चितवन: पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ।विजय दरइका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उहाँका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ । यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उहाँने जानकारी दिनुभयो । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडीने उहाँले बताउनुभयो ।
तनहुँ: मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग लाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो । पश्चिम खण्डको म्याद आगामी विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो । दोस्रो पटक थपिएको म्यादभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म यो खण्डमा ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । हालसम्म २३ दशमलव ९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये ५ दशमलव ४५ किलोमिटर दुईतर्फी र १८ दशमलव ४६ किलोमिटर एकतर्फी कालोपत्र भएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन् । सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचना स्थानान्तरण कार्यका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको जनाइएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
जुम्ला: जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको हो । प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए । आन्दोलनका क्रममा रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटकपटक छलफल भएपछि २०८१ साल पुस ४ गते उपकुलपतिबाट छुट पदसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदका सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको आन्दोलित कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । सो प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन् ।
काठमाडौं: पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा दिवस मूल समारोह समिति नै गठन गरेर साताव्यापी कार्यक्रम आयोजना गरेको हो । समितिले सार्वजनिक गरेको विवरणानुसार बोर्ड स्थापनापछिको उक्त अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका मात्रै तीन हजार चार सय ४० जना श्रमिक छन् । उनीहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको सचिव निरौलाले जानकारी दिनुभयो । नेपालबाट विभिन्न एक सय ११ मुलुकमा नागरिक आप्रवासीका रूपमा गएका उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड रहेको छ । आप्रवासीमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ देखि लागू भएको छ । त्यसैले अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीहरूको योगदानलाई मान्यता दिनका लागि विश्वव्यापी रूपमा यो दिवस मनाउन आह्वान गरेको छ । त्यसैले नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवार, सञ्चÞार जगत्लगायत विभिन्न पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्त्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति रहेको श्रम मन्त्रालयले जनाएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८/÷८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, रिटनी उद्यमशीलता कार्यक्रम कार्यान्वयन गरिने आदि समावेश छ । आव २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड जतिको रकम नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आव २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः थम स्वीकृतिसमेत) लिई वैदेशिक रोजगारीमा गएका ८० हजार एक सय ७२ महिलासहित कुल सात लाख ४१ हजार दुई सय ९७ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरूको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको समितिले जनाएको छ । विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी यसको रहेको छ । त्यसैले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आप्रवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय भएअनुसार विविध कार्यक्रम भइरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने राहदानी, सीप तालिम तथा अभिमुखीकरणलगायत कागजात तयार पार्न स्थानीय तह तथा जिल्लास्तरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगरपालिका तथा गाउँपालिकालगायत निकायको महत्त्वपूर्ण भूमिका छ । यसर्थ सबैको सरोकारको विषय भएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले स्थानीयस्तरमा समेत विशेष महत्व राख्ने सचिव निरौला बताउनुहुन्छ । श्रम मन्त्रालयका उपसचिव वसन्त बोहरा आप्रवासी नीति नै परिमार्जन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागिएको बताउनुहुन्छ । अहिले उक्त नीति सुझावको चरणमा रहेको उहाँले बताउनुभयो । मन्त्रालयका अर्का उपसचिव महेश पराजुली ९८ दशमलव नौ प्रतिशतले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाएको अध्ययनमा पाइएको र समस्यामा परेका मानिसहरूको सङ्ख्या न्यून रहेको जानकारी दिनुभएको छ । उहाँले कमाएको रकम घरपरिवार व्यवस्थापनमा बढी खर्च भएको देखिएकाले त्यसलाई आयआर्जनमा लगाउनका लागि प्रोत्साहन र सचेतना जरूरी रहेको र यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।
कञ्चनपुर: मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो । भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए । खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका उनी त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन् । भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउनुहुन्छ । राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्वीचअफ’ भयो । सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ः०० बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताउनुभयो । भ्युटावर हेर्न गएका तारणी सम्पर्कविहीन हुनुभएको छ, फोन गर्न खोज्दै छौँ, स्वीचअफ आइरहेको छ बुढाथोकीलाई उद्यृत गर्दै बताएको पन्तले भन्नुभयो । “दाजु सम्पर्कविहीन भएको खबर पाइएपछि घरका चार जना सदस्य मनाङको चामे पुग्यौँ”, विष्णुले भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्यौँ, फेला परेनन्, निराश भएर घर फक्र्यौँ ।” अहिले पन्त परिवारमा तनावको स्थिति छ । “दाजु फर्केर आउने विश्वासमा छौँ,” विष्णुले भन्नुभयो, “दाजु सम्पर्कविहीन भएको ५४ दिन बितिसक्यो, अत्तोपत्तो छैन, फर्केर आउने आश छ, हरेश खाएका छैनौँ ।” केही दिनअघि मात्र मनाङमा दाजु भेटिन्छन् कि भनेर पुनः गएको उल्लेख गर्दै उहाँले नभेटेपछि निराश हुँदै फर्कनुपरेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन । तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ । बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले खोजतलास गरे पनि तारणीको अत्तोपत्तो छैन ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा मृत्यु भएका एक महिला र घाइते भएका ४ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते र एक जनाको मृत्यु भएको हो । स्कारपियो दुर्घटना हुँदा मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे बस्ने ७० वर्षीय भिमकुमारी थकालीको घटनास्थलमै मृत्यु भएको स्थानीयले पुष्टि गरेका छन् । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ५ जना घाइते र एकजनाको मत्यु भएको थियो । घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । ‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइतेहरुको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।’ कास्की प्रहरीका अनुसार स्कारपियो दुर्घटना हुँदा पोखरा महानगरपालिका–१६ दिप बस्ने २० वर्षीय रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय ज्योति खत्री थकाली घाइते भएका हुन् । सोही स्कारपियोमा सवार बागलुङको गलकोट नगरपालिका १ झाँक्रीस्थान बस्ने ७६वर्षीय खिमकुमारी खत्री, अन्दाजी ५० वर्षीय नविना खत्री घाइते भएकी छिन् । घाइते चारै जनाको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै बागलुङको गलकोट नगरपालिका–१ झाक्रीस्थान बस्ने ४० वर्षीय अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ । सवारी चालक स्याङ्जाको भिरकोट नगरपालिका २ डाँडाकोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कारपियो चालकले गाडी रोकेर बाटो हेर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी सडकबाट अन्दाजी ६सय मिटर तल खसेको छ । यो पनि पढ्नुहोस फलोअप: घाइते ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल अस्पताल ल्याइयो, १ जनाको मृत्यु पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना, घाइते ४ जनाको सिम्रिक एयरबाट उद्धार हुँदै
लमजुङ: सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उहाँले आज उद्घाटन गर्नुभएको हो । गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् । मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक शक्तिमा चल्ने नवदुर्गा नाच गत आइतबारदेखि मध्यपुरथिमिभित्र विभिन्न टोलमा सञ्चालन भइरहेको छ । आज बालकुमारीबाट नगदेश भित्र्याएर नवदुर्गाको विशेष पूजा एवं द्यो ब्वोकेगु गरियो । नगदेशबाट बाजागाजासहित गएको स्थानीयको टोलीले बालकुमारीबाट मलमलको सेतो कपडा बाटोमा ओछ्याएर स्वागत गर्दै नगदेश भित्र्याएपछि नवदुर्गाको भव्य पूजा एवं नवदुर्गा देवगण र नाच प्रदर्शन गरिएको हो । नगदेशका ख्वप्रिङ नवदर्गा सङ्कल्प भोजन २०८१ को संयोजन र भक्तपर विकास सहयोग सङ्घको आयोजनामा करिब रु आठ लाखको खर्चमा भगवाण भोजनलगातयका कार्यक्रम आयोजना गरेको हो । भक्तपुर, मध्यपुरथिमिदेखि भक्तपुरबाट बसाई सरेर काठमाडौँ, ललितपुर गएर बसेकाहरुले भव्य रुपमा नगदेशमा सञ्चालन गरेको नवदुर्गा नाच एवं द्यो ब्वोकेगु आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष विजय शङ्कर प्रधानाङ्गले जानकारी दिनुभयो । करिब रु आठ लाख खर्चमा नगदेशमा पहिलो पटक द्यो ब्वोकेगु आयोजना गरेको जानकारी दिँदै उहाँले नगदेशमा ठूलो लपेसमा ८४ व्यञ्जनका खानेकुरा चढाएर पूजा गरिएको बताउनुभयो । पूजाका क्रममा दुई वटा बोका र दुईवटा चुच्चे ९सुङ्गुर०को बलि दिएर ब्वोकेगु गरिने बताउनुभयो । उहाँले देवगण, नकी, बेताली, बाजा बजाउनेलगायत सबैका लागि शीरदेखि पाउसम्मको जात्रामा देवगणले लगाउने पोशाकसमेत अर्पण गरेको बताउनुभयो । घरघरबाट प्रत्येकले पूजाको सामान ल्याएर मनाइएको या पर्वमा कम्तीमा पनि एक हजार पाँच सयको सहभागिता रहेको उल्लेख गर्दै स्थानीय बिनोद कोजूले नवदुर्गा देवगण आएर नाच प्रदर्शन गर्दा स्थानीयको व्यापार, व्यवसाय, परिवारमा सम्पन्न, आर्थिक उन्नती, स्थानीयमा रोग, भयको नाश हुने, नकारात्मक शक्तिहरु परास्त हुने र सबैमा कल्याण हुने जनविश्वास रहेको बताउनुभयो । नवदुर्गा देवगणमध्येकै कृष्णप्रसाद बनमालाले गत आइतबार मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारीलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयको पूजा ग्रहण गर्दै आज नगदेशमा आएको बताउनुभयो । देवगणले नवदुर्गा नाच टोलटोलमा प्रदर्शन गरेपनि विशेष पूजाको रुपमा रहेको द्यो ब्वोकेगु पनि नगन्य रुपमा हुने गरेको छ । देवगण वनमालाले आइतबारसम्म मध्यपुरथिमिमा नाच प्रदर्शन गरेर आइतबार माछामार्ने जात्रा सञ्चालन गर्दै साँझ भक्तपर द्यो छे, अर्थात देवता घरमा नवदुर्गा फर्कने बताउनुभयो । नवदुर्गा अन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसंगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ६ जना घाइते भएका थिए । घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । ‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइते ४ जना मध्य ३ जना गम्भिर र २ जना सामान्य रहेका छन्, घाइतेहरुको उपचार भइरहेको छ ।’ स्कारपियो दुर्घटना हुँदा गम्भिर घाइते भएक एक जना महिलाको मृत्य भएको एक स्थानीयले बताए । स्कारपियो सवार ६ जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ । यो पनि पढ्नुहोस पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना, घाइते ४ जनाको सिम्रिक एयरबाट उद्धार हुँदै

