पोखरा: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचाररत भेषबहादुर थारुको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । माघमा अपरेशन गरिएको थारु अहिले भेन्टिलेटरमा उपचारत भएपनि केही दिन अस्पतालमा बस्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरेको हो । थारुको माघमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेरुदण्डको अपरेशन गरिएको थियो । रुपन्देही सालझण्डी स्थायी घर भएका थारु परिवार पोखराको अमरसिंह चोकमा बस्दै आएका छन् । भेषबहादुरको बुबाले पोखराको एक फर्निचरमा र आमाले गृहिणीको काम गरेर छोराको उपचार गराइराखेका छन् । बिरामी भेषबहादुरलाई सहयोग गर्न उनको आमा जमुना थारुको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३४०००००१३०४ मा सहयोग गर्न सक्नेछन् ।
पोखरा: नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १८१ जना पत्रकारहरुले आँखा जाँच गराएका छन् र आँखा जाँचको क्रममा पत्रकारहरुमा दृष्टि दोषको समस्या सबैभन्दा बढिमा देखिएको छ । १८१ जनामा गरिएको परीक्षणमध्य १०५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएको छ । उनीहरुलाई औषधी दिइएको छ । वातावरणीय प्रदुषणका कारण आँखामा समस्या बढि देखिने र कम्प्युटर स्क्रिनमा बढी समय काम गर्दा त्यस्तो समस्या देखिने हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुभाष नेपालले बताए । यस्तै पढ्न लेख्न समस्या देखिएका कारण ३५ जनालाई नियर भिजन ग्लास भएको चश्मा उपलब्ध गराइएको छ भने नानी फुलाएर जाच्नु पर्ने (रेटिना फुलाउने) र आँखाका नानीहरुको नसा परीक्षण गर्नु पर्ने बिरामीलाई थप विस्तृत जाँचका लागि हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ । रिफर भएका पत्रकारहरुको थप स्वास्थ्य परीक्षण निःशुल्क हुने हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् । शिविरको उद्घाटन सत्रमा बोल्दै नेत्रज्योती संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङले समाजमा दिन रात खट्ने पत्रकारहरुको आँखा स्वास्थ्यलाई स्वस्थ्य राख्ने उद्देश्यले निःशुल्क सिविर आयोजना गरिएको बताए । हिमालय आँखा अस्पताल पोखराका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले हिमालय आँखा अस्पतालले आम नागरिकका आँखा उपचार सेवामा पु¥याएको योगदानको चर्चा गर्दै सञ्चारकर्मीहरुलाई सेवा दिन पाउदा गर्व लागेको बताइन् । शिविरको समन्वय संस्था पत्रकार महासंघ गण्डकी प्रदेश समितिका का.वा अध्यक्ष गोविन्द सुवेदीले पत्रकारहरुको छाता संस्थाको ६७ औं स्थापना दिवसको उपलक्ष्यमा नेत्रज्योती संघको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविरले पत्रकार महासंघ र नेत्रज्योती संघबीच थप सम्बन्ध प्रगाढ भएको बताउदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताएका छन् । पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारहरुको लागि बेला बेलामा आँखा परीक्षण गरिहनु पर्ने बताइन । निःशुल्क शिविर कार्यक्रम प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार नारायण कार्कीको आँखा परीक्षण गरि उद्घाटन गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव यदुनाथ बञ्जाराले गरेका थिए ।
काठमाडौं : थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४८८ र एन्टीजेनबाट७७८ नूमना परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको छ।
बागलुङ: बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्केरी व्यथा लागेर लामो समयसम्म सुत्केरी हुन नसकेपछि पुनलाई पोखरा पु¥याइएको हो । शनिबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगको समन्वयमा हेलिकोप्टरमार्फत पोखरा पु¥याइएको र हाल पुनको उपचार भइरहेको गलकोट नगर अस्पतालका डा राजेश पौडेलले जानकारी दिनुभयो । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी स्वास्थ्य मन्त्रालयको कार्यविधिअनुसार उहाँको उद्धार गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । पुनको रिघा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि गलकोट नगर अस्पताल सिफारिस गरिएको थियो । अवस्था थप जटिल बनेपछि आकस्मिकरूपमा उपचारका लागि पोखरा पठाइएको र अहिले पुनको शल्यक्रिया गरी बच्चा जन्माएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले विसं २०६७ मा पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । जनतालाई सहजरुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताउनुभयो । अस्पतालले श्वासप्रश्वासको विशेषज्ञ सेवा सुरुआत गरेको छ । पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ स्मृति दिवसको अवसर पारेर अस्पतालले विशेषज्ञ चिकित्सकबाट श्वासप्रश्वासको उपचार सेवा सुरु गरेको हो । हालसम्म जनरल अस्पतालका रुपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्देश्यबमोजिम श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । अस्पतालमा श्वासप्रश्वास सेवाका लागि श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङलाई नियुक्त गरिएको छ । “अस्पताल स्थापनाको मुख्य उद्देश्य श्वासप्रश्वाससम्बन्धी उपचारका लागि हो, हालसम्म जनरल सेवामात्रै दिइँदै आएकामा अब श्वासप्रश्वासको उपचार सेवा सुरु भएको छ”, डा श्रेष्ठले भन्नुभयो । श्वासप्रश्वास सेवाका लागि अस्पतालमा एक विशेषज्ञसहित तीन चिकित्सक, तीन स्टाफ नर्स र एक जनस्वास्थ्य निरीक्षकको व्यवस्था गरिएको छ । उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण विस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । “भएका उपकरणमार्फत सेवा दिने र बाँकी उपकरण विस्तारै थप्दै जाने नीति छ”, श्रेष्ठले भन्नुभयो । अस्पतालमा दैनिक दुई सय ५० भन्दाबढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । अस्पतालमा नै श्वासप्रश्वास उपचार सेवा सुरु भएपछि यस भेगका सर्वसाधारणले अन्यत्र जिल्ला गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । उपचार केन्द्रले विभिन्न रोगका उपचार सेवा थप गर्दै गइरहेको छ । केही समय अगाडि मात्रै उपचार केन्द्रमा थाइराइड परीक्षण सेवा सुरु भएको थियो । केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभुषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आउनुभएको छ । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सजिलो भएको छ । अस्पतालमा तीन जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्स–रे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ । पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने गरेका छन् ।
गण्डकी: पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने उहाँले बताउनुभयो । “मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमतिपत्र पाएपछि एक सय शय्याको अस्पतालको रूपमा हामी पूर्णरूपमा सेवा दिन्छौँ”, उहाँले भन्नुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । विश्वविद्यालयका इन्जिनियर सुदीप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी तीन आना जग्गामा निर्माण गरिएको छ ।
भक्तपुर: भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो । बागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् । उनका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको हो । प्रदेश सरकारले अस्पताललाई रु २५ लाख उपलब्ध गराएको उनले जानकारी दिइन् । अस्पतालले एक दिनमा बढीमा १० जनासम्मको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको डा गौतमले बताइन् । सेवा लिनका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिसमा अस्पतालले बागमती प्रदेशभित्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ । निजी अस्पताल वा क्लिनिकमा पूर्ण स्वास्थ्य परीक्षण गर्दा महँगो हुने भएकाले अस्पतालबाट उपलब्ध निःशुल्क सेवा लिन अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले प्रदेशका बासिन्दालाई आह्वान गरे । अस्पतालले प्रदेश सरकारको सहयोगमा नसर्ने रोग पहिचानका लागि स्वास्थ्य परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक बार्डसमेत स्थापना गरेर सेवा विस्तार गरेको उनले जानकारी दिए । प्रदेश सरकारको रु १५ लाखको सहयोगमा हाल दुई शय्या सञ्चालनमा रहेको प्यालिएटिभ केयर सेवा पाँच शय्यामा विस्तार गर्ने तयारी भइरहेको कायस्थले बताए । उनका अनुसार क्यान्सर रोग लागेर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो सेवा सञ्चालन गरिएको हो । साथै ज्येष्ठ नागरिकको उपचारका लागि प्रदेश सरकारको रु १५ लाखको सहयोगमा पाँच शय्याको निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको छ । अस्पतालका मेसु डा.गौतमका अनुसार अस्पतालले अल्जाइमरअर्थात् बिर्सने रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सर्वसाधारणमा त्रास बढ्नुका साथै अल्जाइमरका रोगी पनि बढेकाले अस्पतालले ‘अल्जाइमर क्लिनिक’मार्फत सेवा प्रदान गरिरहेको उनले बताइन् । डा गौतमका अनुसार मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो चिकित्सकसहितको टोलीले प्रत्येक दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिरहेको छ । साथै बुधबार पाटन अस्पतालका मनोरोग विशेषज्ञ डा निदेश सापकोटाद्वारा ज्येष्ठ नागरिकका लागि मनोरोग विशेषज्ञ सेवासमेत सुरु गरेको छ । अस्पतालले नियमित न्यूरो ओपिडी सेवा सुरु गरेको छ । पाटन अस्पतालका नसा रोग विभागका प्रमुख एवं विशेषज्ञ चिकित्सक डा.प्रकाश विष्टले भक्तपुर अस्पतालमा आफू जोडिएको बताउँदै भक्तपुर अस्पतालमा न्युरो सर्जरी सेवा विस्तार गरेको जनाए । उनले मुटु सेवा सञ्चालनमा ल्याउनुका साथै १६ शय्याको आइसियु सञ्चालनमा आएदेखि नै बिरामीको चाप रहेको जानकारी दिए । अस्पतालले प्रसूति सेवाअन्तर्गत शल्यक्रिया सेवा विस्तार गरेको छ । लामो समय बेथा लागेर प्रसूति समस्या आएका तथा पाठेघरको शल्यक्रिया गर्दा पिसाब थैलीमा प्वाल परेर पिसाब चुहिने रोग लागेका महिलाका लागि निःशुल्क शल्यक्रियाका लागि अस्पतालले अन्यत्र सिफारिस गर्न सुरु गरेको अस्पतालले जनाएको छ । यहाँबाट रिफर भएका महिलाले शल्यक्रियाका लागि मोडल अस्पताल काठमाडौँ निःशुल्क उपचार सेवा पाउने मेसु डा गौतमले जानकारी दिइन् । त्यस्तै मस्तिष्काघात भएका बिरामीलाई भक्तपुर अस्पतालले मनोमोहन वा वीर अस्पतालमा रिफर गरेपछि त्यहाँ हुने शल्यक्रियामा रु दुई लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरिएको छ । अस्पतालमा हृदयाघात पहिचान भएका बिरामीका लागि प्रदेश सरकारको सहयोगमा गङ्गालाल अस्पतालमा रिफर गरी रु एक लाख ८० हजार बराबरको उपचार निःशुल्क हुने गरिएको उनको भनाइ छ । अस्पतालमा २४ सैँ घण्टा इसिजी, आकस्मिक सेवा तथा एम्बुलेन्स सेवा सञ्चालित छन् । हाल अस्पतालमा दैनिक सात सय ५० देखि आठ सय बिरामी उपचारका लागि आउने गरेका अस्पताल विकास समितिका अध्यक्ष कायस्थले जानकारी दिए । उनले भने, “अस्पतालमा मेसु डा गौतमले धेरै सुधार गरेसँगै बिरामीको चाप निकै बढेको छ, पछिल्लो समय प्रसूतिलगायतका सर्जरी अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढेको छ ।” कायस्थका अनुसार पछिल्लो समय मुटु, कान, नसारोगलगायत सेवा विस्तार गरिएकाले बिरामीको चाप बढेर गएको हो । हाल अस्पतालमा दैनिक १० वटासम्म शल्यक्रिया हुने गरेको उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना संक्रमित भेटिएका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालय, दिपायलले सुनगाभा न्यूजलाई दिएको जानकारी अनुसार बुधबार ६ जनामा संक्रमण देखिएको हो । कञ्चनपुरको गौरिफन्टास्थित त्रीनगर नाकामा गरिएको एन्टीजेन परीक्षणमा भारतबाट प्रवेश गर्ने क्रममा ६ जना नेपालीमा कोरोना संक्रमण पाइएको छ । निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले टेलिफोनमा दिएको जानकारी अनुसार संक्रमित ६ मध्ये तीनजना कैलाली, १ बझाङ्, १ कञ्चनपुर र १ कालिकोटका रहेका छन् । संक्रमितलाई काउन्सिलिङ्पछि घरमै सुरक्षित बस्न भनिएको छ । ‘नेपाल–भारत नाकाको त्रीनगर पोस्टमा संक्रमित भेटिएका हुन्’ जोशीले भने ‘काउन्सिलिङ्पछि होम आइसोलेशनमा बस्न भनेका छौं ।’ जोशीले जनाएअनुसार एक साता अघि पनि ४ जनामा कोरोना संक्रमण भेटिएको थियो । संक्रमितहरु भारतमा काम गरी नेपाल फर्किएका हुन् ।
काठमाडौं: आज स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशमा धेरै राजनीतिक परिवर्तन भए पनि दूरदराजका गरिब जनताले अझै पनि सर्बसुलभ ढंगले स्वास्थ्य सेवा नपाइरहेको बताए । ‘नेपालको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन ढिलो भइसकेको छ । गरिब जनताले सुलभ ढंगले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था आजको दिनमा पनि छैन,’ उनले भने । उनले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौं भनेर सबैले आ–आफ्नो ठाउँबाट अठोट गरेमा मात्रै स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता रहने बताए ।