कञ्चनपुर: यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ । कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो । उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका–५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ । यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ । यस प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ । समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरिन्छ ।
म्याग्दी: ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाले जानकारी दिनुभयो । अभियन्ता ढुङ्गानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ । आकारमा सानो र ठूलो हुने यस पक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेला हुन्छन् । यो चराको बासस्थान तराईदेखि हिमालसम्म पाइन्छ । अभियानअन्तर्गत विभिन्न विद्यालय र समुदायस्तरमा जनचेतना शिविर आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । अर्का अभियन्ता तथा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले लाटोकोसेरोको संरक्षण गर्न जङ्गलका पुराना र बूढा रुख जोगाउनुपर्ने, गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । पराजुलीले संसारभर दुई सय ५० प्रजातिका लाटोकोसेराको अभिलेख गरिएको र नेपालमा २३ प्रजाति भेटिएको बताउनुभयो । एउटा लाटोकोसेरोले फूल पारेर बच्चा हुर्काउने बेलासम्म तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने उहाँले जानकारी दिनुभयो । प्रकृतिलाई सन्तुलित राख्न लाटोकोसेरोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय चोरीसिकारीका कारण यसको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ । लाटोकोसेरो संरक्षणका लागि वार्षिक लाटोकोसेरो तथा हुचिल उत्सवसमेत हुँदै आएको छ । लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पनि लिइन्छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गर्नुभएको छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभएको छ, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।” प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उहाँको भनाइ छ । विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
तनहुँ: आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताउनुभयो । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गर्नुभएको छ । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो । गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताउनुभयो । यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।
काठमाडौं: मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली ९नाच०सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।
सिरहा: पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन्भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्य २ सय ५ जनाले मतदान गरेका थिए । महासंघको उपाध्यक्षमा माधप प्रसाद रेग्मी निर्वाचित भए । रेग्मीले ९० उनका प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल‘अथक’ले ३५ मत ल्याए । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित भईन् । उनकी प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत ल्याईन् । सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित भए । उनका प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत ल्याए । यस्तै समावेशी सहसचिवमा १ सय २६मत सहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित भए । उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत ल्याए । गाहामगरलाई सर्वाधिक मत नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा सुनगाभा न्यूजका सम्पादक अर्जुन गाहामगर (सुशान्त) सर्वाधिक मतसहित निर्वाचित भए । उनले १ सय ५१ मत ल्याए । कसले कति मत ल्याए ? (मत परिणामसहित) सदस्य (खुला) अर्जुन सुशान्त गाहा: १५१ गौरव त्रिपाठी: १४३ चिरञ्जिवी पौडेल: ८२ तुलसीराम सुवेदीः १०७ दीपक श्रेष्ठ: १०३ निराजन अधिकारी: १०६ पुष्पराज दाहाल: १०४ बालकुमारी पौडेल: १२९ विष्णु गौतम: ८८ राजु गिरी:१३२ रिखिराम जि.सी: ११७ सन्तोष सुवेदी: १२८ सन्दीप पौडेल: १०३ राष्ट्रिय परिषद सदस्य अमृतराज उपाध्याय: ५० आरजु सल्यानी मनहनकुमार विष्ट: १२४ ऋषिराम बराल: ५० कृष्ण दवाडी: ८९ कृष्णमणि बराल:१०९ दिननाथ बराल:११६ भरत कोईराला: १०८ मानबहादुर घर्ती: ८१ राजबहादुर गुरुङ: १०८
हुम्ला: खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला सदरमुकाम सिमकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले जिल्लावासीलाई स्वच्छ, सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ र समुदायको सुधारमा हातेमालो गरौँ । हामी सबैको सामूहिक प्रयासले जिल्लामा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउनुपर्छ ।” दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुत खानेपानी पहुँचको दिगो समाधानका लागि यस आर्थिक वर्षमा सरकारले महत्त्वपूर्ण योजना अगाडि सारेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपानी पहुँचको दिगो समाधानका लागि सरकार प्रतिबद्ध छ । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।” मन्त्री यादवले समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीको दिगो सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने, जल स्रोतहरू जोगाइने स्पष्ट पार्नुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठले हुम्लामा खानेपानी प्रणालीको दिगोे सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिने बताउनुभयो । सो क्रममा हुम्लामा कम्तीमा पनि पाँच हजारभन्दा बढी घरधुरीमा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउनुका साथै विद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो । हुम्लाको दुर्गम भूगोल चुनौतीपूर्ण भए पनि खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आवमा १७ वटा आयोजना कार्यान्वयन गरिरहेका र जसमा कूल आठ दशमलव पाँच करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।
मकवानपुर: राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ । उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गर्नुभएको हो । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ । सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

