सूचना र सन्देश सम्प्रेशण गर्ने दायित्व सञ्चारकर्मीको रहेको उहाँले बताउनुभयो । “नेलम्बो नेपालले गण्डकी प्रदेशका विकट र दुर्गम गाउँहरुमा पुगेर निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । त्यहाँ जनतालाई स्वास्थ्य सम्बन्धी सही सूचना दिने दायित्व सञ्चारकर्मीको हो,त्यसतर्फ ध्यान दिनुहोला ।” अध्यक्ष देवकोटाले भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपसभापति गङ्गाधर पराजुली, महासङ्घ कास्कीका सचिव माधव बराल, शाखाका कोषाध्यक्ष एवं दन्त शिविर कार्यक्रमका संयोजक कृष्ण दवाडी लगायतले कार्यक्रमले पत्रकारहरुलाई फाइदा पुगेको बताउनुभएको थियो। शिविरमा दन्त परीक्षण, एक्सरे, दाँत निकाल्ने, सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण गरिएको थियो । शिविरमा दन्त चिकित्सक डा सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु विक, नेलम्बो कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, किल्निकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर हमालले प्राविधिक सहयोग उपलव्ध गराउनुभएको थियो । दन्त शिविरमा उपचार लिएका सेवाग्राहीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार तथा फलोअपको पनि व्यवस्था मिलाईएको नेलम्बोका कार्यक्रम संयोजक भण्डारीले बताउनुभयो ।