काठमाडौं: सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो । आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचनामार्फत स्मरण गरिएको छ । पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ । यस्तै, रोजगारदाताले राहदानी खोसिदिने, १२/१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने÷गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ । रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा ल्याई बन्दी बनाएर काम गर्न लगाएको पाइएको तथा सामाजिक सञ्जालहरूमार्फत विभिन्न स्थानका एजेन्टद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जालमा प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्नसमेत आग्रह गरिएको छ । “वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ ।
काठमाडौं: सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ । कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ । विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालका हकमा अध्ययन गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । कार्यदलले विज्ञ तथा सरोकार भएका निकायसँग छलफल गरेर कार्यविधि तयार पार्नेछ । कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका अलावा सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारी सदस्य छन् । आमनागरिकलाई सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउनका लागि प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
हुम्ला: हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उहाँले बताउनुभयो । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नुभएको छ ।
गण्डकी: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ । प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा आज जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उहाँले बताउनुभयो । “आज एक जना प्रतिवादीको मात्र बयान लिइएको छ, अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुन्छ”, सूचना अधिकारी अधिकारीले भन्नुभयो, “सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनचेकको बहस र आदेश हुन्छ ।” यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिनुभयो । सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटकर्वमा ल्याइ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।
काठमाडौं: मध्य अफ्रिकी मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । ‘लाइट इनफेन्ट्री बटालिएन’अन्तर्गत तैनाथ महावीर गण (रेञ्जर)को दोस्रो डफ्फालाई बदली गर्नका लागि युद्धभैरव गणको तेस्रो डफ्फाका दुई सय २५ शान्ति सैनिकको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व सेनानी हुपेन्द्रलाल रेग्मीले गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत दुई सय २५ शान्ति सैनिक स्वदेश फर्केका छन् । उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रज्ज्वल थापाले गर्नुभएको थियो । हाल सो मिसनमा एक हजार दुई सय ४४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।
सिरहा: सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले झण्डै डेढ महिनापछि अनुसन्धान प्रतिवेदन बुझाएको छ । समितिले गत बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी रवीन्द्रकुमार महतले जानकारी दिनुभयो । सूचना अधिकारी महतका अनुसार अनुसन्धान प्रतिवेदन ९० पृष्ठको रहेको छ । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बिदामा हुनुहुन्छ । सम्भवत उहाँ बिहीबार कार्यालय आउनुहुन्छ । उहाँ आएपछि जिल्ला सुरक्षा समितिको बैठकमा प्रतिवेदन पेस हुन्छ र प्रतिवेदन सार्वननिक हुन्छ ।” गत कात्तिकमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सूचना बाहिरिएपछि सो सम्बन्धमा सम्बन्धमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा कात्तिक २५ गते पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । छानबिन समितिमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहेका थिए ।कारागारका मूल नाइके र अन्य कैदीले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घट्ना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । त्यस्तै कारागारमा ५ गुणासम्म मूल्यमा लागुऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने जानकारी बाहिरिएको थियो । यस प्रकरणमा कारागार व्यवस्थापन विभागले तत्कालै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा निर्देशन दिएको थियो । त्यसपछि गठन भएको छानबिन समितिलाई सुरुमा अनुसन्धान प्रतिवेदनका लागि १५ दिनको समय दिइएको थियो । तर, समयमै अनुसन्धान तथा छानबिनको काम नसकिएपछि जिल्ला सुरक्षा समितिले समय थप गरेको थियो । कारागारको अवलोकन, विद्यमान अवस्थाको अध्ययन, भौतिक संरचना तथा सुरक्षा व्यवस्थाको अवस्था, प्रशासनिक प्रणालीको अध्ययन, कैदीसँग छलफल तथा अन्तरक्रिया, कैदीसँग सम्बन्धित अभिलेख सङ्कलन, नीति नियम तथा निर्देशिकाको अध्ययन, सरोकारवालासँग अन्तरक्रियालगायतका काम गरी प्रतिवेदन तयार गर्न समय लागेको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी महतले जानकारी दिनुभयो ।
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका ७ वडा कमिटीको दोस्रो वडा अधिवेशनबाट विष्णु चापागाई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न वडा कमिटीको अधिवेशनले चापागाईको नेतृत्वमा १५ सदस्सीय वडा कमिटी निर्वाचित गरेको हो । उक्त कमिटीको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा कमल गुरुङ , उपसचिवमा खुशीमान आले र लिला थापा मगर चयन भए । यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथिसमेत रहेका पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले सामाजिक न्याय , विकास र समृद्धिको लागि सबै जना एमालेको झण्डा मुनी गोलबन्द हुनुपर्ने बताएका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण इन्चार्ज भरत मान गुरुङ, जिल्ला कमिटी सदस्य नविन गिरी, जिल्ला सदस्य एवं वडा इन्चार्ज प्रदिप गुरुङ , अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पार्टी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष चुडामणी अधिकारी, एमाले नेता श्याम गुरुङ, पुर्व वडा अध्यक्ष घनश्याम चापागाईं, नेपाली कांग्रेस वडा समिति सचिव परित्याग गरि एमाले प्रवेश गरेका ओम बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैबीच कार्यक्रममा नेकपा(एमाले) अन्नपूर्णका युवा नेता सन्तोष गुरुङको विशेष पहलमा नेपाली काँग्रेस क्षत्रीय समिति सदस्य केशवराज दुरा , अन्नपूर्ण –७ वडा इकाई सचिव ओम बहादुर गुरुङ र गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट वडा सदस्य उम्मेदवार होम बहादुर थापाको नेतृत्वमा १३ जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए । कमिटीका कार्यबहाक अध्यक्ष महेश कुलुङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य राम गुरुङले गर्नुभएको थियो ।
बागलुङ: नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताउनुभएको छ । सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै उहाँले ऋण तिर्दिन भन्न नपाइने बताउनुभयो । “सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ”, नेता पौडेलले भन्नुभयो । आज बागलुङ बजारमा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रहनुभएका पौडेलले एउटा केही बदमासी गर्ने सहकारीका कारण समग्र सहकारीहरू बदनाम भएको बताउनुभयो । सहकारीका ऋणीहरूलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उहाँको भनाइ छ ।
काठमाडौं: प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा यहाँ आयोजित ‘पत्रकार भइरहन कति सहज रु’ विषयक अन्तरक्रियामा उहाँले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । “पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन । नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ”, प्रथम राष्ट्रपति डा यादवले भन्नुभयो, “आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाइँहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।” पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी चरित्रको संविधान बनेको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने उल्लेख गर्नुभयो । १ अर्को प्रसङ्गमा प्रथम राष्ट्रपति डा यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छभन्दा असाध्यै दुःख लाग्ने गरेको सुनाउनुभयो । उहाँले संविधानको सफल कार्यान्वयनका लागि सानातिना गुनासालाई सम्बोधन गरेर सचेतनापूर्वक अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकास गर्नेतर्फ महासङ्घ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । नेता रिजालले सातबुँदे सहमतिको भावनाअनुरूप सरकार सफल रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यथेष्ट सहमतिका साथ देखिएका निराशालाई चिर्दै सबै राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पत्रकारिता व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताको विस्तार मात्र नभई नागरिकमा सचेतना र सकारलाई खबरदारी गर्ने महत्त्वपूर्ण माध्यम रहेको भन्दै यसको महत्त्व र प्रतिष्ठालाई जोगाउन स्वयम् पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रमा पत्रकारिता समाजनको निरन्तर आन्दोल भएको भन्दै लोकतन्त्रलाई गति दिन आत्माका रूपमा पत्रकारिताले काम गरिरहेको बताउनुभयो ।नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको संरक्षणका साथै श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक मुद्दा प्राथमिकतासाथ उठाउने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय पत्रकारको समाचारसँगको पहुँच सङ्कुचन भइरहेको र त्यसमा सरकार, राजनीतिक दलले सूचना प्रणालीलाई चुस्त र दुरूस्त बनाउनुपर्ने अपरिहार्य भएको उहाँले उल्लेख गर्नुभयो । महासङ्घका पूर्वअध्यक्ष बिपुल पोखरेलले महासङ्घलाई सशक्त बनाउन र लेख्ने पत्रकारको संस्थाका रूपमा विकास गर्न प्रतिष्ठान प्रदेश समितिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका धेरै मुद्दा थाती रहेकाले तिनको पैरवी गर्न नयाँ नेतृत्वले सफल हुनुपर्छ भन्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले निर्वाचनपछि महासङ्घ साझा चरित्रको भएको भन्दै थाती रहेका पत्रकारको सदस्यता शुद्धीकरण र पत्रकारितामा देखिएका अविश्वास कम गर्न महासङ्घले पैरी गर्नुपर्ने उल्लेख गर्नुभयो । पत्रकार एवं लेखक मोहन मैनालीले पत्रकारिताको व्यावसायिक धर्म र आचरणलाई जोगाएर पत्रकारिताप्रति नागरिक र सरोकारवालाको भरोसा कायम राख्न पत्रकार क्रियाशिल हुनुपर्ने बताउनुभयो । प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीले साढे तीन वर्षको कार्यकालमा पेसागत दक्षता र सङ्गठनलाई चुस्त बनाउनाका साथै पत्रकारलाई क्रियाशील बनाउन थोरै भए पनि प्रतिष्ठानले दायित्व निर्वाह गरेको बताउनुभयो । सो अवसरमा महासङ्घका नवनिर्वाचित केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई प्रतिष्ठानका तर्फबाट प्रथम राष्ट्रपति डा यादवले सम्मानपत्र प्रदान गर्नुभयो । साथै प्रतिष्ठानका निर्वाचित कार्यसमित र मतदान अधिकृतलाई प्रसंशापत्रद्वारा सम्मान गरियो ।

