काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “नागरिकल महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।” मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकका समस्या समाधान गर्नु हाम्रो दायित्व हो, काठमाडौँमा मेलम्चीको पानी ल्याउने समयमा हेलम्बुका नागरिकसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ ।” जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उहाँले बताउनुभयो । गत असोज ११ गतेदेखि आएको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री यादवले निर्देशन दिनुभयो । उहाँले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “खानेपानीका चुहावट भएका पाइप मर्मत गरौँ, अत्यावश्यक रूपमा रहेको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याआँै ।” मन्त्री यादवले खानेपानीको समस्या उत्पन्न भएका ठाउँमा तत्काल जनशक्ति खटाएर समस्या समाधान गर्न मातहतका सबै निकायलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पानीको समस्याका विषयमा गुनासो आएका ठाउँमा तत्काल थप जनशक्ति परिचालन गरी समस्या समाधान गर्नु होला ।” ललितपुरको धोबीघाटस्थित प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकामा गत असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पु¥याएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धोबीघाटमा निर्माणाधीन प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारीमा थियो । असोजमा आएको बाढीले संरचना र उपकरणका क्षति पु¥याउँदा अहिले समस्या भएको हो ।”
तेह्रथुम: गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर । रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरु । बाहाँ, सिकुवा, आँगन । बिना कङ्क्रिड ढुङ्गैढुङ्गा जोडेर बनाइएका फलैंचा र सिँढीमार्ग । मुन्धुममा वर्णन गरिए झै उभ्याइएका अग्लाअग्ला ढुङ्गाका स्तम्भ । सिङ्जाङ्गो (धसिङ्गरे), फुन्जिङ्बा (पैंयू), तेरलासे (केरा) लिरुसिङ् फा (मलिबाँस) जस्ता हुर्किरहेका मुन्धुममा वर्णित वनस्पतीहरुले तेह्रथुमको पर्यटकीय बजार वसन्तपुर छेउको चोत्लुङ पार्क पुग्ने जो कोहीलाई पनि लोभ्याउँछ । यहाँको सुन्दरतामा हरेक दिन पर्यटकहरु रमाइरहेका भेटिन्छन् । चोत्लुङ पार्कमा भेटिएका सुनसरी धरानका रनबहादुर सुब्बाले झण्डै तीन दशक अघिको याक्थुङ (लिम्बू) गाउँ पुगेको अनुभूति भएको सुनाउनुभयो । ‘अहिले त गाउँघरले पूरै रुप फेरिसक्यो’’ उहाँले भन्नुभयो ‘‘यहाँ बनाइएका घर र अन्य संरचनाहरुले उहिलेको गाउँघरको याद दिलायो ।’’चोत्लुङ पार्कमै भेटिएका इलामका चञ्चल लिम्बूले पनि यहाँ पुग्दा आफूले फरकपनको महसुस गरेको सुनाउनुभयो । अन्य ठाउँहरुमा घुम्दा आधुनिकताको सिको गर्दै बनाइएका संरचनाहरु देखिन्थे । तर चोत्लुङ पार्क पुग्दा भने मौलिक तरिकाबाट पनि पर्यटकीय पूर्वाधारहरु बनाउन सकिने रहेछ भन्ने लागेको उहाँले बताउनुभयो । लालिगुराँस नगरपालिका–३ मा रहेको यो ठाउँ २०७४ साल अघिसम्म यस्तो थिएन । वन क्षेत्रभित्रको एकान्तमा पर्ने यहाँ हमेसा मानिस नै पुग्दैनथे । पर्यटक आउने त कुरै भएन । यहीँ ठाउँमा चोत्लुङ पार्क निर्माण गरिएपछि अहिले हरेक दिन सयौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । चोत्लुङ पार्कमा रहेका प्रकृतिमैत्री, कलात्मक र रैथाने शैलीका पर्यटकीय पूर्वाधारहरुको अवलोकन गरेर यहाँ पुग्ने पर्यटक आनन्दित हुन्छन् । छोरीको नामको पूजा गर्न पहिलोपल्ट चोत्लुङ पार्क पुगेकी धरानकी चन्द्रा लिम्बूले उहिलेको पहाडी गाउँले जनजीवन र जीवनशैलीको याद आएको बताउनुभयो । ‘‘यी घर, सिकुवा, आँगन, फुलबारी, गोरेटा, फलैंचा र कुवाले मलाई पुराना दिनहरुको सम्झना दिलायो’’ उहाँले भन्नुभयो । मौलिकताको संरक्षण गर्दै पर्यटन विकास गर्ने शैली उहाँलाई निकै मन परेको छ । मुन्धुमविद् एवं याक्थुङ (लिम्बू) इतिहासका अध्येतासमेत रहनुभएका लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङकै परिकल्पनामा चोत्लुङ पार्क निर्माण गरिएको हो ।विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएपछि उहाँले पार्कको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बनाएर निर्माणको काम अघि बढाउनुभएको थियो । विसं २०७९ मा भएको दोस्रो स्थानीय तह निर्वाचनबाट पनि उहाँ नै नगर प्रमुख निर्वाचित भएपछि चोत्लुङ पार्कले करीब करिब पूर्णता पाएको छ । नगर प्रमुख माबुहाङले त्यतिबेला आफ्नो योजना सुनाउदा इन्जिनियरले खरले छाउने घरको नक्सा बनाउन मानेका थिएनन् । ‘‘जबरजस्ती नक्सा बनाउन लगाइयो’’ उहाँले भन्नुभयो, ‘‘अहिले यहीँ हेर्न मान्छे आएको देख्दा र धेरैले यहीँ कामको प्रशंसा गरेको सुन्दा खुसी लाग्छ ।’’चोत्लुङ पार्कमा युमा सङ्ग्रहालय छ ।सङ्ग्रहालयमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्काजस्ता ऐतिहासिक र दुर्लभ कागजात सुरक्षित गरेर राखिएका छन् । याक्थुङ (लिम्बू) जातिसँग सम्बन्धित पुराना भेषभूषा, गरगहना, हातहतियार र विभिन्न उपकरण सङ्ग्रहालयमा सुरक्षित गरिएको छ । २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सङ्ग्रहालयको उद्घाटन गर्नुभएपछि सर्वसाधारणका लागि अवलोकन गर्न खुल्ला गरिएको हो । यहाँ रहेका ऐतिहासिक कागजात, दस्तावेज र अन्य वस्तुहरुले लिम्बुवानको इतिहास र सभ्यतालाई जीवन्त राख्ने नगर प्रमुख माबुहाङले बताउनुभयो । उहाँका अनुसार तत्कालीन लिम्बुवान क्षेत्रका विभिन्न ठाउँहरुबाट धेरै दुःख गरेर यी ऐतिहासिक कागजात र सामग्री सङ्कलन गरिएका हुन् । समयक्रमसँगै हराएर जाने वा नष्ट भएर जाने खतरा बढेकाले यी वस्तुहरुलाई सुरक्षित र व्यवस्थित गरिएको छ । सङ्ग्रहालयले संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई ठूलो सहयोग पु¥याउने म्याङलुङ बहुमुखी क्याम्पस तेह्रथुमका उप प्राध्यापक दिपक कट्टेलले बताउनुभयो । यसबाट भावी सन्ततिले आफ्नो इतिहास, संस्कृति, समाज र समाज विकासका चरणबारे जानकारी प्राप्त गर्ने उहाँको भनाइ छ । यस किसिमका अन्य विभिन्न जातजातिका धर्म, संस्कृति रीतिरिवाज झल्काउने सङ्ग्रहालयहरु समेत निर्माण गरिए संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई अझ ठूलो सहयोग पु¥याउने उपप्राध्यापक कट्टेलको भनाइ छ । सङ्ग्रहालय, मौलिक संस्कृति र सभ्यता झल्काउने प्रकृतिमैत्री पूर्वाधार, स्वच्छ परिवेश र सुन्दर प्रकृति चोत्लुङ पार्कको मुख्य आकर्षण हुन् । किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले चोत्लुङ पार्क गुराँसे पाखामा फुलेको रैथाने फूल भएको टिप्पणी गर्नुभयो । चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजार छेउमा रहेको चोत्लुङ पार्क सवारी साधनबाटै सहजै पुग्न सकिन्छ । लालिगुराँसको राजधानी घोषणा गरिएको तिनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्र प्रवेशद्वारको रुपमा रहेको वसन्तपुरमै रहेको छ, चोत्लुङ पार्क । त्यसैले पनि चोत्लुङ पार्कमा पर्यटकीय चहलपहल भइरहन्छ । गुराँस फुल्ने समयमा त चोत्लुङ पार्कमा पर्यटहरुको ठूलो घुइँचो लाग्ने गर्छ । तिनजुरे–मिल्के–जलजले जाने पर्यटक जाँदा वा फर्किदा चोत्लुङ पार्क पुगेर मात्र फर्किन्छन् । यस क्षेत्रमा ३२ प्रजातिकामध्ये २८ प्रजातिका गुराँस पाइन्छ । फुल्ने यामबाहेक अन्य समयमा पनि चोत्लुङ पार्कमा दैनिक दर्जनौं पर्यटक आउँछन् । पूर्वी नेपालका सबैजसो जिल्ला तथा भारतको सिक्किम, दार्जलिङ र कहिलेकाहीँ अन्य विदेशी पर्यटक पनि चोत्लुङ पार्क पुग्ने गरेका पार्कका साम्बा ९पुजारी० रुद्रबहादुर तिलिङ लिम्बूले बताउनुभयो । ‘चोत्लुङ’ याक्थुङ (लिम्बू) भाषाको अर्थ ‘सिद्धि’ अर्थात ‘पूर्णता’ हुन्छ । त्यसैले सिद्धीस्थलको रुपमा चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङ बताउनुहुन्छ । पार्क निर्माणका लागि हालसम्ममा लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वशन्तपुर तेह्रथमु र अन्य निकाय अनि मनकारी सहयोगीहरुको गरी दुई करोड बढी रकम खर्च भएको नगर प्रमुख माबुहाङले बताउनुभयो । पार्क सञ्चालनका लागि नगरपालिकाले रु।५० रुपैंयाँ प्रवेश शुल्क तोकेको छ । सङ्ग्रहालय समेत अवलोकन गर्न चाहनेहरुले भने रु १ सय तिर्नुपर्छ । पार्क र सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटकबाट वार्षिक रु १३ लाख राजश्व संकलन हुने गरेको नगरपालिकाले जनाएको छ । गाउँ बनाउने अवधारणाअन्तर्गत चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङले बताउनुभयो । ‘‘अहिले सबै शहर बनाउनेतिर लागेका छन्, गाउँ बनाउने एजेण्डा कसैसँग छैन’’ उहाँले भन्नुभय।े ‘‘त्यसैले गाउँको सम्भावनाहरुलाई मर्न नदिन र उपेक्षामा परेको गाउँप्रति मानिसहरुलाई आकर्षित गर्न यो काम गरिएको हो ।’’ चोत्लुङ पार्कले पछिल्लो समय पर्यटकहरुलाई पूर्वी पहाड उकाल्ने काम त गरेको छ नै, स्थानीय सरकारले पहलकदमी लिन सके केही गर्न सकिन्छ भन्ने उदाहरण पनि पेश गरेको छ ।
काठमाडौं: चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसंग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ । मंगलबार भएको सो भेटवार्तामा उहाँहरु बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए ÷गरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । उहाँले नगरपालिकाबाट भैराखेको फोहरमैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराउनुभएको थियो । सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिनुभयो । उहाँले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिनुभयो । सोही अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । सो अवसरमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरु नरेन्द्र श्रेष्ठ, घनश्याम लुइँटेल, प्रल्हाद रिजाल ,श्रीकृष्ण खत्री एवं शिक्षा शाखा प्रमुख सुजन खनाल ,प्रशासन प्रमुख दामोदर रिजाल लगायतको सहभागिता रहेको थियो । नगरपालिकाद्वारा प्रवर्धन गरिएका स्थानीय उत्पादन प्रदर्शनीमा हस्तकला, काष्ठकला,खानाका परिकार लगायत राखिएका थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’ – शुभकामना सन्देशमा उल्लेख छ । इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी एकता, विश्वास र प्रेमको भावनालाई थप गाढा बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।
तेह्रथुम: लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ ९लिम्बू० संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ । गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा , सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ । पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताउनुभयो । युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर घुम्न आएको उहाँले सुनाउनुभयो । त्यसैगरी धरानबाट आफ्नो छोरीका लागि पूजा गर्न चोत्लुङ पार्क आएको चन्द्रा लिम्बूले बताउनुभयो । चोत्लुङजस्तो पवित्र स्थानमा पूजा गर्दा बिरामी छोरीले स्वस्थ्यलाभ गर्ने विश्वासमा पूजा गर्न आएको उहाँले बताउनुभयो । चोत्लुङ पार्कमा लालीगुराँस नगरपालिकाले एक पुजारी राखेको छ ।चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्तावेज सङ्ग्रहित छन् । लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि सङ्ग्रहालयमा सुरक्षित छन् । सङ्ग्रहित वस्तु लिम्बूको इतिहास र संस्कृतिसम्बन्धी खोज, अनुसन्धाताका लागि उपयोगी हुने किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङले बताउनुभयो । ‘चोत्लुङ’ याक्थुङ (भाषाको अर्थ ‘सिद्धि’ र ‘पूर्णता’ हुने तथा चोत्लुङ जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा मुन्धुममा रहेको म्याङलुङ–२ का लिम्बू संस्कृतिका जानकार बलदेव तुम्बाहाम्फेले बताउनुभयो ।विसं २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क १ सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ । चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा रु २ करोड बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताउनुभयो । आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको प्रवक्ता खड्काले बताउनुभयो । उहाँका अनुसार देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन् । पर्यटकलाई पार्क अवलोकनका लागि रु ५० र सङ्ग्रहालय अवलोकनका लागि रु १०० शुल्क लिने गरिएको छ । पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष रु १४ लाख राजस्व सङ्कलन भएको छ । चोत्लुङ पार्क गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमज) क्षेत्रको प्रवेशद्वारमा अवस्थित छ । टिएमजे भ्रमण गर्नेहरू चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कने गरेका छन् । मध्यपहाडी लोकमार्गको वसन्तपुर बजार नजिक रहेको यो पार्क प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।
चितवन: सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका ९ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ । इच्छाकामना गाउँपालिका–१ का तीनवटा चेपाङ बस्तीका छ सय ५० घर र रत्ननगरका तीन सय परिवारलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । मङ्गलबार रत्ननगर वडा नं ८ का चौधरी समुदायका ३२ परिवारलाई चुलो वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।विपन्न समुदायका महिलाको स्वास्थ्य जोगाउन चुलो वितरण गरिएको उहाँले बताउनुभयो । चुलोसँगै विपन्न समुदायका बालबालिकालाई पौष्टिक आहार सर्वोत्तम पीठो तथा रत्ननगर वडा नं १ निपनी स्थित ओमशान्ति आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
मोरङ: कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहनुभएको छ । शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गर्नुभएको छ । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उहाँले खेती गर्नुभएको छ । “चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक१० क्विन्टलभन्दा बढी उत्पादन भयो”, राई भन्नुहुन्छ । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो रु ९० का दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो रु ४ सय ५० देखि ५ सय ६० सम्ममा बिक्री हुने गरेको छ ।राज एग्रीकल्चर फार्म नै सञ्चालन गर्नुभएका राईले “खाली जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ”, भन्नुभयो, “वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ”, राईले जस्तै सोही वडाका १ सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ– ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताउनुभयो । जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको छ अध्यक्ष राईले बताउनुभयो ।वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती सुरू भएको छ । यो वडामा पनि १ हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउनुहुन्छ । “यस अभियानमा स्थानीय दुई सय घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ”, अध्यक्ष मगर बताउनुहुन्छ । लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउनुहुन्छ । नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेका उहाँले बताउनुभयो । किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाउनुहुन्छ ।
रौतहट: फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो । विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताउनुभएको छ । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उहाँको गुनासो छ । स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उहाँले गुनासो गर्नुभयो । अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताउनुभयो । अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेलले बताउनुभयो । बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताउनुभयो । हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताउनुभयो । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उहाँको बुझाई छ । सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाउनुभएको थियो । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताउनुभयो । विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उहाँले गुनासो गर्नुभयो । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताउनुभयो । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उहाँ खिन्न हुनुहुन्छ । साउनदेखि खाजा खुवाउन सकेको छैन पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिनुभएको छ । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गर्नुभयो । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् । यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ । सात वर्षदेखि तलबविहीन सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गर्नुभयो । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताउनुभयो । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताउनुभयो । सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिनुभयो । फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिनुभएको छ । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ । इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै आइएको छ । राष्ट्रपति पौडेलले इसाई धर्मावलम्बीहरूको यस पर्वले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

