काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो । नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता गरिने जनाइएको छ । कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमासमेत छलफल हुने उहाँका स्वकिय सचिव आनन्द भट्टले राससलाई जानकारी दिनुभयो ।
कैलाली: २७ वर्र्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गर्नुभएको थियो । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताउनुभयो । “गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ ।” टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौँदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो । विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो । “यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा रू नौ हजार निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य सङ्घ टीकापुर, व्यावसायी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ । सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउने तालिका छ । त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।
चितवन: गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।” संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौ ।” सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताउनुभयो । यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उहाँले भन्नुभयो, “कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।” २ दलबीचमा कुनै समस्या नरहेको उहाँको भनाइ छ । सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उहाँले स्पष्ट पार्नुभयो ।राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उहाँले बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको सरकार सबै जनताको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताउनुभयो । मन्त्री लेखकले भन्नुभयो, “प्रत्येक नागरिकको मानव अधिकारको रक्षाप्रति सरकार सचेत छ । चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको होस् । सबै नागरिकप्रति मानव अधिकारका विषयमा हामी सचेत छौँ ।” राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताउँदै उहाँले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले गरेको बताउनुभयो । कानुनी रूपमा अनुसन्धान सुरू गरिएको बताउँदै उहाँले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु हो, त्यस्तो हुनु हुँदैन भन्नुभयो । सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उहाँले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताउनुभयो । अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उहाँको भनाइ थियो ।
काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो ।” श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका निजले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ । पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
चितवन: मनकामना केबलकारको सेवा २ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिनुभयो । टावरको मर्मत सम्भारका लागि २ दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताउनुभयो । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।
सिरहा: जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्याँस चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्याँस सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिनुभयो । भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको रु दुई लाख रिचार्ज कार्ड, नगद रु पचास हजार गरी रु पाँच लाख ५५ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताउनुभयो । उहाँका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू १ हजार २ सयले घटेको हो । शुक्रबार प्रतितोला रू १ लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ । शुक्रबार प्रतितोला रू १ हजार ८ सय ६० मा कारोबार भएको चाँदी आज रू १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।
मकवानपुर: बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भावी पुस्ताका निम्ति मुलुकका मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभएको छ । धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा उक्त कुरामा जोड दिइएको छ । चाडपर्व र मौलिक परम्परा देशका अमूल्य निधि भएकाले तिनको संरक्षण गर्नुपर्ने बताउँदै उहाँले सन्देशमा “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार हुन्”, भन्नुभएको छ ।
कञ्चनपुर: यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ । कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो । उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका–५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ । यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ । यस प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ । समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरिन्छ ।

