पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

काठमाडौं:    गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताउनुभएको छ । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण आजको आवश्कता भएको बताउनुभयो ।      “मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्टिकोणले विविधतायुक्त छ, यहाँको भू–भाग, जलवायु र वातावरणीय संरचनाले हाम्रो देशमा प्राकृतिक र मानव सिर्जित विपद्को सम्भावना धेरै छ”, गृहमन्त्री लेखकले  भन्नुभयो, “विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी छ ।”  सङ्घदेखि स्थानीय तहका वडासम्म विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।मुलुक विपद् जोखिमको उच्च जोखिममा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्ने बतानुभयो ।      “देशभरका बहुक्षेत्रीय र बहुआयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर विपद्का चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति तयार गर्ने यो सम्मेलन आफैँमा महत्वपूर्ण रहनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक र मानवीय कारणले सिर्जित विपद् जोखिमका लागि संसारकै उच्च संवेदनशील मुलुकमध्ये एक हो । हिमाल, पहाड र तराईजस्ता विविध भूगोलले भरिएको छ, जसले हामीलाई प्राकृतिक सम्पदामा धनी बनाए पनि जोखिमको दृष्टिकोणले संवेदनशील बनाएको इतिहास छ ।”      जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएका बाढी, पहिरो, चट्याङ र अन्य जलवायुजन्य विपद् झन् जटिल हुँदै गएको गृहमन्त्री लेखकले बताउनुभयो ।  “विपद्ले हामीलाई जलवायु परिवर्तनका चुनौतीप्रति थप संवेदनशील बनाएको छ”, उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि हाम्रो दृष्टिकोण बहुआयामिक र वैज्ञानिक हुनु आवश्यक छ ।”गृहमन्त्री लेखकले समुदायमा आधारित दृष्टिकोण, विपद् जोखिम न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।  “स्थानीय तहमा विपद् व्यवस्थापन योजना निर्माण, क्षमता अभिवृद्धि र जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो, “प्रकोप व्यवस्थापनसम्बन्धी नीति तथा ऐनलाई बलियो बनाउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक छ ।”      प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकिने प्रविधि र सूचना प्रणालीलाई सुदृढ गर्दै विपद्बाट हुने क्षति न्यून गर्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीति निर्माण र संरचनात्मक सुधारमा उल्लेखनीय प्रगति गरेको उहाँले जानकारी दिनुभयो ।

चितवन:   उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रुपमा अघि बढेको बताउनुभयो ।  “कानुन सबैका लागि समान हो । कानुनअनुरुप हुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श भइरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्मा रहेका सबै दलसँगको परामर्शमा दुई तिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ ।” अहिलेको सरकारले अघिल्ला सरकारहरुले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री  सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उहाँले कांग्रेस र एमालेबीचको समझदारीअनुसार सरकार अघि बढेको बताउनुभयो । फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले मेला महोत्सवबाट  देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले गरेका यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”

चितवन:   राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताउनुभएको छ ।  यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिनुभयो ।   उहाँले भन्नुभयो, “कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन् ।”  आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गर्नुभयो । फरक प्रसङ्गमा उहाँले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताउनुभयो ।  सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका  सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो ।

चितवन:     तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो । यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ ।    महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ । मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन् ।   उद्योग वाणिज्य सङ्घ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिइएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ, यसको उपभोग बढाउन, व्यवसाय प्रवर्द्धन गर्न तेस्रो खैरहनी महोत्सवमा विशेष प्राथमिकता दिएका छौँ ।”       महोत्सव आयोजक समितिका संयोजकसमेत रहनुभएका खनालले चितवनको खैरहनी, राप्ती र कालिका नगरपालिकामा पर्याप्तमात्रामा मौरीपालन गरिँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार खैरहनीमा मौरी पकेट कार्यक्रम पनि लागू छ ।  यसैबीच खैरहनी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज अस्मिता अधिकारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारले साङ्गितिक प्रस्तुती दिनुहुने मेला सांस्कृतिक समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिनुभयो । पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ ।  

पोखरा:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ ।       अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो ।      चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।       चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।

सर्लाही:     सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।  क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।  बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ ।  उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । 

इलाम:    जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् ।  पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला, संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । याक्थुङ युवा मञ्चले १ सय जना लिम्बू युवालाई आफ्नो समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ) सिकाइरहेको छ ।  लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाममा १५ दिने च्याब्रुङ नाच प्रशिक्षण पनि सञ्चालन गरेको छ ।  लिम्बू समुदायको कला, संस्कृति र परम्परा लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि युवा पुस्तालाई जागरुक गराउन च्याब्रुङ नाच प्रशिक्षण आयोजना गरिएको याक्थुङ युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताउनुभयो ।  “आफ्नो संस्कृतिका बारेमा युवा पुस्तालाई सचेत गराएर मात्र संस्कृति जोगाउन सकिन्छ”, अध्यक्ष योङहाङले रासससँग भन्नुभयो, “हामी त्यही अभियानमा छौँ ।”  याक्थुङ युवा मञ्चका सहसचिव एवं प्रशिक्षण संयोजक उमेश सेलिङ लिम्बूले इलाममा लिम्बू समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।  “जिल्लामा हुने विभिन्न सभा–सम्मेलनमा च्याब्रुङ नृत्यका लागि अनुरोध हुन थालेको छ”, उहाँले भन्नुभयो, “कला र संस्कृतिको संरक्षण र विकासमा लाग्दा आम्दानी पनि हुने भएकाले त्यसतर्फ युवा पुस्ता आकर्षित भएका छन् ।”  च्याब्रुङ सिक्न माङसेबुङ गाउँपालिका–२ बाट इलाम आउनुभएकी सावित्रा लिम्बूले “हाम्रा अग्रजले बचाएको मौलिक कला र संस्कृति हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “यो पहिचानलाई बचाउन हाम्रो पुस्ता लाग्नुपर्छ ।” पाँचथरको फिदिम नगरपालिबाट च्याब्रुङ सिक्न आउनुभएका अर्का प्रशिक्षार्थी नोगेन लिम्बूले मौलिक संस्कृति र परम्पराप्रति युवा पुस्ताको चासो कम हुँदै गएकाले त्यसप्रति उनीहरुलाई आकर्षित गर्न प्रशिक्षणमा सहभागी भएको बताउनुभयो ।  च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रमले आदिवासी लिम्बू समुदायको कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नयाँ पुस्तामा पुस्तान्तरणमा सहयोग पुग्ने किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष पदम ताम्लिङले बताउनुभयो । 

दैलेख:    यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार  यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।  चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उहाँले बताउनुभयो ।  चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।  चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन् ।

काठमाडौं:   नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ ।       आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । राष्ट्र बैंकद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ ।       “नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो ।  साथै, अर्को व्यवस्था नभएसम्मका लागि सोही ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ”, विज्ञप्तिमा भनिएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले २०८१ पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ ।       राष्ट्र बैंकले उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।  व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘ड्यु डेलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ । न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंकÞा भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नेकोलगायत कारण देखाएर राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।  संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिइराख्दा निक्षेपकर्ताको रकम सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ । न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएपछि राष्ट्र बैंकले एक महिना अघि गत मङ्सिर ११ गते थप निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको थियो ।  संस्थामा देखिएका सबै समस्या हल गर्न सुधारात्मक कारवाहीसहित राष्ट्र बैंकले छ महिनाको समय दिएको थियो । तर बैंकमा थप समस्या देखिने अवस्था आएपछि समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।