पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगितामा गण्डकी प्रदेश अपराजित रहदैं पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।   डिफेण्डिङ च्याम्पियन  टिपटप हेल्प नेपाललाई घरेलु मैदानमा प्रतिस्पर्धात्मक...

काठमाडौं:  टर्कीमा गएको विनासकारी भूकम्पपछि राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो।   बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्म सहयोग गर्नुपर्ने बताउनुभयो।    प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपाल हाम्रो असल मित्र राष्ट्र हो। हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो। टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ।”   बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्य उपस्थित हुनुहुन्थ्यो।   बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।  

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरू टाट पल्टिन थालिसकेको बताएका छन् ।   काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चन्दले वित्तिय संस्थाहरूले प्रवाह गरेको ऋणका कारण व्यवसायीहरू संकटमा पर्दै गएको बताएका हुन् ।   नेकपाका महासचिव चन्दले वित्तिय संस्थाबाट लिएको ऋणका कारण किसानहरू उठिबास लाग्ने अवस्था आएको दावी गरे । चन्दले भने,‘सरकारको गलत नीतिका कारण मध्यम वर्गीय व्यवसायीहरू जल्न बाध्य भएका छन् ।’    राष्ट्रिय उद्योगीहरू समेत आर्थिक भारका कारण आन्दोलन गर्न बाध्य भएका छन् । तराईमा मिटर ब्याजी र पहाडमा लघुवित्तको आतंकबाट सर्वसाधारण जनताहरू आतंकित भएको उनको भनाइ छ ।   राज्यसमेत वित्तिय संस्थाहरूको आतंक रोक्न उदासिन भएको उनको आरोप छ।

काठमाडौं:  सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ ।   सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ ।   सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे ।   भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे ।   चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिए । भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए ।

सर्लाही:  सर्लाहीमा भर्खरै सरुवा भएर आउनुभएका सुरक्षा अधिकारीले केही दिनदेखि नेपाल–भारत सीमाको अनुगमन तीव्र पार्नुभएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितका सुरक्षा अधिकारी नियमित सीमा क्षेत्रको अवस्था बुझ्न निस्कनुभएको हो ।   सर्लाहीमा प्रमुख जिल्ला अधिकारी यादवसहित प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख एवं उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेलसहितको टोलीले सीमा क्षेत्रको नियमित स्थलगत अनुगमन गरिरहनुभएको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ ।    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्वी भेग पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि स्थलगत अनुगमन सुरु गरी अहिलेसम्म सदरमुकाम मलङ्गवास्थित खुटौनासम्मको सीमा क्षेत्र अनुगमन गरिसकिएको बताउनुभयो । उहाँले खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बाराउद्योरण, बलरालगायतका नाकाको अनुगमन गर्न बाँकी रहेको जानकारी दिनुभयो ।    दशगजा तथा त्यहाँ रहेका खम्बा (पिल्लर) को अवस्था बुझ्ने र सीमामा भएका अतिक्रमण हटाउने उद्देश्यसहित अनुगमनमा निस्किएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । दशगजा क्षेत्रमा कुनै पनि प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लामा दशगजामै बस्ती बसेको छ भने पसल व्यवसाय सञ्चालित छन् ।    अनुगमनका क्रममा सुरक्षा अधिकारीले सीमाक्षेत्रस्थित रहेका प्रहरी चौकी र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) का इन्चार्जलाई खुला सीमाका कारण हुने अवैध तस्करी, राजस्व छली र लागूऔषधको ओसारपसार रोकथाम तथा नियन्त्रणका लागि निर्देशन दिने गर्नुभएको छ । 

काठमाडौं:   बंगलादेशको राजधानी ढाकामा भएको लिगको अन्तिम तथा निर्णायक खेलमा भारतलाई पराजित गर्दै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। १–० गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले  पुनरागमन जित निकाल्न सफल भएको हो ।  भारतले पहिलो हाफमा २१ औं मिनेटमा अपूर्णाले गोलमा अग्रता लिएको थियो । नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्।  नेपालले ६९ औं मिनेटमा कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ गोलले अघि बढाएकी थिइन्। त्यसअघि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो।      नेपालका लागि तेस्रो गोल अमिसा कार्कीले गरिन्। उनले खेल सकिन एक मिनेट बाँकी छदा उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।  जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।  अन्तिम खेलपछि भारतको ४ अंक भएको छ। भुटानसँग खेल्नुअघि बंगलादेशको पनि ४ अंक छ। बंगलादेशलाई फाइनलमा पुग्न बराबरी भए पुग्छ। भारतले बंगलादेशको हारको कामना गर्नु पर्नेछ।  यसअघि पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–१ गोलले हराएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानमाथि ४० को जित निकालेको थियो। प्रतियोगितामा बंगलादेश र भारतले गोलरहित बराबरी खेलेका थिए। 

काठमाडौं : माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यति एयरको प्रारम्भिक रिपोर्ट आएको छ।    रिपोर्टअनुसार जहाज अवतरण गर्ने क्रममा जहाजका बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदर गएको पाइएको छ।    दुर्घटना जाँच आयोगले फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N-ANC जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै  इञ्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ।    अतः उक्त जहाजका दुवै इञ्जिन प्रोपेलर फेदरमा किन गयो भन्ने बारेमा प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइ सकेको आयोगले जनाएको छ।    दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो।    उक्त फ्लाईट डाटा रेकर्डर र भ्वाईस डाटा रेकर्डरको डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा TSIB Singapore, BEA France, TSB Canada, P & W Canada र EASA का प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो।    यसै सन्दर्भमा उल्लेखित सबै पदाधिकारीहरूबाट सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाईट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको थियो।

बेरुत: टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।   चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।   अहिलेसम्म सो क्षेत्रमा निरन्तर गइरहेको भूकम्पका कारण मृत्यु हुनेकाे १३ सयभन्दा बढी पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलाे भूकम्प हो ।   भूकम्पविद्का अनुसार सो क्षेत्रमा केही दिनसम्म पराकम्पन व नयाँ भूकम्पहरू जाने सम्भावना रहेको छ ।     अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समय सोमबार बिहान ४ : १७ बजे टर्की अधीनस्थ दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भएर सुरु भएको भूकम्पको ७.८ म्याग्निच्युडको रहेको थियो ।    ३७ लाख सिरियाली शरणार्थीहरू बसोबास गरिररहेकाे सो स्थानको नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यो  विश्वको सबैभन्दा ठूलाे शरणार्थी शिविर हो । भूकम्पमा परी १७ सय भवनहरू भत्किएका छन् ।   युनिभर्सिटी कलेज अफ लण्डनका स्टेफेन हिक्कका अनुसार अहिलेसम्म दर्जनौँ भूकम्पका पराकम्पन गइसकेका छन् । मुख्य भूकम्प गएको दश मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पन गएको थियो ।    भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा गरी ५६० भन्दा बढीको मृत्यु भएका छन् । टर्कीमा मात्रै ९१२ जनाको ज्यान गएको छ ।     भूकम्पको धक्का लेबनान, साइप्रसमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण सम्भावित सुनामीको मध्यनजर गरी इटालीमा जोखिम न्यूनीकरणे व्यवस्थापन गरिएको बीबीसीले उल्लेख गरेको छ ।    ८० वर्ष अघि टर्कीमा सन् १९३९ मा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ३० हजार सर्वसाधारणको मृत्यु भएको थियो । यस्तै, २०२० जनवरीमा ६.७ म्याग्निच्युडकोकाे भूकम्प जाँदा ४१ जनाको ज्यान गएको थियो । –उपेश महर्जन (बीबीसी, अलजजिरा) को सहयोगमा ।

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षकका रूपमा आज सार्वजनिक हुँदै मोन्टी देशाईले सन्दीप लामिछाने सम्पूर्ण कानुनी र व्यावसायिक प्रक्रिया पूरा भएपछि मात्रै बन्द प्रशिक्षणमा बोलाइएको बताएका छन्।    करिब १० दिनअघि नै नेपाल आइपुगेर बन्द प्रशिक्षण सुरु गरेका देशाईको सबै कानुनी प्रक्रिया नपुगेकाले नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको थिएन।   ‘कोचलाई सार्वजनिक गराउन ढिलो भएका छौं। १० दिनअघिदेखि प्रशिक्षण सुरु गरे पनि औपचारिक रूपमा सार्वजनिक गर्न सकेका थिएनौं,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘उहाँसँग लामो अनुभव छ, कन्सल्ट्यान्ट भएर पनि काम गरिसक्नु भएको छ।’   नेपाली क्रिकेटको भविष्यलाई हेरेरै देशाईलाई मुख्य प्रशिक्षक बनाएर भित्र्याएको अध्यक्ष चन्दले बताए। नेपाली राष्ट्रिय टिम विगतका प्रशिक्षकहरूका लागि ट्रान्जिट प्वाइन्ट हुने आरोप लागेको र देशाईबाट त्यो आरोपबाट मुक्त हुने विश्वास रहेको पनि उनले बताएका थिए।   नेपाली क्रिकेटमा केही गर्छु भन्ने हौसला र उत्साहसहित मुख्य प्रशिक्षक बन्ने प्रस्ताव स्वीकारेको उनले बताए। नाबालिग बलात्कारको मुद्दामा पक्राउ परेर धरौटीमा छुटेका पूर्व कप्तान सन्दीप अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्।    यद्यपि, उनको मुद्दाको छिनोफानो भएको छैन। गत भदौमा काठमाडौंको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेर एक महिना फरार भएका सन्दीप असोज २० गते नेपाल आएपछि विमानस्थलबाटै पक्राउ परेका थिए।   तर, उच्च अदालत पाटनले २० लाख धरौटीसहित विभिन्न शर्तसहित रिहा गरेपछि उनी थुनामुक्त भएका छन्। उनी जेलबाट निस्कने बित्तिकै बन्द प्रशिक्षणमा समावेश गरिएपछि चर्को विरोध र आलोचना भइरहेको छ।   यसै क्रममा आज सार्वजनिक भएका मुख्य प्रशिक्षकले सबै कानुनी तथा व्यावासायिक प्रक्रिया पूरा गरेर नै उनलाई बन्द प्रशिक्षणमा समावेश गरिएको प्रष्ट पारे। ‘मलाई थाहा भएसम्म सबै कानुनी र व्यावसायिक प्रक्रिया पूरा गरेर नै उनलाई टिममा समावेश गरिएको छ,’ उनले भने।   राष्ट्रिय टिमको प्रशिक्षका रूपमा दुई वर्षको सम्झौता गरेका देशाईले सम्झौता अवधिभर नेपालमै बस्ने र त्यसपछि पनि नेपाल बसाई लम्ब्याउन तयार भएको बताए। नेपाली खेलाडीहरूमा क्षमताको कमी नभएको र एकजुट भएर मैदान प्रदर्शन गर्न मात्रै बाँकी रहेको उनले बताएका थिए।

काठमाडौं:  चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ ।   चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको छ । पुसम्म गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ ।   अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।   समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेको छ , पुसम्म २ लाख ७५ हजार ६४३ जना श्रमिक नयाँ भिसा लिएर विदेशमा पुगेका छन् ।   वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।