स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

हुम्ला:    हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात  सुरु भएको हो ।  आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो ।  यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।  हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।  उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।         

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरुसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यसका लागि प्रवक्ता र सूचना अधिकारीलाई व्यवस्थित गर्न आवश्यक पर्ने स्रोतसाधन, प्रशिक्षणलगायत विषयमा आफू सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।       “सूचनाको हक जनताको मौलिक हक हो । त्यसकारण सूचना सत्य, तथ्य र सही दिनुपर्ने हाम्रो कतव्र्य हो”, उहाँले भन्नुभयो, “प्रवक्ता र सूचना अधिकारीको आवश्यक व्यवस्थापन, दक्षत बनाउने तथा व्यवस्थित गर्नेमा मन्त्रालय सकारात्मक छ ।”      मन्त्री गुरुङका अनुसार प्रवक्ता दक्ष हुनु भनेको त्यस मन्त्रालय या निकायको प्रभावकारी कार्यको उजागर हुनु हो ।  नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले प्रवक्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र चुनौती पनि उत्तिकै रहेको सुनाउनुभयो ।  आफ्ना अनुभव बाँड्दै उहाँले जनताको सूचनाका हक सुनिश्चित गर्ने मुख्य दायित्व प्रवक्ता र सूचना अधिकारीलगायत सम्बन्धित सबै शाखाको समेत उत्तिकै सहयोगी भूमिका जरुरी हुने बताउनुभयो ।      मन्त्री गुरुङले प्रवक्ताहरुले काम गर्दा भोग्नु परेका समस्याहरु सुनेर छिटोभन्दा छिटो समाधान गर्नतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाजुरा:    जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा आज जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।  हिमालीको धुलाचौरबाट धीम जार्दै गरेको ग २ च ६३०७ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १३ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिनुभयो ।       दुर्घटनामा हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धिरेन्द्र रावत, २२ वर्षीय मानबहादुर बुढा, २८ वर्षीय जङ्गबहादुर रोकाया, ४० वर्षीय जनक रावत, सोही गाउँपालिका–६ का महेन्द्र्र रावत, ३० वर्षीय बमबहादुर रावत र ४६ वर्षीय कलबहादुर रावत रहेका प्रहरीले जनाएको छ ।  घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।       आज नै सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

नुवाकोट:    नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृता भेटिएका छन् । आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।      घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ ।  चन्दीमायाका  श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् । 

काठमाडौं:    नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा  प्यानल घोषणा गरिएको हो ।  शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुनुहुन्छ । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।       यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिनुभएको हो ।       अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । 

काठमाडौं:    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवाप्रवाहलाई सरल, सहज र सुलभ बनाउनुपर्ने निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवासुविधा प्राप्तिमै रुमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले राज्यबाट सेवासुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गर्नुभयो । यसअघि बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम तथा समावेशी, व्यावसायिक र सहभागितामूलक बनाउने विधेयक ल्याइएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “निजामती सेवालाई उच्च मनोबलयुक्त र  नैतिकवान् बनाई राज्यका तर्फबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ऐन निर्माणका लागि विधेयक ल्याइएको हो ।” निजामती सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ सेवामूलक उत्तरदायी र व्यवसायी बनाउँदै सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्न सरकारले विसं २०८० फागुनमा यो विधेयक सदनमा दर्ता गराएको थियो । राज्यको पुनःसंरचनासँगसँगै प्रशासनिक पुनःसंरचनापश्चात् सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन र व्यवस्थापन गर्ने विधेयकको उद्देश्य रहेको छ । मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री गुप्ताको भनाइ थियो ।  उहाँले स्थायी सरकारका रूपमा रहेको निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्दै यसलाई व्यवस्थित र अनुमानयोग्य बनाउन आवश्यक रहेको बताउनुभयो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू समुदायको निजामती सेवामा प्रवेशका सन्दर्भमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न सहज होस् भन्ने हेतुले संशोधन दर्ता गरेको प्रतिक्रिया दिनुभयो । विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ तथा पुरुषको ३२ तथा अवकाशको उमेर हद ६० वर्षका लागि प्रस्ताव गरिएको छ । निजामतीभित्र ११ समूह, नौवटा श्रेणी तथा १४ तहसम्म रहने गरी विधेयकमा प्रस्ताव छ । त्यस अवसरमा नेपाल सरकारका मुख्यसचिव टेकनारायण अर्यालले राजनीतिक हिसाबले मुलुकमा सङ्घीयताको अभ्यास भए पनि समयमा ऐन, कानुन, विधि र पद्धति निर्माण नभएका कारण निजामती सेवामा सहज रूपमा कार्यसम्पादन गर्न चुनौती भइरहेको बताउनुभयो ।  कर्मचारीलाई प्रोत्साहन गर्दै सुशासन र पारदर्शिता कायम गरी अघि बढनुपर्नेमा विगतको कर्मचारी समायोजनमा त्रुटि भएका कारण भर्ना र सरुवामा समेत दोहोरोपन देखिएको उहाँको भनाइ थियो ।  “लामो समयदेखि सङ्घीय संसद्मा रहेको निजामती सेवासम्बन्धी विधेयकलाई यथाशीघ्र टुङ्गोमा पु¥याएर सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिनुपर्छ । ऐन नआउँदा कर्मचारी खेलौनाजस्तो भएका छन्”, मुख्यसचिव अर्यालले भन्नुभयो ।

झापा:     प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ ।  भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।       विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।      उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो ।

गण्डकी:    सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइनुभएका लामिछाने त्यस यता प्रहरी हिरासतमा हुनुहुन्छ ।  उहाँलाई त्यसपछि उहाँलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो । 

झापा:   प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले आज मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको उद्घाटन तथा बृहत् गुरुयोजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यले एक समारोहकाबीच दुई बिघा पाँच कट्ठा जमिनमा निर्माण गरिएको भवनको उद्घाटन र नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो । प्रथम महिला शाक्य सो आश्रमको संरक्षक हुनुहुन्छ । आश्रमको १९औँ जिल्ला शाखाका रुपमा उद्घाटन तथा शिलान्यास भएको आमडाँगीस्थित सो जग्गा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका स्थानीय रामबहादुर प्रधानले निःशुल्क रुपमा प्रदान गर्नुभएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।  उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमबाट भएका गतिविधि र भावी कार्यक्रमको प्रशंसा गर्दै आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक आश्रमलाई दिने घोषणा गर्नुभयो । यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहनुभएकी प्रथम महिला एवं आश्रमका संरक्षक शाक्यले निवृत्तीभरण (पेन्सन) बापत पाउने दुई महिनाको सुविधा आश्रम भवन निर्माणका लागि दिने बताउनुभयो ।         सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रनिर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडक आश्रित मानव रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।     गत साउन महिनादेखि अनौपचारिक रुपमा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरी संस्थाले आश्रय दिँदै आएको छ । मेचीनगर नगपालिकाको रु २५ लाख र संस्थाको करिब रु एक करोडको लगानीमा तीन वटा भवन र शौचालय निर्माण गरेर सञ्चालनमा ल्याइएको आश्रमले स्पष्ट गरेको छ । अध्यक्ष अधिकारीका अनुसार सो आश्रममा उद्धार गरी ल्याइएका ४८ मध्ये अहिले ३३ पुरुष र १० जना महिला रहेका छन् । आश्रममा उद्धार गरेर ल्याइएकामध्ये २ पुरुष र १ महिलाको परिवारमा पुनःमिलन गराइएको छ भने ३ पुरुष र १ महिलाको निधन भएको छ ।  आश्रमले १ सय ५० जना अट्ने भवन विस्तार र साधना हल बनाउने लक्ष्यसहित गुरुयोजना निर्माण गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । विसं २०६९ मा हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको कार्यालय स्थापना गरी आश्रमले मानवताको प्रवद्र्धनको अभियान निरन्तर चलाउँदै आइरहेको छ ।  अध्यक्ष अधिकारीले भन्नुभयो, “देशभर खुला आकाशमुनि रात बिताउन विवश बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै २०८२ सालभित्र देशभर कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माणका पक्षमा आश्रम जुटेको छ, सक्दो सहयोगका लागि सबैसँग अनुरोध गर्दछौँ ।” आश्रमले हालसम्म स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानिसको खोजविन तथा पहिचान गरी १० हजार आठ सय २७ जनाको उद्धार गरेको जनाएको छ ।  जसमध्ये ५ हजारभन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापना गराइसकेको आश्रमले स्पष्ट गरेको छ । सो आश्रमको मुलुकभर २५ वटा सेवाकेन्द्र रहेको बताइएको छ ।