ललितपुर: ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी कक्ष थप गर्न लागेको हो । हाल ३ वटा ऐतिहासिक भवनमा प्रदर्शनी कक्ष रहेका भन्दै ती भवनमा परम्परागत कला झल्कने नयाँ प्रदर्शनी कक्ष थप्न लागिएको दरबार सङ्ग्रहालयका प्रमख सुरेशमान लाखेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस अघि (आगमी जेठ) भित्र उद्घाटन गर्नेगरी प्रदर्शनी कक्ष विस्तारको काम अघि बढेको छ । नयाँ थपिएको प्रदर्शनी कक्षमा कलात्मक मूर्ति निर्माण गर्ने चरण प्रक्रियालाई प्रदर्शनीमा राखिने लाखेले जानकारी दिनुभयो । ढु¬ङुगा, काठ र धातुबाट मूर्ति बनाउन सकिने भन्दै उहाँले मूर्ति निर्माणको चरणबद्ध प्रक्रिया प्रदर्शनमा राखिने उल्लेख गर्नुभयो । नयाँ थपिएको कक्षमा राख्न ललितपुरका लोक चित्रकारले पौवा, भक्तपुरका इन्द्रकाजी सिल्पकारले काष्टकला र ललितपुर भैँसेपाटीका चन्द्रस्याम डुङ्गोलले ढुङ्गाको मूर्ति निर्माण गरी उपहारस्वरूप सङ्ग्रहालयलाई हस्तान्त्ररण गर्ने जनाइसक्नुभएको उहाँले बताउनुभयो । सङ्ग्रहालयका प्रमुख लाखेका अनुुसार नयाँ थपिने कक्षमा उपहारस्वरूप कला हस्तान्त्ररण गर्ने सबैलाई उद्घाटन समारोहमा सम्मान गरिनेछ । सङ्ग्रहालयमा कलात्मक मूर्तिसहित अन्य ऐतिहासिक सामग्री राखिएका भन्दै सिङ्गो ढुङ्गा र काठबाट कसरी मूर्तिकोस्वरूप दिइन्छ भन्ने प्रक्रिया प्रदर्शनीमा नरहेकाले थप कक्ष विस्तार गर्न लागिएको उहाँले राससलाई जानकारी दिनुभयो । नयाँ कक्षमा थपिने कालात्मक प्रदर्शनीले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई परम्परागत सीपको अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रमुख लाखेले बताउनुभयो । “पर्यटकलाई सङ्ग्रहालयमा सधैँ एकैप्रकारका ऐतिहासिक सामग्री देखेर दिक्क लाग्नु स्वभाविक हो”, उहाँले भन्नुभयो, त्यसैले हामीले नयाँ कलात्मक सामाग्री थपेमा सङ्ग्रहालयको आकर्षण बढाउने र पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका हौँ ।”
नुवाकोट: धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो । यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ । दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ । मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहनुभएका अध्यक्ष थापाले बताउनुभयो । दुप्चेश्वर महादेवको महिमा पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा आराधाना गर्ने परमपरा स्थापित भएको मन्दिरका पूजारी धितालले बताउनुभयो । गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उहाँको भनाइ छ ।यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताउनुभयो । उहाँका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ । मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् । धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा भक्तजन यहाँ जाने गर्दछन् ।दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ । महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ । काठमाडौँको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानिटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गङगटे–ढिकुरे–माछापोखरी–खरानिटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्दछ । नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ । मन्दिर नजिकैपर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ । रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिरसम्म पुग्न सकिन्छ ।मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ ।
झापा: प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको छ । उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्नुहुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुनुहुने कार्यक्रम छ ।
म्याग्दी: बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ । आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने र रु एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ । “महोत्सव व्यापारिक तथा मनोरञ्जनका लागि मात्रै नभइ म्याग्दीमा लगानी ल्याउनका लागि पनि उपयोगी हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो “म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवद्र्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।” महोत्सवमा औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, विभिन्न कलाकारको प्रस्तुति रहनेछन् । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य, जनजातिका झाँकी पनि प्रर्दशनी गरिनेछ । महोत्सवका अवसरमा आयोजना गरिने अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई रु १ लाख ५१ हजार र उपविजेतालाई रु ७५ हजार १ सय पुरस्कारको व्यवस्था गरिएको छ । लोक दोहोरी गीत प्रतियोगिताका विजेतालाई रु १ लाख १ सय र उपविजेतालाई रु ६१ हजार १ सय पुरस्कार प्रदान गरिने जनाइएको छ । महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायी हितकोषमा रु १० लाख, विपद् राहत कोषमा रु ५ लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक सङ्घ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि विसं २०५८ देखि २०७८ सालसम्म सात पटक म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापूर्वकालदेखिनै माघे सङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो ।
काठमाडौं: राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ । पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो । चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने १ सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा १ महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।
मुगु: रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका हुन् । निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार क्यामेरामा कालो रङको चितुवा, हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लोखर्केजस्ता स्तनधारी वन्यजस्तु ‘ट्रयाप’ भएका र तीमध्ये कालो रङको चितुवा र लोखर्के पहिलोपटक देखिएको हो । निकुञ्जमा ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागबाट विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापामगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाईँ र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया अनुसन्धानमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र रारा राष्ट्रिय निकुञ्ज कार्यालयको अनुमतिमा गत कात्तिक ६ गतेदेखि २१ दिनका लागि निकुञ्जका विभिन्न ४० स्थानमा क्यामरा जडान गरिएका थिए । निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयले चराचुरुङ्गीको गणना गर्दै आएको भए पनि यहाँ रहेका वन्यजन्तु, जलचर, वनस्पतिको गणना हालसम्म गरेको छैन ।
ढोरपाटन: सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो । सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ । आयोजनाको सबै काम रु सात करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शङ्कर पोखरेलले बताउनुभयो । हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ ।
चितवन: राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ । यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।
सर्लाही: कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो । उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ । उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ । ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ । “रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।” विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताउनुभयो । “सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्रयाक्टर प्रदर्शन गरेका थिए । आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् । कवाडीमा फालिएका मोटरसाइकलका पार्टस, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय ट्रयाक्टर निर्माणमा रु एक लाख १५ हजार बढी खर्च भएको छ । आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् । “हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छौँ ।” यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताउनुभयो । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ । निर्माण गरेको विद्युतीय ट्रयाक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गर्नुभएको थियो । इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ । यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।

