पोखरा:  कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प...

काठमाडौं:    स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ ।  यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो ।  त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ ।  यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।  त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ ।  निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा चार हजार ९१ मतदाता छन् ।  उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो । 

काठमाडौं:    स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ ।  मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् ।  यसैगरी, रासस प्रतिनिधिले सप्तरीको राजविराजबाट सम्प्रेषण गरेको समाचारमा डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ ।    दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं. १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नं। ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् ।  जिल्ला निर्वाचन  कार्यालयका अनुसार  डाक्नेश्वरी नगरपालिका– १ मा दुई हजार ६३५ र वडा – ४ मा एक हजार २८१ मतदाता छन् ।  दैलेखस्थित रासस समाचादाताका अनुसार महावु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गर्नुभएको छ ।  उक्त निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको सिमकोटस्थित हाम्रा समाचारदाताले जनाएका छन् ।  सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् । 

काठमाडौं:   राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको  नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गर्नुभएको छ । मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मङ्सिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गए राति त्यसतर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट हुनुहुन्छ ।  त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि उक्त अध्ययन भ्रमण टोलीमा सहभागी हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । उपाध्यक्ष घिमिरेको नेतृत्वमा रहेको टोली यही मङ्सिर २१ गते स्वदेश फर्कनेछ ।

धनुषा:    जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ ।  त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।  महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो । त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ ।  महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् । सर्वपक्षीय बैठक सम्पन्न निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ । हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ ।  मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गर्नुभएको थियो । 

काठमाडौं:     हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं:    स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ ।  नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।  निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् ।  यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

काठमाडौं:    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू एकले बढाएको छ । बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ पैयाँ र तेस्रो वर्गमा एक सय ६० रूपैयाँ तोकिएको छ ।      पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललगायतका स्थान छन् ।           निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ ।  हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रू दुईका दरले वृद्धि गरिएको निमगले जनाएको छ ।  खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १४ रूपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

काठमाडौं:    भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।  निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।      मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।      निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ ।  मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई यसअघि नै अनुरोध गरिसकेको छ ।      मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो ।  आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ ।      आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।  राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।  भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो।  यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै हुनुहुन्छ ।