काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा जारी १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदा बाँकी ५ पदाधिकारी र १९ सदस्यका लागि भने निर्वाचन सुरु भएको छ । महासंघको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा र द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए । शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको १० औं अधिवेशनबाट किसान सुनारको नेतृत्वका ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुदंैछ । ५ पदाधिकारीसहित १९ जना सदस्यमा निर्वाचन हुँदै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको तृतीय उपाध्यक्षसहित, महासचिव, २ सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र १९ जना सदस्यमा निर्वाचन हुन लागेको हो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको तृतीय उपाध्यक्षमा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका प्रेम बहादुर विक (खाती) र नेपाल रत्न तथा आभुषण संघका निभा रत्न शाक्यको उम्मेवारी परेको छ । महासंघको महासचिवमा २ जना उम्मेदवारी परेको छ । सुनचाँदी व्यवसायी संघ पाँचथरका विमल धमला (निरबहादुर वि.क) र नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका टंकबहादुर बराईलीको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ । यस्तै २ सचिव पदमा ३ जनाको उम्मेदारी परेको छ । सगरमाथा सुनचाँदी व्यवसायी संघ,उदयपुरका पृथ्वी विश्वकर्मा, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका खेमराज विश्वकर्मा (तिरुवा) र नेपाल सुनचाँदी व्यवसायी संघका केशर बहादुर विकले सचिव पदमा उम्मेवारी दिएका हुन् । यस्तै कोषाध्यक्षमा नेपाल रत्न तथा आभुषण संघका प्रविण शाक्य र नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका गणेश प्रसाद विश्वकर्माको उम्मेवारी परेको छ । यस्तै सह–कोषाध्यक्षमा रत्न व्यवसायी संघ नेपालका मेघ नाथ पाण्डेय र नेपाल सुनचाँदी कला व्यवसायी संघका दिपक धनुकको उम्मेवारी परेको छ । यस्तै १९ पदको कार्यसमिति सदस्यमा २४ जनाको उम्मेवारी परेको छ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी गरेपनि अध्यक्ष, प्रथम र द्धितीय उपाध्यक्षबाहेक अन्य पदमा निर्वाचन हुन लागेको हो । सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन । जारी अधिवेशनमा देशभरबाट कुल ३ सय ८४ जना प्रतिनिधि रहेका छन् ।
काठमाडौं: कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदा तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताएका छन् । काठमाडौंमा आज देखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताए । ‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भने, ‘अहिले व्यवसायीहरुको गुनासो धेरै छन्, व्यवसायीहरुको गुनासो सुन्ने राज्यको संयन्त्रमा छु, गुनासो सुन्न मन्त्रालयका ढोका सधै खुल्ला रहनेछ ।’ उनले राज्यको कमजोर नीतिका कारण व्यवसायीहरु मारमा परेको उल्लेख गरे । ‘जनताहरुमा अहिले निराशा बढिरहेको छ, जनताको निराशालाई आशामा बढल्ने गरी अब काम गछौं’, उनले भने, ‘राज्यको कमजोर नीतिका कारण व्यवसायीहरुम मारमा परेकाले अब व्यवसायीमैत्री नीति ऐनमा ध्यान दिन्छौं ।’ उनले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघले राज्यको राजश्वमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै आफ्नो कार्यकालमा समस्याहरु सक्दो सुल्झाउने प्रतिवद्धता जनाए । यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ कला र संस्कृतिको संरक्षक भएको बताए । सरकारले व्यवहारिकताको पाटोलाई हेरेर कार्यनिर्देशिका बनाउनुपर्ने मल्लले धारणा राखे । ‘व्यावसायीहरुलाई पहिला थुन्ने अनि सुन्ने काम पछिल्लो समय भइरहेको छ, उनले भने, ‘ग्राहकहरु पुरानो सुन लिएर बेच्न आउनुहुन्छ । उहाँहरुसँग पुरानो बिल बिजक हुदैन । र व्यवसायीहरुले उहाँहरुको समस्या बुझेर खरिद गर्नुहुन्छ । त्यसकै आधारमा थुनामा पुग्नुपर्ने अवस्था छ । त्यसैले व्यवहारिक पाटोलाई हेरेर निर्देशिका बनाउनुपर्ने देखिएको छ ।’ उनले सुनचाँदी आयातमा भन्सार कर वृद्धि गरेकै कारण अवैध रुपमा सुन भित्रिने र तस्करी बढेको उल्लेख गरे । ‘सुन भित्राउन भन्सारमा बढाइएको १५ प्रतिशत करकै कारण सुनको तस्करी बढेको छ, उनले भने, ‘अबको सरकारले त्यो कार्यलाई कम्तिमा १२ प्रतिशत सम्म झार्नुपर्छ ।’ यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जोत्सना श्रेष्ठले रत्न तथा आभुषणका लागि कच्चापदार्थ नेपालमै भएकाले सरकारले व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । ‘नेपालमै पाइने रत्नहरु भारतमा सस्तो मूल्यमा निर्यात हुन्छ र नेपालमा भित्राउदा हजारौ बढी तिरेर आयात गर्नुपरेको स्थिति छ । त्यसैले सरकारले यसको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ ।’ आज (शुक्रबार) बाट सुरु भएको दशौं महाधिवेशन भोलि (शनिबार) सकिनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी रहेको छ । सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए। प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका छन् । प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
सिन्धुली: सिन्धुलीमा नेपाल टेलिकमको एक टावरमा अपरिचित समुहले बम बिस्फोट गराएको छ । सिन्धुलिको सुनकोसी गाउपालिका १ दुम्जा स्थित बिपीपार्क नजिक आज बिहान बम बिस्फोट भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान तीन बजेतिर बिस्फोटको आवाज आएपछी प्रहरी चौकी दुम्जालाइ जानकारी गराइएको थियो । सो सम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम बिस्फोट भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुम्जास्थित बिपि पार्कमा रहेको एनटिसीको टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसङ्गै प्रहरी चौकी दुम्जाको टोली पुगेको थियो । एनटिसीको टावर रहेको कम्पाउण्ड भित्रको झ्यालमा अपरिचित समुहले कुकर बम बिस्फोट गराएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रबत्ता दहालका अनुसार कुकर बमले टावरको कम्पाउण्डको झ्यालमा सामान्य क्षती पुगेको छ । टावरको कम्पाउण्ड भित्र दुइओटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुक्ती सेना नामक पर्चा फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: रुसी सेनामा भर्ना भएका सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ । उक्त मन्त्रालयले परम्परागत रुपमा भएको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट गरेको छ । सरकारले गत पुस ४ गते सार्वजनिक सूचना जारी गरेर सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाइए सम्बद्ध सबैलाई पुनः स्मरण गराएको छ । “रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ”, विज्ञप्तिमा उल्लेख छ, “रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ ।” परराष्ट्र मन्त्रालयले दिवङ्गत नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पार्नुभयो । “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।” व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताउनुभयो । उहाँले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गर्नुभयो । “विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।” उहाँले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो । बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”
ललितपुर: राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौं, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । “काठमाडौँ उपत्यका कला र बहुसंस्कृतिको वैभवशाली सहर हो । ललितपुर महानगरले धेरै सम्पदा पुनःनिर्माण गरेर ताजगीपन दिन गरेको योगदान सराहनीय छ । देशभरका स्थानीय तहमध्ये यो महानगर उदाहरणीय पालिका बन्न सफल भएको छ । यहाँको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिन्छ”, राष्ट्रपति पौडेलले भने। उनले पर्यटनको विकासका लागि हाम्रो कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले क्षतविक्षत् भएको बालकुमारी मन्दिर बनाउन महानगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिँदै मन्दिर पुनःनिर्माण गरी राष्ट्रपतिको हातबाट समुद्घाटन गर्न पाएकामा खुसी व्यक्त गरे । उनले देवालय, शिवालयजस्ता पुरातात्विक महत्वका सम्पदा निर्माणमा सार्वजनिक खरिद ऐन, २०६३ बाधक भएको भन्दै उक्त ऐन संशोधन गर्न सुझाव दिए । उनले कुनै समस्या सिर्जना नहुने गरी आफ्नो कार्यकालभित्र ऐतिहासिक महत्त्वका एक सय ५५ वटा मठमन्दिर, पाटीपौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको पनि जानकारी दिए । बालकुमारी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले मन्दिरको ऐतिहासिक पृष्ठभूमि तथा पुनःनिर्माणका बारेमा जानकारी गराए ।
काठमाडौं: प्रधानमन्त्री प्रचण्डले आज (बुधबार) विश्वासको मत लिँदैछन् । नयाँ गठबन्धनपछि कांग्रेसले समर्थन फिर्ता लिएकाले आज प्रधानमन्त्री प्रचण्डले तेस्राे पटक विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ । गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो ।
पर्वत: कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो । मन्त्री गिरीले कतिपय नीति तथा कानुन अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून निर्माण जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन तथा कानुन निर्माणको जिम्मेवारी र दायित्व आफ्नो काँधमा आएको भन्दै सबै मन्त्रालय र सरोकारवालासँगको समन्वयमा अघि बढ्ने समेत उल्लेख गर्नुभयो । मन्त्री गिरीले मुलुक चरम आर्थिक सङ्कटमा रहेका बेला यसको सुधारका लागि उचित कानुन निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो । “अहिलेका नीति लगानीमैत्री छैनन्”, उहाँले भन्नुभयो, “लगानी र व्यवसायीमैत्री कानुन बनाउन हामी लाग्छौँ ।” वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नका लागि गम्भीर रहेको भन्दै मन्त्री गिरीले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखी काम गर्नेगरी अघि बढेको बताउनुभयो । उहाँले न्याय क्षेत्रमा रहेका विकृति विसङ्गतिको पनि अन्त्य गरिने दाबी गर्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन आगामी चार वर्ष नै टिक्ने जिकिर गर्नुभयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप, सङघीय निजामती ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिने समेत उल्लेख गर्नुभयो ।