नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताउनुभयो । “चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन हुनुहुन्थ्यो उहाँ पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा शल्यक्रिया सेवा बन्द भयो, पछि शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ”, उहाँले भन्नुभयो । जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सीएस लगायतको शल्यक्रिया सेवा हुँदै आएको थियो । सामान्य घाउको चिरफार र शल्यक्रिया बाहेकको शल्यक्रिया सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । अहिले अस्पतालमा सजर्न चिकित्सकसमेत छैनन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरबहादुर थापाको सरुवा भएपछि मेसुको पद रिक्त भएको छ । अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ को भएपनि ७ मात्रै कर्मचारी छन् । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएपनि सोहीअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन् । थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचेअनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकोमा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ । यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताउनुभयो । सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उहाँको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनौँ । अहिले पनि हामी भन्दैनौँ”, उहाँले भन्नुभयो, “तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।” स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउनुहुन्छ । “सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ”, उहाँले भन्नुभयो, “यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।” उहाँले सङ्क्रमण साउन र भदौमा धेरै माथि ९पिक०मा पुग्ने र त्यसपछि घट्ने बताउनुहुन्छ । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउनुहुन्छ । “सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उहाँले भन्नुभयो, “नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।” उहाँले अहिलेको सङ्क्रमणको तह माथिल्लो तह ९पिक लेभल०मा पुगेपछि पुनः घट्ने बताउनुहुन्छ । उहाँले भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उहाँले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गर्नुभयो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ । यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । मृतक अधिकांश खोप नलगाएका कोरोना भाइरसको सङ्क्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको सङ्क्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट सङ्क्रमणबाट मानिस मर्न थालेका हुन् । पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिनुभयो ।
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा नौ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ११ लाख ३१ हजार आठ सय ५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप तीन सय एक सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार नौ सय २६ पुगेको छ । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ । त्यसैगरी पछिल्लो समय ५५ हजार पाँच सय ५९ ले खोप लगाइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३३ पुगेको छ । होम आइसोलेसनमा पाँच हजार दुई सय ७५, संस्थागत आइसोलेसनमा एक सय ५८ आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका ल्याबबाट कुल पाँच हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये तीन हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ र दुई हजार २२४ जनाको एन्टीजेन परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप एक जनाको कोरोनाले मृत्यु भएको छ भने २६४ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३३ हजार १७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यस्तै, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३४ पुगेको छ । काठमाडौं र ललितपुरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । त्यसैगरी, कास्कीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार ८७२, ललितपुर ५४३ र भक्तपुरमा ३७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् । यस्तै पाँच जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको छ ।
काठमाडौँ: आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ६६ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी सङ्क्रमित रहेका छन् । यस्तै मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेशनमा चार हजार दुई १८, संस्थागत आइसोलेशनमा एक सय ५१ र सघन उपचारकक्ष (आइसीयू)मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
डोटी: जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै उपचार गर्नमा निकै समस्या उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको हो । उपचार गराउन आएका बिरामीमध्ये ६०–७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उहाँले बताउनुभयो । “जिल्ला अस्पतालमा दैनिक औसतमा ४० देखि ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउँछन्”, जोशीले भन्नुभयो, “ उपचारमा समस्या हुँदै आएको छ ।” केही दिनदेखि जिल्लामा वर्षासँगै पानी दूषित भएको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको हो । ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललितकुमार लिम्बूले बताउनुभयो । शैलेश्वरी अस्पतालमा पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिनुभयो ।
तनहुँ : तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनिया लगायतका बिरामी अत्यधिक आउने गरेका छन् । बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिनुभयो । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् । उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।” रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताउनुभयो । लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् ।
पोखरा: पछिल्लो २४ घण्टामा गण्डकी पदेशमा ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका अनुसार कास्कीमा ५६, बागलुुङमा २० , स्याङ्जामा १२, तनहुुँ र नवलपरासी पुर्वमा ३/३ जना र गोरखा, पर्वतमा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । देशभर ७ सय १० जनामा कोराना संक्रमण पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।