पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगितामा गण्डकी प्रदेश अपराजित रहदैं पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।   डिफेण्डिङ च्याम्पियन  टिपटप हेल्प नेपाललाई घरेलु मैदानमा प्रतिस्पर्धात्मक...

काठमाडौं:  नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।   देसाईले एक साताअघिनै नेपाली टोलीको प्रशिक्षण सम्हाल्न थाल्नुभएको थियो । क्यानले एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत स्वीकृतिमा देसाईलाई प्रशिक्षक नियुक्त गरेको पनि जनाएको छ ।   नेपाली टोलीले देसाईको प्रशिक्षणमा त्रिवि मैदानमा आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । क्यानले पुस २४ गते प्रमुख प्रशिक्षकका लागि खुला आवेदन आह्वान गरेको थियो ।   आवेदन दिएका २४ जनाबाट पाँच जनालाई सटलिस्टमा राखेर माघ ४ गते अन्तरवार्ता लिई अन्तिममा देसाईलाई छनोट गरेको हो । देसाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट हुनुहुन्थ्यो । त्यसभन्दा अगाडी देसाईले सन् २०१५ को आइसिसी टी–२० विश्वकप छनोटका क्रममा राष्ट्रिय टोलीमा पनि काम गर्नुभएको थियो । 

कास्की: पोखराको उत्तरपूर्वी भू–भागमा रहेको काहुँडाँडा पर्यटकीय गन्तव्यको केन्द्र बनेको छ । पाँच दशकअघि निर्माण गरिएको पोखराको पहिलो धरहराबाट टलक्क टल्कने हिमशृङ्खला, फेवातालसहित पोखरा बजार देख्न सकिन्छ ।    बिहान सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नसकिने मनोरमस्थल काहुँडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।    सोही ठाउँमा पर्यटन प्रवद्र्धन गर्न यही फागुन ४ गतेदेखि १४ गतेसम्म ‘काहुँ धरहरा महोत्सव’ गर्न लागिएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक देवबहादुर गुरुङले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै एक दृश्यावलोकनको गन्तव्य स्थानका रूपमा विकास गर्ने सकिने गुरुङले बताउनुभयो ।   राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रसारबाट काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धिले जनस्थरको आर्थिक विकासमा सहयोग पुग्ने उहाँको धारणा छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै यहाँको राष्ट्रिय फूल लालिगुराँसलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ ।   महोत्सवमा दृश्यावलोकनको साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।    सो महोत्सवमा करिब ५२ लाख रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । ४६ लाख ८९ हजार खर्च हुने अनुमान आयोजकको छ । महोत्सवबाट प्राप्त आम्दानी पर्यटन पूर्वाधार निर्माण, असहाय विद्यार्थीलाई सहयोग गरिनेछ । काहुँ धरहरा चढेर पूरा पोखरा अवलोकन गर्न सकिन्छ । गत वर्षको असोजदेखि धरहरा चढेको टिकट काट्नुपर्ने व्यवस्था गरेको गुरुङले बताउनुभयो । पर्यटकलाई थप सुविधाका लागि धरहरा नजिकै तीनवटा रेस्टुरेन्ट पनि सञ्चालनमा छन् ।    

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज न्यूरोडस्थित महंगो शूल्क तिर्नपर्ने पार्किङ्स्थलको उद्घाटन गरेका छन् ।    निर्धारित समयभन्दा १ घण्टा ढिलो पुगेका मेयर आचार्यले उद्घाटनका दौरान पोखरामा थप २७ स्थानमा पार्किङ्स्थलको व्यवस्थापन हुने जनाउँदै एक महिनाभित्र तयारी सकिने बताएका छन् ।    आज शुभारम्भ भएका सशूल्क पार्किङस्थल न्यूरोडस्थित पुरानो पुर्णिमा चलचिल हल पछाडी रहेको छ । जहाँ करिब ४० चारपाङ्ग्रे र सयको हाराहारीमा २ पाङ्ग्रे सवारीसाधन अट्नेछन् ।    उक्त स्थलमा लिइने पार्किङ् शूल्क २ पाङ्ग्रेका प्रतिघण्टा १० रुपैयाँ रहेको छ । त्यस्तै, चारपाङ्ग्रको हकमा प्रतिघण्टा ५० र ७० रुपैयाँ रहेको छ ।    महानगरले निर्धारित गरिदिएको शूल्कको दर भने यसअघि पोखरेलीले तिर्दै आएको भन्दै अत्यधिक हो । मोटरसाइकल वा स्कुटर पार्किङ् गर्ने कुनैपनि जागिरे वा व्यवसायी एवं गाडी भएकाले दैनिक ६ घण्टा सेवा लिँदा तिर्नुपर्ने मूल्य निकै बढी हुन आउँछ ।   महानगरले पार्किङ् व्यवस्था गर्ने बताएपनि उसले शूल्कमात्रै निर्धारण गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई छाडिदिएको हो । पार्किङ्स्थलको उद्घाटन गर्दै मेयर आचार्यले सुन्दर र व्यवस्थित पोखरा निर्माणमा जुटेको भन्दै स्थानीयलाई पार्किङ् नियमको पालना गर्न अनुरोध गरेका छन् । 

काठमाडौं:  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ।    आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो।    उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीलाई सुध्रनको लागि समय दिएको पनि बताउनुभयो। उहाँले सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानुनी कारबाही गर्ने बताउनुभयो। उहाँले मन्त्रालय ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताउनुभयो।    मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गर्नुभएको छ।   मन्त्री अर्यालले भन्नुभयो, ‘‘म्यानपावर र व्यवसायीलाई सुध्रिनको लागि समय दिन्छौं। दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ। कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं। वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकलाई ठगी गर्ने म्यानपावर र व्यवसायीलाई कारबाही गर्न कसैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन। म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन। म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानुनले सिधा गएर आक्रमण गर्न दिँदैन। कानुनी रुपमा कारबाही गर्ने हो। त्यसमा मैले काम गरिरहेको छु।’’   मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर तीन करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताउनुभयो। उहाँले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

काठमाडौं:  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्नुहुँदै शिक्षामन्त्री खानालले सो कुरा बताउनुभएको हो ।   उहाँले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरु नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने भयो । मन्त्री खनालले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।     शिक्षामन्त्री खनालले भन्नुभयो, ‘‘हामी नेपाललाई नै यस्तो देश बनाऔँ, जहाँ विदेशमा जुन संख्यामा नेपाली विद्यार्थीहरु पठाउँछौँ, विदेशबाट पनि त्यही सङ्ख्यामा विद्यार्थीहरु नेपाल भित्र्याउने वातावरण बनाऔँ । हाम्रो विद्यालय शिक्षा कसरी सुधार गर्ने ? प्रारम्भिक विद्यालयहरुदेखि नै आधारभूत विद्यालय तहदेखि नै गुणस्तरमा निकै ठूलो समस्या छ, तर नेपालको भौगोलिक बनाबटको फाइदा लिँदै इन्टरनेशनल एजुकेशन हब बन्नसक्छ । त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभइ विदेशी विद्यार्थी भित्र्याउनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’’   मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवद्र्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो ।        

वि. सं. १८७७ ताका लोकले पुजेका पण्डित थिए रत्नाखर पराजुली । त्यसबखत कास्की (कास्कीकोट)का शाह वंशीय राजाको मुलपुरोहित रहेका रत्नाखरलाई दिइएको बिर्तामध्येको एउटा हिस्सा हो, पृथ्वीनारायण क्याम्पसको पूर्वी भागमा रहेको कित्ता नम्बर ८३३ ।    करिब २ सय २२ रोपनी क्षेत्रफल चर्चेको जमिनमा समेटिने गरी संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले वडा नम्बर १ र ११ जोड्न पुल बनाउने कार्य अघि बढाउन लाग्दा विवादित बनेको छ ।    क्याम्पसले पुल शिलान्यास गर्ने खबर सुनेपछि उक्त कार्य रोकेको छ । र, सँगै पत्रकार सम्मेलन गरी ‘भू–माफिया’को चलखेल भनेपछि उनै रत्नाखरका खलकले चित्त दुखाएका छन् ।    पोखरामा ‘साठीघरे पराजुली’का नामले चिनिने खलकलाई समेट्ने पराजुली समाज पोखराका अध्यक्ष विश्वगोपाल पराजुली भन्छन् ‘पृथ्वीनारायण क्याम्पसले हामी साठीघरेलाई सम्मान गर्नुपर्ने हो, तर उल्टो बदनाम पो ग¥यो ।’   क्याम्पसलाई पनि आफ्नो जग्गा होइन भन्ने थाहा हुँदाहुँदै पत्रकार सम्मेलन गरेर पराजुली परिवारलाई उल्टो भू–माफिया भनेकोमा साठिघरेको चित्त दुखाई छ । ‘शायद, संघीय सरकारले पोखराको पूर्वी र उत्तरी भागलाई बजारमा जोड्न सजिलो हुने ठानेर त्यहाँ पुल बनाउन खोजेको होला’ विश्वगोपाल भन्छन् ‘तर हामीले पुल बनाउन लागेझैं गरेर क्याम्पस हामीमाथि खनियो ।’   उक्त कित्तामा छोएर निर्माण हुन लागेको पुलले पक्कै आवागमनमा सघाउ पुग्ला तर यसमा साठीघरेलाई दोष देखाएर क्याम्पस प्रमुखले दायित्व पुरा गरेको आभाष भएको छ साठीघरेलाई ।      जिजुबाजेले पाएको बिर्तामै अहिलेको क्याम्पस रहेको र हालको कित्तामा साठीघरेको कूल पूजा हुने मन्दिरसमेत रहेको विश्वगोपालले जनाए । त्यहाँ वर्षेनी कूलायन पूजा गरिँदै आइएको खबर क्याम्पसलाई थाहा हुँदाहुँदै पनि पछिल्लो रवैया स्वीकार्न असहज भएको पराजुली समाजको धारणा छ ।   ‘हामीले उक्त भू–भाग हाम्रै हुनुपर्छ, हामी नै भोगचलन गर्छाै पनि भनेका छैनौं’ उनी भन्छन् ‘यद्यपि, हामीहरु सोह्रै आना मर्कामा पर्न पनि चाहँदैनौ ।’   रत्नाखरका खलक विभिन्न पेशा, व्यवसायमा रहेका र कमाएर खान सक्ने हैसियतमै रहेपनि केही परिवारको स्थिति अत्यन्त नाजुक रहेको र बस्ने थलोसमेत नभएको जनाउँदै उनले त्यस्ता परिवारलाई भने व्यवस्थापन गर्ने समाजको दायित्व भएको उल्लेख गरे ।    ‘जे भएपनि, हामीमाथि शंका, उपशंका गर्दै आक्षेप लगाउने काम भयो, पराजुली परिवारले कसैको केही बिगार गरेको छैन, हामीलाई मिडियाबाजी मन पर्दैन’ विश्वगोपालको सटिक भनाई छ ।    

पोखरा महानगरपालिका, मासबार निवासी ४४ वर्षीया गिता गिरी शनिबार बिहानदेखि सम्पर्कविहीन भएको परिवारजनले जनाएका छन् ।    हिजो अन्दाजी पौने ८ बजे कुस्मास्थित माइत जान हिँडेकी गिताकोसाथमा १२ वर्षीय छोरा युनिससमेत रहेका छन् । कुस्मा जान हिँडेपनि उनको मोबाइलको अन्तीम लोकेशन तनहुँको आँबुखैरेनी देखिएको बताइएको छ ।      गिता सम्पर्कविहीन भएकोबारे जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी दिइएको छ भने कसैले कहीँ, कतै देखेमा सम्पर्क गरिदिन परिवार एवं आफन्तजनले सम्पर्क नम्बर उपलब्ध गराएका छन् ।    आफन्तजनको सम्पर्क नम्बर यस प्रकार छः  9846468772 (khobananda) 9856012495 (mukta) 9856018180 (raju)

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्।   उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन्।   'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,'उनले लेखेका छन‍्।   पुन:नागरिकता लिएपछि लामिछाने गृहमन्त्रालयमा दावी गर्दै आएका छन्। लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेक अन्य मन्त्रालय दिनसक्‍ने बताएपछि थप निर्णय लिने रास्वपाले केहीबेरमा केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाएको छ।   गृहमन्त्री नपाउने भएपछि सरकार छोड्‍ने चेतावनी रास्वपाले दिएको छ। सोही विषयमा टुंगो आजको बैठकले लगाउने जनाएको छ।   नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि लामिछानेको उप्रधान,गृह र सांसद पद गुमेको छ।

भोजपुर:  बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ ।   रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।   अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । “बाँदरका कारण बस्ती नै खाली भएको छ”, उनले भने, “वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन ।”   दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।   “बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ”, उनले भने, “बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ । बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरिन्, अन्नबाली जोगाउन अति नै समस्या छ ।”   बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले जानकारी दिए ।   “बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला–पहिला त भाग्थे”, उनले भने, “अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेटमात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् । बाँदरले हैरान बनाएको छ ।” बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ–दश वर्षमा धेरै बस्ती खाली हुने प्रधानको भनाइ छ । “बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ ।”   बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । “बाँदरको उपद्रो बढ्दो छ”, उनले भने, “एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ ।  गाउँबस्ती नै आतङ्कित बनेको छ ।”   बाँदर आतङ्कका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका २० भन्दा बढी घर परिवार बाँदरका कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ । “मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ”, वडाध्यक्ष नेपालले भने, “यहाँको मुख्य समस्या नै बाँदर बनेको छ । नियन्त्रण गर्न धेरै उपाय लगाइयो । दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ । बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ ।”   बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए । “धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ”, उनले भने, “स्थानीयस्तरबाट नियन्त्रण सम्भव छैन । दैनिकजसो स्थानीयको गुनासो आउँछ । बाँदरले बस्ती उजाड बनाएको अवस्था छ । उर्वरभूमि बाँझो बसेका छन् । राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ ।”   बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ ।