काठमाडौं: पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ९२ जनाको नमुना परीक्षण गर्दा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८५ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार चार सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
पोखरा: युनाइटेड क्लबले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार आयोजित खुल्ला रक्तदानमा ५२ युनिट रगत संकलन भएको हो । पहिलो रक्तदाता कृष्ण प्रसाद गौतमलाई प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लबले गरेको सामाजिक कामको अन्य संघ संस्थाहरुले सिको गरेको खण्डमा समृद्ध समाज निर्माण हुने बताए । वार्षिकोत्सवको अवसर पारी सामाजिक काम अन्तर्गत रक्तदान कार्यक्रम गरी रगत अभावमा परेकाहरुलाई सहयोग पुग्ने उनको भनाइ रहेको थियो । क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गरिरहेको आफुले नजिकबाट नियाल्दै आएको बताउदै वडाअध्यक्ष गुरुङङे युनाइटेड क्लबको हरेक गतिविधीमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत गरे । त्यस्तै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक माधव के सीले पछिल्लो समय दुर्घटनाका घटनाहरु बढिरहँदा अस्पतालमा रगतको अभाव हुने गरेको आफुहरुले नजिकबाट नियाल्दै आइरहेको सन्दर्भमा सामाजिक काममा अगाडी वढेको युनाइटेड क्लबले रक्तदानको कार्यक्रमको आयोजना गरी त्यस्ता रगतको अभावमा परेकाहरुलाई सहयोग पुग्ने बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य गरेका थिएभने संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकार गोविन्द घिमिरे लगायतले बोलेका थिएभने कार्यक्रमको सञ्चालन सचिव पूर्णकला पोख्रेलले गरेकी थिइनभने कार्यक्रम संयोजक जयराम आचार्यले धन्यवाद मन्तब्य राखेका थिए ।
पोखरा: नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको ७ वर्ष पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ५९ लाख ८८ हजार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् । हालको जनसँख्या अनुसार नेपालमा कुल २ करोड ९१ लाख ६४ हजार जनसँख्या रहेको छ । सो मध्ये २०.५३ प्रतिशत मात्र नागरिकले बीमा गराएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोर बसौलाले बताए । उनका अनुसार अघिल्लो वर्ष ४५ लाख ७२ हजार ९८९ जनाले स्वास्थ्य बीमा गराएका थिए भने गत वर्ष २९ लाख ८६८ जनाले मात्रै बीमा नवीकरण गरेका छन् । गत वर्षसम्म ६ अर्ब ५६ करोड ८० लाख प्रिमियम प्राप्त भएकोमा यो वर्ष २ अर्ब ४५ करोड ३७ लाख थप भई यस वर्षसम्म रु.९ अर्ब २ करोड १७ लाख प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, महालेखा परीक्षकको प्रतिवेदनअनुसार बीमीतले स्वास्थ्य सेवा लिएको बील भरपाईको आधारमा बोर्डले यो वर्ष ९ अर्ब ९२ करोड ७ लाखसमेत हालसम्म २४ अर्ब ३१ करोड ७१ लाख शोध भर्ना भुक्तानी दिएको छ । हालसम्म बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा रु.१५ अर्ब २९ करोड ५४ लाख बढी दाबी भुक्तानी भएको देखिएकोले दिगो रूपमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने उल्लेख गरिएको छ । नेपालमा २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ जिल्लाका ७४८ स्थानीय तहमा पुगेको छ । स्वास्थ्य बीमा कार्यक्रम योगदानमा आधारित कार्यक्रम भएकाले सक्ने परिवारबाट वार्षिक ३ हजार ५ सय लिने गरिएको छ । यसबापत ५ जनाको परिवारले वार्षिक १ लाख रुपैयाँसम्मको सेवा पाउँछन् । ५ जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरी वार्षिक १ लाखमा बीस बीस हजारका दरले उपचारको सुविधा पाइन्छ ।
पोखरा: स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार ३३ औं श्रृङ्खाला कास्कीको पर्यटकीय गाउँ मिर्सामा सम्पन्न गरेको छ । कास्की जिल्ला भित्र सामुदायिक होमस्टे संचालन गरेका कालाबाङ घरेडी सामुदायकि होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष वविता गुरुङ र सचिव झलश्री गुरुङ पहिलो पटक हाइकिङमा सहभागी भएका थिए । उनिहरुले पनि हाइकिङले होमस्टेको प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए । हाइकिङ गर्न रुचाउने १० वर्ष देखि ६५ वर्षसम्मका विद्यार्थी, व्यवसायी, समाजसेवी, पत्रकार, वैदेशिक रोजगारबाट फर्किएका, पर्यटन व्यवसायी, शिक्षा सेवी लगाएत ३२ जनाको सहभागिता रहेको थियो । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महागरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेले हाइकिङलाई ग्रामिण पर्यटन संग जोड्न सकेमा मात्रै नेपालको पर्यटन विकास हुने वताएका छन् । हाइकिङको ३३ औं श्रृङ्खलासम्म ल्याउन पनि भिटोफको प्रत्यक्ष अप्रत्यक्ष भुमिका रहेको छ ।
कैलाली: कैलालीको धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा एक कोरोना भाइरस (कोभिड) संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आज बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको उहाले बताउनुभयो । मुटुको बिरामी रहेकी ती महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले बैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत बैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताउनुभयो । बैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ । यस्तै बैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउने छुटेका इँटाभट्टा, कलकारखानालगायत स्थानमा समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्ने, यही वैशाख मसान्तभित्र सबै वडा, स्वास्थ्य संस्था राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार घरधुरी सर्वेक्षण, पालिका वडा खोप समन्वय समितिको बैठकलगायत क्रियाकलाप गरी सबै वडा तथा स्थानीय तह पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण गर्ने जनाइएको छ ।
काठमाडौं : थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १४२४ नमूना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९७ र एन्टीजेनबाट १२२७ नमुना परीक्षण गर्दा पीसीआरबाट ३४ र एन्टिजेनबाट १०२ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ६८ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४०१ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
काठमाडौं : कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको मृत्यु भएको हो। मंगलबार पनि तीन महिनापछि एक संक्रमितको मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।
काठमाडौं: कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिको आज (मङ्गलबार) मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।