पोखरा:  र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा वि...

म्याग्दी:     सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् ।  मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा आमाको सम्मान र स्मृतिमा शब्द खर्चन, भावना व्यक्त गर्न पाइन्छ । त्यो स्थान हो, मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित ‘मातृचक्र’ पर्खाल ।  “म कसरी हार मानौँ, मेरो अगाडि दुःखको पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन्, मेरी प्यारी आमा”, आमाको सम्मानमा मातृचक्र पर्खालको एउटा ढुङ्गामा म्याग्दीकी स्मृति मगरले लेख्नुभएको छ ।   सेतो रङ्ग लगाइएको गोलो चक्र आकारको पर्खालका ढुङ्गामा रातो अक्षरमा आमाप्रति सर्मपित भएर लेखिएका यी र यस्तै भावका शब्दावली देखिन्छन् । यस स्थललाई घरपझोङ गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न काम थालेको छ ।  घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ‘मातृचक्र’को अवधारणा नेपालमै नयाँ र अनौँठो भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।  “जीवनका विभिन्न कालखण्ड र आमाका सङ्घर्षको कल्पना गर्दै पर्खालभित्र फन्को लगाइने भएकाले यसलाई मातृचक्र नामाकरण गरिएको हो”, उहाँले भन्नुभयो,“आमाको गर्भभित्र हुँदाको कल्पना गरेर पर्खाल वरपर फन्को लगाउन सकिन्छ ।” यस्तो छ मातृचक्र   कोशी प्रदेशको धरानमा बाँसको रूखमा प्रेमका शब्द लेख्ने चलन छ । आमाको सम्मान र सम्झना गर्ने ठाउँ जोमसोमबाहेक कतै नभएको अध्यक्ष लालचनले बताउनुभयो ।  आठ वटा ढुङ्गे पर्खालको चक्र भएको यस ठाउँमा फन्को लगाउन करिब २० मिनेट लाग्छ । टाढाबाट हेर्दा मातृचक्रको पर्खाल विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम जस्तो पनि देखिन्छ ।  बीच भागमा हिड्न मिल्ने बाटो छाडेर बनाइएको मातृचक्र गोलो आकारको छ । नकुदेका ढुङ्गा चिनेर पर्खाल बनाइएको छ । पर्खालभित्र छिर्ने र निस्कने एउटै प्रवेशद्वार छ ।  एकठाउँबाट छिरेपछि सबै भाग घुमेर सोही ठाउँमा आई बाहिर निस्कन सकिन्छ । फन्को लगाउने क्रममा आमालाई दिएका दुःखको क्षमा माग्न, आमालाई धन्यवाद दिन र पुकार गर्न पाइन्छ । फन्को लगाएपछि फर्कने बेलामा ढुङ्गामा शब्द लेख्न पाईन्छ ।  “आमाप्रति सधैँ कृतज्ञ छु”, सचिन नाम गरेका झापाका व्यक्तिले ढुङ्गामा लेख्नुभएको छ । म्याग्दीका बिष्णु शर्माले अनौठो र आश्चार्य लागेर आमाको सम्मान र सम्झनाका लागि मातृचक्रमा पुगेको बताउनुभयो ।  करिब २० वर्षअघि एक जर्मन नागरिकले बनाएको गोलो आकारको पर्खाल यसअघि उपयोग र संरक्षण भएको थिएन । गाउँपालिकाले हालै पर्खालको भित्री भागमा रातो र बाहिरी भागमा सेतो रङ लगाएको छ । रङ्गरोगन गरेपछि मातृचक्र आकर्षक देखिएको छ ।  घरपझोङ गाउँपालिकाको कार्यालयदेखि पाँच मिनेट पैदलयात्रापछि जोमसोम बजारको छेउमा रहेको मातृचत्र पुगिन्छ । बेनी–जोमसोम–कोरला सडकबाट पनि मातृचक्र देखिन्छ ।  कृषि पर्यटनका लागि उद्यान  घरपझोङ गाउँपालिकाको नाममा रहेको जग्गामा अवस्थित मातृचक्र र वरपरको क्षेत्रमा पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनको कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ । मातृचक्र नजिकै मुस्ताङमा पाइने सबै प्रजातिका स्याउको बगैँचा स्थापनाको तयारी भइरहेको अध्यक्ष लालचनले बताउनुभयो ।  कृषि पर्यटनको अवधारणाअनुसार घरपझोङले स्याउ खेतीलाई पर्यटनसँग जोड्ने प्रयासमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।  ‘मिनी मुस्ताङ’को अवधारणाअनुसार उद्यान बनाउने उद्देश्यले अघिल्लो कार्यकालमा सो ठाउँमा पर्खाल लगाएर घेराबार गरिएको थियो । पछिल्लो कार्यकालका जनप्रतिनिधिले मिनि मुस्ताङको योजना सफल नभएकाले त्यस ठाउँमा स्याउ उद्यान बनाउने तयारी गरिएको जनाएका छन् ।

काठमाडौं:     आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो ।  गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो । 

खोटाङ:    अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।  गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो ।  उहाँ नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको  पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।   वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुनुहुन्छ ।

काभ्रेपलाञ्चोक:      मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ ।    बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण  बजेट अभावले दुई वर्षदेखि रोकिएको हो ।  योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छन्भने बनेका घरहरुको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो ।  बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो ।  बाँकी काम पूरा गर्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो ।  सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो ।  नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फछ्र्योट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आउनुभएको छ ।  यसअघि नगरले रु १० लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ ।  प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो ।  केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्राधिकरणबाट  रु दुई करोड ८० लाख रकम निकासा भएको उहाँले जानकारी दिनुभयो ।  उहाँका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो ।  तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक रु १३ लाख लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए ।  स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएका बताउनुभयो । स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खट्नुभएको थियो ।  “गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको  दुई वर्ष भैसक्यो”, पञ्चकुमारीले भन्नुभयो ।  उहाँले आफुलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गर्नुभएको थियो ।  त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।  विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख निकासा हुँदा  ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए ।  बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि खर्चिइएको हो । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो ।  नमूना बस्तीमा रु ४० लाखमा एक सामुदायिक भवन निर्माण भएको छ । उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो ।  छ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन् । 

काठमाडौं:   विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका–दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको छ ।  वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।  नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।  यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ ।  सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

काभ्रेपलाञ्चोक:    सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा (दश घण्टा) यातायात सञ्चालनमा रोक लगाएको थियो ।       असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बिपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबँेसी–बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो ।  कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल–चौकीडाँडा–बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत–सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको हो ।       बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी–चौकीडाँडा–बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर सो रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् ।           राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि भ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको हो ।  प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिनुभएको थियो ।   राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै उहाँहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।  नेताहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।  सो असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु ।” संसद्मा प्रतिपक्षमा नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टी छन् ।  राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष दाहाल, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी हुनुहुन्थ्यो ।

चितवन:    सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा–२०८१ मा निस्केको टोली मङ्गलबार चितवन आइपुगेको छ ।       ‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा पूर्वको मेची पुलबाट सुरु गरिएको अभियानको टोलीलाई भरतपुरमा आज स्वागत गरिएको छ ।        स्वागत कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले महानगरपालिकाले देशमै पहिलो पटक सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको स्मरण गर्नुभयो ।  मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी सडक मानवको खोजी र उद्घार कार्य गरी सो अभियान सफल पारेको उहाँले बताउनुभयो । आजको दिनमा चितवन तथा भरतपुरमा सहयोगापेक्षी सडक मानव नभेटिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।        मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले १२ वर्षअगाडि स्थापना भएको मानव सेवा आश्रम आज देशका सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको बताउनुभयो । उहाँले विसं २०८२ सम्ममा नेपालको सडकपेटीमा कसैले पनि भोकै नाङ्गै बेसहारा भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्ने सङ्कल्प आफूहरुको रहेको उल्लेख गर्नुभयो ।       महानगरमध्येमा सबैभन्दा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त भरतपुर महानगर घोषण भएको भन्दै आज भरतपुर आइपुग्दा मेची–महाकाली यात्रामा हौसला मिलेको उहाँको भनाइ थियो ।  अभियानका क्रममा अध्यक्ष अधिकारीले हेटौँडादेखि भरतपुरसम्म आउँदा एकजना पनि बेसहारा सहयोगापेक्षी मानव नभेटिएको बताउनुभयो ।        मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा हालसम्म कोशी र मधेश प्रदेशमा ८४ जनाको उद्धार भएको अधिकारीले जानकारी दिनुभयो । उहाँले चितवनमा आइपुग्दा सहयोगापेक्षी मानव नभेटिनुले अभियानमा हौलसा मिलेको उहाँको भनाइ थियो ।        छोइङ डोल्मा फाउन्डेसनका संस्थापक आनी छोइङ डोल्माले यो अभियान सबैको साझा अभियान रहेको बताउनुभयो ।  यात्राका क्रममा सहयोगापेक्षीहरु कम भेटिनु अभियानको शुभ सङ्केत रहेको भन्दै उहाँले भरतपुर महानगरपालिका  सहयोगापेक्षी सडक मानवमुक्त भएकामा खुसी व्यक्त गर्नुभयो ।      गत असोज २६ गतेदेखि सुरु भएको सहयोगापेक्षी सडकआश्रित मानवको मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा यही कात्तिक २८ गते सकिनेछ ।

रौतहट:    केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै गएको छ । छिटोछरितो हुने भएकाले काठ तस्करहरुले भारतीय नम्बरका साना सवारीसाधनको प्रयोग गर्दै आएको पाइएको छ ।       डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले दिएको तथ्याङ्कअनुसार गत असोजमा मात्रै दुई वटा पिकअप भ्यान र एक थान ट्र्याक्टर बरामद गरेको छ । कार्यालयका सूचना अधिकारी महालक्ष्मी शर्माले गत असोज ७ गते तीनजनासहित ३४ क्युफिट काठ, एउटा पिकअप भ्यान वन गस्तीमा खटिएको टोलीले पक्राउ गरेको थियो ।       गत असोज ८ गते ना ४ च ८७९४ नं को टाटा पिकअपबाट १४ दशमलव २० क्युफिट काठसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार असोज २३ गते ८६ क्युफिट काठ, प्रदेश २—०३—००१ त २०८० नं को ट्र्याक्टरसहित तीनजनालाई पक्राउ गरिएको छ ।      गत आर्थिक वर्षमा विभिन्न मितिमा पाँच थान पिकअप भ्यान र पाँच थान ट्र्याक्टर काठ चोरी भएकामा वन कर्मचारीले खोजी गरी पक्राउ गरेको थियो । साथै मोटरसाइकल, साइकल, टायगाडामार्फत पनि काठ तस्करी भइरहेको भन्दै यी सवारीसाधन सुराकीको आधारमा तथा वनको नियमित गस्ती गर्ने क्रममा पक्राउ परेका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।      गत आवमा काठ चोरी गर्ने ४९ जनामाथि मुद्दा चलाइएको जनाउँदै उहाँले एक हजार एक सय ९४।५८ क्युफिट काठ बरामद गरिएको उल्लेख गर्नुभयो । आव २०७९÷८० मा ९५ वटा सवारीसाधनसहित दुई हजार पाँच सयबढी क्युफिट काठ बरामद गरेको थियो ।  सो अवधिमा काठ ढुवानी गर्न प्रयोग भएका पिकअप भ्यान आठ, ट्र्याक्टर तीन, ट्रक, मिनिट्रक र स्कारपियो एकरएक, साइकल ६५, मोटरसाइकल पाँच र रिक्सा ९५ वटा बरामद गरिएको थियो । ती तस्करीमा संलग्न ५० जना तस्करलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो ।      सङ्घीय र प्रदेशको कानुन बाझिँदा बरामद गरिएका सवारीसाधन र काठ लिलाम नहँुदा ती सवारीसाधन र काठ कुहिने अवस्थामा पुगेका डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले बताउनुभयो ।  “विगत १२ वर्षदेखि ती काठ र सवारीसाधनको लिलाम हुनसकेको छैन भने हालसम्म कुनै पनि मुद्दाको किनारा लाग्न सकेको छैन”, उहाँले भन्नुभयो ।        कानुनी स्पष्टता नहुँदा कुनै पनि मुद्दाको फैसला नभएको भन्दै काठ र सवारीसाधनको लिलाम हुन नसकेको प्रमुख साहले बताउनुभयो । यो समस्या देशव्यापी रुपमा रहेको उल्लेख गर्दै उहाँले समस्या समाधान गर्न सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।  बरामद काठ र सवारीसाधनको लिलाम नहुँदा राजस्व सङ्कलनमा कमी आएकाले तत्काल समाधानको पहल थाल्नुपर्ने उहाँको भनाइ छ ।