काठमाडौं: भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उहाँकी धर्मपत्नीले बिदाइ गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणका क्रममा जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आउनुभएका जनरल द्विवेदीले प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमणका साथै मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकनसमेत गर्नुभयो । यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहाद्र्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु २ लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु १ लाख थप गरी रु २ लाख उपलब्ध गराउने निर्णय गर्नुभएको हो । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको रु ५० हजारमा मन्त्रालयले रु २५ हजार थप गरेर रु ७५ हजार पु¥याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरिसक्नुभएको छ । देशभर हरेक वर्ष मृर्गौला प्राप्तिका लागि १ हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका केन्द्रले जनाएको छ । विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अङ्गदान गर्न पाउँदैनन् । मृत्युपश्चात् भने अङ्ग दान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरू जीवित व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ । हाल भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि २ सय मृर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कूल अङ्ग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन् ।मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले स्वास्थ्यमन्त्री पौडेलको यो निर्णय सकरात्मक रहेको बताउनुभयो । “एक वर्षमा हजारौँ मानवको मष्तिष्क मृत्यु हुन्छ । एक जनाबाट आठ वटा अङ्ग प्राप्त हुन्छ । जनचेतनाको अभाव, अस्पतालसम्मको पहुँच नहुनुलगायत विभिन्न कारणले दान दिने परिवार कम छन् । अङ्ग दानले कसैको ज्यान बच्नुका साथै आर्थिक सहायता पनि हुन्छ”, उहाँले रासससँग भन्नुभयो । केन्द्रका अनुसार हालसम्म पाँचजना मष्तिष्क मृत्यु भएकाबाट १० वटा मिर्गौला र तीन वटा कलेजो प्रत्यारोपण गरिएको छ । यथाशीघ्र मुटु र फोक्सो प्रत्यारोपणको पनि तयारी भइरहेको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल एक हजार बढी मृर्गौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतिक्षामा छन् । सरकारले मानव अङ्ग प्रत्यारोपण नियमावली, २०७३ जारी गरी मस्तिष्क मृत्यु (ब्रेनडेथ)भएका व्यक्तिको अङ्ग झिकी जीवित व्यक्तिमा प्रत्यारोपण गर्नसक्ने व्यवस्था गरेको छ ।
पोखरा: अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्राङ्गणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६ वटा विषय समेटेर पत्र बुझाएका हुन् । केन्द्रकी अध्यक्ष अन्जना केसीले हस्ताक्षर गरेको पत्रमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने र त्यसको कार्यान्वयनका लागि ८५ वटै पालिकालाई पत्रचार गरिनुपर्ने पहिलो माग गरिएको छ । अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयलाई पहुँचयुक्त बनाउनुपर्ने, पहुँचयुक्त सार्वजनिक सवारी सञ्चालन गर्न, फुटपाथसहित सडक संरचनालाई अपाङ्गतामैत्री बनाउन, सरकारी संरचनाहरुको पहुँचयुक्तता परीक्षण गरी सुझावअनुसार पहुँचयुक्त बनाउन र नयाँ बन्ने सबै पूर्वाधार अपाङ्गमैत्री हुनुपर्ने मागसमेत केन्द्रले गरेको छ । पत्र बुझेपछि मन्त्री केसीले कानुनमा भएका तर कार्यान्वयन नभएका विषयलाई कार्यान्वयन गर्न सक्दो प्रयास गर्ने बताए । उनले अपाङ्गमैत्री पूर्वाधार, अपाङ्गमैत्री कानुन बनाउने विषयमा सरकारलाई निरन्तर झक्झाउन आग्रह गरे ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायतलाई सो निर्देशन दिनुुभएको हो । निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक रु ४८ हजार सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रका आधारमा यही मङ्सिर ११ गतेभित्र स्वमूल्याङ्कन फाराम भर्न आयोगले सूचना प्रकाशन गरेको थियो । प्रधानमन्त्री ओलीले हाल आवासीय चिकित्सकलाई जति सुविधा दिन सकिन्छ त्यति उल्लेख गरेर आयोगमा स्वमूल्याङ्कन फाराम आग्रह गर्दै समझदारीका साथ निचोडमा पुग्दा निजी मेडिकल कलेजको घाटा नाफाको पनि अध्ययन गर्न आग्रह गर्नुभयो । बैठकमा एशोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले पिजीका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलबसरह निर्वाह भत्ता उपलब्ध गराउन भनेर आयोगले एकपक्षीय निर्णय गर्न नसक्ने भन्दै निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो । आयोगको जारी बैठकमा गत आर्थिक वर्षको प्रगति विवरण, चालु आर्थिक वर्षको बजेट र कार्यक्रममा नीतिगत संशोधन, प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको आशयपत्र र सम्बन्धन, स्वामित्व हस्तान्तरण, छात्रवृत्तिलगायत कार्यसूची रहेका छन् ।
मनाङ: जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन् । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् । मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङले बताउनुभयो । उहाँका अनुसार चार हजार ९१९ मिटरमा उचाईमा अवस्थित तिलिचो, भ्राकामा पर्ने चार हजार ६०० मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका हिमताल यतिबेला जमेका छन् । चिसो बढेसँगै खानेपानीको मुहानसमेत जम्दै गएका छन् । चिसोले मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस छदेखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताउनुभयो । उहाँका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ । मनाङमा मङ्सिर–पुसदेखि फागुनसम्म हिमतालका पानी जमेर चट्टान भएका हुन्छन् । अत्याधिक चिसोले बगिरहेका नदी, खोला, हिमताल जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्ने गरेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका स्थानीय बताउँछन् । चिसोका बावजुत पनि मनाङका ताल हेर्न पर्यटक आउने क्रम जारी छ । हिमताल भएको स्थान भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेकोे छ । चिसो समयमा जम्ने, हिउँ परेपछि अझ ती तालतलैया हिँउले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छायाँ देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषता नै हुन् । पर्यटकहरु चिसोले नदी, खोला, तालतलैयाका जमेका चट्टानमा खेल्न रुचाउने गरेका पाइएको छ ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउनुभएको छ । मन्त्रालयद्वारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘स्टार्ट अप’ कार्यक्रमलाई लोकप्रिय बनाउन निजीक्षेत्र र बैंक तथा वित्तिय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको औँल्याउनुभयो । मन्त्री भण्डारीले बैंक तथा वित्तिय संस्थालाई ‘स्टार्ट अप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो । कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाइ थियो । “निजी क्षेत्र र सरकारबीच सहकार्य भए समृद्धि टाढा छैन”, मन्त्री भण्डारीले भन्नुभयो, “सरकार निजी क्षेत्रले भनेअनुसार बाधक रहेका सबै कानुन संशोधन गर्न तयार छ, निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउनका लागि बनाउनुपर्ने कानुनका विषयमा आवश्यक छलफलसहित सुझाव दिन म आग्रह गर्दछु ।” उद्योग मन्त्रालयसँग सम्बन्धित ऐन, नियम र कानुन लामो समयदेखि संसद् र संसदिय समितिमा अड्किएको अवस्था रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले एउटा मन्त्रालयको कानुनले अर्को मन्त्रालय नचिन्ने वातावरण हटाउन सरकार नीतिगत रूपमै लागेको जानकारी गराउनुभयो । शिक्षा र रोजगारीका लागि विदेशिएका युवालाई यथेष्ट सहुलियत दिएर स्वदेश फर्काउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले निजीक्षेत्रको उत्तिकै सहयोगको खाँचो औँल्याउनुभयो । रूग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँगको सहकार्यमा आयोग बनाएर आवश्यक रणनीति बनाउन सरकारले छलफल थालेको उहाँको भनाइ छ । सो समारोहमा उद्योग सचिव कृष्णबहादुर राउत, वाणिज्य सचिव गोविन्दबहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, महासङ्घका उपाध्यक्ष शुरकृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल उद्योग व्यापार महासङ्घका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठ, महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवाली लगायतले बजार चलायमान बनाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँहरूले नेपाली उत्पादनको उपभोग बढाउन नसकेकामा चिन्ता प्रकट गर्दै नेपालमा उत्पादित वस्तु मेला, महोत्सव तथा प्रदर्शनीमा मात्र सिमीत बनेको गुनासो गर्नुभयो । सरकारी स्तरबाटै नेपाली उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै उहाँहरूले नेपाली उत्पादनको उपभोग नबढेसम्म बजार चलायमान हुन नसक्ने बताउनुभयो । साथै वक्ताहरूले आयात प्रतिस्थापनमा जोड दिँदै बाहिर मुलुकबाट आउने वस्तुको भन्सार दरभन्दा नेपाली उद्योगले आयात गर्ने कच्चापदार्थको भन्सार महशुल बढी हुँदा नेपाली उद्योगी मर्कामा परेको गुनासो गर्नुभएको थियो ।
काठमाडौं: मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो । जापानका पूर्वव्यवसायी एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको समन्वयमा यी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो । उक्त सम्बन्ध स्थापना गर्न शनिबार आयोजित कार्यक्रममा जापानका तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा र जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का कार्यकारी निर्देशक मासासी ओकादा तथा नेपालबाट नेता थापाका साथै सांसद डा सुनिल शर्मा, व्यवसायी जीवन खड्का एवं जापानस्थित नेपाली राजदूतावासका प्रतिनिधि उपस्थिति रहेको सो दूतावासले जनाएको छ । भगिनी सम्बन्ध कायम गरिएको सो टाउन तानेसीगामा नगरमा पर्दछ । एरोस्पेस टाउनका रुपमा परिचित सो नगर जाक्साले अन्तरिक्षमा रकेट पठाउने ठाउँ हो । सो कार्यक्रममा नेपाली कांग्रेसका सांसद डा शर्माले दुई पालिकाबीचको सम्बन्ध उदाहरणीय र ऐतिहासिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाना र आधारभूत शिक्षाका लागि सङ्घर्ष गरिरहेको नेपालको एक गाउँ र अन्तरिक्षमा रकेट पठाई मानवबस्ती बसाल्ने परिकल्पना गरिरहेको अर्को सहरबीचको यो सम्बन्ध अत्यन्तै उदाहरणीय र सुमधुर बन्नेछ ।” नेपाल र जापानबीचको सम्बन्ध सरकारका बीचको मात्र नभएर जनता जनताबीचमा पनि उत्तिकै पुरानो र सुमधुर रहेको डा शर्माले बताउनुभयो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईले दुई पालिकाबीच कायम भएको भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी मिनामितानेका टाउनका प्रमुख हिरोयासु कोजोनोले नेपालबाट जापानसम्म आई दुई पालिकाबीच सम्बन्ध जोड्ने अवसर प्रदान गरेकामा धेरै खुसी लागेको बताउनुभयो ।
काठमाडौं: बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर कोप सकिएको हो । कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैङ्गिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णय लिन विश्वभरिका देशहरूले तयारी गर्ने युएनएसिसिसीको सचिवालयले जनाएको छ । नेपालको तर्फबाट कोपको वार्ता प्रक्रियामा भाग लिनुभएका जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताउनुभयो । “विकासोन्मुख राष्ट्रको माग वार्षिक १ दशमलव ३ ट्रिलियन डलर भएको छ । साथै, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ”, उहाँले भन्नुभयो, “हानिनोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ ।” कार्बन उत्सर्जन घटाउनुपर्ने एजेण्डामा भने धनी मुलुक सकारात्मक नदेखिएको उहाँको भनाइ छ । “यसपटक कार्बन उत्सर्जन घटाएर पृथ्वीको तापमानलाई १ दशमलव ५ डिग्रीमा सन्तुलन ल्याउने विषयको छलफलमा धेरै प्रगति हुन सकेन । यसमा विशेषगरी पेट्रोलियम उत्पादन र बिक्रीमा आस्रित देशको भूमिका असहयोगी रह्यो ।” ढकालका अनुसार हाम्रो जस्तो देशका लागि जहाँ जलवायुजन्य असर बढ्दो क्रममा रहेको र पृथ्वीको तापमान सन्तुलित बनाउन अत्यन्त जरुरी छ । यसका लागि धेरै कार्बन उत्सर्जन गर्ने देशहरु जिम्मेवार हुन जरुरी रहेको भन्दै ढकालले छलफल अर्को वर्ष जुन महिनामा फेरि छलफल हुनेगरी टुङ्गिएको छ । “कार्बन व्यापारसम्बन्धी छलफलमा धेरै वर्षपछि सहमति भएको छ । बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने व्यापारलाई अघि बढाउने बाटो खुलेको छ”, ढकालले भन्नुभयो, “समग्रमा केही विषयमा प्रगति भए पनि बाँकी विषयको छलफललाई निरन्तरता दिने सहमति गर्दै, बाकु जलवायु सम्मेलन सम्पन्न भएको छ ।” एनसिक्यूजीमा भएको सहमतिको प्रभावकारी कार्यान्वयन भएमा नेपालजस्ता मुलुकहरुले राखेका जलवायुका योजना कार्यान्वयनका लागि आवश्यकपर्ने वित्त सहयोग व्यवस्थापनमा केही सहज बाकुमै रहनुभएका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाको भनाइ छ । “जलवायु वित्तमा प्रगति भए पनि कार्बन उत्सर्जन कटौतीमा उत्सर्जक मुलुक तयार भएनन्, यसले तापमान वृद्धि सीमित राख्ने लक्ष्य पूरा हँुदैन कि भन्ने आशङ्का छ, तर निरन्तर पैरवी जारी राख्ने छौँ”, उहाँले भन्नुभयो, “तापमान वृद्धिले विशेषगरी नेपालको पर्वतीय क्षेत्रमा बढी असर गर्छ, हिउँ पग्लिने, हिमताल बिस्फोट हुने र हिमपहिरो गएर त्यहाँका बासिन्दालाई सुरक्षामा चुनौती हुनसक्छ, तसर्थ नेपालले पनि उत्सर्जन कटौती गर्नुपर्ने मुद्दामा प्राथमिकता दिएकोे हो ।” ‘महत्वाकाङ्क्षी परिणामको अपेक्षा थियो’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप–२९ मा जलवायु वित्त सहयोग र पृथ्वीको तापमान वृद्धि १ दशमलव ५ डिग्री सीमित राख्न कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वाकाङ्क्षी परिणामको अपेक्षा गरिएको बताउनुभयो । उहाँले कोपको समापन गर्दै तापमान वृद्धिले जलवायुको सङ्कट निम्त्याइरहेको उल्लेख गर्नुभयो । “यस पटकको प्राथमिकता नम्बर एक भनेकै वित्तीय सहयोग थियो, ऋणले थिचिएका, प्रकोपबाट प्रभावित र नवीकरणीय ऊर्जाको क्रान्तिमा पछाडि परेका विकासशील सहयोग जुटाउनु थियो”, उहाँले भन्नुभयो, “महत्वाकाङ्क्षाअनुसार कोपको परिणाम देखिएन तर कोपमा भएको यो सहमति एउटा आधार हो, यद्यपि यस सहमतिले थप निर्माण दिन सहयोग गर्ने विश्वास छ ।” कोप–२९ ले उत्सर्जन कटौती र ऊर्जा रूपान्तरणलाई गति गत वर्ष भएका प्रगतिहरूलाई अगाडि बढाएको र कार्बन बजारमा सहमति पनि ल्याएको गुटेरेशको टिप्पणी छ । महासचिव गुटेरेसले भन्नुभयो, “म यसलाई सहमतिको आधारमा हेर्न र यसलाई थप अगाडि बढाउन आह्वान गर्दछु ।” ‘यात्रा कठिन थियो, तर हामीले एउटा सम्झौता हासिल गर्यौँ’ संयुक्त राष्ट्र जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले जलवायुको न्याय सम्बोधन गर्दै सङ्कटका समाधान खोजिने एउटा कठिन यात्रा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ कोप–२९ बाट प्राप्त उपलब्धिले जलवायु सङ्कटको सामना गर्न सहयोग गर्छ । तर कुनै पनि उपलब्धि तब मात्र प्रभावकारी हुन्छ जब यसको कार्यान्वन गरिन्छ । वाचा पूरा गरिनुपर्छ, जसले अर्बौं मानिसको जीवन रक्षा गर्न सकुन् ।”
काठमाडौं: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा राखिएको केन्द्रीय सदस्य राईको पार्थिव शरीरमा उहाँले झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो । त्यस अवसमा उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री, सांसद, पार्टी नेता तथा कार्यकर्ताले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । भोजपुरको षडानन्द नगरपािलका बोयामा लालबहादुुर राई र दौलती राईको कोखबाट २०२३ पुस १५ गते जन्मनुभएका उहाँको मङ्सिर ८ गते बेलुका ५८ वर्षको उमेरमा पार्किन्सनको उपचारका क्रममा वीर अस्पताल निधन भएको थियो । विसं २०४६ बाट अनेरास्ववियु छैटौँबाट राजनीतिमा प्रवेश गर्नुभएका राई २०४७ सालमा स्थानीय इकाइ सदस्य हुँदै सुनसरी र मोरङ जिल्ला सदस्य, भोजपुर जिल्ला सचिव, भोजपुर–तेह्रथुम–सङ्खुवासभा इञ्चार्ज, जनमुक्ति सेनाको ब्रिगेड कमिसार तथा पार्टी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य एवं भौतिक योजना राज्यमन्त्रीसमेत हुनुभएका उहाँ विसं २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचिन हुनुभएको थियो । उहाँको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको गरेको छ । पार्टी अध्यक्ष दाहालद्वारा जारी शोक वक्तव्यमा केन्द्रीय सदस्य राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाउँदै आमपार्टी पङ्क्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न आह्वान गर्नुभएको छ । उहाँको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसस्कार गरिने पार्टीले जनाएको छ । उहाँका श्रीमती, १ छोरा र १ छोरी हुनुहुन्छ ।