गण्डकी:   पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५०...

बेइजिङ:   प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् ।   चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए ।   चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आउने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।   त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।   भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् ।   दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।   यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुन:निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ ।   यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।   यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् ।   सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।   यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तिो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।   प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए  ।   नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाएका थिए ।   प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गरेका थिए ।   प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन्।

सोलुखुम्बु:  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ ।   वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।   सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् ।   स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताए ।   यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उहाँले बताए ।   स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताए ।   “वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ । यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ”, उनले भने ।   सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरोका कारण एक सयभन्दा बढी घर जोखिममा रहेको बताए  ।   उनले भने, “हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घरपरिवार विस्थापित हुने अवस्था आउँछ । पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ ।”   वडाध्यक्ष कार्कीले पहिराले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताए  । स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाइन् ।   “राति निन्द्रा नै लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ । बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन”, उनले दुःखेसो पाेखिन् ।   करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि मात्रै करिब पाँच सय मिटर फैलिएको उहाँले सुनाइन् ।   स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ ।   पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताए ।   उनले जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालय र ओखलढुङ्गाको भू–जलधार संरक्षण कार्यालयका विज्ञसहतिको टोलीले समेत पहिरोग्रस्त क्षेत्रको अध्ययन सुरु गरेको बताए ।   “स्थानीय प्रशासन नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सधैँ सचेत छ । पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौँ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौँ तर समग्र अवस्थाको आँकलन गरी पहिरो रोकथामका लागि विज्ञ टोलीले थप अध्ययन गर्न आवश्यक छ । यसका लागि तिनै तहका सरकारबीच समन्वय गरी अगाडि बढ्नुपर्छ”, प्रजिअ घिमिरेले भने । 

काठमाडौँ:  हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ ।   कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।   विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।   त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।   शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

बेइजिङ:    चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ ।   यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नुभयो ।   प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो ।   प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गर्नुभएको थियो ।   कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियोे ।   प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

गुल्मी:    निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ ।   कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो ।   कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बागलुङलाई पत्राचार गरी यही मङ्सिर १९ गतेदेखि एक साताका लागि सडक बन्द हुने जानकारी दिएको छ ।   उक्त सडक योजनाअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्नेे गरगरेको जोखिमयुक्त भिर काट्नुपर्ने भएकाले उक्त सडकमा सवारी आवागमन बन्द हुन लागेको कालीगण्डकी कोरिडोर सडक योजनाका इञ्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो ।   प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडक बन्द हुने छ ।   यात्रु तथा सवारी साधनको सहजताका लागि हर्मिचौर–मिर्मी–आधिदोभान हुँदै पुर्तिघाटतर्फको सडक प्रयोग गर्ने गरी आवश्यक सहजीकरणका लागि उक्त सडकअन्तर्गत पर्ने स्थानीय जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।   सडक बन्द हुने भएपछि कालीगण्डकी गाउँपालिकाले पनि सरोकारवाला यात्रु तथा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ:  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ ।   लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज आफूसँग भेट गर्न आउनुभएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो ।   “कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।”   उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो ।   उहाँले नेपाली नागरिक विपीन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसासमेत गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो ।   भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवद्र्धन तथा संरक्षणको पक्षमा रहेको बताउनुभयो ।   कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिँदै उहाँले नेपाली श्रमिकको हितलाई कार्यान्वयन आफूले प्रयास गर्ने बताउनुभयो ।

कर्णाली:     कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताउनुभएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले उनीहरुको हक, अधिकार सुनिश्चितताका लागि सामाजिक सचेतना निर्माण गर्नुपर्ने बताउनुभएको हो । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “संविधानले अपाङ्गता भएका व्यक्तिलाई अन्य नागरिक सरह राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका सम्पूर्ण अधिकार सुनिश्चित गरेको छ ।  यसमा उनीहरुको अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक छ । जसमा तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक नीति, योजना र कार्यक्रममार्फत विकासको मूल प्रवाहमा अपाङ्गता भएका व्यक्तिलाई समेट्नुपर्छ ।” जन्मजात वा जन्मपश्चात् एवं नेपालको लोकतान्त्रिक आन्दोलनका साथै अन्य विपद्का घटनामा परी अङ्गभङ्ग हुनुभएका कर्णालीवासी नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, न्याय र सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकारको तर्फबाट कानुनी तथा नीतिगत प्रबन्धमा गर्न आफू प्रतिबद्ध रहेकोसमेत मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभएको छ ।

दोलखा:     बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन स्थानीयस्तरमै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नसक्ने नागरिक वैज्ञानिक अभियानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।  एसियाली पूर्वतयारी केन्द्र ९एडिपिसी० को सहयोगमा भीमेश्वर नगरपालिका, इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सन (आइएचआरआर)र स्मार्टफोन फर वाटर नेपाल (एस४डब्लु)को संयुक्त पहलमा सञ्चालन गरिएको ‘भिक्टोरी’ नामक परियोजनामार्फत तयार गरिएका नागरिक वैज्ञानिकहरुको दीक्षान्त समारोहका सहभागी वक्ताहरुले सो आवश्यकतामा जोड दिएका हुन् ।  नागरिक वैज्ञानिकहरुले सम्प्रेषण गरेका मौसमी सूचनाका आधारमा पूर्वतयारी गर्दा जनधनको क्षति कम गर्न सकिएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँहरुको भनाइ रहेको छ ।  नगरपालिकाका नौवटै वडाका ५÷५ जना गरी ४५ जना सर्वसाधारणलाई प्रशिक्षित गरी साधारण उपकरणमार्फत गत जुनदेखि अक्टोबरसम्मको वर्षा मापनको सूचना सङ्कलन गरी त्यसका आधारमा मौसम पूर्वानुमान गरिएको थियो ।  हाल यो कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालिकामा पनि ४५ जना नागरिक वैज्ञानिकमार्फत बाढी मापनमा मौसमी पूर्वानुमानको कार्य भइरहेको छ ।   कार्यक्रममा नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले पहिरोको उच्च जोखिममा रहेको पालिकालाई विपद् व्यवस्थापनयुक्त बनाउन नागरिक वैज्ञानिक अभियान निकै प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिँदै छिमेकी पालिकाहरुमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।  आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले साधारण प्रविधि र तालिम प्रदान गरी स्थानीयस्तरमै नागरिक वैज्ञानिक तयार गर्दा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने भीमेश्वर नगरपाकिलाबाट प्राप्त अनुभवका आधारमा यस वर्ष मनाङ र लमजुङका दुई पालिकामा पनि नागरिक वैज्ञानिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । एस ४ डब्लुका डा सञ्जीव न्यौपानेले नागरिक वैज्ञानिक कार्यत्रमलाई देशभरि विस्तार गर्न सकिएको मौसमी विपद्बाट बर्सेनि हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले स्थानीयस्तरबाटै प्राप्त मौसमी सूचनाका आधारमा मौसम पूर्वानुमान गरिने हुँदा यसलाई अझ भरपर्दो र व्यवस्थित गराउन सकिएमा प्रकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो । नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेश राउतले विपद् व्यवस्थापनमा नागरिक वैज्ञानिक कार्यक्रमको निकै प्रभावकारी रहेकाले आगामी दिनमा पनि पालिकाले निरन्तरता दिने बताउँदै यस्ता सफल अभ्यासहरुलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्नुभयो ।  नागरिक वैज्ञानिक यदुनाथ न्यौपाने र कमला ओलीले विपद्बाट जनताको जीउधन र राज्यका भौतिक सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै यस कार्यक्रमलाई पालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नागरिक वैज्ञानिकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ आइपुग्नुभएको हो ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।  प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।