जुम्लाः यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् । ८ वर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन । स्थानीय सरकार गठन भएपछि रु ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन । यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो । विसं २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन् । यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ । गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा १ घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन् । ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको सङ्कट झन् बढ्ने चिन्ता थपिएको छ । पानीको मूल विस्तारै सुक्न थालेको छ । मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ । रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ । तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ । गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीयवासी मानसिंह रावतले गुनासो गर्नुभयो । “घरवरिपरिका करेसाबारी बाँझै छन, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,” रावतले भन्नुभयो, “नदीको पानी खेर गइरहेको छ ।” १४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो । उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन् । सो आयोजनाका लागि ल्याइएको जिआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन् । खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले ४ करोडको योजना कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक वर्ष २०८०ः८१ मा ६ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग ३ वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको छ । पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिनुभयो । गाउँमा ३ वर्षभित्र खानेपानी पुञ्याउने गरी सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट रु ४ करोड ६९ लाखमध्ये गतवर्ष ५० लाख र यो वर्ष १ करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो । उक्त योजनाका लागि संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम (यूएनडिपी) ले रु ९५ लाख सहयोग गरेको हो । सो योजनामा १ करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ । गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ ।
काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २ हजार ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु १ लाख ६८ हजार २ सय तोकेको छ । यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु १ लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले १ तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु २ हजार ९० मा कारोबार भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिइएको हो । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ । नेताहरूको सक्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक संरचनामा कार्यविभाजनका लागि गृहकार्य गरेको सचिव पाण्डेले बताउनुभयो । अध्यक्ष नेपाल विदेश भ्रमणमा रहेकाले उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको सचिव पाण्डेयले जानकारी दिनुभयो ।
गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् । छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाउनुभएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बस्नुभएको छ । परिवारका सबै सदस्य गुमाएर एक्लै बाँच्नुभएका डुकुमानलाई दसैँतिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उहाँका दाजु जिरामानले बताउनुभयो । “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ”, उहाँले भन्नुभयो । बाढीपहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झर्नुभएका डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाउनुभएन् । अरुलाई सुरक्षित स्थानमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देख्नुभयो, तर उहाँ घर पुग्नै पाउनुभएन । “पहिरो यति तीव्र गतिमा झ¥यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भन्नुभयो । डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारैजना कहीँकतै जिउँदै भेटिने आश उहाँलाई थियो । असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला पर्नुभयो । “भ¥याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, “श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ”, दाजु जिरामानले भन्नुभयो । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित हुनुहुन्छ । उहाँका बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको छ । उहाँ तीन वर्ष वैदेशिक रोजगारमा बसेर छ महिनाअघि मात्र स्वेदश फर्कनुभएको थियो । डुकुमानलाई आश्रय दिएर राखिरहनुभएका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्यो । अन्न उब्जाउ हुने ठाउँ छैन”, उहाँले दुखेसो पोख्नुभयो । बाढीपहिरोबाट विस्तापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहनुभएको छ । “अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ”, माइती आउनुभएकी बुद्धिमानकी श्रीमतीले भन्नुभयो । मानिखेलमा छको मृत्युु, दुई बेपत्तागरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताउनुभयो ।
भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आउनुभएको छ । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताउनुभयो । मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । “आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टिका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो । त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु ग-यौं । त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं,” उहाँले भन्नुभयो । मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । सुरुका वर्ष उहाँहरू आफैँलाई असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए । तर, उहाँहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाड्नुभएन । दिदीबहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ । “दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं,” उहाँले भन्नुभयो ।
तिहारमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ । कैदीबन्दीलाई चाडपर्व खल्लो नहोस् भन्ने उद्धेश्यले आइतबार बिहान ७ बजे देखि पाँच बजे सम्म भाइटिका लगाउने प्रबन्ध मिलाईएको तनहुँ कागारका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो । दसैँमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार दुई सय ९८ जना पुरुष र २४ जना महिला कारागारमा छन् । महिला बन्दीगृहमा दुई जना आश्रित बालबालिका रहेका छन् । अधिकारीले भन्नुभयो ‘महिला र पुरुष दुवैलाई भाइटीका लगाउन र लाउन पाउने प्रबन्ध मिलाएका छौं, दसैंमा पनि टिका लगाउने अवसर मिलाएका थियौं ।’ साईत लगाउन मिल्नेले साइत अनुसार नै लगाउन पाउने र अनुकुल नमिलेकालाई अन्य साँझ पाँच बजेसम्म नै लगाउन पाउने गरी व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।
काभ्रेपलाञ्चोक: बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पु¥याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पु¥याउँदा कतिपय घरबारविहीन बनेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो । बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि एकीन तथ्याङ्क सङ्कलन कार्यमा स्थानीय तह लागेका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अतिप्रभावित क्षेत्रमा पर्दछन् । कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पु¥याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य छन् । घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको थिएन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । बाढीपहिरोबाट प्रभावित भएका जिल्लाका स्थानीय तहहरू प्रभावित परिवारलाई राहत, घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम वितरण तथा प्रभावित परिवारहरूको तथ्याङ्क सङ्कलनमा लागेका हुन् । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्ण रूपमा घर क्षति भई समस्यामा परेका एक सय १० परिवारमध्ये पाँच जनासम्मको परिवारका लागि रु १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परी मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको रु दुई लाख तथा गाउँपालिकाले किरिया खर्चबापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गर्ने कामसमेत हालै सम्पन्न गरिएको छ । बाढीपहिरोबाट घरपूर्ण क्षति भएका परिवालाई सरकारबाट दिने राहत रकम वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष लामाको बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्र रहेका करिब तीन सय ५० घर पूर्ण रूपमा क्षति भएको पाइएको छ । बाढीपहिरोबाट अतिप्रभावित पनौती नगरमा खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्रयाक खोलिएको छभने क्षतिग्रस्त खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि योजनाको लागत अनुमान गर्नेकार्य अघि बढाइएको छ ।
अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् । बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उहाँका छोरा छ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ । घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।