पोखराः पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निशुल्क स्वास्थ्य जाँचको समेत सेवा लिन पाउने भएका छन । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको ब्यवस्था मिलाएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । प्रेसर र सुगर संगै महोत्सवमा आउने दर्शकहरुले तीनवटै स्वास्थ्य संस्थाबाट अन्य चेकजाँचमा ५० प्रतिशत छुट पाउने महोत्सवका प्राथमिक उपचार संयोजक नरहरि पनेरुले जानकारी दिए । महोत्सवको सातौ दिनमात्रै दुई सयजनाले सुगरको निशुल्क परिक्षण गरेका छन । महोत्सवमा प्रत्येक दिन सुगर र प्रेसरको निशुल्क परिक्षण गराइरहेको समेत पनेरुले बताए । महोत्सवको सातौ दिन सम्म आइपुग्दा साढे तीन करोडको कारोवार भएको र असी हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । बानियाका अनुसार महोत्सवमा विशेष गरी जाडो यामका सामाग्री, घरायसी प्रायोजनको सामाग्री, विद्युतिय प्रयोजनका सामाग्री संगै तरकारी जन्य सामाग्रीहरुको बिक्रीवितरण भएको छ । महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायिका प्रिती आलेले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरिन भने आले संगै लोकदोहोरी कलाकारहरु जीवन दाहाल, शिवहरी ढंगाना, निश्चल दवाडी, मञ्जु बिक, सरीता सारु मगर, टस गुरुङ, तुलसा जिसी लगायतको प्रस्तुती मार्फत दर्शहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा झिल्के एण्ड द कम्पनीको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको आठौ दिन बुधवार लोकदोहोरी तर्फ बद्री पंगेनी, जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती रहनेछ भने साँझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती रहनेछ । त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मेट्रोपोलिटन एकेडेमी र भ्यूप्वाइन्ट बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छभने बुधवार श्री कालिका मावि, राष्ट्रिय मावि, कास्की मोडनाइज एकेडेमी, टप्स बोर्डिङ स्कुल, अमरसिंह मावि र बेसलाईन एकेडेमी बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
‘स्वस्थ जीवनको चाहना: योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा बिरामीले उपचार नपाएपछि अहिले जनप्रतिनिधि र चिकित्सकबीच सवालजवाफ चलेको छ । चौकीमा कार्यरत डा. सुरेश अधिकारी स्वास्थ्य चौकी नआउँदा वडा ८ काअध्यक्ष राम गुरुङले सामाजिक सञ्जाल फेसबुकमा डाक्टर कहाँ छन् ? भन्दै पोस्टिएपछि विषय सार्वजनिक भएको हो । केही दिन अगाडी वडाध्यक्ष गुरुङले फेसबुक डा. सुरेश अधिकारीको नम्बर राख्दै उनको खोजी गरेका हुन् । सामाजिक सञ्जालमा वडाध्यक्ष राम गुरुङले डा. अधिकारीको खोजी गरेपछि डा. अधिकारीले पनि सामाजिक सञ्जालमा नै प्रतिक्रिया दिएका छन् । ‘भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरउन्नती गर्न लागि परेका छौं, स्वास्थ्य कार्यालय प्रमुख डा. अधिकारीलाई नदेखेको महिनौ भयो, वडाध्यक्ष गुरुङले लेखेका छन, ‘ डा. आएको नआएको कसैले मतलब गरेका छैनौं अब सबै जागरुक हुन आवश्यक छ, डा. अधिकारीलाई ९८५१२१५१२३ यो नम्बरमा खबर गरौै, आफ्नो ढङ्गले सम्झाउ ।’ वडाध्यक्ष गुरुङले सोधेको सवालको जवाफ डाक्टर केसीले सञ्जालमार्फत नै दिएको छन् । डा. अधिकारीले भेडाबारी स्वास्थ्य चौकीमा आफु आउँदा मानसिक रोगी बाहेक अन्य बिरामी सेवाबाट बञ्चित हुने प्रतिक्रिया दिएका छन् । ‘म मानसिक रोग विशेषज्ञ हुँ, नेपाल मेडिकल काउन्सिलमा सोही अनुरुप दर्ता छु, प्राथमिक स्वास्थ्य चौकीमा अधिकांश बिरामी बच्चा, गर्भवती, सुगर प्रेसर, आदिका बिरामी आउँछन्’ उनले लेखेका छन्, ‘त्यहाँ आएर मानसिक बाहेक अरु बिरामी सेवाबाट बञ्चित हुन्छन् जनु प्राथमिक सेवा सिद्धान्तको बर्खिलाप हो ।’ वडाध्यक्ष गुरुङले डा. अधिकारीले सामाजिक सञ्जालमा खोजी गरेपछि एमबिबिएस डाक्टर राख्न सुझाव दिदै आफुलाई सुरुवा हुने सहमति दिन आग्रह गरेका छन् । ‘गाउँपालिकाले करारमा एमबिबिएस डाक्टर राखोस, मलाई अन्यत्र सरुवा हुने सहमति देओस् जसले सबै समस्या हल हुन्छ, उनले भनेका छन्, ‘म त्यहाँ आएर समस्या समाधान हुँदैन बरु एमबिबिएस आउने बाटो हुन्छ ।’ माछापुच्छ्रे गाउँपालिकाका स्वास्थ्य संयोजक डिल्लीराम दाहालले स्वास्थ्य चौकीमा नेपाल सरकारले उहाँको दरबन्दी पठाएको हो करारमा कर्मचारी राख्ने स्रोत नभएको सुनगाभा न्यूजलाई बताए । ‘नेपाल सरकारको कर्मचारी संमायोजक अनुसार उहाँको दरबन्दी भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा भएको छ, दाहालले भने, ‘अहिले उहाँले आफुले एमडी पास गरेको भन्दै यहाँबाट सरुवा गर्न माग गर्नुभएको छ, करारमा राख्ने स्रोत हामीसँग छैन्, असोजदेखि कार्यालयमा उपस्थित नभएकाले तलब रोकेका छौं, सम्पर्कमा आउनुभएको छैन् । ’ यस विषयमा प्रतिक्रिया लिन डा. सुरेश अधिकारीलाई सम्पर्क गर्दा फोन उठ्न सकेन । भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा ११ जनाको दरबन्दी रहेको छ । हेल्थ असिस्टेन्ट १ जना, अहेव ३ जना, स्टाफ नर्स १ जना, अनमी १ जना, ल्याव असिस्टेन्ट १ जना र बाँकी कार्यालय सहयोगीको दरबन्दी रहेको स्वास्थ्य संयोजक दाहालले जानकारी दिए ।
बैतडी: ‘प्राइमरी लेभल हस्पिटल’मध्ये जिल्ला अस्पताल बैतडी देशभरिमै दोस्रो स्थानमा परेको छ। न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल देशभरिका उत्कृष्ट अस्पतालको दोस्रो स्थानमा पर्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो। स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटले गरेको मूल्याङ्कनका आधारमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोस्रो स्थानमा पर्न सफल भएको डाक्टर श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन हुँदा बैतडी अस्पताल ८९ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा परेको छ। दमौली अस्पताल पहिलो स्थानमा रहेको छ। जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अङ्कसहित तेस्रो र बझाङ ८४ प्रतिशत अङ्कसहित चौथो स्थानमा परेको छ।” यसअघि सुदूरपश्चिममा बैतडी अस्पताल प्रथम स्थानमा रहेको थियो। स्वास्थ्य सूचकका आधारमा अस्पतालहरूलाई अङ्क दिइने गरिएको छ। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका सुविधा, भौतिक व्यवस्थापनलगायतका कार्य हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको छ। जिल्ला अस्पताल बैतडीमा हाल तीन विशेषज्ञ चिकित्सकसहित आठ चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, “बैतडी अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रियासहित उपचार, एमडीजीपी र एनेस्थियोलोजिस्ट चिकित्सक कार्यरत छन्।” न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशभरिकै उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको अस्पतालमा कार्यरत डा। थानेश्वर न्यौपानेले बताउनुभयो। जिल्ला अस्पताल बैतडीले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरेर हिंसामा परेका महिलाको उपचार, मनोसामाजिक परामर्शलगायतका सेवासमेत प्रदान गरिरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट चार महिनाको अवधिमा हिंसामा परेका ८८ जना महिलाले सेवा लिनुभएको छ। तीमध्ये घरेलु हिंसामा परेका सुत्केरी महिलाले समेत उपचार पाउनुभएको छ।”
काठमाडौं: अल्का अस्पतालले आज (सोमबार) बाट राष्ट्रिय स्तरको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालले मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ सेवा, आ।भि।एफ एण्ड इन्फर्टिलिटि विशेषज्ञ सेवा (निःसन्तान दम्पतीहरुका लागि) र न्यूरो साइक्याट्रिक विशेषज्ञ सेवा शिविर सञ्चालन गरेको हो । शिविर अस्पताल परिसरमा हुने बताइएको छ । शिविरमा सहभागी बिरामीहरुले महिना दिनसम्म अस्पतालमा उपचारका लागि फलोअप गर्नसक्ने अस्पतालले बताएको छ । अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार शिविरमा जाने बिरामीहरुलाई एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिनेछ । प्रमुख केसीले शिविरमा सहभागीहरूले एक महिनासम्म फलोअप गर्दा कुनै शुल्क नलाग्ने बताउनुभयो । उहाँले शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण गरिने जानकारी दिनुभयो । असहाय, अशक्त र आर्थिक अभाव भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको हो । एमआरआई र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरबारे जानकारी गराउन रेडियो, टेलिभिजन, माइकिङ गर्ने काम भइरहेको प्रमुख केसीले जानकारी दिनुभयो । अस्पतालले प्रत्येक दिन शिविरमा आएका एक सयसम्म बिरामीको चेकजाँच गर्ने लक्ष्य राखेको छ । उहाँले शिविरमा आएका बिरामीहरुलाई १० दिनसम्मका लागि निःशुल्क औषधि उपलब्ध गराउने पनि बतउनुभयो । आवश्यक विशेषज्ञ सेवाबाट वञ्चित भइरहेका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको भए पनि परीक्षणका लागि अस्पतालमा पुगेका सबैले परीक्षण गर्न सक्नेछन् । प्रमुख केसीले शिविरमा सहभागीहरुले शिविर अवधिभर कुनै पनि किसिमको सेवामा शुल्क बुझाउनु नपर्ने पनि स्पष्ट पार्नुभयो । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलाइएको अस्पतालले बताएको छ । शिविर पुस १८ गतेदेखि पुस २२ गतेसम्म पाँच दिन चल्नेछ । शिविर कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सबै विषयमा गरी अस्पतालले दिनको तीन सयसम्म बिरामीको परीक्षण गर्ने लक्ष्य लिएको बताउनुभयो । यसअघि पनि विभिन्न समयमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
काठमाडौं: थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३९४ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३९४ गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २९ पुगेको छ
काठमाडौंः सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ–७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो । यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ । अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको भनाई छ ।
काठमाडौं: केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । चीनमा कोभिड–१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कोरोनाको अवस्था र तयारीको बारेमा जानकारी लिन उच्चस्तरीय बैठक गरेका छन्। यसैबीच धेरै राज्यले यस सम्बन्धमा आपतकालीन बैठक बोलाएर तयारीका लागि सक्रिय भएका छन् । भारत सरकारको वेबसाइट ‘माई गभर्नमेन्ट’का अनुसार बिहीबार भारतमा १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना भाइरसका कुल ३४०२ सक्रिय संक्रमित भएका छन्। कोरोनाका कारण बिहीबार एक जनाको मृत्यु भएको छ । साथै १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार एकै दिन करिब एक लाख २५ हजार परीक्षण गरिएको थियो।
काठमाडौं: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालको पदावधि समाप्त भए पश्चात रिक्त रहेको उक्त पदमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१)बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले शर्मालाई शिक्षाध्यक्ष नियुक्त गरेका हुन् । प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त प्रा.डा.शर्माको कार्यकाल यही पुस ७ गतेदेखि पाँच वर्षसम्म रहने जनाइएको छ । प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप दफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरू मध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिनका प्राडा.नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायणराज भट्टराईलाई सञ्चालक परिषद सदस्यमा मनोनीत गरेका छन् । उनीहरूको कार्यकाल पुस ६ देखि चार वर्षका लागि रहने जनाइएको छ ।