पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

वीरगन्ज: लागुऔषधसहित वीरगन्जमा तीन जना पक्राउ परेका छन्।    मालबाहक ट्रकबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ। लागुऔषध ढुवानीमा प्रयोग भएको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ।   लागुऔषधसहित पक्राउ पर्नेहरुमा प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौडा उपमहा नगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय निर्मल पौडेल , सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का छन्।    उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ओनरेक्स १६६ बोत्तल र कोडिवेल ५७ बोत्तल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।   वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोक अगाडिको सडकमा ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागुऔषध २३३ बोत्तल फेला परेको गिरीले बताए। लागुऔषध र ट्रक सहित पक्राउ परेका तीनै जनालाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

काठमाडौं : बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजाय भएको छ। सौन्दर्य प्रतियोगितामा बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएको हो।    न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई उक्त सजाय तोकिएको हो। यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो। एक युवतीले आफू नाबालिग हुँदा ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा पाण्डेले बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

झापा : श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।    पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-८ स्थित नयाँ खसिबजार निवासी ३३ वर्षीय मनोज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।    प्रहरीका अनुसार बस्नेतले चार दिनअघि ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरी घरदेखि दुई मिटर उत्तर चौरमा शव गाडेका थिए।    स्थानीयले आज दिउँसो ४:५० बजे गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव फेला परेपछि अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए।    उदयपुर रामपुर-८ घर भई उनीहरू अर्जुनधारा ८ मा बस्दै आएका थिए। सामान्य मजदुरी गर्दै आएका बस्नेतले पारिवारिक कलहका कारण श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

तनहुँ:  नाबालिका बलत्कार गर्ने तनहुँका एक वृद्धलाई जन्मकैदको फैसला भएको छ। भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला सुनाएको हो।    जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।    मुद्दाको संवेदनशीलताले गर्दा पीडकको नाम खुलाइएको छैन। वृद्धलाई वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरेर तीन जना बालिकालाई बलात्कार गरेको अभियोग लागेको तनहुँ जिल्ला अदालतले जनाएको छ।   आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरेर जिल्ला कारागारको थुनामा राखेको थियो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ।   वि.सं. २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको श्रेतेदार कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए। 

विराटनगर : लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृत विराटनगरबाट पक्राउ परेका छन्।    भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१५ रानीस्थित १ नम्बर ढाटबाट असइ (प्रहरी सहायक निरीक्षक) घनश्याम लाखे पक्राउ परेका हुन्।  उदयपुरको कटारी नगरपालिका-५ घर भएका ३० वर्षीय लाखे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए।    लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार दिउँसो ४:२० बजेतिर मोटरसाइकल रोकेर चेकजाँच गर्दा १.५२ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।     उनका अनुसार इलामको प्रहरी चौकी कर्फोक दरबन्दी भएका लाखे इलामकै इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत रहेको खुलेको छ।    ब्राउन सुगर बरामद भएसँगै असइ लाखेले चलाएको मोटरसाइकलको पछाडि बसेका इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।    दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी राईले दिए। उनका अनुसार घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अघि बढाएको छ।    ब्राउन सुगरको धन्दामा संलग्न रहेको पाइएपछि यसअघि गत मंगलबार पनि विराटनगरबाट नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका थिए।    सुरुमा १ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका विराटनगर-१५ का २० वर्षीय नजाम खानले नाम लिएपछि हवल्दार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।    प्रारम्भिक अनुसन्धानबाट भारतको जोगवनीदेखि नेपालतर्फ ब्राउन सुगर भित्राउन यादवले खानलाई भरियाको रूपमा प्रयोग गरेको खुलेको छ। विराटनगर-१४ मा बस्दै आएका यादव वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भई विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए। 

काठमाडौं:  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भुवन बहादुर माझीलाई पक्राउ गरेको छ  ।  सिन्धुली कमलमाई नगरपालिका वडा नं. १७ घर भई हाल  काठमाडौं शान्तिनगर–३१ बस्दै आएका माझीलाई आज (शुक्रबार) काठमाडौं,नयाँबानेश्वरबाट पक्राउ गरिएको हो ।  माझीलाई उच्च अदालत पाटन, ललितपुरको मिति ०७९–०५–२८ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा रु १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँको विगो गरेको आरोप लागेको काठमार्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  त्यस्तै माझीलाई आजै अदालतमा उपस्थित गराईएको छ ।   

रौतहट : चन्द्रपुरमा छोराले बाबुको हत्या गरेका छन् । घरायसी विवादमा चन्द्रपुर नगरपालिका –६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति बुबाको हत्या गरेका प्रहरीले जनाएको छ ।   राईले दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमार राइको हत्या गरेको प्रहरीले जनाएको छ । बाबुको हत्या गरेको आरोपमा राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको डीएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए।   बाबु र छोराबीच राति  विवाद हुँदा छोरा प्रकाशले दाउराको चिर्पटले हानेका थिए । घाइते निरकुमारलाई तत्काल उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले  प्रकाशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

भक्तपुर : भक्तपुर सूर्यविनायक नगरपालिका-९, नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।    काठमाडौं थानकोट बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ ६ बजे  २१ वर्षीय भक्त नेपाली पक्राउ परेका हुन्।    उनलाई जबरजस्ती करणी कसुरमा पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। 

जाजरकोट:  जाजरकोटमा हत्या भएको पाँच वर्षपछि मानव कङ्काल फेला परेको छ । भेरी नगरपालिका सिस्नेरीका ४७ वर्षीय काले कामीको मानव कङ्काल फेला परेपछि हत्या आरोपमा श्रीमती भद्धकला लुहार कामी र छोरा तुलसीराम बिक लाई प्रहरीले पक्राउ गरेको हो ।    भेरी नगरपालिका ६ सिस्नेरी बस्ने काले कामीको २०७४ पुस ३० गते श्रीमतीले हत्या गरी घरको छेउमा रहेको शौचालयको सेफटी टङ्कीमा गाडेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा २०७९ साल माघ १७ गते  श्रीमती भद्धकला लुहार कामी र कान्छो छोरा तुलसीराम विकलाई प्रहरीले पक्राउ गरेको छ ।   श्रीमान् श्रीमती बिच सामान्य विवाद हुँदा मृतक कामीले श्रीमतीलाई लट्ठीले हान्न खोज्दा उक्त लाठी खोसी श्रीमतीले श्रीमानको टाउको लगायत शरीरका विभिन्न भागमा  लट्ठीले प्रहार गर्दा बार्दलीबाट खसेर कामी घाइते भएका थिए ।   घाइते अवस्थामै तल झरी  श्रीमतीले पुन लट्ठी प्रहार गरी गम्भीर घाइते भएका श्रीमानलाई छोराहरूको सहयोगमा घरको माथिल्लो कोठामा लगी छाडी छिमेकीको घरमा बास बसेका थिए । भोलिपल्ट बिहान घरमा आएर हेर्दा श्रीमानको मृत्यु भएको देखेपछि बेलुका झिसमिसे अँध्यारोमा छोराहरूको सहयोगमा डोरीले बाँधेर घिसादैै घर नजिकैको शौचालयको खाल्डोमा हाली ढुगा माटोले पुरेको अवस्थामा पाँच वर्षपछि  शौचालयको सेप्टी टङ्की उत्खनन गर्दा प्रहरीले मानव कङ्काल, लेखिएको ज्याकेट, डोरी फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो ।    श्रीमान्,श्रीमती बिच सामान्य विवादले ठुलो रूप लिएपछि श्रीमतीले श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमती भद्धकला कामी र कान्छो छोरा तुलसीराम बिक पक्राउ परेका छन् । पक्राउ परेका आमा छोरालाई जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ भने हत्यामा संलग्न माइलो छोरा तिलक विक, साइँलो छोरा गोविन्द विक फरार रहेकाले खोज कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख निरौलाले बताउनु भयो ।